विद्यालय जाने बालबालिका जोखिममा, स्कुल बस नै छैनन् सुरक्षित

नेपालभ्युज

विद्यालय जाने बालबालिका जोखिममा, स्कुल बस नै छैनन् सुरक्षित

काठमाडौं। बुधबार स्कुल बसमा यात्रा गरिरहेका १३ वर्षीय आयुष्मान दाहालको लाजिम्पाटस्थित सडक किनारको रुखमा टाउको ठोक्कियो । बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनी बेस्ट इलिमेन्ट्र मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्ययनरत थिए ।

बसभित्र रहेका विद्यार्थीलाई सुरक्षित साथ राख्नु र कुनै अप्ठ्यारो भयो भने सहजीकरण गर्नु सहयोगी वा बसका सहचालकको दायित्व हो तर यो घटनामा सहयोगीको भूमिका प्रभावकारी देखिएन । जसले गर्दा बालकले अकालमै मृत्युवरण गर्नुपर्‍यो।

केही वर्षअघि ललितपुरको छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको मृत्यु भएको थियो । विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेपछि सोही बसको पछाडिको चक्काले किचेको थियो । केही समयअघि बाराको निजगढ नगरपालिका पानीट्याङ्कीमा स्कुल बसले किच्दा दुई वर्षीय छोरा आयुष राय यादवको निधन भएको थियो ।

आफैँले पढेको स्कुलको बसले किचेर विद्यार्थीको निधन भएको घटनाका यी उदाहरण मात्रै हुन् । बालबालिकाको सुरक्षा संवेदनशीलतालाई ख्यालै नगरी मनपरी रूपमा सवारीसाधन चलाउँदा बसभित्रै एकआपसमा ठोक्किएर विद्यार्थी घाइते भएका घटना प्रशस्तै छन् । सिट क्षमताभन्दा धेरै विद्यार्थी कोचेर राख्नु, सिटमा बसे पनि विद्यार्थी चढेको सवारीसाधन उच्च बेगमा दौडाउँदा झ्यालमा ठोक्किनुलगायतका घटना हिजोआज सामान्य भइसकेका छन् । धेरैजसो ठाउँमा भइरहने हुनाले अभिभावकले यस्ता घटनालाई सामान्य रूपमा लिँदै बाहिर ल्याउन चाहँदैनन् ।

सामान्य ठान्दाठान्दै स्कुल सञ्चालक र बस चालकको लापरबाहीका कारण अबोध बालबालिकाले ज्यान गुमाउनुपरेको घटना बढिरहँदा पनि यसलाई न्यूनीकरण गर्ने विषयमा भने प्रभावकारी पहल भएको पाइँदैन । सीमितबाहेक अधिकांश विद्यालयले यस्ता घटनालाई संवेदनशील रूपमा लिएको समेत पाइँदैन । केही स्कुल सञ्चालकले विद्यार्थीको सुरक्षाका लागि प्रशस्तै सावधानीका उपाय अपनाउने गरेको दाबी गर्छन् तर यस्ता घटना बढिरहँदा उनीहरूको दाबी फितलो साबित भएको छ ।

टाढा टाढाबाट विद्यार्थी ल्याउने स्कुलहरूले आफ्नो सवारीसाधन नहुँदा सार्वजनिक यातायातलाई भाडामा प्रयोग गर्ने गरेका छन् । कतिपय अवस्थामा यस्ता सवारीसाधनमा विद्यार्थीलाई चढाउने र ओराल्ने सहयोगीसमेत हुँदैनन् । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्कुलको आफ्नै सवारीसाधन नहुनु र भए पनि सवारी साधनभित्र पर्याप्त सहयोगी नहुनु विद्यार्थी दुर्घटनामा पर्नुको मुख्य कारण रहेको बताए । स्कुले बसका चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गर्नु पनि दुर्घटनाको अर्को कारण रहेको छ ।

केही समयअघि निजी विद्यालय सञ्चालक र ट्राफिक प्रहरीले स्कुले सवारीसाधनका चालकबारे अनुगमन गर्दा चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको थियो । यसरी चेकजाँच गर्दा एकैदिन उपत्यकामा मात्रै १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले स्कुल सञ्चालकलाई विद्यार्थीको सुरक्षाका लागि सावधानी अपनाउन पटक पटक निर्देशन दिए पनि दुर्घटनालाई निमिट्यान्न पार्न नसकेको बताए । “विगतमा ट्राफिक प्रहरीसँग मिलेर सचेतनासम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेका थियौँ । तैपनि घटना न्यूनीकरण गर्न सकेनौँ,” उनले भने, “पछिल्लो घटनाले विद्यार्थीको सुरक्षामा चिन्ता थपिएको छ । चुनावपछि फेरि मुलुकभर नै विद्यार्थी सुरक्षाका लागि अभियान सञ्चालन गर्छौं ।” -गोरखापत्र दैनिकबाट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved