पुराना दलप्रतिको वितृष्णाले नयाँ दलको उदय भएको हो : कांग्रेस नेता केसी

नेपालभ्युज

पुराना दलप्रतिको वितृष्णाले नयाँ दलको उदय भएको हो : कांग्रेस नेता केसी

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ । प्रत्यक्षमा करिब ७० सिट आउने अपेक्षा गरेको कांग्रेसले सोचेअनुसार नतिजा ल्याउन सकेन ।

नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी ठूला दलले जनताको भावना नबुझ्दा अहिलेको परिणाम भोग्नुपरेको बताउँछन् ।

नेपाल भ्युजसँग कुरा गर्दै उनले पुराना दलमा सुधारको खाँचो रहेको बताए । देशभरि नो नट एगेनको अभियान चलिरहेको अवस्थामा केसी भने भारी मतान्तरले विजयी भए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका  सुमनविक्रम पाण्डेलाई ११ हजार छ सय ३० मतान्तरले पराजित गरेका हुन् ।

केसीसँग निर्वाचन परिणाम र अबको कार्यदिशाबारे नेपाल भ्युजकर्मी प्रकाश बस्यालले कुराकानी गरेका छन् ।

निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ?

यो निर्वाचनमा हामीले आशा गरेअनुसार परिणाम आउन सकेन । किन भने एकातिर नेपाली कांग्रेस नै सशक्त र निरन्तररूपमा जनताको बीचमा स्थापित पार्टी, हामी सशक्त र पहिलो नम्बरमै थियौँ ।

अर्कोतर्फ पाँचवटा दलको गठबन्धन र सरकारको नेतृत्वमा हुँदाहुँदै जुन परिणाम आयो त्यसलाई मैले उत्साहप्रद त भन्दिनँ । जे परिणाम आएको छ त्यसलाई सकारात्मक नै लिएको छु ।

चुनावअघि नो नट अगेनबारे सुन्नुभएको थियो ?

मैले धेरै नै सुनेको थिएँ । सुनेअनुसार आफ्ना धारण सामाजिक सञ्जालमा पनि लेखिरहेको थिएँ । सबै मतदाताले आफ्ना दृष्टिकोण राख्न पाउँछन् । त्यसलाई नियन्त्रण र कुन्ठित गर्नु हुँदैन ।

अभियानबारे मतदाताले कति सुने सुनेनन् भन्ने कुरा परिणामले देखाइदिएको छ । त्यसलाई तपाईंहरूले नै विश्लेषण गर्नुहोला ।

नयाँ दलको उदयलाई कसरी लिनुहुन्छ ?

नयाँ दलको उदय पुराना दलप्रतिको वितृष्णा हो । यदि, निर्वाचनमा नो भोटको व्यवस्था भएको भए परिस्थिति अर्कै हुन्थ्यो होला । यसलाई कुनै दलको विशेषता वा व्यक्तिको क्षमताभन्दा पनि पुराना दलहरूको नकारात्मक परिणाम हो । यसलाई सबै दलले पार्टीभित्र सच्याउन जरुरी छ ।

पुराना दलहरू कहाँ चुकेको पाउनुभयो ?

परिस्थिति परिवेश जनभावना र समयको चापलाई हामीले जति सम्बोधन गर्नुपर्थ्यो त्यति नभएको र अहिले पार्टीप्रति, पार्टीको नेतृत्वप्रति, स्वयं उम्मेदवारहरूप्रतिको वितृष्णा र असन्तृष्टिले मत विभाजन भएको छ ।

कतिपय ठाउँमा आन्तरिकरूपमा व्यवस्थित हुन नसक्दा अथवा आन्तरिक रूपबाटै आग्रह पूर्वाग्रले केही असर गरेको छ । त्यसको बाबजुद जनताले जे फैसला गरे त्यो सबैका लागि शिरोधार्य हो ।

यसलाई सकारात्मक दुष्टिकोणले लिएर स्थायित्व स्थिरता र जनताले खोजेका परिवर्तन र समयसापेक्ष सरोकारलाई बुझ्दै नयाँ कार्यशैली , नयाँ सोच र नयाँ दृष्टिकोणसहित अगाडि बढ्न सके फेरि नयाँ उचाइ प्राप्त हुनेछ ।

तपाईंहरूले सुधार गर्नुपर्ने मुख्य विषय के-के छन् ?

निर्वाचन भनेको खालि गणितीय गणना मात्र होइन । यो जनभावनाको इन्टिकेटर पनि हो । जनताले हामीलाई दिएको सुझाव पनि हो ।

यसलाई हेर्दा र विश्लेषण गर्दा नेताहरूको कार्यशैलीमा, सोचमा, पार्टीको नीतिमा, नेतृत्वमा, संरचनागत रूपबाट संस्थागत पद्धतिको विकास गर्ने विषय सबैमा सुधार आवश्यक छ । तर सबैभन्दा पहिले विधिको शासन र भ्रष्टाचार निर्मूल पार्न हामी केन्द्रित हुनुपर्ने देखियो ।

कांग्रेसभित्रको गुटका कारण गठबन्धनका उम्मेदवार हारे भन्छन नि ?

खै ! मलाई त त्यस्तो लाग्दैन । यो उहाँहरूको स्थानीय विश्लेषण होला । मेरो कुरा गर्नुहुन्छ भने मलाई गठबन्धनका साथीहरूले भरपुर सहयोग गर्नुभयो । कहीँ कतै त्यस्तो पनि भयो होला तर त्यहाँ दलको भन्दा पनि स्थानीय परिचालनमा केही कमजोरी भयो होला ।

नियतवश कसैले पनि उम्मेदवार हराउन लाग्छ जस्तो मलाई लाग्दैन । त्यसलाई सबैले बुझ्नुपर्छ ।

नेपालमा जहिले पनि विदेशी शक्ति खेल्छन् भन्ने सुनिन्छ । चुनावमा पनि उनीहरूको सक्रियता थियो भन्न मिल्छ ?

होइन होइन यस्तो कसरी हुन्छ ? आफ्नो घर मिलाउन नसक्ने अनि छिमेकीलाई दोष दिन मिल्छ ? घरमा जहिले झगडा देखेपछि छिमेकीले किन झगडा गरेको भनेर छिमेकीले सोध्नु त्यो स्वभाविक हो ।

कसैको दबाब र प्रभाव भन्दा पनि हामीले आफ्नो निर्णय आफैँले लिने क्षमता विकास गर्नुपर्छ । राष्ट्रिय परिस्थितिको निर्माण हामी यही देशभित्र बनाउने हो । । यसमा हाम्रो राजनीतिक दलहरू सक्षम छन् । हामी त्यतैतिर उन्मुख हुनुपर्छ ।

अबको सत्ता समीकरण कस्तो बन्ला ?

हामीले यो निर्वाचनमा जाँदै गर्दा एउटा योजना बनाएका थियौँ । सत्ता गठबन्धनलाई एउटा विन्दुसम्म निरन्तरता दिने विषयमा सहमति भएको थियो । त्यसैले, मलाई लाग्छ सत्ता गठबन्धनकै सरकार बन्छ ।

अहिले म गाउँमै छु त्यसैले नेताहरूसँग त्यतिधेरै संवाद हुन त पाएको छैन । तर सत्ता गठबन्धनका दलहरूले सहमतिको पालना गर्छन् भनने लागेको छ । शक्ति सन्तुलनबारे छलफल गरेर गठबन्धन नै अघि बढ्छ ।

कांग्रेसमा शेरबहादुर देउवाको विकल्प गगन थापा भन्ने आवाज उठेको छ । कत्तिको सम्भव छ ?

हाम्रो संसदीय दल र त्यसमा हुने प्रक्रियाका बारेमा आजै बोल्न उपयुक्त नहोला हाम्रो पार्टीको विधान छ । कोही पनि सांसदले संसदीय दलको नेतामा दाबी गर्न सक्ने व्यवस्था छ । विधानअनुसार नयाँ पुस्ताको दाबी स्वभाविक छ ।

अर्को कुरा निर्वाचित भएका सांसदले जनताको चाहना के छ ? अहिलेको परिस्थिति कस्तो भन्ने जानकारी राख्नु आवश्यक छ । अहिलेको परिस्थिति र जनताको भावना बुझेर सबैले निर्णय लिनुहुन्छ होला ।

मेरो विचारमा अहिलेको अवस्थामा पुराना यथास्थितिवादी नेतृत्वले अब आउने चुनौतीको सामना गर्न सक्दैन । पुस्तान्तरण जरुरी छ ।

कांग्रेससँग सत्ता सहकार्य गर्न एमालेका नेताहरू तयार देखिन्छन् ?

अहिलेको परिस्थितिमा गठबन्धन नै पहिलो प्राथमिकता छ । तर, एमालेलाई पनि हामीले मित्र शक्तिको रूपमा लिएका छौँ ।

परिस्थितिको गाम्भिर्यतालाई हेरेर देशलाई स्थायित्व दिने विषयमा एमालेसँग छलफल हुनु अस्वाभाविक भन्न पनि मिल्दैन । विभिन्न कालखण्डमा हामी मित्रवत् रूपमै परिवर्तनको पक्षमा लागेका थियौँ ।

अबका दिनमा कांग्रेसभित्र तपाईंको भूमिका कस्तो हुन्छ ?

कांग्रेसभित्र नीतिगत नेतृत्वगत, संरचनागत र शैलीगत परिवर्तनको आवश्यकता छ । त्यो परिवर्तनको पक्षमा म निरन्तर संघर्ष गरेर आएको मान्छे हुँ । मेरो आउने यात्रामा पनि त्यसैमा संलग्न हुन्छु तर पार्टीभित्र बृहत् एकता र सहमति आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved