जलवायु परिवर्तन : मध्यपूर्वमा खाद्यान्न र पानी अभावको जोखिम

नेपालभ्युज

जलवायु परिवर्तन : मध्यपूर्वमा खाद्यान्न र पानी अभावको जोखिम
सांकेतिक तश्वीर

दुबई । जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै उग्र गर्मीको लहरको उच्च जोखिम रहेको ग्रीनपीसले बुधबार सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ ।

इजिप्टमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको केही दिनअघि प्रकाशित ‘लिभिङ अन द एज’ शीर्षकको प्रतिवेदन अल्जेरिया, इजिप्ट, लेबनान, मोरक्को, ट्युनिसिया र संयुक्त अरब इमिरेट्समा केन्द्रित रहेको छ ।

मध्यपूर्व विश्वको औसतभन्दा झण्डै दुई गुणा छिटो तापक्रम वृद्धि भइरहेको छ, जसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका कारण ‘अत्यन्त संवेदनशील’ बनेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यस प्रतिवेदनमा छलफल गरिएका सबै छ वटा देशमा सबै क्षेत्रमा पानीको अभावको उच्च जोखिम हुनेछ, जसले कृषि र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नेछ ।’

खडेरी र पानीको अभावले आगामी दशकहरूमा बाली उत्पादनमा असर पार्न सक्छ, जसले खाद्य आयातमा निर्भरता बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रिपोर्टलाई व्याख्या गर्दै ग्रीनपीस रिसर्च ल्याबोरेटरीज’का विज्ञान परामर्शदाता क्याथरीन मिलरले सन् १९८० को दशकदेखि यो क्षेत्र प्रति दशक ०.४ डिग्री सेल्सियसको दरले तीव्र गतिमा बढिरहेको बताउनुभयो ।
यस शताब्दीको अन्त्यसम्ममा मध्यपूर्व र उत्तरी अफ्रिकाका ८० प्रतिशत घना बस्ती भएका सहरहरूमा कम्तीमा पनि ५० प्रतिशत गर्मीको लहर आउने अनुमान गरिएको छ ।

खाडी क्षेत्रलगायत केही स्थानहरूमा भविष्यमा अत्यधिक गर्मीको समयमा तापक्रम ५६ डिग्री सेल्सियस (१३२ फरेनहाइट) भन्दा बढी हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

इजिप्टमा आइतबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघको कोप–२७ जलवायु सम्मेलनअघि ग्रीनपिसको यो अध्ययन आएको हो ।

जलवायु परिवर्तनसम्बन्धी पछिल्लो सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुनेछन् ।

गत वर्ष कोप–२६ को अन्त्यमा एक लक्ष्य अघि सार्दै विश्वले वर्तमान उत्सर्जन प्रवृत्तिहरूमा गुमाउन लागेको भन्दै विश्वव्यापी तापक्रम वृद्धि पूर्व–औद्योगिक स्तरको तुलनामा १.५ डिग्री सेल्सियसमा राख्ने प्रतिज्ञाको साथ समाप्त भएको थियो ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved