आरजु ‘भाउजू’को बोलीले हैरान कांग्रेसी ‘देवरबाबु’हरू

आरजुको भाषण सुनेर कांग्रेसका प्रखर भनिएका युवा नेता पनि अवाक् छन्। नेताहरू भन्छन् ‘‘आफ्ना नेताले माइक समातेपछि कार्यकर्ता उत्साहित हुनुपर्ने हो। तर हामी कांग्रेसीका दुःख अर्कै छन्। आरजु भाउजूले माइक समातेपछि कांग्रेसजन डराउनुपर्ने अवस्था छ। के कुरा बोलेर माहोल बिगार्देलिन् भन्ने डर छ। उनले बोल्यो कि पार्टीलाई पोल्यो हुन्छ। तर के गर्नु। पार्टीमा उनकै हाइहुकुम छ। जे बोले पनि ताली त बजाउनैपर्छ।’’

आरजु ‘भाउजू’को बोलीले हैरान कांग्रेसी ‘देवरबाबु’हरू

काठमाडौं। नेकपा एमालेमा ‘बा’ शब्द जति चर्चित छ नेपाली कांग्रेसमा उत्तिकै चर्चित छ ‘भाउजू’। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ नभनी पार्टीमा टिक्न गाह्रो छ । उता कांग्रेसमा केन्द्रीय सदस्य आरजु राणा देउवालाई ‘भाउजू’ साइनो नलगाई टिक्न खान गाह्रो छ। त्यसैले अधिकांश कांग्रेसी नेताहरू आरजुलाई  ‘भाउजू’ नाताले सम्बोधन गर्छन्।

पार्टीमा सामान्य जस्तै पदमा रहेकी आरजुलाई ‘भाउजू’ साइनो जोड्नुको कारण भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु ‘फर्स्ट लेडी’ अर्थात् मुलुकको कार्यकारीकी पत्नी हुनु पनि हो । कांग्रेस पार्टीभित्रको निर्णय प्रक्रियामा हाबी आरजुको सबैतिर हालीमुहाली छर्लंगै देखिन्छ।

देउवाको उत्तराधिकारी हुने प्रयासका रूपमा बुझेका आरजुको कुरा हत्तपत्त काट्ने आँट कांग्रेसी ‘देवर बाबुहरूमा छैन।’ मुलुकका प्रधानमन्त्री अर्थात् देउवा हत्तपत्त बोल्दैनन्। तर, देउवा पत्नी आरजुको लगातारको बोलीले कांग्रेसका नेताहरू हैरान छन्। कतिपयले उनलाई एमालेको गोकुल बाँस्कोटाको कांग्रेस संस्करणको रूपमा अर्थाउने गरेका छन्।

सार्वजनिक कार्यक्रममा राजनीतिज्ञले बोलेका कुरालाई ठूलो जमातले कान ठाडा पारेर सुनिरहेका हुन्छन्। र, कथंकदाचित उनीहरू बोलीमा कतै चिप्लिए भने त्यसले नसोचेको परिणाम उत्पन्न गर्न सक्छ। यस्तो बोली अन्ततः गोली बनेर आफैँतिर फर्किन्छ। पछिल्लो समय त्यस्तै भइरहेको छ आरजूको हकमा पनि। चुनावको मुखमा लगातार विवादास्पद बोली उकेल्दै आएकी आरजुलाई लगाम लगाउनुपर्ने चर्चा पार्टीभित्रै नभएको होइन। तर, कसैले भन्ने आँट गर्न सकेका छैनन्।

आरजु ‘भाउजू’ले बोल्यो कि कांग्रेसलाई पोल्यो

अनेक कारण चर्चामा आइरहने प्रधानमन्त्री पत्नी आरजुले शुक्रबार डडेलधुरामा पुगेर गरेको भाषण अहिले भाइरल नै भएको छ । उनी अहिले डडेलधुरामा मतदाता फकाउँदै छिन्। यो चुनावपछि पनि देउवालाई प्रधानमन्त्री बनाउँदै आफू शासकीय ‘रजगज’ गर्न लालायित उनी विभिन्न विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचित हुँदै आएकी छिन्।

प्रधानमन्त्री देउवासँगै चुनावी सभामा सहभागी हुन गृह जिल्ला डडेलधुरा पुगेकी उनले गृहपालिका गन्यापधुरा गाउँपालिकामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा यसो भनिन्।

‘‘यो गाउँ-ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ। आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कति जना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्ने, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्। नेपाली कांग्रेसको रूख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस्।’’

निर्वाचनको चहल–पहल ‘क्लाइमेक्स’तर्फ लम्कँदै गर्दा आरजुले ‘हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन’ मतदातालाई आग्रह गरेपछि अनेकखाले टिप्पणी भइरहेका छन्।

उनले सम्भ्रान्त वर्गको मनोदशा/मनोद्वेग उकेलिरहँदा अरू नेताहरू भने लज्जित बनिरहेका छन्।

शक्ति र पहुँचको धाकको श्रृंखला

राणा आफू समानुपातिक सूचीबाट निश्चितरूपमा सांसद बन्नेछिन्। अब उनी पति शेरबहादुर देउवालाई डडेलधुराबाट सातौँपटक जिताउने प्रयत्नमा जस्तोसुकै विवादास्पद भाषणको सहारा लिन पछि परेकी छैनन्।

आरजुले शक्ति र पहुँचको धाक लडाएको यो पहिलो पल्टचाहिँ होइन। स्थानीय चुनावताका धनगढीदेखि डडेलधुरासम्मका विभिन्न कार्यक्रममा उनले जनता धम्क्याइन्।

धनगढी उपमहानगरपालिकामा महिलाको कार्यक्रममा वैदेशिक रोजगारीका लागि सित्तैमा मलेसिया पठाउने प्रलोभन दिएपछि उनको चर्को आलोचना भयो। वैशाख २३ गते निःशुल्क भिसा र निःशुल्क टिकटमा मलेसिया पठाइदिने आश्वासन दिँदै उनले भोट मागेकी थिइन्।

उनले भाषणमा भनेकी थिइन्, ‘‘कसैले मलाई फ्री भिसा फ्री टिकटको कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान ऊ (पैसा) पर्दैन, सबै जनालाई लान सक्दैनौँ । किनभने मापदण्ड हुन्छ। यो वडाबाट ५-६ जनालाई पठाउने प्रयास गर्छौं । पहिला इलेक्सन (निर्वाचन) सिध्याऔँ ।’’

आरजुले मतदातालाई शक्तिको दुरुपयोग गरी धम्क्याइए पनि वडावासीले लोप्पा खुवाइदिए। देउवाकै वडामा कांग्रेसले होइन कि ‘करुवा’ले नै जित्यो।

आरजुले भनेजस्तो कानुनमा पहिले देखिनै अधिकांश देशमा ‘फ्री भिसा फ्री टिकट’ त भनिएको छ। तर युवाहरूले निःशुल्क रूपमा जान पाएका छैनन् । जम्मा जम्मी २० हजार रुपैयाँ तिरे पुग्ने र शून्य लागतको कोटा पहुँचयोग्य नेताको क्षेत्रतिर गइरहेको छ । पहुँच नभएकाले लाखौँ तिरिरहेका छन्।

आरजुले वैशाख २२ गते अर्को विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। स्थानीय तहमा डडेलधुरामा कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गर्दै आरजुले भनिन् ‘‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, यो कुरा ध्यान दिएर करूवा सरूवा हरुवा पार्टीलाई भोट नहाल्नुस्।’’

आरजुले मतदातालाई शक्तिको दुरुपयोग गरी धम्क्याइए पनि वडावासीले लोप्पा खुवाइदिए। देउवाकै वडामा कांग्रेसले होइन कि ‘करुवा’ले नै जित्यो।

‘खुलजा सिमसिम’ले हँसीमजाकको पात्र

२३ असोजमा शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गर्न आरजु आफैँ बारेस बनेर गएकी थिइन्। आरजुले डडेल्धुराक बासिन्दालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रोचक भाषण गरिन् ‘खुलजा सिमसिम’ भन्नेबित्तिकै बालुवाटारको ढोका खुल्छ।’’

केटाकेटीले हेर्ने कार्टुन टेलिभिजन शो मा ‘खुलजा सिमसिम’ भन्नासाथ ढोका खुल्छ। त्यही डाइलग कपी गरेपछि उनी हँसीमजाकको पात्र भएकी थिइन्।

‘खुलजा सिमसिम’ फर्मुला पनि चुनावमा भोट बटुल्न मात्रै भएको र ‘पहुँचवाला’का निम्ति मात्रै  लागु हुने कतिपयको तर्क छ।

जनकारका अनुसार चुनावको मुखमा प्रधानमन्त्री पत्नीले डडेलधुराका बासिन्दाका निम्ति पनि ‘खुलजा सिमसिम’ भएको उद्घोष गरे पनि त्यस्तो भने छैन। याे फर्मुला पनि चुनावमा भोट बटुल्न मात्रै भएको र ‘पहुँचवाला’का निम्ति मात्रै  लागू हुने व्यवहारमा देखिन्छ ।

राजनीतिक विश्लेषकहरू भन्छन् ‘‘देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा प्रधानमन्त्री निवासको ढोका डडेलधुरावासीका निम्ति ‘खुलजा सिमसिम’ सरह थियो। बिस्तारै बालुवाटारको ढोका, व्यापारी–व्यवसायी, बिचौलिया, चाकडीदारमै सीमित छ।’’

चुनाव प्रचारका क्रममा अघिल्लो संसदीय चुनावमा पनि आरजुले थुप्रै फण्डा गरिन । ‘टुरिस्ट’ उम्मेदवारको आरोप लागेपछि कैलालीमा तीन करोड रुपैयाँको घर नै किनिन्। यो कामले उनलाई फाइदा हैन ‘ब्याक फायर’ भयो ।

देवर बाबुहरूका दु:ख –  जे भने पनि ताली बजाउनै पर्छ

आरजुको भाषण सुनेर कांग्रेसका प्रखर भनिएका युवा नेता पनि अवाक् छन्। नेताहरू भन्छन् ‘‘आफ्ना नेताले माइक समातेपछि कार्यकर्ता उत्साहित हुनुपर्ने हो। तर, हामी कांग्रेसीका दुःख अर्कै छन्। आरजु भाउजूले माइक समातेपछि कांग्रेसजन डराउनुपर्ने अवस्था छ। के कुरा बोलेर माहोल बिगार्देलिन् भन्ने डर छ। उनले बोल्यो कि पार्टीलाई पोल्यो हुन्छ। तर, के गर्नु। पार्टीमा उनकै हाइहुकुम छ। जे बोले पनि ताली त बजाउनै पर्छ।’’

पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि नेताहरूले बोलीमा बढ्तै विचार पुर्‍याउनुपर्ने भएको छ। तर, आरजु राणा नसच्चिएको भन्दै कांग्रेसकै नेताहरू दिक्क मान्छन् ।

कांग्रेसका एक पदाधिकारी भन्छन् ‘‘नेताहरू बोल्दा भाषणमा कहीँ कतै चुके छिनमै फेसबुकदेखि टिकटकमा भाइरल भइहाल्छ। त्यसपछि सुरू हुन्छ गालीको वर्षा। अहिले भाउजुको बोलीकै कारण सबै कांग्रेसीले गाली खानुपरेको छ।’’

गोकुल बाँस्कोटको कांग्रेस संस्करण

एक विश्लेषक भन्छन् ‘आरजु राणा गोकुल बाँस्कोटाको कांग्रेस संस्करण’ हुन्। ओली सरकारका पालामा सञ्चारमन्त्री रहेका बाँस्कोटाको अभिव्यक्तिले सामाजिक सञ्चालमा निकै आलोचना पाउने गरेको थियो । रुखो र जस्तो पनि बोल्दिने भन्दै बाँस्कोटालाई एमालेभित्रै आलोचना गर्ने गरिन्छ । आरजुको शैलीलाई पनि कतिपयले त्यही दाँजोमा राखेका छन्।

उनी भन्छन् ‘आरजु देउवा एलिट वर्गकी हुन्। उनले न त दु:ख भोगिन् न त जनताको दु:ख देखिन्। सायद, उनलाई यो देश गरिबहरूको पनि हो भन्ने थाहा भएन। जनतालाई हेलिकोप्टरमा उड्ने होइन, जनताको घर–घर पुगेर ‘खाना खानुभयो ?’ भनेर सोध्ने प्रतिनिधि चाहिएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved