समाचार टिप्पणी

कम भोट खस्दा सत्ता गठबन्धनलाई फाइदा कि एमालेलाई ? कि स्वतन्त्रलाई ?

कम प्रतिशत मात्रै मत खस्दाखेरि यसको सोझो असर सबै दलको समानुपातिक सिटमा पनि पर्ने निश्चित छ। समग्रमा अहिले भोट हाल्न नजानेमा पुराना मतदाता देखिन्छन्। जो पटक–पटक भोट हाले पनि जीवनस्तर उस्तै रह्यो। उनीहरूले भोट हालेर जिताएकाहरू मात्रै माथि पुगे। पहिल्यैदेखि मतदान गर्दै आएका नागरिक आजित भएर मत हाल्न गएनन्।

कम भोट खस्दा सत्ता गठबन्धनलाई फाइदा कि एमालेलाई ? कि स्वतन्त्रलाई ?

काठमाडौं। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशतको हाराहारीमा मत खसेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा मतदाताको सहभागिता किन कम भयो ?’ चर्चा सुरु भएको छ।

एक करोड ७९ लाख ८८ हजार ५७०  कुल मतदाताको ६१ (प्रारम्भिक विवरण अनुसार ) प्रतिशत मत खस्यो। अघिल्लो (२०७४)को संसदीय निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको थियो। यसअघि वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा ६४ प्रतिशत मत खसेको थियो।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो। पछिल्लो डेढ दशकमा ६ वटा निर्वाचन भए। ४ वटा संसदीय निर्वाचन र २ वटा स्थानीय तहका निर्वाचन। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ६१ दशमलव ७० प्रतिशत मत खसेको थियो। यस्तै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७८ दशमलव ३४ प्रतिशत मत खसेको थियो। तर त्यो बेला मतदाता नामावली अद्यावधिक नगरिएकाले पहिलोमा कम मत देखिएको निर्वाचन आयोगले बताएको थियो ।

दोस्रो संविधानसभा अगाडी नामावली अद्यावधिक गरेर कुल मतदाताको संख्या नै घटेकाले प्रतिशत पनि बढी देखिएको थियो । कम मत खस्नुलाई निर्वाचन आयोगले चिन्ताको विषय भनेको छ । मतदान हुनुअघिसम्म दलका नेता र मिडियालेसमेत अघिल्लो चुनावमा खसेको मतको आधारमा यो उम्मेदवारले जित्छ, त्यो उम्मेदवारले जित्छ भन्ने प्रक्षेपण गरिरहेका थिए। तर, यो चुनावमा कम मत खसेका कारण ती अनुमान फेल खान पनि सक्छन्।

लेखक तथा राजनीतिक अभियन्ता डम्बर खतिवडा भने मतदान किन कम भनेर धेरै सोच्नै नपर्ने बताउँछन्। विदेशमा रहेका मतदाता, अपायक ठाउँमा रहेका मतदाता, चुनावको दिन यातायात बन्द गर्ने प्रचलन, विगत ५ वर्षका नेता र दलहरूका हर्कत र जनवितृष्णाले मतदाताको उत्साहपूर्ण सहभागिता नभएको खतिवडाको तर्क छ।

भाेट कम खस्नुको केही कारण

नागरिकको निरासा र गठबन्धन संस्कृति

परम्परागत दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाजस्ता पुराना दलले गठबन्धन गरेका छन्। कांग्रेसले, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चासँग गठबन्धन गरेको छ। उता एमालेले पनि जसपा, राप्रपालगायतका केही साना दलहरू तालमेल गरेको छ। चुनावमा दुई शक्तिबीच प्रतिस्पर्धा हुँदा मतदाताको लागि सीमित विकल्प रहे।

बहुदलीय व्यवस्था तथा गणतन्त्र ल्याउन भूमिका खेलेका कांग्रेस, एमाले, माओवादीलगायत दलहरूले जनअपेक्षाअनुसार काम गर्न सकेनन्। त्यसैले आम नागरिक उत्साहित छैनन् ।

उता, मधेस आन्दोलनबाट उदाएका जसपा, लोसपाजस्ता पार्टीको ‘मधेसकेन्द्रित’ छवि भए पनि सत्ताको लागि मरिमेट्ने अवसरवादीको रूपमा चिनेका छन्।

विश्लेषक पीताम्बर भण्डारी भन्छन्, ‘यस्तो बेला गठबन्धन हुँदा मतदातासँग सीमित विकल्प थिए। कतिपयलाई विकल्पमध्ये एक स्वतन्त्र उम्मेदवारको छनोट गर्नु बाध्यता हुनसक्यो। परम्परागत दलहरूप्रतिको वितृष्णा, गठबन्धनले थोरै दलका उम्मेदवारको संख्याले गर्दा स्वतन्त्र उम्मेदवारका लागि अनुकूल माहोल सिर्जना भयो। अझ शहरमा बसोबास गर्नेहरू आफ्नो दलको उम्मेदवार नहुँदा भोट हाल्न जान मन गरेनन्।’’

२. चुनाव स्वदेशमा, ज्यान विदेशमा

वैदेशिक रोजगारमा गएका युवाले मतदान गर्न नपाउनुलाई पनि मत कम खस्नुको महत्त्वपूर्ण कारण मानिएको छ। जीविकोपार्जनका लागि ५० लाखभन्दा बढी युवा विदेशमा छन्। जो चाहेर पनि निर्वाचनमा भोट हाल्न आउन पाएनन्। वैदेशिक रोजगारीमा, उच्च शिक्षा हासिल गर्न वा अरू कारणले विदेशमा भएका उनीहरूलाई अनलाइन मतदानको व्यवस्था गर्ने हो भने बढी मत खस्न सक्थ्यो।

३. गाउँमा नामावली, शहरमा मतदाता

शहर बजारमा भेटिएका कतिपय मानिसले ‘भोट हालेर के पाइन्छ र’ भन्दै निराशा प्रकट गरेका छन्। गाउँमा नामावली रहेर पनि काठमाडौं र अन्य शहरमा बसेकाहरू कतिपयको यस्तो धारणा देखियो। उनीहरू भोट हाल्न नगएकाले वा जान नपाएकाले पनि केही प्रतिशत मतदाताको सहभागिता कम भएको हो।

कतिपय दलले जिल्लामा मतदाता ओसार्न गाडीको व्यवस्था गरेका थिए। तर, राजनीतिप्रति मानिसको वितृष्णाले गर्दा भोट हाल्न जाने उत्साह देखिएन । स्थानीय चुनावमा भन्दा यो पटक कम मानिस मात्रै गाउँ पुगे ।

४, राजनीतिप्रतिको वितृष्णा

अघिल्ला कतिपय चुनावमा मतदाताले गाउँ–गाउँमा गएर उत्साहपूर्वक मतदान गरेका थिए। तर, जुन अपेक्षाले मतदान गरेका थिए, त्यो पूरा नहुँदा जनताहरू निराशा छन्। आफूले मत दिएर जिताएका नेताहरूको व्यक्तिगत जीवनमा कायापलट भए पनि आफ्नो जीवनस्तर ज्यूँको त्यूँ हुनुले मतदाताको राजनीतिप्रति वितृष्णा छ। अघिल्लो चुनावबाटै मतदाता दिक्क भइसकेको अनुमान लगाउन मुस्किल छैन।

एमाले- माओवादी मिलेर पाँच वर्ष स्थायी सरकार चलाउने भन्दै मत मागेका थिए। विकास समृद्धि गर्दै जनतालाई खुसी बनाउने सपना देखाएका थिए। तर, तीन वर्षमै संसद् विघटन भयो। वाम–गठबन्धन भत्कियो। अर्को राजनीतिक समीकरण भयो। सरकारमा जो आए पनि अनियमितता भ्रष्टाचार बढ्यो। सेवाप्रवाहको क्षेत्रमा सुधार भएन।

दल र नेताहरूको यही व्यवहार देखेर जनतामा दिक्दारीपन आएको समेत अनुमान गर्न सकिन्छ। यही कारण मतदातामा खासै उत्साह नभएको र भोट हाल्न नगएका हुन सक्छन्। गाउँ–ठाउँको विकास नहुनुले पनि मतदाता आजित छन्। मतदाताको निष्क्रियतालाई राजनीतिप्रतिको वितृष्णा देखिएको अनुमान लगाउन सकिन्छ।

कम मत खस्दा कसलाई बढी घाटा?

भोटका लागि धाएर अनुनयविनय गरेकै कतिपय मतदाता मतदानका क्रममा नआएको स्वयं दलका नेता तथा कार्यकर्ता बताउँछन्। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कम मत खस्दाको प्रत्यक्ष असर उम्मेदवारको हार–जितमा समेत पर्ने हुन्छ। यसको प्रभाव राम्रा या नराम्रा उम्मेदवार चयनमा समेत पर्छ।

स्थानीय चुनावको भन्दा मतदाताहरू केही थपिएकाले अंक गणितमा खासै ठूलो फरक नपर्ला, तर कम मत खस्दाखेरि यसको नकारात्मक असर एमालेलाई भन्दा सत्तागठबन्धनलाई हुने विश्लेषक बताउँछन्। त्यसपछिको घाटा एमालेलाई हुने र स्वतन्त्र उम्मेदवार र नयाँ दललाई फाइदा हुने अनुमान छ।

किनभने, सत्तागठबन्धनले चुनावी तालमेलबाट बढाएको मत बाकसमा कम पर्नु भनेको उनीहरूका लागि निकै ठूलो घाटा हो। जति धेरै मतदाताले भोट हाले गठबन्धनका आधारमा धेरै मत उनीहरूकै उम्मेदवारलाई थपिने सम्भावना थियो। यसकारण एमालेलाई भन्दा बढी घाटा सत्ता गठबन्धनलाइ हुने देखिन्छ ।

कम प्रतिशत मात्रै मत खस्दाखेरि यसको सोझो असर सबै दलको समानुपातिक सिटमा पनि पर्ने निश्चित छ। समग्रमा अहिले भोट हाल्न नजानेमा पुराना मतदाता देखिन्छन्। जो पटक–पटक भोट हाले पनि जीवनस्तर उस्तै रह्यो। उनीहरूले भोट हालेर जिताएकाहरू मात्रै माथि पुगे। पहिल्यैदेखि मतदान गर्दै आएका नागरिक आजित भएर मत हाल्न गएनन्। नयाँ पुस्ताका मतदाताको आकर्षण भने नयाँ दल र स्वतन्त्र उम्मेदवारमा देखिएको छ।

मतदाताको रुचि नयाँ दलमा

नेपालका पुराना राजनीतिक दलहरू चुनावको अनेक तयारीमा लाग्दै गर्दा ‘नो नट अगेन र नो भोट’ अभियान चल्यो। पुराना दलका पटक–पटक उठेका उम्मेदवारलाई असहज भयो। युवा पुस्ता स्वतन्त्र वा ‘नो भोट’ को पक्षमा गए। यसकारण पुरानो पुस्ता भोट हाल्न उत्साहित देखिएन । पछिल्लो समय देशैभर नयाँ दल तथा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण देखियो।

वैशाखमा भएको स्थानीय चुनावमा पनि स्वतन्त्रले बढी मत पाउनुलाई दलप्रतिको वितृष्णाको रूपमा धेरैले अनुमान लगाएका थिए। यो निर्वाचनमा पनि मूल शक्ति भनिएका भन्दा स्वतन्त्र व्यक्तिप्रति जनताको आकर्षण बढ्दै गएको पाइएको छ । नयाँ खुलेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि मतदाताको उत्साह देखियो ।

राजनीति विश्लेषक पीताम्बर भण्डारी भन्छन, “दलहरूले राजनीतिक विचारधारा अनुसार काम नगर्दा आज स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीलगायतमा आकर्षण बढ्दै गएको देखिन्छ। अहिलेका ठूला दलले तीन दशक शासन गरिसकेका छन्। यो अवधिमा उनीहरूको अवस्थामा परिवर्तन आए पनि जनता जहाँको तहीँ रहे।

मूलतः कांग्रेस, एमाले, माओवादीलगायतले बारम्बार सरकार चलाए। चुनावी प्रतिस्पर्धामा पनि यिनैले अधिक मत पाउँदै आएका छन्। तर, उनीहरूले काम नगर्दाको निराशाले मतदाताले कम्तिमा समानुपातिकमा नयाँलाई रोज्दै छन्। कम मत खस्दा स्वतन्त्र उम्मेदवार र नयाँ दललाई फाइदा पुग्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved