समानुपातिकतर्फ दलहरूले यसरी पाउँछन् सिट

नेपालभ्युज

समानुपातिकतर्फ दलहरूले यसरी पाउँछन् सिट

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुनेतर्फको सम्पूर्ण परिणाम आइनसक्दै समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित हुनेको चर्चा शुरु भएको छ । सामान्यरूपमा बुझ्दा पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेद्वारहरू विजयी हुन्छन् ।

नेपालको निर्वाचित प्रणाली मिश्रित निर्वाचित प्रणाली हो, संघीय संसद र प्रदेश सभा (संसद्) दुवैमा लागू गरिएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीबारे बुझ्न सहज भए पनि समानुपातिक निर्वाचित प्रणालीबाट निर्वाचित हुने प्रक्रिया अलि जटिल र प्राविधिक पक्ष रहेको छ ।

नेपालले समानुपातिक निर्वाचित प्रणाली विश्वका धेरै देशमा लागू भएको सेन्ट लग विधिलाई प्रयोग गरेर पार्टीले पाएको मतबाट निर्वाचित उम्मेदवारको संख्या निकाल्छ । यसरी प्राप्त संख्यालाई समानुपातिक समूहको प्रतिशतको आधारमा दलले सूचीकृत गरेका उम्मेदवार प्राथमिकताअनुसार निर्वाचित हुनेछन् ।

समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित सिट जित्ने दल छनोट प्रक्रिया

समानुपातिक तर्फको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित हुने उम्मेदवारले प्रभाव परेको हुन्छ । त्यसैले, समानुपातिक तर्फको निर्वाचनका लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत निर्वाचित हुनेको मत परिणाम सहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि त्यसपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ ।

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ । अहिले प्रतिनिधि सभाको निर्वाचनमा ४७ वटा दलहरूले भाग लिएका छन् ।

३ प्रतिशतको अंकलाई थ्रेस होल्ड अंक निकालेपछि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका ४७ वटा दलहरूले समानुपातिक तर्फको निर्वाचनमा पाएको मत र थ्रेस होल्डको अंकसँग तुलना गरिन्छ । यस्तो तुलनामा थ्रेस होल्डको सीमा पार गरेका दलहरू र सीमा काट्न नसकेका दलहरू विभाजन गरिन्छ ।

थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरू समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् । बाहिरिएका दलसँगै ती दलहरूले प्राप्त गरेको मतसमेत समानुपतिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ ।

समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित सिट निकाल्ने प्रक्रिया

संघीय संसदको प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ । थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मतअनुसार निर्वाचित सिट निकलिन्छ । यसपछि समानुपातिक तर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ । यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ ।

यी सबै बिजोर भाजकले समानुपातिक तर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेस होल्ड काटेका) दलले पाएको मतलाई भाज्य मान्दै भाग गर्छ । १ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो । यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ ।

दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ । प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलहरूमध्य] जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ । यो भनेको पहिलो ठूलो भागफल दोश्रो ठूलो भागफल गर्दै क्रमसः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ ति सबै निर्वाचित सिट हुन् ।

यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ । जसको जसको भागफल हो त्योअनुसार दलले जितेको सिट मान्दै जोडिन्छ, अनि दलको कुल विजयी सिट निस्कन्छ । यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ । स्वभावतः दलले प्राप्त गरेको मत परिणामअनुसार सिट निर्वाचित हुन्छन् । यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो । यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्दछन् ।

विजयी सिटमा क्लस्टर विभाजन प्रक्रिया

समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले क्लस्टरभित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन् । यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने निर्धारण हुन्छ । तर, संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेसी १५.३%, थारू ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ ।

यी सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तिमा ११ जनाको सूची बुझाएको हुनुपर्छ । यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयोगमा पेस गरेका हुन्छन् ।

अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टर अनुसार कसरी निर्वाचित गराउँछ त ? ११ जनामा सबैको प्रतिशतअनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खस आर्य ३ जना, थारू १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन् । यो ११ जनामध्ये ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ ।

तर, क्लस्टरमा निर्वाचित हुनेको संख्या नघटाई त्यो दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रिय सभामा रहेका सांसदको संख्या र प्रतिनिधित्व हुने क्लस्टरले समानुपातिकमा निर्वाचित हुने समूहमा असर गरेको हुन्छ । समानुपातिक निर्वाचनको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट पायो कति सिट जित्यो, राष्ट्रिय सभामा कति जना सांसदहरू हुनुहुन्छ ? तीमध्ये कति महिला छन् ? भन्ने हिसाब गरेर संविधानको व्यवस्थाअनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।

यसको लागि निर्वाचन आयोगले सबै शर्त राखेर क्लस्टरअनुसार निर्वाचित भएको प्राथमिकता क्रम उपलब्ध गराउन पत्राचार गर्दछ । पत्राचारपछि प्राप्त प्राथमिकता क्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयोगले विभिन्न दलबाट समानुपतिक प्रणालीमा निर्वाचित व्यक्तिहरूको सूची प्रकाशित गर्दछ । यसरी संघीय संसदको प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा दलले पाएको मतबाट उम्मेदवार व्यक्ति निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फको निर्वाचन प्रक्रिया संघीय संसद र प्रदेश सभा

मुलभूत रूपमा संघीय संसद् प्रदेश सभामा लागू भएको निर्वाचन प्रणाली उस्तै हो । संघीय संसद २ सदनात्मक हुने भएकोले माथिल्लो सदन (राष्ट्रिय सभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एकै हो । यद्यपि, समानुपातिक तर्फको थ्रेसहोल्ड (प्रदेश सभाको समानुपातिक निर्वाचनको थ्रेस होल्ड १.५ %) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ ।

तुलनात्मक रूपमा हेर्दा प्रतिनिधि सभाभन्दा प्रदेशसभा अझ बढी समावेशी देखिन्छ । साथै, समावेशी क्लस्टरको प्रतिशत प्रदेशअनुसार फरक-फरक छ । उदाहरणको लागि प्रदेश १ मा समानुपतिक निर्वाचनमा मधेसी समूहबाट निर्वाचित हुने प्रतिशत ७.५ % छ भने मधेस प्रदेशमा ५४.३६ % छ । यस्तै, बागमती प्रदेशमा मुस्लिम ०.६७ % निर्वाचित हुने व्यवस्था छ, तर मधेस प्रदेशमा ११.५८% छ । यो भनेको समानुपातिक समूहमा रहेको जनसंख्याको उपस्थिति फरक भएकाले प्रदेशअनुसार निर्वाचित संख्या घटी, बढी भएको हो ।

प्रदेश सभामा निर्वाचित हुने समानुपातिक समूहमा अल्पसंख्यक समूह पनि छ, यो समूह प्रतिनिधि सभामा छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved