दाँतमा सिरिङ–सिरिङ हुन्छ ? यसरी गर्न सकिन्छ उपचार

नेपालभ्युज

दाँतमा सिरिङ–सिरिङ हुन्छ ? यसरी गर्न सकिन्छ उपचार

काठमाडौं । चिसो मौसममा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरको तापक्रममा पनि कमी आउँदा दाँत दुख्ने समस्या देखिन सक्छ । चिसो मौसममा मात्र नभई यो समस्या अरु बेला पनि देखिन्छ । चिसो पानी, गुलियो खाँदा दाँत दुख्ने वा लाग्ने समस्यालाई ‘हाइपर सेन्सिटिभिटी’ भनिन्छ ।

यो एक प्रकारको दुखाइ हो, जुन दाँतको बीचको तह ‘डेन्टिन’ देखिएर हुने गर्छ । दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ । इनामेलभन्दा भित्रको भाग डेन्टिन हो । सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ । विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ । गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ ।

अनि दाँत सिरिङ्ग हुने समस्या आउँछ । धेरै तातो, चिसो, ब्रस गर्दा, गुलियो तथा एसिड भएका पेय पदार्थले यस्तो समस्या आउनसक्छ । यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ । दाँतमा कीरा लाग्यो भने पनि सिरिङ्ग हुने समस्या आउँछ । ‘हाइपर सेन्सिटिभिटी’मा दुखाइ तिखो, गम्भीर, केही सेकेन्डदेखि मिनेटसम्म हुन्छ ।

हाइपर सेन्सिटिभिटीबाट कसरी बचाउने ?

दाँत सफा गर्ने ब्रस, तरिका तथा मञ्जन, अम्लीय पदार्थ अचार, पेय पदार्थ धेरै सेवनले पनि यो समस्या निम्त्याउँछ । सबैभन्दा बढी हाइपर सेन्सिटिभिटी हुने कारणमा जोडले दाँत माझ्ने, ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्ट खिएर डेन्टिन देखिने अवस्था हो ।

त्यसैले ब्रस गर्नेबेला ध्यान दिने, नरम ब्रसको प्रयोग गर्ने, धुलो दन्तमन्जन नचलाउने, धेरै तातो र धेरै चिसो पनि नखाने । खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन नगर्ने , खाना खानासाथ कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।

साथै, फाइबर युक्त खाने कुराहरु खाने जस्तै (मकै, गहुँ, जौ, फापर, कोदो), गेडागुडी (चना, केराउ, मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ । साधारतया फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मद्धत गर्छ । यसरी दाँत बलियो तथा किरा लाग्न बाट बचाउन सकिन्छ । साथै समग्र स्वाथ्य राम्रो हुन्छ ।
ब्रस कसरी गर्ने?
बिहानको खाजा खाएपछि र रातिको खाना खाएपछि ब्रस गर्न जरूरी छ। नरम ब्रसले ब्रस गर्नुपर्छ। फ्लोराइड भएको टुथ पेष्ट प्रयोग गर्नुपर्छ। ब्रस ऐना हेरेर गरेको राम्रो हुन्छ।

दुई मिनेट ब्रस गर्न अनिवार्य छ। एउटा कुनाबाट ब्रस गरेर अर्को कुनामा लैजानुपर्छ। पछाडिबाट अगाडि अगाडिबाट पछाडि गर्नुपर्छ। ब्रसलाई ४५ डिग्री एंगलमा राख्नुपर्छ। दाँत माझेपछि जीब्रोमा पनि सफा गरियो भने मुख राम्रो हुन्छ । मुख स्वस्थ भयो भने हाम्रो शरिरपनि स्वाथ्य हुन्छ ।

उपचार कसरी गर्ने ?
पछिल्ला दिनहरुमा बजारमा विज्ञापन देखेको आधारमा उपचार गर्ने गरेको पाइन्छ । तर समस्या थाहा पाएर गरेको उपचार मात्र प्रभावकारी हुन्छ । नियमित दाँतको परीक्षण गराउनुपर्छ।

दाँत किराले खाएको छ या अन्य कुनै समस्या छ भने तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ । बजारमा सिरिङसिरिङ कम गराउने दन्तमञ्जनपनि पाइन्छ । दन्त चिकित्सकको सल्लाहमा त्यसको पनि प्रयोग गर्न सकिन्छ । दात खिइएर समस्या भएको भए त्यसमा लेप लगाउन पनि सकिन्छ ।

किराले खाएको छ भने त्यसमा फिलिङपनि गर्न सकिन्छ । यदी जरादेखिकै समस्या रहेछ भनेपनि फिलिङ गर्न सकिन्छ । त्यसमा रुट क्यानल ट्रिटमेन्टपनि गर्न सकिन्छ ।

रातकाे समयमा दाँत किट्ने समस्या रहेछ भने त्यसमा नाइट गार्ड लगाउन सकिन्छ । अहिले नयाँ नयाँ विधि आएका छन् । हामीले आफ्नो समस्या अनुसारको विधि प्रयोग गरेर उपचार गर्न सक्छौँ ।

 (कुराकानीमा आधारित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved