राम-कलेवा मनाएर रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न

राम-कलेवा मनाएर रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न

जनकपुरधाम। श्री रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। महोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यसवर्षको विवाहपञ्चमी सम्पन्न भएको हो।

जानकी मन्दिर परिसरमा आज भएको भन्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर राम कलेवा मनाइएको हो।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा छ। भोजन पश्चात् साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने परम्परा छ। बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ।

विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरूले एकअर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा समेत रहेको छ।

साधु–सन्तले जनकपुरधाममा भएको सेवा सत्कारबाट आफूहरू हर्षित भएको बताएका छन्।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत रामकलेवा (बिदाइ) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ। यसअघि, सोमबार राम र सीताको विवाह सम्पन्न भएको थियो। त्रेतायुगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम र सीताको प्रतीकको विवाह गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved