घण्टी बजाउँदै भोट मागिरहेकी सोबिता भन्छिन्, “राजनीतिमा अब युवा पुस्ताले हस्तक्षेप गर्नुपर्छ”

धेरैजसो पार्टीमा टिके प्रथा हावी छ । जो सत्ताको नजिक छ, जसको पावर छ उहीसँग टाँसिने र उही व्यक्तिले भनेको आधारमा पार्टीभित्रै एउटा सिन्डिकेट हुने अवस्था छ । जसले गर्दा पुराना दलहरूको पतन सुरु भएको हो । यसले राजनीतिमा वितृष्णा जगाएको छ । पार्टीहरू गलत हैनन्, तर पार्टीका पात्र गलत छन् । लोकतान्त्रिक बन्न नसक्नु उहाँहरूको कमजोरी हो ।

नेपालभ्युज

घण्टी बजाउँदै भोट मागिरहेकी सोबिता भन्छिन्, “राजनीतिमा अब युवा पुस्ताले हस्तक्षेप गर्नुपर्छ”

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सोबिता गौतम घण्टी बजाएर भोट मागिरहेकी छन् । २७ वर्षीया सोबिता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी हुन् ।

अधिवक्ता र सञ्चारकर्मीको रूपमा काम गर्दै आएकी गौतम पुराना पार्टीका स्थापित नेतालाई विस्थापित गर्ने भन्दै चुनावी मैदानमा छिन् । समाजका समस्यालाई संसदबाट सम्बोधन गराउन आफूले उम्मेदवारी दिएको उनी बताउँछिन् । काठमाडौं– २ मा सत्ता गठबन्धनले पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ ।

एमालेबाट मणिराम फुँयाल उम्मेदवार छन् । गौतम आफूले कुनै दलका उम्मेदवारलाई चुनौतीको रूपमा नलिएको बताउँछिन् । गौतमसँग नेपाल भ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय स्वतन्त्र पार्टी नै रोज्नुको कारण के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी जन्मनुभन्दाअघि म कुनै राजनीतिक दलमा आबद्ध थिइनँ, न कुनै भातृसंगठनमै थिएँ । तर, मेरा साथीहरू जो राजनीतिक दलमा आबद्ध हुनुहुन्थ्यो म उहाँहरूलाई नियालिरहेकी थिएँ ।

उहाँहरूले बोल्ने र गर्ने कामलाई मैले अध्ययन नै गरेँ । आफूले उठाएका विषय आफ्नो सरकार बनेपछि पूरा गर्नुपर्ने दायित्व राजनीतिक दलहरूको हुन्छ तर मैले प्रतिबद्धता पूरा गर्नेतर्फ कुनै दलको ध्यान गएको देखिनँ । स्थापित दलहरू आफ्नो एजेन्डाबाट विमुख भएको देखेर मैले उहाँहरूलाई विश्वास गर्न सकिनँ ।

अर्को कुरा स्थापित दलमा लाग्दा मेरा लागि अर्थ राख्थ्यो होला । तर, मैले मेरा लागि मात्रै राजनीति गरेको होइन । नयाँ पार्टीमा नयाँ पद्धति छ नयाँ-नयाँ व्यक्तिहरू हुनुहुन्छ । नयाँ ऊर्जाले नै सकारात्मक परिवर्तन दिन सक्छ भनेर मैले यो पार्टी रोजेकी हुँ ।

तपाईंको नजरमा पुराना पार्टी नै गलत हुन् कि पार्टीका पात्र ?

पार्टीका सिद्धान्त निकै राम्रा छन् । अर्को कुरा पार्टीका सिद्धान्त पनि कसैलाई समाजवादी मन पर्ला, कसैलाई मार्क्सवादी मन पर्ला, कसैलाई प्रजातान्त्रिक मन पर्ला, त्यो मानिसको व्यक्तिगत रोजाइ र आस्थाको विषय हो, तर दलहरूभित्रको लोकतान्त्रिक पद्धति राम्रोसँग सञ्चालन हुन नसक्दा समस्या देखिएको हो ।

धेरैजसो पार्टीमा टिके प्रथा हावी छ । जो सत्ताको नजिक छ जसको पावर छ उहीसँग टाँसिने र उही व्यक्तिले भनेको आधारमा पार्टीभित्रै एउटा सिन्डिकेट हुने अवस्था छ ।

जसले गर्दा पुराना दलहरूको पतन सुरु भएको हो । यसले राजनीतिमा वितृष्णा जगाएको छ । त्यसैले, पार्टीहरू गलत हैनन्, तर पार्टीका पात्र गलत छन् । लोकतान्त्रिक बन्न नसक्नु उहाँहरूको कमजोरी हो ।

पुराना पार्टीभन्दा तपाईंको पार्टी के आधारमा फरक छ त ?

हाम्रो पार्टीको कुरा गर्नुपर्दा हाम्रो आन्तरिक लोकतन्त्रलाई अत्यन्त पारदर्शी र चुस्त बनाउनका लागि विभिन्न संयन्त्र बनाएका छौँ । पहिलो कुरा त, हाम्रो पार्टीको कुनै पनि भातृसंगठन छैन ।भातृसंगठनको कारण तलदेखि नै भागबन्डाको सुरुवात हुने र जहाँ पनि नेता नै नेता हुने अवस्था आउने भएपछि हामीले भातृसंगठन बनाएका छैनौँ ।

अर्को कुरा हाम्रो पार्टीमा कार्यकर्ता छैनन् । हाम्रो पार्टीसँग शुभेच्छुकहरू हुनुहुन्छ । अर्को कुरा हाम्रो पार्टीको जुनसुकै तह र तप्कामा पदपूर्ति गर्दा प्रतिस्पर्धालाई आधार बनाएका छौँ ।

हामी सरकारमा गयौ भने जति पनि राजनीतिक नियुक्तिहरू छन् ति सबै ठाँउमा प्रतिस्पर्धाको आधारमा गर्छौं भनेका छौँ । पार्टीलाई लोकतान्त्रिक र पारदर्शी बनाउने कुराले नै हामी अरूभन्दा फरक छौँ ।

पारदर्शिताको कुरा गर्नुभयो, तर तपाईंहरूको आर्थिक स्रोतबारे शंका छ नि ?

हामीलाई शुभेच्छुकहरूले सहयोग गर्नुभएको छ । हामीले कुनै धनाड्य व्यापारीसँग चन्दा मागेका पनि छैनौँ, तर यदि कसैले सहयोग गर्नुहुन्छ भने उहाँहरूको स्रोत पहिचान नगरी सहयोग पनि बुझेका छैनौँ ।

त्यसैले यसका शंका गर्न आवश्यक छ जस्तो लाग्दैन । अर्को कुरा, हामीले हाम्रो पार्टीको खर्च विवरण तीन-तीन महिनामा स्पष्ट रूपमा सार्वजनिक गरेका छौँ र आगामी दिनमा पनि गर्नेछौँ ।

चन्दाले नै पार्टी चलाउने भए तपाईंहरू कसरी फरक ?

हामीले चन्दा मागेको होइन यो शुभेच्छुकहरूले दिएको दान हो । पार्टी सञ्चालन गर्न यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर त भएन नि। एउटा विकल्प त दिनुपर्‍यो नि । कि त, पार्टीहरूले पनि कुनै व्यवसाय गर्नुपर्‍यो । हामीले शुभेच्छुकहरूले दिएको दान स्विकार मात्र गरेका हौँ ।

तपाईंले उम्मेदवारी दिनुको उद्देश्य के हो ?

देशको राजनीतिमा युवा पुस्ताले हस्तक्षेप गर्ने अभियान चलिरहेको छ । हामीले पटक-पटकका निर्वाचन देखिसकेका छौँ । त्यो निर्वाचनबाट पटक-पटक एउटै व्यक्ति आइरयो ।

मन्त्री पनि हुने अनि आश्वासन बाँड्न पनि नछोड्ने सधै बाँडेको बाँड्यै गर्ने । यता हामी पनि पहिला केही नमिलेर होला अब गर्ला भन्दै उसैलाई जिताइरहेका थियौँ । तर, अहिले हामीले गलत गरेका रहेछौँ भन्ने चेतना सबैलाई बढेको छ । मलाई पनि त्यही नै हो । यदि, राजनीतिमा हामीले हस्तक्षेप गरेनौ भने देश अझ पछाडि पर्छ भन्ने लागेर मैले उम्मेदवारी दिएकी हुँ ।

अर्को कुरा राजनीतिलाई फोहोरी खेल मात्र भन्ने गरिन्छ, तर यसलाई सफा गर्न कसैले अग्रसरता नलिने हो भने आगामी दिनमा झन् के होला ? त्यसैले, म यस क्षेत्रमा पसेर फोहर सफा गर्ने अठोट लिएकी छुँ । मलाई लाग्छ, मेरो उम्मेदवारीले अरु युवाहरू पनि राजनीतिमा आर्कषित हुनेछन् ।

घर-घरमा पुगेर मत माग्दै गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मैले मिश्रित प्रतिक्रिया पाइरहेकी छुँ । कतिपय ठाउँमा यो पटक तपाईलाई नै भोट हाल्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ भने कतिपय ठाउँका मतदाता भने निकै निराश भएको पाएँ ।

उहाँहरूले किन भोट हाल्ने ? भोट हालेर के हुँदो रैछ र ? भनेर निराश बन्नुहुन्थ्यो। हामीलाई पनि किन भोट माग्नुपर्‍यो भनेर प्रश्न गर्नुभयो त्यो उहाँहरूको राजनीतिप्रति वितृष्णा हो । तर, हामीसँग कुरा भए पछि उहाँहरू पनि सकारात्मक बन्नुभएको छ ।

तपाईंलाई यहाँका मतदाताले किन जिताइदिने ?

यो निर्वाचनमा विजयी भएर जाने व्यक्तिको भूमिका सदनमा पुगेर नीति नियम बनाउने हुन्छ । मेरो एजेन्डा भनेको पनि आवश्यक नीति नियम बनाउने नै हो । हामीले भोगेका समस्यालाई संसदमा पुगेपछि सम्बोधन गर्नुपर्छ भन्ने हो ।

आजसम्म भइरहेको के छ भने हाम्रा प्रतिनिधिले समस्या सुन्छन्, तर सदनमा कहिले नै उठाएको पाउदैनौँ । जब, राष्ट्रिय मुद्दाहरू आउँछन् नाफा घाटाको कुरा आउँछ त्यो बेला भरिने सदन, जनताको कुरा उठाउने दिन खाली भएको देख्छौँ, अब त्यो अवस्था परिवर्तन गर्नुपर्छ ।

म निर्वाचित भएपछि सधैँ सदनमा उपस्थित भई यहाँका समस्याहरू उठाउनेछु।

तपाईंको क्षेत्रमा ठूलो समस्या के रहेछ ?

यो क्षेत्रको मुख्य समस्या खानेपानी नै हो । हाम्रो बाल्यकालदेखि नै यो क्षेत्रको समस्या खानेपानी थियो र आज पनि यही छ । धारामा पानी ल्याउने प्रतिबद्धता जनाएको ३० वर्ष भइसक्यो आज पनि उस्तै छ ।

यस्तो आधारभूत आवश्यकताका कुराहरू पनि हामीले पाउन सकेका छैनौँ । जब सदनबाट यस्ता मुद्दाका विषयहरू समाधान हुन्छन् त्यसपछि बल्ल सैद्धान्तिक बहस गरौँला । यस्ता अत्यावश्यक कुराहरू हामीले प्राप्त गर्नै पर्छ ।

पूर्वसभामुखदेखि राजनीतिमा लामो अनुभव भएका पाका नेताहरू प्रतिस्पर्धामा हुनुहुन्छ । चुनौती कत्तिको देख्नुभएको छ ?

म आफ्नो हिसाबले प्रचार-प्रसारमा लागिरहेकी छु । उहाँहरू कसरी हिँड्नुभएको छ के गर्दै हुनुहुन्छ भन्ने मैले चासो नै राखेकी छैन । मैले मेरो आफ्नै कुरा सुनाइरहेकी छु । मेरो परिचय दिइरहेकी छु । मैले त्यस्तो चुनौती भनेर तनाव नै लिएकी छैन म आरामले आफ्नै हिसाबले अघि बढिरहेकी छु।

चुनावी अभियानमा उहाँहरूसँग कतै जम्काभेट भएको छ ?

खासै त्यस्तो मौका जुरेको छैन । तर, एक-दुईपटक ओनसरी घर्तीसँग भेट भएको थियो, खोई ! किन हो उहाँले वास्ता गर्नुभएन । हामी त उहाँहरूसँग भेट्न चाहन्थ्यौँ, उहाँहरूको अनुभव सुन्न चाहन्थ्यौँ। तर, उहाँहरूले हामीलाई बच्चाबच्ची सोच्नुभएको हो कि के हो एक दुई वटा अन्तर्वातामा पनि हैसियत नमिल्ने कुराहरू सुनेँ ।

पुराना दलहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

एउटा व्यवस्था परिवर्तन गर्न तपाईंहरूको योगदान रह्यो, त्यसैलाई अब उद्देश्य प्राप्त गर्‍यौँ भन्ने ठानेर विश्राम गर्नुहुँदा राम्रो हुन्छ, अबको पुस्ताको प्रतिनिधित्व हजुरहरूले गर्न सक्नुहुन्न । बरु आफ्ना छोराछोरीलाई राजनीतिमा पठाउनुहोस् । तपाईंहरूका अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गरेर अभिभावकीय भूमिका निर्वाह गर्नुहोस् भन्न चाहन्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved