मंसिर २८ गतेसम्म निर्वाचन मत परिणाम राष्ट्रपतिलाई बुझाउँछौँः निर्वाचन आयोग

नेपालभ्युज

मंसिर २८ गतेसम्म निर्वाचन मत परिणाम राष्ट्रपतिलाई बुझाउँछौँः निर्वाचन आयोग
फाइल फोटो

काठमाडौं ।  निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता लागू हुने बताएको छ । आयोगले आचारसंहीताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू हुने र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहीता लागू भएको र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे । उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहीता जारी रहने बताए ।

उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको टुंगो लागिसकेपछि मतहरुको हिसाव गरेर दलहरुलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे।

उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए । उनले भने, ‘आचारसंहीताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू गर्न सक्नेछ भन्नेछ । लागू गर्न सक्नेले त्यसलाई हटाउन सक्ने पनि अधिकार राख्छ । निर्वाचन, प्रचलन, व्यवस्थापन र कानूनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहीता लागू रहन्छ ।’

‘हामी अहिले निर्वाचनकै क्रममा छौँ । समानुपातिक निर्वाचन प्रणालीको पनि गणना अहिले चलिरहेको छ । समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको हिसाव गरिसकेपछि दललाई हामीले पत्र लेख्छौँ । यति दिनभित्र आफ्नो प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेस गर्नु भनिन्छ, नमिले फेरि पठाइन्छ । त्यो पनि एक किसिमले निर्वाचनको एउटा पार्ट नै हो । आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपति कहाँ बुझाएर परिणाम प्रकाशन गर्छ । यो बेला सम्मको अवस्था आचारसंहीता लागू भएकै अवस्था हो, उनले भने ।’
उनले भने, ‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो । ४ गते वस्तुनिष्ठ रुपमा देशभर निर्वाचन सम्पन्न हुन्छ । १३ गतेसम्म नतिजा निकाल्छौँ, १४ गते दललाई पत्र लेख्छौँ समानुपातिकको लागि र २२ गतेसम्म टुग्याउने भनेका थियौँ । सबैकुरा योजना अनुसार नहुने रहेछ, कतै विवादहरु, भए, कतै मत गणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो ।’

‘समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिदैन । समानुपातिकमा उम्मेदवार भनेका दल हुन् । कुनैपनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन । सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौँ । आयोगले चाहेर मात्रै नहुने कुराहरु पनि छन् । केही प्रक्रिया लम्बिन सक्छ । हामीले २६÷२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपति समक्ष पुर्‍यायाउन सक्नेछौँ, उनले भने ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved