सत्ता गठबन्धनलाई सरकार बनाउन पुग्छ त बहुमत ?

एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाए सत्ता गठबन्धनलाई चाहिन्छ अन्य दलको साथ

नेपालभ्युज

सत्ता गठबन्धनलाई सरकार बनाउन पुग्छ त बहुमत ?

काठमाडौं। सरकार गठनका लागि सत्ता गठबन्धनलाई केही सिट नपुग्ने भएपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास थालेका छन्।

पहिलोपटक चुनावमा सहभागी सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन देउवाले कसरत थालेका हुन्। प्रत्यक्षतर्फ १ सिट जितेको जनमतले समानुपातिकमा ४ सिट ल्याउने सम्भावना छ। देउवाले आफूनिकट विमलेन्द्र निधिमार्फत जनमतका अध्यक्ष सीके राउतलाई बिहीबार बालुवाटारमै बोलाएर संघ र प्रदेश सरकारमा सहकार्यको प्रस्ताव गरेका हुन्।

प्रस्तावलाई राउतले स्वीकार गरेको भेटमा सहभागी नेता निधिले बताए। उनका अनुसार राउत नेतृत्वको पार्टी संघीय सरकार र प्रदेश सरकारमा सहकार्य गर्नेमा सहमत भएको छ। प्रधानमन्त्री देउवालाई भेट्नुअघि बुधबार निधि-राउतबीच यस विषयमा छलफल भएको थियो।

‘जनमत पार्टी सहभागी हुने भएपछि संघ र मधेस प्रदेशमा सरकार निर्माणका लागि आवश्यक संख्या पनि पुग्ने भयो,’ निधिले भने, ‘सीकेजीले सरकारमा सहभागिता जनाउने विषयसँगै आफ्नो पार्टीको वैचारिक मान्यता पनि लोकतान्त्रिक रहेको जानकारी गराउनुभएको छ।’

प्रधानमन्त्रीलाई भेटेपछि राउत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए। दाहाल-राउत भेट पनि सरकारमा सहभागिताको विषयमै केन्द्रित थियो। ‘म तपाईंको प्रशंसक हो, तपाईंले उठाएका कतिपय मुद्दा मैले पनि बोकेर हिँडेको छु भनेर सीके राउतले भन्नुभयो,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने।

सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरबाट पराजित गरेर राउत पहिलोपल्ट संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। प्रत्यक्षतर्फ जित्नेमा जनमतबाट उनी एक्ला छन् तर उनी नेतृत्वको पार्टीले अहिलेसम्म समानुपातिकतर्फ ३.८० प्रतिशत मत प्राप्त गरेको छ। जसअनुसार चार सिट पाउने देखिन्छ। सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि अपुग हुने संख्यासमेत जनमतबाट पुग्ने निश्चित भएको छ।

सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ ५५ सिट जितेको छ भने समानुपातिकतर्फ ३२ सिट पाउने देखिन्छ। योसहित कांग्रेसको कुल सिट ८७ हुन्छ। प्रत्यक्षमा १७ सिट जितेको माओवादीको समानुपातिकमा १४ गरी कुल ३१ सिट पुग्छ। एकीकृत समाजवादीले समानुपातिकतर्फ ३ प्रतिशत कटाउन सकेको छैन। उसको प्रत्यक्षतर्फ १० सिट छ।

राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्छ। अहिलेसम्म एक करोड तीन लाख ७९ हजार ३ सय ५८ मत गनिएको छ। यो अवस्थामा थ्रेसहोल्ड कटाउनका लागि कम्तीमा पनि ३ लाख ११ हजार ३ सय ८० मत चाहिन्छ। समाजवादीलाई थ्रेसहोल्ड कटाउन १७ हजार ३०० भन्दा धेरै मत अपुग देखिन्छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ४ र राष्ट्रिय जनमोर्चाको १ सिट छ। यी समेत गर्दा सत्ता गठबन्धनको पक्षमा १ सय ३३ सिट आउने देखिन्छ। जनमत पार्टीको थप ५ सिट जोडिँदा सत्ता गठबन्धनलाई सरकार बनाउन आवश्यक २ सय ७५ को बहुमत १३८ सिट ठ्याक्कै पुग्छ। मत गणना जारी रहेका ३ क्षेत्रमा गठबन्धनले नै जित्ने आकलन गठबन्धनमा संलग्न दलको छ।

स्याङ्जा-२ र बाजुरामा कांग्रेसकै अग्रता छ। बिहीबार पुनः मतदान भएको दोलखामा पनि सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार अगाडि छन्। तीनै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने सम्भावनालाई हेर्ने हो भने राउतसहित गठबन्धनको पक्षमा १४१ पुग्छ।

समाजवादीले समानुपातिकमा थ्रेसहोल्ड कटाउन सक्यो भने गठबन्धनलाई सरकार बनाउन अन्य दलको साथ जरुरी छैन। तर समाजवादी थ्रेस होल्ड कटाउन सम्भावना निकै कम छ। चुनावी परिणाम अन्तिम चरणमा पुगेसँगै मुख्य पदहरू भागबन्डा मिलाउन गठबन्धनका दलहरू छलफलमासमेत जुटिसेका छन्।

कांग्रेस र माओवादीबीच सरकारो नेतृत्व आलोपालो गर्ने गरी सहमति जुटाउने प्रयासमा नेताहरू जुटेका छन्। सरकार नेतृत्वको विषय मात्रै नभई राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारमा मुख्यमन्त्री र प्रदेश प्रमुखलगायतका पद प्याकेजमै सहमति जुटाउने गरी नेताले छलफल केन्द्रित गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved