बेइजिङ डायरी

अरनिको खोज्दै छ बेइजिङ

बेइजिङको श्वेतचैत्य एउटा सांस्कृतिक सम्पदा मात्र होइन। त्यसभित्र नेपाली कलाको इतिहास पनि लुकेको छ। श्वेत चैत्यभित्र कुँदिएका चित्रहरू, बुद्धका मूर्तिहरू, रञ्जना लिपिमा लेखिएका बौद्धमन्त्रहरु, कलाको शैली आदि कुराले नेपालीपनलाई जिउँदो बनाएका छन्।

अरनिको खोज्दै छ बेइजिङ

बेइजिङ । अरनिकोले निर्माण गरेको श्वेतचैत्यमा औपचारिक साप्ताहिक महोत्सव आयोजना हुँदै गर्दा बेइजिङमा बस्ने सबै नेपाली उत्साहित छन्। श्वेतचैत्यको यो साप्ताहिक महोत्सवले नेपालसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई धारिलो बनाउँदै सम्पदा संरक्षणमा हातेमालो गर्न चीनले चासो देखाएको छ।

श्वेतचैत्य महोत्सवमा प्रदर्शनी सँगसँगै विभिन्न गोष्ठीहरू भइरहेका छन्। चीन र नेपालबीचमा सांस्कृतिक संवाद, सहयोग आदानप्रदान, सम्पदा संरक्षणमा हातेमालो आदि विषयमा केन्द्रित भएर विद्वानहरूले कार्यपत्र पेश गरेका छन्।

नोभेम्बर ७ तारिख सोमबारदेखि सुरु भएको साप्ताहिक महोत्सव नोभेम्बर १३ तारिख आइतबारसम्म रहनेछ। श्वेत चैत्यभित्रको प्रदर्शनीचाहिँ आगामी फेब्रुअरी २८ तारिखसम्म रहने व्यवस्थापन समितिले जनाएको छ।

बेइजिङस्थित अरनिकोले बनाएको श्वेतचैत्य।

गत सेप्टेम्बर १९ तारिख नै उद्घाटन हुने भनिएको महोत्सव विशेष कारणले स्थगित भएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनको पूर्वसन्ध्यामा बेइजिङमा आयोजना हुने सबै कार्यक्रम स्थगित गरिएकाले सेप्टेम्बर १९ देखि सुरु हुने श्वेतचैत्य महोत्सव नोभेम्बर ७ देखि सुरु भएको हो।

श्वेतचैत्य साप्ताहिक महोत्सवको मुख्य नारा ‘चीन र नेपालका सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔँ’ भन्ने रहेको छ।

उद्घाटन समारोहमा नेपाली सम्पदा झल्किने भिडियो पनि प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा वसन्तपुरको नौतले हनुमानढोका दरबारको पुननिर्माणको भिडियो देखाइएको थियो।

२०७२ सालको भूकम्पले ध्वस्त बनाएको यो दरबारको पुननिर्माण चिनियाँ सहयोगमा भएको हो। तसर्थ, श्वेतचैत्य महोत्सवको नारा चीन र नेपालका सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔँ सार्थक देखिन्छ।

बेइजिङको केन्द्र भागमा रहेको ५० दशमलव ९ मिटर अग्लो श्वेतचैत्य नेपाली महान् कलाकार अरनिकोले निर्माण गरेका हुन्। अरनिको चीन आएको ठ्याक्कै ७६१ वर्ष भयो। बेइजिङमा उनले श्वेतचैत्य ठड्याएको पनि ७४४ वर्ष पूरा भइसकेको छ। अरनिको चीन आएपछि आजीवन नेपाल फर्किएनन्।

अरनिकोको शालिक

नेपाल नफर्किए पनि उनले नेपाल र नेपालीको नामलाई चीनमा सदा अमर बनाएका छन्। बेइजिङमा रहेको श्वेतचैत्य उसरी मुस्कुराइरहेको छ जसरी नेपाल र चीनबीचको मैत्री सम्बन्ध हाँसेको छ। बेइजिङदेखि पश्चिममा पर्ने वल्लो सान्सी प्रान्तको उथाइशानमा पनि अरनिकोले श्वेतचैत्य बनाएका छन्।

त्यो सम्पदा पनि नेपाली गौरव बोकेर उभिएकै छ। बेइजिङको श्वेतचैत्य एउटा सांस्कृतिक सम्पदा मात्र होइन। त्यसभित्र नेपाली कलाको इतिहास पनि लुकेको छ।

श्वेत चैत्यभित्र कुँदिएका चित्रहरू, बुद्धका मूर्तिहरू, रञ्जना लिपिमा लेखिएका बौद्धमन्त्रहरू, कलाको शैली आदि कुराले नेपालीपनलाई जिउँदो बनाएका छन्।

यसकारण यो महोत्सव समग्र रूपमा अरनिकोलाई केन्द्रबिन्दु बनाएर आयोजना गरिएको छ। श्वेतचैत्य महाविहारभित्रको पूर्वपट्टिको लामो कक्षमा चित्रद्वारा अरनिकोको जीवनी प्रस्ट्याउन खोजिएको छ।

चीनको इतिहासमा युआन राजवंश कालको अध्ययनलाई सबैभन्दा कठिन मानिन्छ। युआन शासन कालभन्दा अगाडिको समयको इतिहास पनि सहजै प्राप्त हुन्छ र त्यसपछिको समयको इतिहास पनि सहजै प्राप्त हुन्छ।

युआन शासन कालको इतिहास प्राप्त नुहुने त हैन तर त्यो शासनकालभित्र सांस्कृतिक गतिविधि, खानपान, नाचनाग, पोशाक, चाडपर्व आदिका बारेमा सहज सामग्री उपलब्ध छैनन्।

अरनिकोले बनाएको कुब्ला खाँको तस्वीर

यसबारेमा चिनियाँ इतिहासका खोजकर्ताको तर्क अलिक अनौठो छ।

युआन शासनकाल चिनियाँ हान जातिमाथि मंगोलियन जातिले शासन गरेको समय हो।

अहिले चीनमा हान जातिको जनसङ्ख्या ९१ प्रतिशतभन्दा बढी छ।

चिनियाँ इतिहासमा दुईपटक मात्र गैरहान जातिले शासन गरेको पाइन्छ।

चीन गणतन्त्र हुनुभन्दा पहिले चीनमा छिङ वंश (१६४४ देखि १९११ सम्म) को शासन थियो। छिङ वंशलाई मञ्च वंश पनि भनिन्छ जुन हान जाति नभएर मञ्च जाति थियो।

मञ्च वंशको शासनकाल पछिल्लो समयको भएकाले इतिहासमा उक्त समयको सबै कुरा सहजै प्राप्त गर्न सकिन्छ। तर, युआन वंश कालका कुराहरू यथेष्टरूपमा प्राप्त हुन नसक्नु चिनियाँ हान जातिमा भएको पूर्वाग्राही सोच पनि हुन सक्छ।

चिनियाँ इतिहासमा सबैभन्दा कम समय शासन गर्ने पनि युआन वंश (९७ वर्ष मात्र) नै हो। यही समयमा नेपाली महान् कलाकार अरनिको चीन आएका थिए। एउटा कुरा के सत्य हो भने युआन वंशकालमा भएको सबैभन्दा ठूलो उपलब्धि नै अरनिकोले बनाएको श्वेतचैत्य हो।

सन् १९७६ मा भूकम्पबाट क्षतिग्रस्त श्वेतचैत्य।

त्यसकारण चीनको इतिहास पल्टाउँदा सन् १२७१ देखि १३६८ सम्मको युआन वंशको शासनकाललाई जीवित बनाउने काम अरनिकोले गरेका छन्।

तसर्थ यो इतिहासकालसँग नेपालको नाम पनि अन्योन्याश्रित रूपमा जोडिएको छ। यसकारण यो महोत्सव समग्र रूपमा अरनिकोलाई केन्द्रबिन्दु बनाएर आयोजना गरिएको छ।

श्वेतचैत्य महाविहारभित्रको पूर्वपट्टिको लामो कक्षमा चित्रद्वारा अरनिकोको जीवनी प्रस्ट्याउन खोजिएको छ।

काठमाडौँ उपत्यकामा मन्दिरै मन्दिर भएको क्षेत्रमा अरनिकोको जन्म भएको, तीन वर्षको उमेरमा बुबाआमासँग मन्दिर क्षेत्रमा जाँदा मन्दिर र मूर्तिका बारेमा विभिन्न प्रश्न सोधेको, बाल्यकालमै मूर्तिकला र काष्ठकला सिकेको अनि १६ वर्षको उमेरमा नेपाली कलाकार मण्डलको नेतृत्व गर्दै तिब्बत आएको कुरालाई सचित्र देखाइएको छ।

तिब्बत आएर फागपा गुरुबाट भिक्षु भएको र बेइजिङ आएर कुब्ला खाँलाई भेटेको, कुब्ला खाँले अक्कुपन्चर उपचारमा प्रयोग हुने धातुको मूर्ति मरमत गर्न दिएको र त्यसपछि श्वेतचैत्य निर्माण गरेको कुरा पनि चित्रद्वारा क्रमशः व्यक्त गरिएको छ।

बेइजिङबाहिर उथाइशानमा गएर अर्को श्वेतचैत्य निर्माण गरेको र सन् १३०६ मा बिरामी भएर अरनिकोको मृत्यु भएको कुरालाई चित्रमा देखाइएको छ।

चिनियाँ इतिहास, कला, संस्कृति, सम्पदा र साहित्यमा श्वेतचैत्यको महिमा महत्त्वपूर्ण र उल्लेख्य छ। सयौँ वर्ष अगाडि नै यसका बारेमा कविता र कथा बुनिएका छन्।

चिनियाँ इतिहास, कला, संस्कृति, सम्पदा र साहित्यमा श्वेतचैत्यको महिमा महत्त्वपूर्ण र उल्लेख्य छ। सयौँ वर्ष अगाडि नै यसका बारेमा कविता र कथा बुनिएका छन्। श्वेतचैत्यको प्राङ्गणमा रहेको महाविहारलाई मियाउयिङ श भनिन्छ जसको अर्थ दैवी प्रतिकारको प्रतीक हुन्छ।

त्यसकारण यसको धार्मिक महत्त्व पनि उत्तिकै छ। श्वेतचैत्य स्वयम्भू र बौद्धनाथ जस्तै उभिएको छ भने महाविहारका भित्री छानोमा रञ्जना लिपिमा लेखिएको ‘ओम मणि पद्मे हुं’ मन्त्र जतासुकै लेखिएकाछन्।

पहिले पहिले श्वेतचैत्य महाविहारमा बौद्ध धर्म परम्पराका चाडबाडमा मेलाजात्राहरू लाग्थे। विशेषगरी, परम्परागत चिनियाँ चन्द्रमासको पात्रोअनुसार प्रत्येक महिनाको पाँचौँ, छैटौँ, पन्ध्रौँ, सोह्रौँ, पच्चिसाैँ र छब्बिसौं दिनमा बुद्ध पूजा र प्रदक्षिणा गर्न हजारौँ मानिस जम्मा हुने चलन थियो भनेर सत्यमोहन जोशीले कलाकार अरनिको कृतिमा लेखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी श्वेतचैत्य प्रतीक ग्रहण गर्दै

उक्त समयमा बिहार हाताभित्र ठूलो बजार लाग्ने भएकाले जादू देखाउने, भाग्य बताउने ज्योतिषीसँगै नाचगान गर्नेहरू भेला हुने गर्दथ्ये। व्यापारका लागि किसिम किसिमका सुगन्धी धूपबत्ती, फूलहरूदेखि मोती, जेड, रेशम, लत्ताकपडा, तस्वीर, कलाकृति, माछा, चरा तथा दैनिक उपभोग्य वस्तुहरूको बिक्री हुने गरेको थियो।

सन् १९१२ मा चीन गणतन्त्र भएपछि यसप्रकारका मेला र जात्राहरू रोकिए। सन् १९४९ अक्टोबर १ देखि चीनमा कम्युनिस्ट शासन सुरु भयो। कम्युनिस्ट सत्तामा आएको १२ वर्षपछि सन् १९६१ मा श्वेत चैत्यलाई चिनियाँ राज्य परिषद्ले राष्ट्रिय सम्पदाका रूपमा संरक्षित गर्ने घोषणामा तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले हस्ताक्षर गरेका थिए। यही घोषणाका कारणले सन् १९६६ मा सुरु भएको १० वर्षे सांस्कृतिक क्रान्तिको समयमा हुल्लडबाज समूहबाट यो सांस्कृतिक सम्पदा सुरक्षित रहन गयो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला श्वेतचैत्यको अवलोकन गर्दै

सांस्कृतिक क्रान्तिबाट जोगिएको श्वेतचैत्य सांस्कृतिक क्रान्ति सकिनुभन्दा दुई महिना अगाडि आएको विनाशकारी भूकम्पबाट भने जोगिन सकेन। सन् १९७६ जुलाई २८ तारिख बिहान ३ बजेर ४२ मिनेटमा गएको ७.६ म्याग्निच्युटको भूकम्पले श्वेत चैत्यलाई गम्भीर रूपमा बिगारेको थियो।

बेइजिङ नजिकैको प्रान्त ह्खपेइको थाङसानमा केन्द्रबिन्दु रहेको उक्त भूकम्पमा परेर लगभग ३ लाख चिनियाँको मृत्यु भएको मानिन्छ। भूकम्पले चर्काएर बिरूप बनाएको श्वेतचैत्यको पुननिर्माण सन् १९७८ मा सुरु भयो र दुई वर्ष लगाएर सम्पन्न गरी सन् १९८० देखि सर्वसाधारणका लागि खुल्ला गरियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली श्वेतचैत्य प्राङ्गणमा

अहिले पनि श्वेतचैत्यको अगाडिका पसलहरूमा विशेषगरी पर्यटकलाई लोभ्याउने परम्परागत चिनियाँ कला झल्किने सामानहरू, रेशमी कपडाहरू, पुराना कलाकृतिहरू, परम्परागत चिनियाँ पोशाक बेच्ने गरिन्छ। श्वेत चैत्यका वरिपरिका घरहरू एकतले अथवा दुई तले मात्र छन्।

बेइजिङको दोस्रो चक्रपथ भित्र पर्ने भएकाले यस्ता क्षेत्रलाई हुथोङ भनिन्छ। भक्तपुरमा परम्परागत घरका संरचनालाई संरक्षण गरेजस्तै बेइजिङका हुथोङ क्षेत्रमा पुराना घरहरूलाई संरक्षण गरिएको छ। वरिपरिका झुप्रा घरका बीचमा रहेकाले पनि श्वेतचैत्यको महिमा र गरिमा अझै अग्लिएको जस्तो लाग्छ।

श्वेतचैत्य प्राङ्गणमा प्रदर्शनी गरिएका नेपाली थाङ्काहरू

साढे सात सय वर्ष पुरानो श्वेत चैत्यलाई लिएर पुराना नामी चिनियाँ कविहरूले कविता लेखेका छन्। श्वेत चैत्यका बारेमा स्वैरकाल्पनिक कथाहरू र किंवदन्तीहरू पनि प्रशस्त छन्।

इतिहासले सधैँ सम्झिएको र एउटा शासन वंशको एक मात्र सम्पदाका रूपमा बचेको श्वेतचैत्य चीनको इतिहासको एउटा जीवन्त साक्षी हो। तर, हिजो-आज श्वेत चैत्यका बारेमा उति क्रियाकलाप हुने गरेका छैनन्। सत्यमोहन जोशीले अरनिकोका बारेमा गरेको खोज र अनुसन्धान नै चिनियाँका लागि पनि सन्दर्भ सामग्री बन्ने गरेको छ। चिनियाँ सहयोगमा ६ दशक अगाडि निर्मित काठमाडौँदेखि तातोपानीसम्मको सडकलाई अरनिको राजमार्ग नामकरण गरिएको छ।

यो प्रदर्शनी हेर्न आउने पुराना र नयाँ पुस्ताले फेरि एक पटक अरनिकोलाई खोजी गर्नेछन्। उनीहरूले नेपालसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई पल्टाएर हेर्नेछन्।

नेपाल सरकारले अरनिकोलाई राष्ट्रिय विभूतिमा राखेको छ र हुलाक टिकट निष्कासन गरेको छ। चीनमा अध्ययन गरेर नेपाल फर्किएकाहरूले सन् १९८१ मा अरनिको समाज संस्था सञ्चालन गरेका छन्। यही संस्थाको सक्रियतामा सन् २००२ मा श्वेतचैत्य प्राङ्गणमा अरनिकोको कल्पना गर्दै एक सालिक राखिएको छ।

श्वेतचैत्य प्राङ्गणमा प्रदर्शित नेपाली रसुवा ब्रान्डको पानी

अरनिकोलाई केन्द्र भागमा राखेर गरिएको साप्ताहिक महोत्सव र अरनिकोको कला समेटेर गरिएको साढे तीन महिनाभन्दा लामो प्रदर्शनीले चीनले अरनिकोलाई बिर्सिएको छैन भन्ने संकेत दिएको छ।

यो प्रदर्शनी हेर्न आउने पुराना र नयाँ पुस्ताले फेरि एकपटक अरनिकोलाई खोजी गर्नेछन्। उनीहरूले नेपालसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई पल्टाएर हेर्नेछन्।

प्रदर्शनीमा नेपाली नेताहरूले श्वेतचैत्य अवलोकन गर्न गएको क्षणको फोटोहरू राखिएको छ। जसमा तत्कालीन नेपाली राजारानी वीरेन्द्र र ऐश्वर्यको फोटो पनि छ। त्यसैगरी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले श्वेतचैत्य प्रतीक उपहार ग्रहण गर्दै गरेको फोटो पनि छ। गिरिजाप्रसाद कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताले श्वेतचैत्य महाविहार भ्रमणको फोटो प्रदर्शनीमा राखिएको छ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य श्वेतचैत्यमा

नेपाली थाङ्का प्रदर्शनी यो श्वेतचैत्य महोत्सवको अर्को महत्त्वपूर्ण पाटो हो। पछिल्लो समय चीनमा नेपाली थाङ्का निकै लोकप्रिय मानिएको छ। नेपाली थाङ्काको मुख्य बजार नै चीन बनेको छ। श्वेतचैत्यको प्राङ्गणमा निकै पुराना नेपाली थाङ्काहरू प्रदर्शनी गरिएको छ। यो प्रदर्शनीले नेपाली थाङ्कालाई चिनियाँ बजार विस्तार गर्नमा सघाउ पुर्‍याएको छ।

नेपाली कलासँगै नेपालमा उत्पादित ‘रसुवा’ मार्काको पिउने पानीको प्रदर्शनीले नयाँ युगमा नयाँ उत्पादन थप भएको प्रतीत हुन्छ। चीनबाट नेपालमा रेल ल्याउने विषयमा केही वर्ष अगाडि नेपालीहरूबीचमा टेलिभिजनमा चर्का विवाद पनि भएका थिए।

‘चीनबाट भरिभराउ रेल आउँछ तर नेपालबाट फर्कँदा रित्तै फर्कन्छ। व्यापार घाटा चुलिएर नेपाली अर्थतन्त्र ध्वस्त हुन्छ’ भनेर चर्को आलोचना पनि हुने गरेको थियो। उक्त विषयमा ओठे जवाफ दिँदै केपी शर्मा ओलीले भनेका थिए ‘चीनबाट आएको रेलमा हामी हिमालको पानी भरेर पठाऔँला।’

चिनियाँ रेल त नेपाल पुगेको छैन तर नेपाली हिमालको पानी बेइजिङमा आइपुगेको छ। अहिले साङ्केतिक रूपमा प्रदर्शनी गरिएको भए पनि भविष्यमा नेपाली पिउने पानी चिनियाँ बजारमा एउटा हिस्सा बन्ने आशा गर्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved