विश्वकपको क्वार्टरफाइनलमा पुग्न ब्राजिलको सामना गर्दैै दक्षिण कोरिया

नेपालभ्युज

विश्वकपको क्वार्टरफाइनलमा पुग्न ब्राजिलको सामना गर्दैै दक्षिण कोरिया

काठमाडौं। विश्वकप फुटबलमा आज सोमबार ब्राजिल र दक्षिण कोरिया भिड्दै छन्। कतारको स्टेडियम ९७४ मा हुने खेलमा ब्राजिल र दक्षिण कोरिया नेपाली समयअनुसार राति पौने १ बजे आमने-सामने हुनेछन्।

ब्राजिल समूह ‘बी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। समूह ‘एच’ को उपविजेता बन्दै दक्षिण कोरिया नकआउट चरणमा स्थान बनाएका हो। यसअघि, ब्राजिल र दक्षिण कोरियाबीच ७ खेल भएका छन्। जसमध्ये ६ मा ब्राजिलले जित निकाल्दा १ खेलमा भने दक्षिण कोरियाले जित निकालेको छ।

गेब्रियल जिसस घाइते भई घर फर्किए पनि ब्राजिल टोली बलियो नै देखिएको छ। सर्बियाविरुद्धको खेलमा नै चोटका कारण बाहिरिएका नेयमारको पनि आजको खेलमा सहभागी हुन सक्ने सम्भावना रहेको छ। नेयमारले आइतबारको प्रशिक्षणमा सहभागिता जनाएका थिए। तथापि, जोशिलो र बलियो टोली दक्षिण कोरियालाई ब्राजिलले हल्कामा भने नलिने देखिन्छ।

यसअघि, मैत्रीपूर्ण खेलमा ब्राजिलसँग प्रतिस्पर्धा गरेको दक्षिण कोरिया पनि तयार देखिन्छ। विश्वकप अगाडि खेलेको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५–१ गोलअन्तरले पराजित गरेको थियो। जसमा पेनाल्टीमा नेयमारले २ गोल गरे।

आश्चर्यजनक रूपले अन्तिम १६ मा पुगेको कोरियाले आफ्नो क्षमतावान खेलाडीहरूलाई चतुर रूपमा प्रयोग गरिरहेको देखिन्छ। समूह चरणको अन्तिम खेलमा इन्ज्युरी समयमा स्बस्टिच्युटको रूपमा मैदान प्रवेश गरेका ह्वाङ ही–च्यानले दक्षिण कोरियाको लागि दोस्रो गोल गरे। सन ह्युङ–मिनको कप्तानीमा दक्षिण कोरिया यस्तै प्रदर्शन देखाउने योजनामा रहेको छ।

इङ्लिस प्रिमियर लिग क्लब टोट्नह्याम हट्स्परका फवार्डद्धय ह्युङ–मिन र रिचार्लिसनको भिड्न्त पनि यो खेलको अर्को रोमाञ्चक पक्ष रहेको छ। जसले खेलमा थप रौनक थप्ने देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved