विष्णु पौडेलको क्षेत्रका मतदाता भन्छन्- ‘भोट नपाउञ्जेल ढोग्छन्, चुनावपछि हराउँछन्’

‘धेरै राजाहरू जन्मिए, अब यस्ता नेताहरूलाई भोट दिँदैनौँ ।’

‘हामीले भ्रष्टहरूलाई जिताउनुपर्ने रहेछ र भ्रष्टहरूलाई नै जिताउँदै आएका रहेछौँ । अब तपाईं नै भन्नुस् न, यो निर्वाचनको के महत्त्व रह्यो र ?’

नेपालभ्युज

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल चौथोपटक रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्दै छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । उनी यसअघि २०६४, ०७० र ०७४ सालमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

अहिले उनी यही क्षेत्रमा घरदैलामा भेटिन्छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार केशवबहादुर थापालाई सजिलै पराजित गर्छु भनेर दाबी गरिरहेका उनका क्षेत्रका मतदाताहरू भने सन्तुष्ट छैनन् । त्यसो त पछिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट उनै पौडेल जितेका हुन् । वाम गठबन्धनबाट जितेका उनी यसबीचमा अर्थमन्त्रीसमेत बने । तर, पनि आफ्नो क्षेत्रका समस्यामा आँखा नलगाएको आरोप आममतदाताको छ ।

बरु आफूहरूले जिताएर पठाएको पौडेल बढी स्वार्थकेन्द्रित भएको आरोप छ मतदाताहरूको । यसैकारण उनीहरू यसपटक कसैलाई मत नदिने अडानमा छन् । चुनाव बहिष्कार गर्ने आफूहरूको मनसाय रहेको मतदाताहरू बताउँछन् । रुपन्देहीमै रहेको नेपालभ्युजको टोलीले पौडेलको क्षेत्रका केही मतदाताहरूसँग कुराकानी गरेको छ । यसलाई सुनौँ/हेरौँ  जस्ताको त्यस्तै।

रुपन्देही क्षेत्र नं. २ अन्तर्गत पर्ने तिलोत्तमा नगरपालिका ४ का मतदाता लालबहादुर क्षेत्री आफूहरू चुनाव बहिष्कार गर्ने पक्षमा रहेको बताउँछन् । ‘आजसम्म भोट दिएकै हो । भोट फेरेर पनि धेरै नेताहरूलाई जिताइयो । यसले पो गर्छ कि, उसले पो गर्छ कि भनेर पनि हामीले धेरैलाई जितायौँ । तर, आजसम्म कसैले गरेनन्,’ उनले भने ।

आफूसहित आफ्नो घरपरिवार भोट नदिने पक्षमा रहेको उल्लेख गर्दै उनले थपे, ‘नेता छाने पनि उस्तै, नछानेपछि उस्तै भयो भने त नेता छान्नुको अर्थ नै रहेन नि !’

जिताएर पठाएका नेताहरूले खोलानाला बेचेर जनतालाई बिजुलीसमेत बाल्न नदिएको गम्भीर आरोप लगाउँदै क्षेत्रीले भनेका छन्, ‘अब त चुनाव नै बहिष्कार गर्छौँ । कसैलाई भोट दिँदैनौँ । भोट दिँदा पनि हाम्रो सानो समस्या पनि हल हुँदैन भने त त्यसकै औचित्य नै रहेन नि ।’

बुटवल उपमहानगरपालिका १ की पार्वती पौडेल जितेर गएपछि नेताहरू कदापि फर्केर नआउने दुखेसो पोखाउँछिन् । ‘भोट नपाउन्जेल हजार पटक आउँछन् र ढोग्छन्, हामी तपाईंहरूको सेवा गर्छौं भोट हामीलाई दिनुस् भन्छन् । तर, जब जितेर जान्छन्, उनीहरूको जनताको भन्दा पनि ठूला नेताको सेवामा रहन्छन्,’ उनले भनिन् ।

आफू ६० वर्ष पुगेको र यो आफूले जान्दादेखिकै प्रवृत्ति/समस्या भएको स्ममरण गर्दै उनले थपिन्, ‘भोट नपाउन्जेलसम्म हामीलाई पटक-पटक ढोग्छन् । जितेपछि हामीले नमस्कार गर्दा पनि सुन्दैनन्, देख्दैनन् । किन जिताउनुपर्‍यो अब त्यस्तो नेतालाई, हामी त भोटै दिँदैनौँ ।’

उनलाई आफ्नो छोराछोरीहरू विदेसिँदा पीडा छ । आफ्नो छोराहरू पनि विदेश नै रहेको सुनाउँदै उनी भन्छिन्, ‘यदि, जिताएर गएका नेताहरूले पहल गरेको भए, रोजगारी सिर्जनाको काम गरेको भए हाम्रा लालाबालाहरूले यहीँ नै काम गर्न पाउँथे । जत्ति कमाको सँगै बसेर खान पाउँथे । कमसेकम सँगै बसेर त खाइन्थ्यो । तर, अहिले त अवस्था साह्रै खराब बनेको छ ।

यस्तै, यही क्षेत्रमा समेटिएको बुटवल उपमहानगरपालिका ११ का नारायणप्रसाद पौडेल भन्छन्, ‘नेताहरू स्वार्थकेन्द्रित छन् । उनीहरूमा देशको, जनताको माया छैन ।’

उनी सबैभन्दा बढी भ्रष्टाचारले देश बिग्रेको ठान्छन्, भन्छन्— ‘अब भ्रष्टाचार मात्रै नगर्ने नेता भए पुग्यो । देश बन्न त्यहीँबाट सुरू हुन्छ । हामीले जिताएर पठाएका नेताहरू त सबै भ्रष्ट भए । यसैले धेरै देश बिग्रियो ।’

राजनीतिक घटनाक्रमहरूबारे सामान्यतयाः जानकारी राख्ने पौडेल थप्छन्, ‘०४६ सालमा बहुदल त आयो । तर, धेरै राजाहरू जन्मिए । यसले देशलाई राम्रो गरेन । नेताहरूले जानेको भए यो एकदमै राम्रो व्यवस्था हो । तर, सबै सन्की भए । अब यस्ता नेताहरूलाई भोट दिँदैनौँ ।’

सैनामैना नगरपालिका ३ मा भेटिएका इन्द्रप्रसाद भुजेल निर्वाचनको महत्त्व नै नभएको औंल्याउँछिन् । ‘हामीले भ्रष्टहरूलाई जिताउनुपर्ने रहेछ र भ्रष्टहरूलाई नै जिताउँदै आएका रहेछौँ । अब तपाईं नै भन्नुस् न, यो निर्वाचनको के महत्त्व रह्यो र ?’

यसअघिका निर्वाचनहरूमा आफूहरूले भ्रष्टहरूलाई जिताएको भर्खर थाहा पाएको उल्लेख गर्दै उनले भने, ‘नेताहरूले कू-राजनीति गरे । यसैले, राजनीति र नेताप्रतिको जनताको वितृष्णा बढेको छ । यसपछि त भोट हाल्न मन लागेको छैन । हामी त भोट हाल्न पनि जाँदैनौँ ।’

सैनामैना-४ का मतदाता वीरेन्द्र क्षेत्री विकास गर्छु भनेर जितेको नेताले आफ्ना सेना-मेनाको भरणपोषणमै बढी खर्चेको आरोप लगाउँछन् । ‘चुनावका बेला नेताहरूले यस्तो गर्छु, उस्तो गर्छु भनेर भन्छन्, भोट पनि दिइन्छ र जितेर पनि जान्छन् । तर, उनीहरूले गर्ने बेलाचाहिँ आफ्नो र आफ्ना नजिककै सेवामा बढी समय र पैसा खर्चन्छन्,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved