अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै

नेपालभ्युज

अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै

अस्ट्रेलिया। गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रवर्द्धनात्मक नेपाल फेस्टिभल शनिबार हुने भएको छ । शनिबार १९ नोभेम्बरका दिन नेपालीहरूको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेस्टिभल गर्न लागिएको हो ।

नेपाल फेस्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरूको प्रचार गरिनेछ । अस्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सम्पूर्ण तयारी पूरा भएको र शनिबार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरू, नेपाली व्यवसायीहरूले पाएको सफलताका कथाहरू नेपाल फेष्टिभलमा हेर्न पाइने बताए ।

औपचारिक उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनका लागि नै अस्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरू सिड्नी आइपुगेका छन् ।

अस्ट्रेसलियामा रहेका नेपाली पत्रकारहरूको संस्था अस्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक शहरमा गरेर यहाँको समूदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए । उनले भने, “सन् २००६ बाट एनआरएनहरूले सिड्नीबाटै नेपाल फेस्टिभल सुरु गरेका थिए । अहिले यो सबै राज्यमा फैलिसकेको छ ।

अस्ट्रेलियाको बहुसांस्कृतिक समाजले यस्ता मेला महोत्सवलाई सम्बन्धित देशको खानाको स्वाद, पहिरन र सांस्कृतिक विविधता बुझ्ने अवसरको रुपमा लिने हुनाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपाल गइसकेका अस्ट्रेलियनहरूले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरूले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ ।”

यस पटकको नेपाल फेस्टिभलमा ५५ वटा स्टलहरू राखिएको छ भने यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरूको रहेको छ । रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अस्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरूले नेपाल फेस्टिभलमा आफ्नो उपस्थिति जनाएका छन् । नेपाल फेस्टिभलका उपसंयोजक एवं एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अस्ट्रेलियन समूदायमा नेपालप्रतिको चासो बढेको पाइएको बताउँछन् ।

उनी भन्छन् “नेपालीलाई मेहनती भनेर धेरैले चिनेका छन् । काम गर्ने ठाउँमा हाम्रो फेस्टिभल हुँदैछ त्यहाँ नेपाली स्वाद पस्कन्छौं भन्दा उनीहरू मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन् । यस्तै नेपाली गीत संगीतले पनि उनीहरूलाई आकर्षित गर्ने गरेको छ ।”

यस पटकको नेपाल फेस्टिभलमा अस्ट्रेलियाका नेपालीमूलका कलाकारहरूका साथै नेपालको चर्चित गायक दिपक बज्राचार्य र रिदम व्याण्ड, गायक प्रकाश सपुत, हाँस्य कलाकार सन्दीप क्षेत्री लगायतको प्रस्तुति समेटिएको छ । मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अस्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेस्टिभलमा सहभागी हुने दर्शकहरूले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन् ।

उनी भन्छिन् “अस्ट्रेलियामा अधिकांश नेपालीहरू विद्यार्थीको रूपमा आउनुभयो । उहाँहरू जति नै व्यस्त भए पनि नेपाली गीत संगीतलाई मन पराउनुहुन्छ र त्यसमै रमाउनुहुन्छ । यसपटक हामीले सबै उमेर समूहका नेपालीहरूलाई समेट्नका लागि त्यहीअनुरूप कलाकार छनोट गरेका छौं । शनिबार दिनभरि नेपाली गीत संगीतले बरउडको पार्क घन्किनेछ । तपाईंहरूलाई निम्तो छ । सकेसम्म एकजना विदेशी साथी पनि साथैमा लिएर आउनुभयो भने अझ रमाइलो हुनेछ ।”

महोत्सवको सुरुवातमा भने नेपाली पोसाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेस्टिभलल परेड आयोजना गरिनेछ । परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वतीसहित नेपाली पोशाकमा सैयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved