विश्वकप फुटबल : फ्रान्स भर्सेज ट्युनिसिया

नेपालभ्युज

विश्वकप फुटबल : फ्रान्स भर्सेज ट्युनिसिया

काठमाडौं। विश्वकप फुटबलमा बुधबार फ्रान्स र ट्युनिसिया भिड्दै छन्। एड्युकेसन सिटी रंगशालामा हुने खेलमा फ्रान्स र ट्युनिसिया नेपाली समयअनुसार राति पौने ९ बजे आमने-सामने हुनेछन्।

पछिल्लोपटक ट्युनिसिया र फ्रान्सबीच सन् २०१० मा प्रतिस्पर्धा भएको थियो।  विगतमा दुई राष्ट्र ५ पटक मैदानमा आमने-सामने भएका छन्। जसमध्ये फ्रान्सले २ खेल जित्दा ट्युनिसियाले १ खेलमा जित निकालेको छ। बाँकी २ खेल भने बराबरीमा सकिएको छ।

विश्वकपमा छैटौँपटक सहभागी भएको ट्युनिसिया पहिलोपटक अन्तिम १६ मा पुग्न चाहन्छ। १६औँ पटक सहभागी भएको फ्रान्स भने तेस्रो उपाधि जित्ने योजनामा रहेको छ। ट्युनिसिया पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी र अस्ट्रेलियासँग १–० ले पराजित भएको थियो । फ्रान्सले भने अस्ट्रेलियालाई ४–१ ले र डेनमार्कलाई २–१ ले पराजित गरेको थियो।

डेनमार्कविरुद्धको पहिलो हाफमा ट्युनिसियाले प्रशंसनीय रक्षात्मक शैली अपनाउँदै अघि बढेको थियो। यद्यपि, दोस्रो हाफमा जवाफी हमला गर्न चुक्दा खेल गोलरहित बराबरीमा सकियो।

दोस्रो खेलमा अस्ट्रेलियासँगको खेलमा पनि ट्युनिसिया आक्रमणमा कमजोर नै देखिएको थियो। रक्षात्मक शैलीलाई निरन्तर अघि बढाउँदै लगे पनि यस अस्ट्रेलियासँग १–० ले पराजित भयो। साथै ट्युनिसियाले आफ्नो प्रहारलाई पनि द्रुत गतिमा बढाउन पर्ने आवश्यक देखिन्छ।

आजको खेलमा ट्युनिसियालाई फ्रान्समाथिको जित मात्र पर्याप्त हुने छैन। ट्युनिसियाले अस्ट्रेलिया र डेनमार्कविरुद्धको खेलको नतिजा पनि कुर्नु पर्ने हुन्छ। अस्ट्रेलियाले डेनमार्कलाई पराजित गरे, ट्युनिसियाको जित पर्याप्त हुने छैन।

तर, अस्ट्रेलिया र डेनमार्कबीचको खेल बराबरी भए, अन्तिम १६ मा पुग्नको लागि ट्युनिसियाको जित पर्याप्त हुने देखिन्छ। अर्कोतर्फ, ट्युनिसिया र डेनमार्कले खेल जितेमा, गोल सङ्ख्याको फरकको आधारमा छनोट हुने टोली निर्धारण गरिनेछ ।

यता, फ्रान्स भने आजको खेलमा बराबरीमा मात्र खेल्दा पनि अन्तिम १६ मा पुग्ने छ । करिम बेन्जेमाको अनुपस्थितिमा पनि फ्रान्स प्रतिस्पर्धाको लागि तयार छ। ट्यनिसियाको पोस्टमा गोल गर्न ओलिभर जिरोड, केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान र ओस्मान डेम्बेले तयार देखिन्छन्।

६ अङकसहित फ्रान्स शीर्ष स्थानमा छ। अंकविहीन ट्युनिसिया भने पुछारमा छ।

समूह ‘डी’को अर्को खेलमा अस्ट्रेलिया र डेनमार्क पौने ९ बजे नै आमने-सामने हुनेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved