चुनाव बहिष्कार गरेका समूहमाथि प्रहरीको उच्च निगरानी, ११५ जना पक्राउ

नेपालभ्युज

चुनाव बहिष्कार गरेका समूहमाथि प्रहरीको उच्च निगरानी, ११५ जना पक्राउ

काठमाडौं। चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ११५ जनालाई पक्राउ गरेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि उच्च निगरानी थालेको सरकारले देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ गरेको जनाएको हो।

पक्राउ परेका मध्ये ११ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्ने तयारी छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ। नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन्।

२० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दल तथा समूह चुनाव विरोधी गतिविधिमा संलग्न रहेकाले उनीहरूलाई उच्च निगरानीमा राखिएको बताएका छन्।

चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको उनले बताए। चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ।

चुनावलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा विशेष योजना बनाएर लागू गरिएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए। उनले मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved