व्यावसायिक भइरहेका छन् रङ्गमञ्चपुस्ता

व्यावसायिक भइरहेका छन् रङ्गमञ्चपुस्ता
फाइल फोटो

काठमाडौँ । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् । डिजिटल प्लेटफर्महरूको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्ययन गर्ने शैली अधिकांश नयाँ पुस्ताका कलाकारमा देखिन थालेको छ ।

प्रायः फिल्ममा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँ पुस्ताका कलाकार भने मेहनती देखिन थालेका छन् । प्रदीप खड्काले ‘प्रकाश’, अनमोल केसीले ‘छड्के २’, स्वस्तिमा खड्काले ‘चिसो मान्छे’, आँचल शर्माले ‘झिँगेदाउ’ मा निर्वाह गरेको भूमिकाको चर्चा भयो ।

यस्तै चर्चा केही अगाडि रङ्गमञ्च हुँदै फिल्ममा उदाएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीको हुने गर्थ्यो । यद्यपि पछिल्लो समय उहाँहरू कलात्मकभन्दा पनि व्यावसायिक बढी भएको आरोप लाग्ने गरेको छ । नयाँ पुस्ता चरित्र निर्माणमा गम्भीर भएर पेसाप्रति लगनशील हुँदा रङ्गमञ्चबाट उदाएको पुस्ताले झनै सशक्त हुनुपर्ने हो । पारिवारिक दायित्वबोध गरेर नै सङ्ख्यामा वृद्धि भएको अभिनेता सौगात मल्ल स्वीकार्छन् ।

‘मैले अभिनयसँगै आफ्नो पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने भएकाले सङ्ख्या बढाएको हुँ । सुरुआतमै कुनै कथा बेकार हुँदैन । निर्माणकै क्रममा समस्या भने आउँछ’, अभिनेता मल्लले भने, ‘मैले पहिला आफ्नो भूमिका मात्र हेर्थेँ तर अहिले पूरै कथा पढ्छु । केही फिल्म सम्बन्धकै कारण पनि गरेको छु ।’

चरित्रमा गर्ने मेहनतले चिनिएका कलाकार हुन्, विपिन कार्की । पात्रमा बाँच्ने अभिनेता कार्की लूट, छड्के, पशुपति प्रसाद, जात्रा, नाका, हरि, प्रसाद, सेल्फी किङ्ग जस्ता फिल्ममार्फत स्थापित भएका हुन् ।

आफूले पाउने भूमिकालाई पर्दामा जीवन्त उतार्ने भएकाले नै उनलाई चरित्र प्रधान फिल्ममा निर्माता तथा निर्देशकले खोज्ने गरेका छन् । थिएटर हुँदै फिल्ममा आएका अभिनेता कार्कीको सङ्घर्ष कम छैन । अभिनय र चरित्रका लागि आफूलाई समर्पण गर्ने अभिनेता कार्कीलाई पछिल्लो समय व्यावसायिक भएको आरोप लाग्ने गरेको छ । पात्र, कथाभन्दा पनि आफ्नो पारिश्रमिक हेर्ने गरेको आरोपलाई अभिनेता कार्की भने स्वीकार्दैनन्।

‘फिल्म निर्माणको उद्देश्यअनुसार मैले डिमाण्ड गर्ने गरेको छु । तपाईंको उद्देश्यनै पैसा कमाउने छ भने मैले पारिश्रमिक भन्न किन नपाउने ?’, अभिनेता कार्की भन्छन्, ‘मैले एक लाख पारिश्रमिकमा हालै पनि फिल्म गरेको छु । त्यसैले मलाई व्यावसायिक मात्र भएको भन्न मिल्दैन ।’ उनको पारिश्रमिककै कारण केही फिल्मलाई समस्या नपरेको होइन । अभिनेता कार्कीको मुख्य अभिनय रहने फिल्म ‘प्रसाद २’ अझै छायाङ्कन हुनेमै अन्यौल छ ।

निर्माता सुभाष थापा कलाकारले पारिश्रमिक बजारअनुसार सन्तुलन गर्नुपर्ने बताउछन् । ‘नेपाली बजारमा हुने आम्दानीको आधारमा पारिश्रमिक नभए फिल्म बनाउन आउँदो समयमा गाह्रो हुन्छ । कलाकारले बढी पारिश्रमिकभन्दा पनि सेयरमा बसेर फिल्म निर्माणमा सघाउनु पर्छ’, निर्माता थापाले भने, ‘पारिश्रमिककै कारण अहिले दुई करोडभन्दा कममा फिल्म बन्न सकेको छैन । हामीलाई लगानी गर्न निकै अप्ठ्यारो भइरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved