विश्वकप फुटबल : फ्रान्स र पोल्यान्ड भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : फ्रान्स र पोल्यान्ड भिड्दै

काठमाडौं। विश्वकप फुटबलको नकआउट चरणमा आज आइतबार साविक विजेता फ्रान्स र पोल्यान्ड भिड्दै छन्।

अल थुमामा रंगशालामा फ्रान्स र पोल्यान्ड नेपाली समयअनुसार राति पौने ९ बजे आमने सामने हुनेछन्। समूड ‘डी’ को विजेता बनेको फ्रान्स र समूह ‘सी’ को उपविजेता बन्दै पोल्यान्ड नकआउट चरणमा पुगेका हुन्।

यसअघि, पोल्यान्ड र फ्रान्सबीच १६ पटक मैदानमा प्रतिस्पर्धा भएको छ। फ्रान्सले ८ खेलमा जित निकाल्दा पोल्यान्डले ३ खेल आफ्नो पक्षमा पारेको छ। ५ खेल भने बराबरीमा सकिएको छ।

विश्वकपमा भने यो पोल्यान्ड र फ्रान्सको दोस्रो भिड्न्त हो। सन् १९८२ विश्वकपमा पोल्यान्डले फ्रान्सलाई ३–२ ले पराजित गरेको थियो। विगतको ७ भिड्न्तमा पनि फ्रान्स नै पोल्यान्डमाथि हावी भएको थियो।

फ्रान्स उपाधि दाबेदारको रूपमा नै कतार विश्वकपमा सहभागी भएको छ। फ्रान्सले अस्ट्रेलियालाई ४–१, डेनमार्कलाई २–१ ले पराजित गर्दा ट्युनिसियासँगको खेलमा भने १–०ले पराजित भएको थियो।

यता, पोल्यान्ड भने मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै साउदी अरेबियामाथि २–० को जित र अर्जेन्टिनासँग २–० को पराजयपश्चात् प्रि–क्वार्टरफाइनलमा पुगेको हो।

फ्रान्स पोल्यान्डमाथि जित निकाल्दै क्वार्टरफाइनलमा पुग्ने योजनामा रहेको छ । पोल्यान्ड भने आफ्नो डिफेन्सलाई बलियो रूपमा प्रस्तुत गर्न चाहन्छ।

पोल्यान्डका लागि केलियन एमबाप्पे चुनौतीका रूपमा रहेका छन्। डेनमार्कविरुद्धको खेलमा २ गोल गरेका एमबाप्पे विश्वकपमा २४ वर्ष उमेर पुग्नु अघि नै ७ गोल गर्ने दोस्रो खेलाडी हुन्। यसअघि, पेले २४ वर्ष नपुग्दै विश्वकपमा ७ गोल गर्ने एक मात्र खेलाडी थिए।

फ्रान्सका ओलिभियर गिराउड भने फ्रान्सको सर्वाधिक गोलकर्ता थियरी हेनरीको ५२ गोलको कीर्तिमान भेटाउने यात्रामा रहेका छन्। ओलिभरले पनि पोल्यान्डको लागि चुनौती बन्न सक्ने छन्।

अर्जेन्टिनासँग २–० ले पराजित भएको पोल्यान्ड भने ‘बाउन्स ब्याक’ गर्ने योजनामा छ। कप्तान रोबर्ट लेवान्डोस्कीको गति पोल्यान्डको बलियो पक्ष बन्न सक्छ। पिटर जिलेन्सकीको साथै गोलरक्षक वेन्जे सेज्नीले पनि महत्त्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved