बेइजिङ डायरी

जनतालाई केन्द्रमा राख्ने चिनियाँ नीति र निर्वाचनमा युवामत

राजनीति गर्ने नेताले सधैँ जनतामा भिजेर काम गर्नुपर्छ भन्ने कुराले चीनले प्रमाणित गरेको छ। चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले आफ्ना हरेक मन्तव्यमा जनताको सेवा गर्नुपर्ने कुरालाई कुनै न कुनै ढङ्गले व्यक्त गरेकै हुन्छन्।

जनतालाई केन्द्रमा राख्ने चिनियाँ नीति र निर्वाचनमा युवामत

मंसिर ४ गतेको चुनाव छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यो आलेख तयार बनाउँदा (शुक्रबार राति दस बजे) सम्म चुनावी नतिजा लगभग ८५ प्रतिशत सार्वजनिक भइसकेको छ। यो निर्वाचनले केही आश्चर्यजनक नतिजा पनि दिएको छ।

पहिलो हुने निर्वाचन पद्धति नै राजनीतिक दल र नेतालाई जनताका सामु उभ्याएर परीक्षण गराउने एउटा माध्यम हो। यद्यपि यो पद्धतिमा बहुमत जनताले नछानेका व्यक्ति पनि चुनिन सक्छन्। धेरै व्यक्तिमा मत बाँडिँदा सबै मतदातामध्ये आधाभन्दा थोरैले मतदान गरेको व्यक्ति पनि चुनिन सक्छ। यो पद्धतिको एक खराबी पनि हो।

निर्वाचनमा भाग लिइसकेपछि जनताले विवेक प्रयोग गरेर निर्वाचित गराएको व्यक्तिलाई स्वीकार गर्नु सर्वोपरि सिद्धान्त हो। आफूलाई मन नपरेको व्यक्ति निर्वाचित भयो भन्दैमा जनतालाई ‘मूर्ख’, ‘भेडा’, ‘पशु’, ‘बुद्धिहीन’, ‘पैसामा बिकेका’ जस्ता उपमा भिराएर अपमान गर्ने कसैलाई अधिकार छैन। आफूले जित्दा संसारै जिते जस्तो गर्ने र हार्दा चाहिँ ‘प्राविधिक’ भनेर धुर्त्याइँ गर्नु मनासिब छैन।

यो निर्वाचनले नेपालमा अभूतपूर्व रूपमा महत्त्वपूर्ण सन्देश पनि दिएको छ। जनता शक्तिशाली हुन्छन् र उनीहरू कसैको दोष होइन भन्ने कुरा प्रमाणित भएको छ। अमुक दलले गठबन्धन गर्नु भनेको त नेताका स्वार्थ मात्र हुन् भन्ने विवेकी जनताले बुझेरै थुप्रै नेतालाई सजाय दिएका छन्।

दुईदुईवटा गठबन्धन भएका थिए। सञ्चार माध्यम र राजनीतिक पण्डितहरू त्यही कथित दुई गठबन्धनमध्ये कुनै एक गठबन्धनको उम्मेदवारको पल्लाभारी हुने भविष्यवाणी गरिरहेका थिए। तर जनताले दुवै खाले गठबन्धनलाई लोप्पा खुवाउँदै तेस्रो पक्षलाई मतदान गरे।

जनता मेरो गोजीका हुन् र उनीहरू मेरै निर्देशमा चल्छन् भन्ने ममत्याईं बोकेका नेताहरूको चेत त्यतिबेला मात्र खुल्यो जति बेला मतगणना हुँदा उनीहरू निकै पछाडि पर्दै गए। पहिलो पटक मतदान गर्दै गरेका युवा पुस्ताको रोजाइ के छ भन्ने कुरा पुरानो ढर्राका नेता र तिनका पार्टीले बुझेकै थिएनन्। यो उनीहरूको कल्पनाभन्दा बाहिरको कुरा थियो।

ठूला र बारम्बार परीक्षण भएका राजनीतिक दललाई सहरी युवा पुस्ताले स्वीकार गरेको देखिएन। खासगरी देशमा व्याप्त वेथितिलाई लिएर उनीहरू दिक्क थिए। मौलाउँदै गरेको भ्रष्टाचार, सीमित व्यक्ति पोष्ने गरी हुने कुकृत्यहरु, विदेशिने युवापुस्ताका लागि मौन राज्य नीति, चुलिँदो महङ्गी, शिक्षा र स्वास्थ्यमा भएको व्यापारीकरण, राज्य ढुकुटीमाथिको दोहन, अख्तियारको चरम दुरुपयोग, सम्पदा संरक्षणमा उदासीनता, भाषणमा सीमित विकास आदि कुराले सहरी युवाभित्र आगो दन्किरहेको थियो।

भित्रभित्रै गुम्सिरहेको आगोको भुङ्ग्रोलाई हर्क साम्पाङ र बालेन साहहरूले गत स्थानीय चुनावमार्फत खरानी उधिनेर बाहिर ल्याइदिए। यो निर्वाचनमा त्यो भुङ्ग्रोले डढेलो लगाएको छ।

नेता र राजनीतिक दल नसुध्रिएमा यो आगो अर्को चुनावमा क्रमशः गाउँ गाउँमा पुग्ने सम्भावना छ। जङ्गलमा लागेको आगोले राम्रो नराम्रो सबै जलाउँछ। जङ्गलका सुकेका मुडा मात्र होइन हरिया रुखलाई पनि आगोले खरानी बनाउँछ।

एकातिर अप्राकृतिक गठबन्धनलाई जनताले अस्वीकार गरिदिएका छन् भने नेताका दम्भ र घमन्डको मुखुण्डो पनि उतारिदिएका छन्। निर्वाचन जितेपछि जनताको घर दैलोमा कहिल्यै नपुग्ने, विभिन्न प्रकोपबाट जनता पीडित हुँदा आफ्नो स्वार्थपूर्ति गर्ने, निर्वाचित भएपछि धनसम्पत्ति जोड्न र ऐशआराममा भुलिने, आफन्त र नातागोताका व्यक्तिलाई मात्र अवसर दिने अनि पाँचवर्षपछि चिप्ला कुरा गर्दै गाउँमा जाने नेतालाई जनताले घोक्रेठ्याक लगाएका छन्।

निर्वाचन हारेपछि नेताहरू भन्दै छन् घेराबन्दी गरियो, गठबन्धन गरेर हराइयो, जालझेल गरियो, धाँधली भयो आदि इत्यादि। जनताका बिचमा भिजेका व्यक्तिका लागि उल्लिखित कुनै पनि कुराको कुनै अर्थ छैन। यदि जनताले रुचाएको व्यक्ति छ भने उसलाई कसैको बैशाखी भिर्नै पर्दैन। जनताले सहजै जिताउँछन्। त्यसकारण जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ।

राजनीति गर्ने नेताले सधैँ जनतामा भिजेर काम गर्नुपर्छ भन्ने कुराले चीनले प्रमाणित गरेको छ। चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले आफ्ना हरेक मन्तव्यमा जनताको सेवा गर्नुपर्ने कुरालाई कुनै न कुनै ढङ्गले व्यक्त गरेकै हुन्छन्।

सन् २०१९ मा नेपाल भ्रमणताका उनले दिएको मन्तव्यमा पनि जनता सर्वोपरि भएको र राजनीति गर्ने नेता तथा राजनीतिक दलले जनताको सेवा गर्नु नै समयको सबैभन्दा उत्कृष्ट कार्य रहेको कुरामा जोड दिएका थिए।

नेपालमा मात्र होइन चीनले अन्तर्राष्ट्रिय समाजमा समेत जनताको सेवा गर्ने कुरालाई सदैव केन्द्रीय रूपमा उठाउने गरेको छ। संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सह्रश्राब्दी विकास लक्ष्यको एउटा मुख्य काम गरिबी निवारणलाई चीनले दस वर्ष अगावै पूरा गरेको छ। सी चिनफिङ सत्तामा आएपछि मात्र चीनले ९ करोड ८९ लाख ९० हजार मान्छेलाई अति गरिबीबाट मुक्त गरेर चीनबाट समुल रूपमा गरिबी उन्मुलन गरेको छ।

सन् २०१२ देखि २०२० सम्मको ८ वर्षको अवधिमा चीनले गरिबीबाट मुक्त गरेका मानिसको सङ्ख्या युरोपेली मुलुक जर्मनीको जनसङ्ख्याभन्दा बढी हो। यो अवधिमा चीनले विश्वमा गरिबी निवारणमा ७० प्रतिशत योगदान दिएको छ।

अमेरिकी तत्कालीन विदेश मन्त्री एचेसन डिनले ‘अमेरिका र चीन सम्बन्ध’ मा लेखेका थिए ‘नयाँ चीन स्थापना हुँदा (सन् १९४९ अक्टोबर १) चीनसँग आफ्ना भोकमरीमा परेका ५० करोड नागरिकलाई खान दिन सक्ने क्षमता थिएन। त्यस्तो बेला चिनियाँ जनताले बाँच्ने र विकासको कल्पना गर्छन् भनेर कसैले सोचेको थिएन। तर चिनियाँ जनतासँग बाँच्ने र विकास गर्ने दृढ सङ्कल्प यस्तो थियो जुन कसैले कल्पना गरेकोभन्दा बाहिर थियो।’

सन् २०१७ मा आयोजित विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड अफ गभर्नरको वार्षिक वैठबकमा अध्यक्ष जिम योङ किमले गरिबी निवारणमा चीनको उपलब्धिलाई मानव इतिहासकै महान् कथा भनेर प्रशंसा गरेका थिए। एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष चिन लिछुनका अनुसार चीनले सन् २०२० अगाडि प्रति मिनेट २६ जनालाई गरिबीबाट मुक्त गर्दै आएको छ।

चिनियाँ राष्ट्रपति चीनका गाउँगाउँमा पुग्छन्। तर उनले कहिल्यै फूलमाला र अबिर लगाएको देखिएको छैन। चिनियाँ नेताको भ्रमण हुँदा कहिल्यै ट्राफिक जाम भएको थाहा छैन। चिनियाँ राष्ट्रपति जनतालाई भेला गराएर लामा लामा भाषण गर्दैनन्। उनी त जनताका भान्सामा जान्छन्। ओछ्यान हेर्छन्। बुढाबुढी व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन्छन्। बालबालिका पढिरहेका विद्यालयमा गएर आफ्नो बाल्य अवस्थाको स्मरणहरू सुनाउँछन्।

जनताको सेवा कसरी गर्नुपर्छ र सेवा भनेको के हो भन्ने उदाहरण प्रस्ट्याउनका लागि यहाँनेर चीनको प्रसङ्ग उल्लेख गरिएको हो। चीनले गरिबी निवारण गरेर मानव अधिकारको सबैभन्दा ठूलो उदाहरण पनि प्रस्तुत गरेको छ। मानव अधिकारभित्र गाँस, बास र कपास आधारभूत आवश्यकतामा पर्छन्। जुन देशमा मान्छे भोकै मर्छन्, जुन देशमा मान्छे सडकमा आधा आङ छोप्ने टालो बिना माग्न बसेका हुन्छन्, जुन देशमा मान्छे बिना ओत सडकमा जिन्दगी बिताउँछन् त्यहाँ मानव अधिकार हुन्छ भनेर फलाकेर मात्र के काम!

मानव अधिकार त त्यो हो, जहाँ नागरिकहरूले खुशी हुन्छन्। मानव अधिकार त्यो हो, जहाँका नागरिकले अत्यावश्यक बस्तुबाट वञ्चित हुनु नपरोस्। मानव अधिकार त्यो हो त्यहाँका नागरिकलाई स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा जस्ता विषयमा विना भेदभाव राज्यले समान अवसर र ग्यारेन्टी प्रदान गर्छ।

नेपालका नेताहरूले पनि गरिबी निवारणमा धाराप्रवाहमा भाषण गर्छन्। उनीहरूका सुन्दर दस्ताबेजमा गरिबी निवारणलाई प्राथमिकतामा राख्ने कुरा पनि उल्लेख छ। तर, उनीहरूको व्यवहार चाहिँ निराशाजनक छ। जनता केन्द्रित काम भन्दा उनीहरू आत्मरतिका लागि काम गर्छन्।

नेपाली नेताहरूमा आडम्बर र मपाईंत्व बढी हुन्छ। औपचारिकता र कथित प्रशंसामा रमाउने उनीहरूका नियतले जनताका समस्या ओझेलमा पर्छन्। चुनावमा जितेपछि फूलका माला र अबिर पहिर्‍याउनु सबैभन्दा पहिलो कर्तव्य हुन जान्छ। त्यसपछि विजय जुलुस र र्‍याली गर्ने अनि भोजभतेर गर्ने चलन त छँदैछ।

चुनावमा मात्र होइन नेपाली नेताहरू जिल्ला र गाउँमा जाँदा आफ्नो शरीरको वजनभन्दा बढी तौलका फूलका माला लगाउँछन्। अबिर र खादाले पुरेको हुन्छ उनीहरूको शरीर। विकासका नारा फलाकेर चुनाव जित्ने नेताहरू एउटा सार्वजनिक शौचालय वा गाउँको भलिबल खेलको उद्घाटनमा पुगेर समय नष्ट गरिरहेका हुन्छन्।

नेताहरूको निस्कँदा ट्राफिक जाम भएर एम्बुलेन्समै बिरामीको मृत्यु भएको समाचार सुनिने देश हो नेपाल। नेताको जयजयकार र स्वागतमा विद्यालयबाट कलिला बालबालिकालाई सडकमा उभ्याइने देश पनि नेपाल नै हो। देशभक्ति र राष्ट्रभक्तिका लम्बेतान भाषणमा प्रतिस्पर्धा गर्छन् नेपाली नेताहरू। तर, आफ्ना नागरिकलाई विदेशी सुरक्षाकर्मीले तुइन काटेर बगाउँदा र विदेशीले चलाएको डोजरले ढुङ्गा पल्टाउँदा बालबालिका मार्दा मौन बस्छन्।

सबैले छातीमा हात राखेर सोचौँ त। कुन राजनीतिक दलले कहाँनेर जनतालाई प्राथमिकतामा राखेर काम गरेको छ? सबैले आफ्नो दुनो सोझ्याउने काम मात्र गरेका छन्।

राजनीतिलाई पेशा होइन सेवा बनाउनुपर्छ। नेताले बिलासी जीवन जिउन राजनीति गर्ने होइन जनताको सेवा गर्नका लागि राजनीतिमा लाग्नुपर्छ। यो कुरा चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीका हरेक बैठकमा व्यक्त गर्छन्। नेपाली नेताहरू हो अब त आँखा उघार। चेतनाको बिर्को खोल। आफ्नो स्वार्थपूर्तिका लागि होइन जनताको हितका लागि राजनीति गर। होइन भने राजनीति छोडेर अरू पेशा गर। बस् राजनीतिलाई अरू धमिलो नबनाऊ।


Comment

One thought on “जनतालाई केन्द्रमा राख्ने चिनियाँ नीति र निर्वाचनमा युवामत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved