पर्यटनबाट मात्रै देशको विकास हुने निष्कर्ष निकालेर उम्मेदवारी दिएको हुँ : श्री गुरुङ

हस्पिटालिटी क्षेत्रमा निकै ठूलो लगानी भइरहेको छ। अहिले पनि १९ वटा तारे होटलले स्विकृति लिएका छन् । ५६ अर्बभन्दा बढी लगानी भइरहेको छ । तर, राज्यबाट कुनै किसिमको ढाडस दिइएको पाइँदैन । राज्यले सहजीकरण गरे निजी क्षेत्रले बाहिरबाट लाखौं पर्यटक भित्र्याउन सक्छ ।

नेपालभ्युज

पर्यटनबाट मात्रै देशको विकास हुने निष्कर्ष निकालेर उम्मेदवारी दिएको हुँ : श्री गुरुङ

काठमाडौं। प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङ पनि अहिले चर्चामा छन् । उनले नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् । गुरुङले ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने नारासहित मत मागिरहेका छन् ।

काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ नम्वर वडा रहेको काठमाडौं ५ मा दल र स्वतन्त्र गरी ३० जनाको उम्मेदवारी परेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेल पनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् ।

यसअघि, काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शनाले पनि यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका गुरुङले आफ्नो एजेन्डा फरक र यर्थाथपरक रहेकाले निर्वाचन जित्ने बताउँछन् । गुरुङसँग नेपालभ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश :

चुनावी प्रचार-प्रसार कसरी गरिरहनुभएको छ ?

उम्मेदवारी घोषणापछि हामीले प्रचार-प्रसारलाई तिव्रता दिएका छौँ । डिजिटल रूपमा प्रचार-प्रसार गर्दै अनौपचारिक भेटघाट गरिरहेका थियौँ तर बिहीबारदेखि भने भौतिक रूपमा नै औपचारिक प्रसार-प्रसार सुरु गरेका छौँ ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

काठमाडौं क्षेत्रनम्बर पाँचका मतदाता निकै विवेकशील हुनुहुन्छ । राम्रो–नराम्रो र सही, गलत छुट्याउन सक्ने हुनुहुन्छ ।

मुख्य कुरा त हाम्रो विचारलाई, हाम्रो एजेन्डालाई आत्मसाथ गरिदिनुभएको छ । अपनत्व लिनुभएको छ त्यो नै हाम्रा लागि सबै भन्दा महत्त्वपूर्ण छ ।

मलाई खुसी लागेको कुरा के भने जो सँग हाम्रो भेट भइरहेको छ उहाँहरूसँग देशको नीति नियमको मात्र कुरा भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सडक बाटो को कुरा गर्‍यो भने जनतालाई झुक्काए जस्तो हुनसक्छ । सांसदले नीति बनाएर विकासलाई सहज बनाइदिने हो । यद्यपि, संसद विकास कोषबाट आउने पैसाले आफ्नो क्षेत्रमा सानोतिनो विकासका काम गर्ने त छँदै छ ।

अहिले हाम्रो प्राथमिकता भनेको देश नै हो, देशको नीतिगत सुधार नै हो ।

बाहिरबाट तपाईंको क्षेत्रको प्रतिस्पर्धा हेर्दा निकै रोचक देखिन्छ, ठूला पार्टीका हेवीवेट नेतादेखि अन्य स्वतन्त्र उम्मेदवार पनि चर्चित छन् । कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

यदि, सबै उम्मेदवारलाई सँगै राखेर बहस गर्ने वातावरण बनेको भए म निकै खुसी हुन्थे । किनकि, सम्पूर्ण मतदाताले एकै पटक उम्मेदवारलाई चिन्ने र बुझ्ने मौका पाउँथे । खैर मेरा लागि यो निर्वाचन चुनौतीपूर्ण पनि छ, अर्को तर्फ यो मेरा लागि एउटा अवसर पनि हो ।

लामो समयसम्म सामाजिक क्षेत्रका विभिन्न ठाउँमा बसेर काम गरेको मेरो अनुभवलाई राजनीतिक रूपमा प्रयोग गरेर अझ सशक्त र प्रभावकारी ढंगले काम गर्न सक्छु भन्ने आत्मबल बढेको छ ।

त्यसैले, मैलै सबैलाई उम्मेदवारको रूपमा मात्र बुझेको छु । दलीय पद उहाँहरूको होला तर अहिले हामी सबै समान हौँ ।

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको सफलताले उम्मेदवार बन्न हौस्याएको हो ?

म राजीनीतिक दलमा आबद्ध त थिइनँ, तर राजनीतीलाई भने नियालिरहेको हुन्थेँ । मेरो पेसा पनि पत्रकारिता भएकाले राजनीतिबाट अलग चाँही थिइनँ । तपाईंले भनेजस्तै केही स्वतन्त्रले बाजी मार्दा एक किसीमको कन्फिडेन्ट सबैलाई आउँछ ।

मलाई पनि त्यसले प्रभाव पारेन भन्न मिल्दैन तर त्यसले मात्र प्रभाव पारेर उम्मेदवारी दिएको भने होइन । पछिल्लो समय मैले राजनीतिक दलहरू र अन्य स्वतन्त्र उम्मेदवारको घोषणापत्र र एजेन्डा हेर्दा चित्त बुझेन ।

उनीहरूले अझै पनि राजनीतिक मुद्दा तेर्साइरहेका छन् । यसले कहीँ कस्तो किसिमको निकास दिन्छ । हामीले रोजगारीको समस्या समाधान गर्नुपर्छ, शिक्षाको समस्या समाधान गर्नुपर्छ, आत्मनिर्भरको कुरा खोई ? समृद्धिको कुरा खोई ? अबको हाम्रो उद्देश्य भनेको फरक हुनुपर्थ्यो ।

मैले विभिन्न ठाउँमा काम गर्ने क्रममा नीतिगत त्रुटीका कारण धेरै नै झन्झट ब्यहोर्नुपर्‍यो । नीतिमा सुधारका लागि नै म संसदमा जानुपर्छ भन्ने लाग्यो । मैले यसलाई अवसरको रूपमा सदुपयोग गर्दै छु ।

स्वतन्त्र उम्मेदवार सबैको यस्तै धारणा सुनिन्छ, तर एउटै क्षेत्रमा पनि दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी देखिन्छन् । स्वतन्त्रहरू किन एकजुट हुन सकेनन् ?

मेरो कुरा गर्नुहुन्छ भने एजेन्डासँग मेल खाने कुनै उम्मेदवार भेटिनँ । यदी भेटेको भए मैले उहाँहरूलाई नै समर्थन गर्नेथिए । ल भन्नुहोस् आजसम्म आत्मनिर्भरको कुरा कसले गरेको छ ? मैले यति रोजगारी सिर्जना गर्न सक्छु भन्ने योजना कसले ल्यायो ?

जतिखेर पनि म त्यो गर्दैछु, यो गर्दै छु भन्छन्, तर योजना स्पष्ट खाका कसैले राख्न सकेका छैनन् । त्यसैले कसैसँग एजेन्डा नमिलेपछि मात्र म आफैँ निर्वाचनको मैदानमा होमिएको हुँ ।

अरूका एजेन्डा विश्वास नगर्ने तपाईंलाई चाहिँ किन पत्याइदिनुपर्ने ?

अनुभव नै मेरो सबैभन्दा बलियो पक्ष हो । म दरबारमार्ग विकास बोर्डको योजना प्रमुख भएर सात आठ वर्ष काम गरे । यस्तै, सामाजिक क्षेत्रमा धेरै ठाँउमा काम गरेको छुँ ।

अहिलेका केही उम्मेदवारसँग पनि मैले काम गरेको छु । अर्को कुरा मेरो एजेन्डा र योजना मेरो देश र जनताको हितका लागि छ भन्ने मेरो बुझाइ हो ।

तपाईको एजेन्डा भनेको पर्यटन प्रवर्द्धन भन्नुभएको छ । पर्यटनबाट मात्रै देशको समृद्धि सम्भव छ ?

हामीले धेरै अनुसन्धान गरेका छौँ । संसारभरका समृद्ध मुलुकको अध्ययन गरेका छौँ । उनीहरू समृद्ध हुनुको कारणबारे हामीले गहिरो अध्ययन गरेका छौँ । त्यसपछि नेपाललाई त्यसको आधारमा मूल्यांकन गर्न थाल्यौ ।

सुरुवातमा उत्पादनबारे अध्ययन गर्दा हामीले छिमेकी राष्ट्रसँग प्रतिस्पर्धा नै गर्न सक्दा रहेनछौँ । उनीहरूको उत्पादन क्षमता हाम्रो भन्दा कैयौँ गुणा बढी छ भने अर्को तर्फ सामृद्रिक मार्गका कारण उनीहरूसँग हाम्रो प्रतिस्पर्धा कठिन रहेको निस्कर्ष निकाल्यौँ । त्यसपछि हामीले कृषिमा अनुसन्धान गर्न थाल्यौँ । कृषिले पनि हाम्रो आयात प्रतिस्थापन गर्न नसक्दो रहेछ ।

व्यवसायिक कृषि गर्न हाम्रो भौगोलिक अवस्था नै बाधक रहेछ । यसमा भविश्य नै नभएको त होइन हामी आत्मनिर्भर हुनपनि जरुरी छ तर अहिलेको आयातलाई प्रतिस्थापन गर्न गाह्रो रहेछ ।

त्यसैले, कृषिको बिषयपनि हामीले थाती राखेर उर्जा क्षेत्रको विकासबारे अध्ययन थाल्यौँ यसमा लगानी पनि बढी चाहिने, अर्कोतर्फ प्रतिफलका लागि पनि दशौँ बर्ष पर्खनुपर्ने देखियो । अर्कोतर्फ उत्पादित ऊर्जा कसले किन्ने ? बजार पाउँछ कि पाउँदैन भन्ने धेरै चुनौति देख्यौँ, तर पर्यटनमा हेर्दा विश्वका सफल मुलुकको मुख्य आधार भनेको पर्यटन रहेछ यो विषयले हामीलाई विश्वस्त बनायो ।

प्राकृतिक रूपमा त हाम्रो देश जति धनी सायदै अरु होला । विश्कै अग्ला हिम श्रृंखला छन् । विश्कै प्रमुख धर्म बुद्ध धर्मका जन्मदाता यही जन्मनुभएको हो । हामीले यि दुई विषयलाई मात्र उठाउन सक्यौ भने पनि देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ । यो विषयमा धेरै अनुसन्धान पनि भएको छ ।

कति पर्यटक आउँदा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी कति हुन्छ भन्ने कुरा पनि हामीले बुझेका छौँ । पर्यटन क्षेत्रमा निकै कम लगानी गर्दा पनि प्रतिफल धेरै पाइने हाम्रो निस्कर्ष हो । केही नीतिगत सुधार गर्नेबित्तिकै यो क्षेत्र निकै माथि पुग्ने र देशलाई यही क्षेत्रले समृद्ध बनाउनेछ । हामीले हावादारी कुरा गरेका होइनौँ अध्ययनका आधारमा बोलेका छौँ ।

तपाईंहरूले बोलाउँदैमा पर्यटक आउँछन् जस्तो लाग्छ ?

अहिले हामीले देखेको ठूलो समस्या भनेको हामीले पर्यटकलाई सेफ्टी , सेक्युरेटी र सर्भिस दिन सकेका छैनौँ । राज्य निजी क्षेत्रलाई पनि सेफ्टी, सेक्युरेटी र सर्भिस दिन चुकिरहेको छ ।

त्यसो हुँदा हुँदै पनि हस्पिटालिटी क्षेत्रमा निकै ठूलो लगानी भइरहेको छ । अहिले पनि १९ वटा तारे होटलले स्विकृति लिएका छन् । ५६ अर्बभन्दा बढी लगानी भइरहेको छ ।

तर, राज्यबाट कुनै किसिमको ढाडस दिइएको पाइँदैन । राज्यले सहजीकरण गरे निजी क्षेत्रले बाहिरबाट पर्यटक भित्र्याउन सक्छ ।

यदि, तपाई| निर्वाचित हुनुभयो भने के के गर्नुहुन्छ ?

मेरो प्राथमिकता भनेको पर्यटन क्षेत्रको सुधार नै हो । यो क्षेत्रको सुधारकालागि पर्यटन बोर्डलाई राजनीति मुक्त गर्ने प्रयासमा लाग्नेछु । राजनीतिक नियुक्तिको चंगुलबाट पर्यटन बोर्डलाई बाहिर ल्याउने छु ।

बोर्डमा दक्षता, क्षमता र अनुभवका आधारमा प्रमुख नियुक्त गर्ने मापदण्ड बनाउनुपर्छ । आर्के कुरा पर्यटन क्षेत्रमा लागेका व्यक्तिहरूलाई सहजीकरण गर्ने योजना छ ।

यस्तै, बुद्ध जन्मेको देश भनेर संसदबाटै आवाज उठाएर दस्तावेजीकरण गर्नुपर्नेछ । अहिलेसम्म सरकारी स्तरमा यो दस्तावेजीकरण भएको छैन, त्यसैले बुद्ध जन्मेको देश नेपाल भनेर संसदबाटै विधेयक ल्याउने मेरो उद्देश्य हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved