मकवानपुरको चुनावी संयोग ∶ विरोध खतिवडाको पाँचौ पटकमा हार, दीपक सिंहको पाचौं पटकमा जित

मकवानपुरको चुनावी संयोग ∶ विरोध खतिवडाको पाँचौ पटकमा हार, दीपक सिंहको पाचौं पटकमा जित

हेटौंडा । मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन यो पटक यस कारण रोचक थियो कि एक क्षेत्रमा चार पटक निर्वाचित भएर पाचौँ पटक सांसद बन्नका लागि उम्मेदवारी दिइरहेका नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा मकवानपुर-२ मा उम्मेदवारी दिएका थिए भने मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिपक सिंह चार पटकका हारमा पाचौँ पटक जीतको स्वाद चाख्न उम्मेदवारी दिइरहेका थिए ।

अवस्था यस्तो थियो कि सिंहको साथमा करिब ७–८ हजार सांगठनिक भोट मात्र रहेको थियो । ८ हजार बराबर भोट रहेको सिंहले ३० हजार मत भएको एमाले र ४० हजारको हाराहारी मत भएको गठबन्धनलाई पराजित गर्न कसरी सफल भए ? त्यस्तै नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत रहेको खतिवडाले गठबन्धनबाट कसरी हार बेहोरे ? यति वेला चासोको विषय बनेको छ ।

जीवनभर हारको स्वाद मात्र चाखेका ६४ वर्षीय सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मयेरमा नेकपा एमालेका डोरमणि पौडेलसँग १२ सय मत अन्तरले पराजित भएका थिए । २०५६ मा मकवानपुर प्रतिनिधिसभा २ मा उनी एमालेका खतिवडासँग १२ सय मत अन्तरले हारेका थिए।

सिंह शाही शासनकाल २०६१ मा जिल्ला विकास समितिको सभापति भएका थिए । तर, उनलाई त्यसपछिको निर्वाचन पनि फापेन । संविधानसभा सदस्यको लागि २०७० मा भएको निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग सिंह २ हजार २ सय मतले पराजित भए । लामो समय राप्रपा नेपालका अध्यक्ष थापा निकट रहेर राजनीति गरेका सिंहको साथ राप्रपाबाट थापा अलग्गिएपछि छुट्यो ।

उनी थापाको साथ नलिइ २०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धी भए । सिंह नेकपा एकीकृत समाजवादीका मिना लामासँग २५ सय ४४ मत अन्तरले पाराजित भए । उनले २० हजार ३१ मत ल्याएका थिए ।

थापा निकट रहेर राजनीति गरेका सिंहको साथ राप्रपाबाट थापा अलग्गिएपछि थापालाई जिल्लाका एकाध जिल्ला नेताबाहेक कसैले समर्थन जनाएनन् । सधै थापाको पक्षमा उभिने गरेका सिंह थापाले राप्रपा छोड्दा सिंह थापाको पक्षमा लागेनन् ।

मौन बस्दै आएका सिंह एकैपटक वैशाखको स्थानीय निर्वाचनमा राप्रपाबाटै हेटौंडा उपमहानगरको मेयर पदको प्रतिस्पर्धामा देखिएका थिए । सिंहले जिल्लामा पार्टीलाई सक्रिय रुपमा अघि बढाउँदा छोटो समयमा राम्रो जनमत पाए । सोही जनमतलाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य पदको उम्मेवार बने ।

आफ्नै राजनीतिक गुरु समेत रहेका राप्रपाका पूर्व अध्यक्ष थापाविरुद्ध चुनावी मैदानमा उत्रिए । सिंहले घरदैलो र चुनावी सभाहरुमा आफुले निर्वाचन जिते भष्ट्रचार नगर्ने र भष्ट्रचार विरुद्ध खरो रुपमा उत्रिएर सधै राष्ट्रियताको पक्षमा खुलेर जिल्लाको विकासमा लाग्ने प्रतिबद्धतासहित आम मतदाताहरुको ध्यानाकर्षण गराउँदै चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।
राप्रपाका पूर्व अध्यक्ष थापालाई गृह जिल्ला मकवानपुर–१ मा हराउन र सिंहलाई जिताउनको लागि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आफै दुई पटक चुनावी सभालाई सम्बोधन गर्न जिल्ला आएका थिए ।
सधै एमालेसंग हारेका सिंहले अन्तत २७ हजार ८ सय १६ मत पाएर बाजी मारे । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन् भने कमल थापाले २५ हजार ४२० मत पाए ।

त्यस्तै पाँच पटक सांसद बन्ने बाटोमा विरोध खतिवडाको ताला लागेको छ । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । २०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडा ३१ वर्षपछि रोकिएका हुन् ।

२०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । जिल्लामा कम्युनिस्टहरूको रापताप बढ्दै गइरहेका बेला उनले जित्न थालेका थिए ।

त्यसपछि २०७४ सम्म आइपुग्दा पनि खतिवडाले चुनाव जितिरहे । उनले चुनाव मात्रै जित्दै आएका थिएनन्, उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरूको रेकर्डमा नामसमेत लेखाएका थिए । खतिवडाले हालसम्म चार वटा निर्वाचन जितेका छन् । उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा–व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् ।

तर, पाँचौँ पटकको प्रयासमा भने उनको अपराजित चुनावी यात्रामा रोक लाग्यो । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लगाउने पनि उनकै राजनीतिक चेला बने । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का खतिवडा र नेकपा एमालेका बर्तौला प्रतिस्पर्धामा थिए । बर्तौलाले आफ्नो पहिलो प्रयासमा खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले हराएका हुन् ।

स्थानीय तह निर्वाचनमा प्राप्त मतमा नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत थियो । जसमा नेकपा एमालेको मत ३६ हजार ५ सयभन्दा बढी थियो । अंक गणितमा खतिवडा अगाडि देखिए पनि निर्वाचनको नतिजामा बर्तौलाले बाजी मारे । खतिवडाले २९ हजार १८१ मत ल्याउदा बर्तौलाले ३३ हजार ५०४ मत ल्याई खतिवडालाई पाचौँ पटक संसद बन्नबाट रोकेका हुन् ।

चेलाबाट हार प्राप्त गरेका गुरु

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलोपटक संसदीय चुनावमा आफ्नै राजनीतिक गुरुलाई पराजीत गरेका हुन् । एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख रहेका बर्तौलाले २०७४ को चुनावमा खतिवडालाई जिताउन उनको प्रचारप्रसार संयोजक भएर काम गरेका थिए । तर, त्यसको ठीक पाँच वर्षपछि गुरु–चेला नै एकअर्काको प्रतिस्पर्धी बने ।

उनीहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा खतिवडा लागेका थिए । अनेरास्ववियुमार्फत विद्यार्थी जीवनबाट राजनीतिबाट सुरु गरका बर्तौलाले पहिलो पटकको संसदिय निर्वाचनमा निर्वाचित हुन पुगे । २०५३ सालमा कालिका मावि नामटारमा अध्ययनरत रहँदा नै उनी अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए ।

२०५४/५५ सालमा अनेरास्ववियु इलाका कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी बनेका उनी २०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्य हुँदै सचिवालय सदस्य बनेका थिए । २०५८ मा जिल्ला कमिटी सचिव, २०६० र २०६२ मा मकवानपुरको जिल्ला अध्यक्ष चुनिएका उनले २०६० मा मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य थिए ।

२०६२ र २०६५ मा गरी दुई पटक मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएकाउनले विभिन्न समयमा अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख, दुई पटक केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्ष र कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरे । २०६३ मा नै नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य बनेका उनी २०७८ मा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य बनेका थिए ।

बर्तौलाले सुरुवात देखिनै मतमा अग्रता हासिल गरिरहेका थिए भने थोरै मतान्तरले खतिवडाले उनलाई पछ्याउदै आइरहेका थिए । अन्तत ३९ वर्षका बर्तौलाले आफूलाई राजनीतिमा ‘ताते‘ताते’ गराएका राजनीतीका गुरुलाई पाचौँ पटक सांसद बन्नबाट रोक्दै हारको स्वाद चखाइदिए ।

४ दिनदेखिको मत ३ घण्टामै जव उर्लियो

निर्वाचनपछिको मत गणनामा मकवानपुरको प्रतिनिधिसभा-१ मा बिहीवार बिहान ११ बजेसम्म नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लगातार अगाडी रहेकी थिइन् ।
मतगणना शुरु भएदेखि नै अग्रता लिएकी डिना एकपटक पनि दोस्रो वा तेस्रो स्थानमा पुग्नु परेन । डिना पहिलो स्थानमा रहिरहँदा एमालेका उम्मेदवार कमल थापा दोस्रो र राप्रपाका उम्मेदवार दिपक सिंह तेस्रो स्थानमा रहेका थिए ।

पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिना ४ दिनसम्म लगातार अग्रस्थानमा रहिरहँदा उनलाई विजयी भएको भन्दै बधाई समेत आउन थाले तर अन्तिम समयमा आएर अवस्था उल्टियो।

बिहीवार बिहान करिब ११ बजेदेखि दिउँसो २ बजेसम्म ४ दिनको मतपरिणाम उल्टाउँदै राप्रपाका सिंह विजयी भए । सिंहले ४ दिनदेखिको बाजी ३ घण्टामै उल्टाइदिए। लगातार तेस्रो रहेका सिंह अकस्मात् आक्रामक रूपमा अघि बढ्दै चुनाव जिते।

मतगणनाको पहिलो र दोस्रोको रातीसम्म कांग्रेसकी डिना एमालेका थापाभन्दा करिब १२ सय मत अघि थिइन् भने सिंह डिना भन्दा करिब ४५ सय मतले पछि थिए । १ नम्बर क्षेत्रको बागमती र बकैया गाउँपालिकाको मतगणना रहँदासम्म सिंह निकै पछि परेका थिए ।

तर जब हेटौंडा उपमहानगरभित्रको मतगणना सुरु भयो त्यसपछि सिंहको मतको चमत्कारी रुपले अघि बढ्यो । सिंहले हेटौंडा उपमहानगरको एकाध वडाबाहेक सबै वडामा डिना र थापाको भन्दा दोब्बर बढी मत प्राप्त गर्दै डिना र थापलाई पछ्याए ।

जसको फलस्वरुप मतगणनाको तेस्रो दिन बिहीबार बिहान साँडे ११ बजे पहिलो पटक डिना र थापा दुबैलाई पछि पार्दै पहिलो पटक अग्रता लिए । सो समयमा सिंहले २५ हजार ६५ मत प्राप्त गर्दा डिनाले २४ हजार ३३० र थापाले २३ हजार ७१४ मत ल्याए ।

त्यसपछिको मतगणनमा सिंहले अग्रता कायम राखिराख्दा मतगणनाको अन्तिम मतपरिणाम अनुसार सिंह २७ हजार ८१६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित बने ।
सिंहका प्रतिस्पर्धी कांग्रेसकी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्दा थापाले २५ हजार ४२० मत प्राप्त गरे ।

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार टाकाराज थापाले ५ हजार ६९३ मत प्राप्त गर्दा नेकपा मालेका कृष्णप्रसाद दाहालले ७५९ मत प्राप्त गरे । हेटौंडाको मुख्य बजार क्षेत्रबाट पनि उनले व्यापक जनसमर्थन प्राप्त गरेका छन्। विशेषगरी सिंहले हेटौंडाको १२,४ र ५ नम्बर वडाबाट निर्णायक मत प्राप्त गर्न सके।

देशैभरि राप्रपाप्रति बढ्दो चासो, सत्तारुढ गठबन्धनभित्र रहेको व्यापक असन्तुष्टि, नेपाली कांग्रेसभित्र बढ्दो गुटगत राजनीतिको प्रभाव र एमालेको आफ्नो उम्मेदवार नभएको अवस्थामा सिंहलाई जित्न सहज भयो। कांग्रेस र कम्युनिष्टबीचको द्वन्द्वले गर्दा सिंह राजावादीको जितको झण्डा फहराउन सफल भए। लामो समय एउटै पार्टीमा सँगै काम गरेका सहयात्री कमल थापाको उम्मेदवारीले गर्दा उनले एमालेको मत सहजै तान्न सके।

उता कांग्रेसको आन्तरिक द्वन्द्वको फाइदा पनि उनले भरपूर उठाए । सिंहको जीतसंगै मकवानपुरमा राप्रपा २८ बर्षपछि विजयी भएको हो । यसअघि २०५१ मा भएको मध्यावधी निर्वाचनमा राप्रपाले जित हात पारेको थियो । तत्तकालिन राप्रपाका नेता कमल थापा निर्वाचित बनेका थिए । त्यसपछिको सबै निर्वाचनहरुमा राप्रपाले भाग लिए पनि जित हात पार्न सकेको थिएन । तर हालै भएको प्रतिनिधिसभामा जित हात पारेसँगै जिल्लामा राप्रपाको शक्ती पुनः फर्किएको विश्लेषण सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved