निर्वाचन आयोगको पैसा नलाग्ने फोनमा सर्वसाधारणले सोध्छन् यस्ता प्रश्न

आयोगले सञ्चालन गरेको निर्वाचनलक्षित कल सेन्टरबाट आम सर्वसाधारणले निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारी तथा सूचनाहरू लिइरहेका छन्। आयोगले टोल फ्री फोन नं. ११०२ मा २४ घण्टा सर्वसाधारणले जानकारी लिनेदेखि सूचना दिने काम गरिरहेका छन्।

नेपालभ्युज

निर्वाचन आयोगको पैसा नलाग्ने फोनमा सर्वसाधारणले सोध्छन् यस्ता प्रश्न

काठमाडौं। निर्वाचन आयोगले सञ्चालन गरेको निर्वाचनलक्षित कल सेन्टरबाट आम सर्वसाधारणले निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारी तथा सूचनाहरू लिइरहेका छन्। आयोगले टोल फ्री फोन नं. ११०२ मा २४ घण्टा सर्वसाधारणले जानकारी लिनेदेखि सूचना दिने काम गरिरहेका छन्।

निर्वाचन आयोगले आउँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ को स्थापना गरेको हो। आयोगले निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्या‍उन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चालनमा ल्याएको कल सेन्टरमा विभिन्न किसिमका जिज्ञासामा समेत आएका छन्।

फोनमा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्यक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिने गरेका छन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था आयोगले मिलाएको छ। निर्वाचनका बेला नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न गत कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

जिज्ञासाको समाधान गर्न जनशक्ति खटाइएको आयोगले जनाएको छ । आफूले नसकेको अवस्थामा सम्बन्धित महाशाखाका प्रमुखलाई सम्पर्कमा ल्याएर जिज्ञासाको समाधान गर्ने गरिएको छ। आयोगले विगतदेखि नै निर्वाचनका समयमा कल सेन्टर सञ्चालन गर्दै आएको छ ।

कल सेन्टरमा आएका केही जिज्ञासा र आयोगले दिएको जवाफ यस्ता छन्

शिक्षकले फेसबुकबाट उम्मेदवारको प्रचारप्रसार गरेको पाइयो यसको उजुरी कसलाई कसरी पठाउन सकिन्छ?

कुनै पनि उम्मेदवार वा दलले आचारसंहिता विपरीत गरेका कामहरूको प्रमाणका साथ इमेलमार्फत उजुरी गर्न सकिन्छ। साथै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत वा निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत पनि पठाउन सकिन्छ।

वडाध्यक्षले आफ्नो काम छाडेर उम्मेदवारको प्रचार प्रसारमा हिँड्नुभएको छ। उजुरीको प्रक्रिया के होला?

निर्वाचन आचारसंहिता २०७९ को व्यवस्थाअनुसार जनप्रतिनिधिहरूले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न।

त्यस्तो गरेको पाइएमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति वा निर्वाचन आयोगको विभिन्न सम्पर्क माध्यमबाट उजुरी गर्न सकिन्छ।

चुनाव प्रचारप्रसार दैनिक रूपमा गर्दा कुन समयभित्र गर्न पाइन्छ?

बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म।

निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्छ कि चल्दैन?

सामान्यतः अनुमति नलिई सवारी साधन चलाउन पाइँदैन। यस सम्बन्धमा आयोगले निर्णय गरेबमोजिम हुनेछ।

नेपाली सेना निर्वाचनको सुरक्षाको बाहिरी घेरामा रहनुहुन्छ। उहाँहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने कि नपाउने ?

निर्वाचनको काममा खटिनुभएका संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मीको अस्थायी मतदाता नामावलीमा नाम दर्ता भई सो नामावली प्रमाणित भई आएमा उनीहरू प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनुहुन्छ तर निर्वाचनमा खटिने शिक्षकहरूका लागि उक्त व्यवस्था छैन।े

 

निर्वाचन र्या‍लीमा कति वटा सवारी साधन प्रयोग गर्न पाइन्छ?

निर्वाचन आचारसंहिता २०७९ अनुसार निर्वाचन प्रचारप्रसारको क्रममा जुलुस वा आमसभा गर्दा चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न पाइँदैन।

दृष्टिविहीनले कसरी मतदान गर्ने? निजले इच्छाएको व्यक्तिले पाउने हो?

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफ्नो मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसंकेत गर्न लगाउन सक्नेछ।

साथै, कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मतसंकेत गर्न नसक्ने भई मतसंकेत गर्ने काममा सहयोग पुर्‍याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नसक्ने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved