जनमत र नागरिक उन्मुक्ति बने तराई-मधेसका नयाँ शक्ति, कारण के ?

‘स्वतन्त्र मधेस’ को नाराबाट ‘आत्मसमर्पण’ पछि उनलाई मधेस राजनीतिको विकल्पका रूपमा हेर्न थालिएको छ । देश-दुनियाँ बुझेका, पढे/लेखेका र निरन्तर जोखिमपूर्ण अभियान गर्न लगाव राख्ने राउतको सोच स्वीकृत हुँदै गएको हो कि व्यक्तित्व ? यो प्रश्नचाहिँ अझै अनुत्तरित नै छ ।

जनमत र नागरिक उन्मुक्ति बने तराई-मधेसका नयाँ शक्ति, कारण के ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्षतर्फबाट निर्वाचित सातैजना सांसद बागमती प्रदेशका हुन् ।

रास्वपाले चितवन १ र २, काठमाडौं २, ६, ७ र ८ र ललितपुर ३ बाट विजय हासिल गरेको छ । धरान, इटहरी, पोखरा, बुटबल, दाङजस्ता शहरिया निर्वाचन क्षेत्रमा जित्न निकाल्न नसके पनि रास्वपाले पाएको मत भने सन्तोषजनक छ ।

यससँग तुलना गर्दा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराई-मधेसकै मात्र ताकतले प्रत्यक्षतर्फ १ सिट मात्रै जितेपनि समानुपातिकतर्फ राम्रै मत पाएको छ । उसले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउँदै राष्ट्रिय दलको मान्यता पाउने निश्चित देखिन्छ ।

रेशम चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाली र बर्दिया २ जिल्लाबाट मात्रै प्रत्यक्षमा ४ सिट जित्नु पनि कम महत्त्वको सन्दर्भचाहिँ होइन ।

जनमत र नागरिक उन्मुक्तिले तराई-मधेसका हारेका कतिपय निर्वाचन क्षेत्रमा सम्मानजनक मत पाएको प्रष्ट देखिन्छ । तसर्थ, रास्वपालाई ‘शहरिया मध्यम वर्गको नयाँ शक्ति’ भने जस्तै जनमत र नागरिक उन्मुक्तिलाई तराई-मधेसका नयाँ शक्ति भन्न सकिन्छ ।

अझ अनौठो कुरा त के भने रेशम चौधरी कारबासमा छन् । उनकी पत्नी रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी चलिरहेको छ । तर, यो पार्टीको जन्म र विकासमा टीकापुर विद्रोह, राजबन्दीको रिहाइको प्रश्न र रेशम चौधरीको जेलजीवनलाई मुख्य कारकको रूपमा अर्थ्याउन सकिन्छ ।

राजनीति सुरू गर्दैगर्दा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ‘स्वतन्त्र मधेस गठबन्धन’ को नारा उराल्दै पृथकतावादी गतितिविधिमा संलग्न हुन्थे । यो उनको हृदयभित्रको वास्तविक सोच थियो कि मधेस राजनीतिमा जबरदस्त प्रवेशका लागि ‘स्टन्ट-बाजी’ ? त्यो त उनी आफैँले प्रष्ट गर्ने कुरा हो ।

तर, ‘स्वतन्त्र मधेस’ को नाराबाट ‘आत्मसमर्पण’ पछि उनलाई मधेस राजनीतिको विकल्पका रूपमा हेर्न थालिएको छ । देश-दुनियाँ बुझेका, पढे/लेखेका र निरन्तर जोखिमपूर्ण अभियान गर्न लगाव राख्ने राउतको सोच स्वीकृत हुँदै गएको हो कि व्यक्तित्व ? यो प्रश्नचाहिँ अझै अनुत्तरित नै छ ।

रेशम चौधरीको रिहाइको सवाल र नागरिक उन्मुक्तिको उदय सीमान्तकृत समुदायको सबलीकरण, सहभागिता, प्रतिनिधित्व र न्यायसँग जोडिएको छ भने डा. सीके राउतको वास्तविक राजनीतिक सोच के हो ? उनी तराई-मधेशका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक पार्टी (लोसपा) लगायतका पुराना दलहरूको विकल्पमा मधेशकेन्द्रित नयाँ राजनीतिक शक्ति निर्माण गर्न चाहन्छन् कि उनको हृदयको अन्तर्यमा उनको पुरानो सोच र मुद्दा बाँकी नै छ ? यो प्रश्नले डा. सीके राउतको राजनीतिक भविष्यलाई प्रभावित गर्दछ ।

जे होस्, जनमत र नागरिक उन्मुक्ति उल्लेखनीय ढंगले उदाएका छन् । नयाँ संसद्को जुन संरचना बनिरहेको छ, सरकार गठन र सत्ता समीकरणमा सन्दर्भमा पनि यी दल निर्णायक महत्त्वको संख्यामा नरहलान् भन्न सकिन्न ।

जनमत पार्टीले प्रतिनिधि सभाको १ सिट मात्रै हैन, मधेश प्रदेशसभामा ६ र लुम्बिनी प्रदेशसभामा १ गरी ७ सिट प्रत्यक्षतर्फबाट हासिल गरेको छ । यी दुवै प्रदेश सभामा यस पार्टीले प्रादेशिक थ्रेसहोल्डसमेत भेट्ने सम्भावना छ ।

ठीक त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिमको प्रदेश सभा ५ र लुम्बिनी प्रदेश सभामा २ गरी ७ सिट प्रत्यक्षतर्फ हासिल गरेको छ । समानुपातिकतर्फ यी दुवैमा प्रादेशिक थ्रेसहोल्ड काट्ने निश्चित भएको छ ।

जनमतले मधेस र लुम्बिनी, नागरिक उन्मुक्तिले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा मात्र हैन, अन्य प्रदेशमा परेका तराईबाट समेत उल्लेखनीय मत हासिल गरिरहेका छन् ।

यी दुवै दलले तराई-मधेसका पुराना नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो समूहको लोसपालाई धेरै पछाडि धकेलेका छन् । गत चुनावमा रेशम चौधरी, महन्थ ठाकुर नेतृत्वको राजपामा थिए ।

अझ रोचक कुरा त के भने जनमत पार्टी प्रादेशिक समानुपातिमा मधेस राजनीतिको मूलधार तथा मधेशको सत्तारुढ दल जसपाभन्दा पनि अगाडि छ । जनमत पार्टी एमाले र कांग्रेसपछि तेस्रो स्थानमा छ भने जसपा चौथो स्थानमा धकेलिएको छ ।

प्रत्यक्षतर्फ भने जनमतले ६ सिट हासिल गर्दा जसपाले ९ सिट मात्रै जितेको छ। तराई-मधेसको ठूलो हिस्सा रहेको लुम्बिनी प्रदेशमा समेत जसपा २ सिटमा सीमित भएको छ ।

झापा, मोरङ, सुनसरीजस्ता सघन मधेसी जनसंख्या भएको जिल्ला भएका प्रदेश १ को प्रदेश सभामा कुनै पनि मधेस केन्द्रित दलले प्रत्यक्षतर्फ कुनै नतिजा निकाल्न सकेनन् । समानुपातिकतर्फ भने जसपाले प्रादेशिक थ्रेसहोल्ड काट्न सक्ने सम्भावना छ ।

लुम्बिनीको प्रादेशिक समानुपातिकमा मधेश केन्द्रित दलमध्ये नागरिक उन्मुक्ति सबैभन्दा अगाडि छ भने त्यसपछि क्रमशः जनमत, जसपा र लोसपा छन् । नागरिक उन्मुक्ति लुम्बिनीमा समग्रमा ५औं स्थानमा छ ।

सुदूरपश्चिम प्रदेशमा त नागरिक उन्मुक्ति पार्टीबाहेक सबै मधेसकेन्द्रित दल नगन्य अवस्थामा छन् । यी तथ्यहरूले के देखाउँछन् भने तराई-मधेसका प्रदेश र जिल्लामा त्यहाँका पुराना दल जसपा र लोसपा उल्लेखनीय ढंगले कमजोर हुँदैछन् र तिनको ठाउँमा जनमत र नागरिक उन्मुक्तिले स्थान लिँदैछन् ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर जनमत पार्टी र नागरिक उन्मुक्ति यसरी आउनुमा पुराना मधेस आश्रित दलहरू ‘काम नलाग्ने’ अवस्थामा पुगेको अर्थमा विश्लेषण गर्छन् ।

‘मधेसका ठूला दलहरू मधेसकेन्द्रित होइनन्, मधेस आश्रित हुन् । किनकी उनीहरू देशभर सङ्गठन बनाउन लागे तर, सकेनन् र पुन: मधेसमै फर्किए ।’ उनले नेपालभ्यूसँग भने, ‘तर, जत्तिबेला मधेस फर्किए उनीहरूका चेहरा र चरित्र  खुइलिसकेको थियो । त्यसकारण उनीहरूलाई जनताले पत्याएनन् । उनीहरूले लङ्का जितेर फर्किने भनेका थिए तर, खुइलिएर फर्किए । यहीँबाट जनमत पार्टी र नागरिक उन्मुक्तिहरूको उदय प्रारम्भ भयो ,’

०७४ सालको निर्वाचनपछि मधेसी जनताले आफ्ना नेतालाई खासगरी २ वटा म्यान्डेड दिएको ठान्छन् चन्द्रकिशोर । ‘पहिलो, तत्कालीन प्रदेश २ मा संघीयताको गतिलो कार्यान्वयन र संघमा संविधान संशोधन, त्यसबेला ठूलोगरी आएका पुराना दलले त्यो म्यान्डेड पूरा गर्न सकेनन् । लोसपा-जसपाहरू सत्तामा पुगेर पनि मधेसका मुद्दालाई बेवास्ता गरेपछि जनताहरूले उपेन्द्र यादवहरू, महन्थ ठाकुरहरू अब तिमीहरूले काम गरेनौ, सकियौ भनेर सन्देश दिएका छन् भने जनमत र नागरिक उन्मुक्तिलाई चुनेका छन्,’ विश्लेषक चन्द्रकिशोर भन्छन् ।

यद्यपि, जनमत पार्टीलाई भने जनताले अझै शङ्काकै घेराभित्र राखेको विश्लेषण उनको छ, भन्छन्— ‘ जनमत पार्टीलाई जनताले धेरै ठूलो पनि बनाएका छैनन् । अब यसबेला जनमत पार्टी र मुख्यत: नेतृत्व सीके राउतलाई आफूलाई परिभाषित गर, तिमी को हौ भनेर प्रश्न गरिरहेका छन् ।’

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि चन्द्रकिशोरको मतसँग सहमत छन् । यसपटक मधेसी जनताले विकल्पको रूपमा मात्रै नयाँ शक्तिलाई अघि सारेको उल्लेख गर्दै उनले भने, ‘अबको ५ वर्षको निर्वाचनमा वास्तविकता देखिन्छ । त्यसबीचमा यी नयाँ शक्तिहरूले कस्तो-कस्तो अनुहार देखाउँछन् भन्ने कुरा पनि ठूलो रह्यो ।’

मधेसको मुद्दा मधेसकेन्द्रित दलसँगै अन्य राष्ट्रिय दलले बेवास्ता गरेको र त्यो मुद्दा सम्बोधन गर्न एकपटक नयाँ शक्तिलाई जनताले छानेको विश्लेषण आचार्यको छ, भन्छन्— ‘उनीहरूले मधेसको मुद्दा राष्ट्रिय हो भनेर त्यसलाई सम्बोधन गर्न नयाँ शक्तिलाई छानेका हुन् । यो जनमत पार्टी र नागरिक उन्मुक्तिले बुझ्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved