कैलाली १ मा जेठाजु-बुहारीबीच प्रतिस्पर्धा, रञ्जिता भन्छिन्- रेशमको साख जोगाउँछु

रामजनमलाई नागरिक उन्मुक्ति पार्टीको कडा चुनौती

उम्मेदवार भइसकेपछि स्वाभाविकरूपमा सबैले आफूलाई अब्बल नै देख्छन् । तर, वास्तविकता के छ भने हाम्रो नयाँ दल भएपनि यहाँ कमजोर छैन । यसको तथ्य भर्खरै सम्पन्न स्थानीय निर्वाचनले पनि देखाएको छ । जनताले माया गरेर हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई जिल्लाकै ठूलो पार्टी बनाइदिनुभएको छ । अहिले पनि उहाँहरू नै मतदाताको रूपमा हुनुहुन्छ ।

नेपालभ्युज

कैलाली १ मा जेठाजु-बुहारीबीच प्रतिस्पर्धा, रञ्जिता भन्छिन्- रेशमको साख जोगाउँछु

काठमाडौं । कैलाली, कञ्चनपुर र तराई क्षेत्रका केही जिल्लालाई समेटेर ‘थरुहट प्रदेश’ बनाउनुपर्ने मागले ‘उग्र आन्दोलन’को रूप लिँदै थियो । संविधान जारी हुनुभन्दा करिब ७ महिना अगाडि चर्किएको त्यो आन्दोलनको नेतृत्वकर्ता मध्येका एक थिए— रेशम चौधरी । आन्दोलनले उग्र रूप लिँदा ८ प्रहरीसहित १ नाबालिकाको ज्यान गयो । जसलाई अहिले ‘टीकापुर घटना’ भनेर चिनिन्छ ।

घटनापछि रेशम फरार भए । फरार रहेकै अवस्थामा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनले कैलाली क्षेत्र नं. १ मा फराकिलो मतान्तरले जित निकाले । त्यसबेला रेशमले तत्कालीन वाम गठबन्धन (एमाले-माओवादी केन्द्र) का उम्मेदवारविरुद्ध करिब २१ हजार मतान्तरको जित निकालेका थिए ।

तर, उनी निर्वाचित मात्रै बने । सांसदको रूपमा काम गर्न पाएनन् । अहिले उनी टीकापुर घटनामा दोषी ठहर भइ आजीवन कारावासको सजाय काटिरहेका छन् । यसपछि कैलाली १ प्रतिनिधि सभामा जनप्रतिनिधिविहीन बन्यो । अहिले त्यही कैलाली १ चुनावी चासोको केन्द्रमा छ । रेशमको साख जोगाउने भन्दै यसपटक उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्षसमेत हुन् ।

जातीय उत्पीडनको मुद्दासँगै रेशमको प्रतिनिधिका रूपमा अघि बढेकी रञ्जिताको दल नागरिक उन्मुक्ति पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा जितेको छ ।

त्यहाँ नागरिक उन्मुक्ति पार्टी नै सबैभन्दा ठूलो पार्टी हो । स्थानीय तह निर्वाचनबाट उन्मुक्ति पार्टीबाट निर्वाचित वडाध्यक्षले पाएको मतअनुसार उसँग १७ हजार ९ सय १३ मत छ भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को मत जोड्दा १७ हजार ९ सय ७४  हुन्छ ।

सत्ता गठबन्धनले पूर्वमन्त्री रामजनम चौधरीलाई उम्मेदवार बनाएको छ । जसको चौधरी समुदायमा राम्रो पकड छ भनिन्छ । उनले २०४८, ०५१, ०५६ र ०७० मा यही क्षेत्रबाट चुनाव जितेका थिए, त्यसपछि उनी पटक-पटक मन्त्रीसमेत बने । रामजनम रञ्जिताका जेठाजु पर्छन् । यसपटक त्यहाँ जेठाजु-बुहारीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा उनै रञ्जितासँग नेपालभ्युजकर्मी धनबल राईले चुनावसँग सम्बन्धित केही प्रश्न सोधेका छन् ।

कैलाली १ मा जनताको प्रतिक्रिया कस्तो छ ? नागरिक उन्मुक्ति पार्टीबारे उनीहरूको बुझाइ कस्तो छ ?

म एउटा उम्मेदवारको रूपमा ‘फिल्ड’मा खटिरहँदा जनता/मतदाताहरूको साथ र समर्थन राम्रो पाइरहेकी छु । उहाँहरूले धेरै सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ, जुन मेरो शक्ति हो । उहाँहरूले हाम्रो पार्टीको नीति, उद्देश्य र भावी योजना पनि हेर्नुभएको रहेछ र त्यसमा हामीलाई सधैँ साथ दिने भन्नुभएको छ । म यहाँ घुमिरहँदा, घर-घर पुग्दैगर्दा एकदमै सकारात्मक र हौसलाप्रद प्रतिक्रिया पाएको छु ।

नागरिक उन्मुक्ति पार्टीबारे त उहाँहरू राम्रोसँग जानकार हुनुहुन्छ, गत स्थानीय निर्वाचनमा उहाँहरूले नै हो हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई कैलालीकै ठूलो पार्टी बनाएको  । उहाँहरूले रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी आयो, अब केही गर्छ भनेर भनिरहनुभएको छ ।

२०७४ सालमा त्यहाँबाट रेशम चौधरीले फराकिलो मतान्तरले जित्नुभएको थियो, यसपटक तपाईंले त्यही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ, तपाईंले उहाँको साख जोगाउन सक्नुहुन्छ त ?

पक्कै पनि सक्छु । मैले रेशमजीको साख जोगाउन सक्छु भनेरै यहाँ आएकी हुँ । साख जोगाउनै म उठेकी छु यो मैदानमा । हिजोको दिनमा रेशमजीले उम्मेदवारी दिँदै गर्दा पनि म आफैँ जनतामाझ मैदानमा थिएँ । हिजो पनि मेरै आह्वानलाई स्वीकारेर उहाँहरूले रेशमजीलाई जिताउनुभएको हो । यसपटक पनि तिनै मतदाताहरू हुनुहुन्छ । उम्मेदवारको रूपमा म छु । यसर्थ पनि म ढुक्क छु कि मैले जित्नेछु ।

म उहाँहरूकै आग्रहमा पनि उम्मेदवार बनेकी हुँ । एक हिसाबले भन्दा मलाई कैलाली १ ले नै रेशमजीको साख जोगाउन मद्दत गर्नेछ । त्यो क्षमता मलाई यहाँका सबै जनताले दिनुभएपछि मात्रै म उम्मेदवार बनेकी हुँ । यी नै आधारहरूका कारण म भन्न सक्छु कि— यसपटक यहाँका जनताको प्रतिनिधित्व मैले नै गर्ने हो । रेशमजीको साख जोगाएर सबै नागरिकका निम्ति लड्ने हो ।

तपाईंले त्यसो भन्दै गर्दा त्यहाँ सत्ता गठबन्धनको तर्फबाट पटक-पटक मन्त्री भइसकेका; जो साइनोले तपाईंको जेठाजु पनि पर्नुहुन्छ रामजनम चौधरी तपाईंको मुख्य प्रतिस्पर्धी हुनुहुन्छ र क्षेत्रमा उहाँको राम्रो पकड छ भनिन्छ, रोक्न सक्नुहोला त तपाईं ?

उम्मेदवार भइसकेपछि स्वाभाविकरूपमा सबैले आफूलाई अब्बल नै देख्छन् । तर, वास्तविकता के छ भने हाम्रो नयाँ दल भएपनि यहाँ कमजोर छैन । यसको तथ्य भर्खरै सम्पन्न स्थानीय निर्वाचनले पनि देखाएको छ । जनताले माया गरेर हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई जिल्लाकै ठूलो पार्टी बनाइदिनुभएको छ । अहिले पनि उहाँहरू नै मतदाताको रूपमा हुनुहुन्छ । सबैभन्दा पहिलो आधार त यही हो कि मैले निर्वाचन जित्दैछु ।

मतदाताले स्थानीय तहको निर्वाचनमै आफूले कसलाई रोज्ने र कसलाई मतदान गर्ने भन्नेबारे निर्क्यैल गरेका छन् । हाम्रा मतदाता हामीसँगै छन् । प्रतिनिधि सभाको निर्वाचनमा पनि उहाँहरूले हाम्रै पार्टीलाई मतदान गर्नुहुन्छ । यसकारण पनि मैले जित्ने आधार बलियो छ । रामजनमजीलाई मैले व्यक्तिगतरूपमा केही भन्दिनँ । सबै जनताले फैसला गर्नेछन्, उहाँहरूकै हातमा छ निर्णय । मैले अहिले यत्ति मात्रै भन्छु— जनताले मलाई नै चुन्नेछन् ।

तपाईंले यत्ति मतान्तरले जित्छु भनेर केही हिसाब गर्नुभएको छ ?

मैले ठ्याक्कै यत्ति मतले जित्छु भनेर त हिसाब गरेको छैन । तर, म कहाँनेरचाहिँ विश्वस्त छु भने मैले जित्दैगर्दा फराकिलै मतान्तर हुनेछ । म तोकेर संख्यामा भन्दिनँ । तर, जनताको फैसला मेरै पक्षमा हुनेछ । स्थानीय निर्वाचन केही अगाडि मात्रै हामीले पार्टी खोलेर चुनावमा जाँदा जनताले कैलाली जिल्लाकै ठूलो पार्टी बनाउनुभएको छ । जहाँ हामीले झन्डै १८ हजार मत पाएका छौँ । अहिलेलाई यत्ति भन्छु— जित मेरै हुन्छ । म अरुको विरुद्धमा बोल्दिनँ ।

तपाईंको पार्टीको घोषणापत्रमा आरक्षित निर्वाचन क्षेत्रदेखि नमूना देशको अवधारणाहरू छन्, यो भनेको के हो र यसकाे कार्यान्वयन कति सम्भव होला ?

पक्कै पनि नेपालले आफूलाई कसैको सिको नगरीकन नमूना बनाउन सक्छ । हामीले पहिचान, सुशासन र समृद्धि भनेका छौँ । यी विषयहरूलाई नै केन्द्रमा राखेर हामी संसद्‌मा जाने छौँ । घोषणापत्रमा धेरै कुराहरू लेखिएका छन् । ती घोषणाहरूको अक्षरसः पालना भएमात्रै पनि देश आफैँ नमूना बन्नेछन् । हामीले भनेका छौँ कि ठूला देशका उदाहरण दिनुभन्दा हामीसँग जे छन्, ती स्रोत र साधनहरूको सही उपयोग गर्नुपर्छ । यदि यसो भयो भने मात्रै पनि नेपाल आफैँमा नमूना हुनसक्छ ।

अनि हामीले निर्वाचन क्षेत्र पनि आरक्षित हुनुपर्छ भनेरचाहिँ किन भनेको भन्दा संसद्‌मा सबैको प्रतिनिधित्व हुनुपर्छ भनेर हो । यदि आरक्षित निर्वाचन क्षेत्र भयो भनेचाहिँ त्यहाँ सबैको उपस्थिति हुने भयो । यसो हुनेबित्तिकै पनि नमूना भइहाल्छ । यत्ति मात्रै होइन, अन्य थुप्रै अवधारणाहरू छन् हामीसँग । यी अवधारणाहरूको कार्यान्वयन हामी विस्तारै गर्दै जानेछौँ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved