मध्य नेपालमा घण्टी बज्दा, मधेसमा माइक, पश्चिममा ढकिया

प्रारम्भिक मतगणनाको रुझानसँगै काठमाडौंसहित मुख्य शहरहरुमा घण्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ। पश्चिम तराई नागरिक उन्मुक्ति पार्टीको लहरसँगै ढकियाले ढाकेको छ। यता पूर्वी तराईमा जनमत पार्टीको माइकको ध्वनि तरङ्गित बनेको छ।

मध्य नेपालमा घण्टी बज्दा, मधेसमा माइक, पश्चिममा ढकिया

काठमाडौं। २०७९ सालको आमनिर्वाचनको प्रारम्भिक मतगणनाको रुझानसँगै संघीय राजधानी काठमाडौंसहित मुख्य सहरहरुमा घण्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ। पश्चिम तराई नागरिक उन्मुक्ति पार्टीको लहरसँगै ढकियाले ढाकेको छ। यता पूर्वी तराईमा जनमत पार्टीको माइकको ध्वनि तरङ्गित बनेको छ।

तीन फरक स्थानमा तीन दलको उदय भएको छ। अनौठो कुरो त यी सबै दलहरू निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको पार्टीहरू हुन्। स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी पछिल्ला दशकमा रजगज गर्दै आएका दल र नेताहरूको एकाधिकार तोड्दै उदाएका हुन्।

लाखौँ मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्‍याएका ती दलका उम्मेदवारले अहिले मतगणनाको क्रममा समेत कतिपय ठाउँमा ठूला दलका पुराना नेतालाई हायलकायल पारिरहेका छन्।

आमनिर्वाचनको प्रारम्भिक मत परिणाम स्वतन्त्र पार्टीले काठमाडौंसहित मध्य नेपालका झन्डै दर्जन क्षेत्रमा अग्रता कायम गरिरहेको छ। काठमाडौं, चितवन, पोखरा, रुपन्देहीलगायतका १२ क्षेत्रमा अगाडि छ।

उनीहरूले कांग्रेस र एमालेलगायतका परम्परागत दलका उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन्। स्थापनाको हिसाबले यो सबैभन्दा कान्छो पार्टी हो। २०७९ असार ७ गते पूर्व सञ्चारकर्मी रवि लामिछानेले यो पार्टी गठन गरेका थिए। ‘देश बदल्नका लागि राजनीतिक दल आवश्यक’ हुने भन्दै रविले गठन गरेको स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ रहेको छ।

यस्तै, तराईमा नयाँ दुई दल उदाएका छन्। मधेश प्रदेश सभाका ३२ सिटमध्ये कांग्रेस र एमालेले ८/८ क्षेत्रमा अग्रता लिएका छन्। नेकपा माओवादी केन्द्रले ६ स्थानमा अग्रता लिएको छ भने जसपा र जनमत पार्टीले ४/४ स्थानमा अग्रता लिएका छन्। लोसपाले भने ३ ठाउँमा अग्रता लिएको छ। प्रदेशमा भने जनमत पार्टीले २ स्थानमा जितिसकेको छ। उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्थानमा जितिसकेको छ। ३ स्थानमा अगाडि छ ।

पूर्व तराईमा माइक चिन्ह लिएर चुनाव लडेको सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी क्षेत्र नं २ मा मतान्तर फराकिलो बनाएको छ। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत उम्मेदवार हुन्। सत्ता गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकास ठाकुर निकै पछि छन्।

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेशका अर्थमन्त्रीसमेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहलाई हराएका छन्। सप्तरीकै २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन्। उनले पूर्व सिँचाइमन्त्री उमेश यादवलाई पराजित गर्दै जित निकालेका हुन्।

साथै, पश्चिम तराईमा रन्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एक सिटमा जित हासिल गरेको छ। कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भए। अब संसदमा टीकापुर घटनाबारेको प्रतिवेदन सार्वजनिक गर्न पहिलो आवाज उठाउने गंगारामको तयारी छ।

कैलालीका अन्य दुई र बर्दियाका दुई स्थानमा यो पार्टीले अग्रता लिएको छ । समानुपातिकतर्फ पनि यी दलहरू धेरै मत ल्याइरहेका छन्। कांग्रेसले हालसम्म ८७ हजार १ सय २९ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको एमालेले ७३ हजार २ सय १ मत ल्याएको छ। तेस्रो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले ३७ हजार ७ सय २ मत प्राप्त गरेको छ।

चौथो स्थानमा माओवादी केन्द्र छ। माओवादी केन्द्रको ३३ हजार ९ सय ४९ मत छ। सातौँ स्थानमा जनमत पार्टी छ। उसको करिब ७ हजार मत छ। आठौँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीको झन्डै ५ हजार बढी मत छ।

यी तीन दलको उदयले पछिल्ला दशकहरूमा रजगज गर्दै आएका दलहरूको एकाधिकार तोडिने देखिएको छ। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, उन्मुक्ति पार्टीलगायतको उपस्थितिले संसदीय शक्ति समीकरण पनि बदलिने छ।
यी यसकारण तीन दलको उदयले राष्ट्रिय राजनीतिका लागि केही महत्त्वपूर्ण प्रश्नहरू छन्।

गठबन्धनले बहुमत ल्याउँछ कि ल्याउँदैन?  एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेजस्तो एमालेले यसपालि बहुमत ल्याउँछ? वा, कम्तीमा गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्छ?

कुन दललाई धेरै घाटा पुग्छ ? गठबन्धनले बहुमत ल्याउँछ कि ल्याउँदैन? अघिल्लो चुनावमा ठूलो दल एमालेको साइज कत्रो होला? एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेजस्तो एमालेले यसपालि बहुमत ल्याउँछ? वा, कम्तीमा गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्छ? यसपालिको चुनावपछि अरू साना दलहरूको स्थिति कस्तो होला?

यसअघि २०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादीको नयाँ राजनीतिक शक्तिका रूपमा उदय भएको थियो। बिस्तारै उसको शक्ति, प्रभाव र वर्चस्व कम हुँदै गयो। त्यही चुनावमा मधेस आन्दोलनबाट केही मधेशी दलहरू उदाएका थिए। जनताका प्रतिनिधिमार्फत नयाँ संविधान बनाउने मुख्य कार्यभार बोकेको संविधानसभा आफ्नो उद्देश्यमा सफल हुन सकेन ।

दलहरू सत्ता केन्द्रित हुँदै गर्दा मतदाताको वितृष्ण बढ्दै गयो। त्यसपछि बिस्तारै जनताको रोजाइबाट ओझेलमा पर्दै गए। २०७९ को आमनिर्वाचनमा पुग्दा कांग्रेस र एमालेसहित अरुदलप्रति वितृष्णा राख्नेहरूले नयाँ दललाई अनुमोदन गरेका देखिएको विश्लेषकहरू बताउँछन्।

विश्लेषक केशव दाहाल भन्छन्, ‘‘पटकपटकको चुनावमा नयाँ दलहरूको उदय र अन्य हुँदै आएका छन्। पहिलोपटक सुशासन र आर्थिक एजेन्डा बोकेर चुनावमा जाँदा अहिले केही दलले सफलता पाएका छन्। भोलि संसद्मा गएपछि उसको संसदीय भूमिका कस्तो हुन्छ त्यसमा उनीहरूको भविष्य निर्धारण गर्नेछ।’’

आश्चर्यजनक ढङ्गले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका केही पार्टीले पुराना शक्ति एमाले र कांग्रेसको मत काट्ने विश्लेषकहरूको प्रक्षेपण छ । परम्परागत राजनीतिक दल र नेताहरूले गुमाएको जनविश्वासको कारण वैकल्पिक शक्तिप्रतिको आशा बढेको धेरैको टिप्पणी छ।

यो चुनावमा नयाँ दल अनुमोदन हुनुको पछाडि पुराना दलका नेताले नेतृत्व ओगट्ने र नयाँ नेता नजन्माउनुको परिणाम भएको विश्लेषक राम गुरुङको विश्लेषण छ। उनी भन्छन्, ‘‘परम्परागत दलहरूले आफूबाहेक विकल्प छैन भन्ने घमन्ड गरे। जनताको मत लिएपछि जे गर्नुपर्ने त्यो गरेनन्। पार्टीको आन्तरिक जीवनमा लोकतन्त्रको अभ्यास पनि भएन। दलहरूले नयाँ नेता जन्माएनन्। तर, आम जनताले नयाँ चाहिरहेका थिए। त्ययसैले, जनताले नयाँ अनुहार खोजेको देखियो।’’

स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हप्रति मतदाताको लहर देखिनुमा एमाले, कांग्रेस माओवादीप्रतिको वितृष्णा रहेको कतिपयको टिप्पणी छ। पूर्वी तराईको जनमत पार्टी उदाउनुमा सीके राउतप्रतिको अपेक्षा रहेको आँकलन गरिएको छ। उता टिकापुर हत्याकाण्ड भएको क्षेत्र कैलालीमा उन्मुक्ति पार्टीको क्रेज छ। यसअघि, अघिल्लो चुनावमा रेशम चौधरीले जेलबाटै चुनाव जितेका थिए।

उनको श्रीमती अध्यक्ष रहेको सो दलले मत पाउनुमा रेशमप्रतिको सहाउनुभूतिको रूपमा कतिपयले बुझेका छन्। संविधान जारी हुनुअघि थरुहट प्रदेश र विभिन्न माग राख्दै भएको हिंसात्मक आन्दोलनमा ७ जना प्रहरीसहित एक बालकको हत्या भएको थियो। त्यतिबेला उठेको मागप्रति समर्थन गर्दै उन्मुक्ति पार्टीलाई अनुमोदन गराएका कतिपयको विश्लेषण छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved