मधेस प्रदेशमा को छन् त मुख्यमन्त्रीका आकांक्षीहरू ?

मधेस प्रदेशमा को छन् त मुख्यमन्त्रीका आकांक्षीहरू ?

जनकपुरधाम। मधेश प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै प्रदेश सरकारमा नेतृत्वको चर्चा चल्न थालेको छ।

प्रदेशमा प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धन दलले सामान्य बहुमत प्राप्त गरेको छ। तर, दलको हिसाबमा नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। समानुपातिक मतको गणना अनुसार भने कांग्रेस पहिलो र एमाले दोश्रो भएको छ।

प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेस १३ प्रत्यक्ष र ९ समानुपातिक गरी कुल २२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सात प्रत्यक्ष र २ समानुपातिक गरी ९, नेकपा एकीकृत समाजवादी चार प्रत्यक्ष र तीन समानुपातिक गरी ७ र नेकपा माओवादी केन्द्र चार प्रत्यक्ष र चार समानुपातिक गरी कुल ८ गरेर ४६ सिट पुगेको छ।

नेकपा एमाले-जनता समाजवादी पार्टी(जसपा) गठबन्धनमध्ये एमाले १५ प्रत्यक्ष र ८ समानुपातिक गरी २३ र जसपा ९ प्रत्यक्ष र समानुपातिक ६ गरी १५ गरेर ३८ सिट पुगेको छ। यसरी हेर्दा प्रदेशमा सत्ता गठबन्धन बलियो अवस्थामा छ।

प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरेर १०७ सिट सङ्ख्या छ। सरकार बनाउन सामान्य बहुमतको लागि कम्तीमा ५४ सिट सङ्ख्या आवश्यक छ। यसको लागि जनमत पार्टी र स्वतन्त्रलाई समावेश नगराई कुनै गठबन्धनले पनि सरकार गठन गर्न सम्भव छैन।

त्यसैगरी, पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टी ६ प्रत्यक्ष र ७ समानुपातिक गरी १३ र स्वतन्त्र ६ जना प्रदेशसभामा छन्। त्यसैले सरकार निर्माणका लागि जनमतको सहभागीता निर्णायक हुने देखिन्छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बिहीबार भएको छलफलमा जनमत पार्टी सत्ता गठबन्धनमा सहभागी हुन सहमत देखिएको छ।

यता, प्रदेश सरकार कुन दलको नेतृत्वमा गठन गरिने वा हुनेमा चौतर्फी चर्चा चलेको छ। प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको एमाले र दोस्रो बनेको कांग्रेसभित्रका निर्वाचित प्रदेशसभा सदस्यमध्येका केहीको नाम मुख्यमन्त्री बन्ने चर्चा चलेको छ।

एमालेका मधेश प्रदेशका सह-इन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेको कारण सरकारको नेतृत्व एमालेकै हुनु पर्ने बताए। एमालेभित्र मुख्यमन्त्रीका लागि डा. सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ।

त्यस्तै, नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताए।  यादव कै नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे। कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी छन्।

यस्तै, जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्यो भने वर्तमान मुख्यमन्त्री लालबाबु राउत फेरि नेतृत्व लिने सम्भावना कम देखिएको छ। सो पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीको रूपमा चर्चामा छ।

यस प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभा सदस्यका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्यमा एमालेले ९, कांग्रेस सात, जसपा ६, लोसपा तीन, जनमत पार्टीले एक र स्वतन्त्र तीन, माओवादी केन्द्र एक, नेकपा एकीकृत समाजवादी पार्टी दुई सिट जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved