सिन्धुका युवा उम्मेदवार सापकोटा भन्छन्, ‘प्रतिस्पर्धी भन्दा दोब्बर मतले जित्छु’

गठबन्धनमा हामी आन्तरिकरूपमा सुदृढ छौँ, तर सुरुवाती दिनका विषयलाई लिएर अहिले पनि हाम्रो प्रतिस्पर्धीले खेल्न खोजिराखेका छन् । हामी मोहन दाइको घरमा बसेपछि आन्तरिक स्थिति जे छ सोहीअनुसार बाहिर पनि प्रसारण भयो भन्ने मैले बुझेको छु ।

नेपालभ्युज

सिन्धुका युवा उम्मेदवार सापकोटा भन्छन्, ‘प्रतिस्पर्धी भन्दा दोब्बर मतले जित्छु’

काठमाडौं। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका माधव सापकोटा ‘सुबोध’ र नेकपा एमालेका उम्मेदवार सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

माओवादी पोलिटब्युरो सदस्य ४० वर्षीय सापकोटा संघीय संसदमा डेब्यु गर्ने योजनामा छन् । सत्ता गठबन्धनमा सिन्धुपाल्चोक एक माओवादीको भागमा परेपछि सोही क्षेत्रबाट राजनीति गर्दै आएका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत २ नम्बरबाट उम्मेदवार बनेका छन् ।

२०७४ मा १ नम्बरमा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले कांग्रेसका बस्नेतलाई पराजित गरेका थिए । हिजोका दिनमा प्रतिस्पर्धी भएका दुई दल यतिबेला एकजुट भएर लागेका छन् । रोचक त के छ भने हिजो आफूलाई हराउन भूमिका खेल्ने माओवादीलाई बस्नेतले आफ्नै घरमा राखेका छन् ।

आफ्ना सहयोगी र शुभेच्छुकलाई वस्नेतले सुबोध र आफू एउटै भएको सम्झिन आग्रह गरिरहेका छन् । माओवादीका नेताहरू पनि दुई नम्बर क्षेत्रमा बस्नेतलाई जिताउन कम्मर कसेर लागेका छन् ।

बस्नेतको घर बाह्रबिसे ४ पलाँतीमा बसेका माधव सापकोटा ‘सुबोध’सँग नेपाल भ्यूजकर्मी प्रकाश बस्यालले भेटेर केही प्रश्न गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश :

मोहनबहादुर बस्नेतको घर नै किन रोज्नुभयो ?

हाम्रो अभियान अहिले बाह्रबिसे नगरपालिकामा चलिरहेको छ । यो बीचमा हामीले केही चुनावी रणनीति बनाउनुपर्ने भएपछि उहाँकै आग्रहमा हामी यहाँ बसेका हौँ ।

गठबन्धनमा हामी आन्तरिकरूपमा सुदृढ छौँ, तर सुरुवाती दिनका विषयलाई लिएर अहिले पनि हाम्रो प्रतिस्पर्धीले खेल्न खोजिराखेका छन् । हामी मोहन दाइको घरमा बसेपछि आन्तरिक स्थिति जे छ सोहीअनुसार बाहिर पनि प्रसारण भयो भन्ने मैले बुझेको छु ।

हामी जे बाहिर छौँ  भित्र पनि हामी उस्तै छौँ भन्ने सन्देश गएको छ । अर्को कुरा २०७४ सालको निर्वाचनमा हामी विरोधीभन्दा पनि प्रतिस्पर्धी थियौँ । राजनीतिमा प्रतिस्पर्धा हुनु स्वाभाविक नै हो। राजनीतिमा स्थायी रूपमा मित्र वा शत्रु हुँदैन भनेको त्यसै भएर होला ।

मतदानको दिन नजिकिँदै छ, कस्तो छ तपाईंको अवस्था ?

म अहिले निरन्तर घरदैलो कार्यक्रममै व्यस्त छु । जनतालाई मुलधारको राजनीतिप्रति केही विर्कषण जस्तो, गुनासोजस्तो छ । यो कुरा मैले लुकाएर लुक्ने कुरा भएन, तर सिन्धुपाल्चोक क्षेत्र नम्बर एकको कुरा गर्नुपर्दा म पहिलोपटक निर्वाचनमा आएको छु, यस्तै प्रदेशका उम्मेदवार मसिना भण्डारी र सरल सहयात्री पनि पहिलोपटक निर्वाचनमा भाग लिँदै हुनुहुन्छ ।

त्यसैले यो निर्वाचनमा तीनै जना नयाँ अनुहार त्यसमा पनि युवा र महिला सहभागिता हुँदा जनताको निराशालाई चिर्नेगरी सन्देश दिएको छ ।

अभियानमा जाँदा मैले के पाएको छु भन्दा जसले गुनासो गर्नुहुन्छ उहाँहरूले आशा पनि गर्नुहुँदो रहेछ । हामी गठबन्धनमा छौँ त्यसैले जितको राम्रो आधार भनेको यो नै हो । दोस्रो म युवा छु, नयाँ अनुहार छु, निरन्तर २५ वर्षदेखि सिन्धुपाल्चोकको यही माटोमा सक्रिय राजनीति गरिराखेको छु ।

हिजो सांसद अथवा राजकीय लाभको पदमा नहुँदा पनि सिन्धुपाल्चोकका सामाजिक मुद्दामा निरन्तर क्रियाशील छु । चाहे भूकम्प होस्, बाढीपहिरो, कोरोना या अन्य सामाजिक मुद्दामा निरन्तर जोडिएर प्रमुख भूमिकामै सक्रिय छु ।

लाभ र राजकीय पदमा नहुँदा पनि सामाजिक काममा सक्रियतापूर्वक लागेको युवा संसदमा पुग्दा झन् बढी सेवा गर्न सक्छु । यही कुरा मैले मतदातालाई पनि भनेको छु । यी तीन चारवटा कुराका कारणले दोब्बर मतले जित्छु जस्तो लागेको छ ।

प्रतिस्पर्धीले तपाईंलाई हल्कारूपमा लिएका छन् नि ?

म मेरा प्रतिस्पर्धीका बारेका धेरै टिकाटिप्पणी गर्न चाहन्नँ । उहाँ मेरो बुबासमानको मान्छे हुनुहुन्छ । निरन्तर ३० वर्षदेखि उहाँ लाभको पदमा हुनुहुन्छ ।

त्यसैले, देखिनेगरी जनताले महशुस गर्नेखालका ३० वटा काम मात्रै भन्न सके हुन्छ । म पदमा नहुँदा गरेका काम र उहाँले पदमा बसेर गरेका काम यहाँका जनताले मूल्यांकन गरिदिए पुग्छ ।

शीर्ष नेताहरू नै गठबन्धनमा भोट ट्रान्सफर नहोला कि भन्ने चिन्तामा छन् । यहाँ कस्तो छ ?

सुरुवाती चरणमा हाम्रै जिल्लामा पनि गठबन्धनमा भोट ट्रान्सफर हुँदैन भन्ने आशंका थियो । मूलत: एउटा पार्टीमा लागिसकेपछि त्यो पार्टीको निर्णय, निर्देशन पालना गर्नु त्यस पार्टीभित्रका सदस्यको प्रमुख कर्तव्य हुन आउँछ ।

त्यो कुरा हामीले भन्दा बढी वडा, इकाई कमिटीका साथीहरूले भन्न थाल्नुभएको छ । अझ कांग्रेसका साथिहरूले जुन वडाबाट बढी भोट आउँछ त्यसलाई बढी कार्यक्रम भन्न थाल्नुभएको छ । त्यस्ता अभिव्यक्तिबाट मलाई विश्वास र आशा जागेको छ ।

कुनै परिस्थितिले निश्चित भोट नआउन सक्ला, आफ्नै उम्मेदवार हुँदा पनि एक दुई प्रतिशत मत तलमाथि भएकै हुन्छ । तर, मेरो निर्वाचन क्षेत्रमा नियतवस मत नदिने भन्ने छैन हामी एक भएका छौँ । अहिले कांग्रेस, माओवादी भन्ने नै छैन । अहिले हामी गठबन्धनका रूपमा अघि बढेका छौँ । त्यसैले, भोट ट्रान्सफर नहुने कुरै छैन म विश्वस्त छु ।

मतदाताको अपेक्षा के रहेछ ?

मतदाताको मुख्य माग भनेको सडक र पूर्वाधारमा रैछ । यसका अलावा आफ्ना जनप्रतिनिधि, आफ्नो सांसद निरन्तर आफ्नो सम्पर्कमा भइदियोस् भन्ने रहेछ । घरमा दु:ख पर्दा सारथी बनिदियोस्, पूजाआजा तथा खुसीमा पनि सांसद उपस्थित भइदियोस् । टेलिफोनमा प्रत्यक्ष सांसदसँगै कुरा गर्न पाइयोस् । यस्तो भावनात्मक, प्राविधिक अपेक्षा बढी गरेको मैले महसुस गरेँ ।

तपाईंको प्राथमिकताचाँहि के मा छ ?

मैले के भन्ने गरेको छु भने भौतिक पूर्वाधारको क्षेत्रमा हाम्रो विकासको चरित्र हिउँदमा बाटोमा पैसा हाल्ने बर्खामा त्यही बाटोका कारणले घरबार नै बगाउने अथवा अर्कोतर्फ क्षेत्री व्यहोर्नुपरेको देखिन्छ ।

त्यसैले, यसलाई अन्त्य गर्नका लागि योजनाबद्द, दिगो र वातावरणमैत्री पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानी मेरो प्राथमिकता हो । खानेपानी भएको ठाउँमा पानि लैजाने ।

मूलत: अहिले समाजको मुख्य समस्या भनेको बेरोजगारी हो । यसलाई समाधान गर्नका लागि पनि हामीले तीन तहका सरकार मिलेर काम गर्ने योजना बनाएका छौं । प्राथमिकताका क्षेत्रको सूची बनाएर जनताका बीचमा छलफल गरिरहेको छु ।

सिन्धुपाल्चोक जिल्ला प्राकृतिकरूपमा उच्च जोखिमा छ । यो विषयलाई कसरी उठाउनुहुन्छ ?

सिन्धुपाल्चोक बहुप्राकृतिक प्रकोपबाट पिडित भएको जिल्ला हो । भुकम्प यही आयो, जुरे जस्तो पहिरोपनि यही आयो । चट्याङको कुरा गर्दा जोखिममा छ । हुँदाहुँदा बिजुली सट भएर मुत्यु हुनेको संख्या पनि यहीँ बढी रहेछ ।

यसरी हेर्दा बहुप्राकृतिक प्रकोपबाट सिन्धुपाल्चोक पीडित बनेको छ । यसलाई राम्रोसँग अध्ययन गर्ने र बहुउद्देश्यीय योजनाका आधारमा समाधान गर्न सकिन्छ ।

यो अलिकति विज्ञतासहित गर्नुपर्ने छ । बाढी पहिरोको सन्दर्भमा माथिल्लो तटीय क्षेत्रमा जटिलता बढेपछि तल्लो तटीय क्षेत्रमा साइरन बजाउने, जोखिम आउन सक्ने ठाउँको अध्ययन गरेर यसलाई वर्गीकरण गरेर त्यसअनुसार व्यवस्थापन गर्नेजस्ता केही प्राविधिक कुराहरू छन् । यसलाई विज्ञ र विशेषज्ञसँग परामर्ष गरेर समाधान गर्नुपर्छ ।

यो बारेमा  निर्वाचन पश्चात राम्रोसँग अध्ययन गर्ने र त्यसको प्रतिवेदनका आधारमा संयोजनकारी र नेतृत्वदायी भूमिका खेल्नेछु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved