बेइजिङ डायरी

सी चिनफिङ चीनमा माओपछिकै शक्तिशाली नेता कसरी बने ?

कुल ८३२ गरिब काउन्टीहरू र १० करोड गरिब ग्रामीण बासिन्दाहरूलाई गरिबीबाट बाहिर निकालिएको छ। ती मध्ये ९६ लाखभन्दा बढी गरिबहरूलाई दुर्गम क्षेत्रहरूबाट स्थानान्तरण गरिएको छ। चीनमा निरपेक्ष गरिबीको समस्या समाधान भएको छ र विश्वव्यापी गरिबी न्युनीकरणमा चीनले मात्र ७० प्रतिशत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

सी चिनफिङ चीनमा माओपछिकै शक्तिशाली नेता कसरी बने ?

सीपीसीको २०औँ महाधिवेशनबाट सी चिनफिङ तेस्रो कार्यकालका लागि महासचिव चुनिएका छन्। तेस्रोपटक महासचिव चुनिएसँगै सी चिनफिङ अध्यक्ष माओ चतोङपछिकै सबैभन्दा शक्तिशाली नेताका रूपमा उदाएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सन् १९९७ मा सम्पन्न १५औँ महाधिवेशनमा सी चिनफिङ वैकल्पिक केन्द्रीय सदस्यमा सबैभन्दा थोरै मत पाएर अन्तिममा थिए। वैकल्पिक सदस्य भएपछि सन् १९९८ देखि २००२ सम्म सी चिनफिङले बेइजिङस्थित छिङ्ह्वा विश्वविद्यालयबाट मार्क्सवादी दर्शनशास्त्रमा पीएचडी गरे।

राजनीतिक यात्रा

सीपीसीको सन् २००२ मा सम्पन्न १६औँ महाधिवेशबाट सी केन्द्रीय सदस्यमा निर्वाचित भए। केन्द्रीय सदस्य हुनासाथ उनले चच्याङ प्रान्तको पार्टी सचिव भएर काम गर्न मौका पाए। चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तको सचिव भएपछि उनले आफूलाई काबिल व्यक्ति प्रमाणित गराउने मौका पाए। सन् २००६ मा शाङहाईका तत्कालीन पार्टी सचिव छन लियाङयु कारवाहीमा परेपछि सी चिनफिङले शाङहाईको पार्टी सचिव हुने मौका पाए।

किशोर अवस्थामा सी चिनफिङ

शाङहाई केन्द्र शासित नगरपालिका हो। त्यहाँको पार्टी सचिव सामान्यतः पोलेटब्युरो सदस्य हुने गर्दछ। सी त्यतिबेला केन्द्रीय सदस्य मात्र थिए।
सन् २००७ मा सम्पन्न सीपीसीको १७औँ महाधिवेशनबाट फड्को मार्दै सी चिनफिङ एकैचोटि पोलेटब्युरो स्थायी समिति सदस्यमा पुगे। पोलेटब्युरो स्थायी समितिको सदस्य हुन कम्तिमा एक कार्यकाल पोलेटब्युरो सदस्य भइसकेको हुनुपर्ने चलन थियो। त्यति मात्र होइन उनलाई हु चिनथाओको उत्तराधिकारी घोषणा पनि गरियो। सन् २००८ देखि उनी चीनका उपराष्ट्रपति भए।

सन् २००८ को अगस्टमा बेइजिङमा सम्पन्न २९औँ गृष्मकालीन ओलम्पिक खेलकुद आयोजनाको संयोजन कार्य सीले गरेका थिए। ओलम्पिक उद्घाटन समारोहमा सम्बोधन गर्दा विश्वले पहिलोपटक सी चिनफिङको वजनदार मन्तव्य सन्ने मौका पायो। टेलिभिजनमा सी चिनफिङको ओजस्वीपूर्ण व्यक्तित्व संसारले देख्यो। सी उपराष्ट्रपति भएपछि आउने राष्ट्रपति भनेर सहज अनुमान गरिएको थियो। उनी चीनका उपराष्ट्रपति हुँदा अमेरिकामा जो बाइडेन उपराष्ट्रपति थिए।

चिनियाँ पुनर्जागरणको नारा

सन् २०१२ मा सम्पन्न १८औँ महाधिवेशनले सी चिनफिङ महासचिवमा निर्वाचित भए र सन् २०१३ मा चीनका राष्ट्रपति भए। सीको पहिलो पाँचवर्षे कार्यकाल सामान्य रूपमै बितेको मान्नुपर्छ। तैपनि उनले चिनियाँ सपना र बीआरआई नवीन कार्यक्रम ल्याएका थिए। चिनियाँ सपनाको नाराले सबै चिनियाँमा पुनर्जागरण ल्याएको थियो। उनले अभूतपूर्ण रूपमा चिनियाँमा देशभक्तिको भावना पैदा गराए। उनकै कार्यकालमा चीनले पहिलोपटक जापानविरुद्धको युद्ध विजयको ७०औँ स्मृति दिवस मनायो।

सहिदको गाथा र देशभक्ति भावनाले भरिएका टेलिभिजन कार्यक्रम र शृङ्खलाहरू सञ्चालन हुन थाले। सीपीसीको १८औँ केन्द्रीय समितिलाई सी चिनफिङ केन्द्रित भनिँदैन थियो। सन् २०१७ मा सम्पन्न सीपीसीको १९औँ महाधिवेशनले ‘सी विचार’ पारित गर्दै पार्टी विधान र चीनको संविधानमा ‘सी विचार’ प्रवेश गराएपछि सीपीसीको केन्द्रीय समितिलाई ‘सी चिनफिङ केन्द्रित’ भन्न थालिएको हो। यसको मतलव सी चिनफिङ मुख्य नेता हुन् र पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरू सी चिनफिङमा केन्द्रित छन्।

तेस्रो महासचिव निर्वाचित भएपछि सपथ लिँदै सी चिनफिङ

भर्खरै सम्पन्न सीपीसीको २०औँ महाधिवेशनले सी चिनफिङलाई अझै शक्तिशाली बनाएको छ। सीपीसीको केन्द्रीय सदस्यहरू, पोलेटब्युरो सदस्य, स्थायी समितिका सदस्यहरूको चयन हेर्दा सी चिनफिङ चीनमा माओपछिका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित भएका स्पष्ट देखिन्छ।
आखिर सी चिनफिङ किन यस्तो शक्तिशाली भए ? यस आलेखमा यही प्रश्नको विश्लेषणात्मक उत्तर खोजिएको छ।

चीनमा सी चिनफिङ शक्तिशाली हुनुका पछाडि सैद्धान्तिक र व्यावहारिक दुईवटा पाटाहरु रहेका छन्। सैद्धान्तिक पाटो भनेको सीपीसीभित्र शक्तिसम्पन्न हुनका लागि उनले अगाडि सारेको ‘विचार’ले मान्यता पाउनु हो भने व्यावहारिक पाटो भनेको आम जनताले महसुस गर्ने गरी विकास र प्रगति हुनु हो।

त्यस्तो विकास जसमा जनता आफैँ सहभागी होउन् अनि त्यस्तो प्रगित जसले उनीहरुको जीवनस्तरमा कायापलट ल्यावोस्।
पहिले चर्चा गरौँ सद्धान्तिक पाटोमाथि।

समस्याग्रस्त अघिल्लो दशक

सी चिनफिङले सीपीसीको २०औँ महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा भनिएको छ ‘विगत पाँच वर्षमा हाम्रो पार्टीले लामो समयदेखि समाधान हुन नसकेका धेरै समस्याहरूको समाधान गर्न, भविष्यमा महत्त्वपूर्ण महत्व राख्ने धेरै उपलब्धिहरू हासिल गर्न र पार्टी तथा देशको हितमा प्रभावशाली प्रगति हासिल गर्न जनताको सच्चा नेतृत्व गरेको छ।’

सी चिनफिङ सत्तामा आएको दस वर्षमा महत्त्वपूर्ण र गहिरो ऐतिहासिक महत्त्वका तीनवटा ठूला घटनाहरू भएका छन्। सीपीसीको ऐतिहसिक शताब्दी यात्रा पूरा; चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युगको सुरुवात र निरपेक्ष गरिबी उन्मूलन।

सीपीसीको २०‌औँ महाधिवेशनमा पेश गरिएको प्रतिवेदनमा सन् २००२ देखि २०१२ सम्मको दशकलाई समस्याग्रस्त र उपलब्धिबिहिन भन्दै आलोचना गरिएको छ। स्मरण रहोस् उक्त समयमा सीपीसीको महासचिव र चीनका राष्ट्रपति हु चिनथावो थिए।

उक्त दशकमा पार्टीको नेतृत्वलाई कायम राख्ने सन्दर्भमा धेरै मुद्दाहरू रहेका र ती मुद्दाहरूमा स्पष्ट बुझाइ र प्रभावकारी कार्यको अभाव रहेको प्रतिवेदनमा किटान गरिएको छ। व्यवहारमा कमजोर, खोक्रो र तरल पार्टी नेतृत्वको सुष्त कार्यले दिक्क बनाएको, कतिपय पार्टी सदस्य र पदाधिकारीहरू आफ्नो राजनीतिक विश्वासमा डगमगाएका, बारम्बार चेतावनी दिँदा पनि कतिपय स्थानीय तह र विभागमा निरर्थक औपचारिकता, नोकरशाहीपन, मोजमस्ती जस्ता कुकार्यले सबैलाई ग्रस्त बनाएको, विशेषाधिकार खोज्ने मानसिकता र अभ्यासहरूले एक गम्भीर समस्या खडा गरेको र भ्रष्टाचारका केही गहिरो चकित पार्ने घटनाहरू पर्दाफाश भएका प्रतिवेदनले औँल्याएको छ।

चीनको अर्थतन्त्र गम्भीर संरचनात्मक र संस्थागत समस्याहरूले घेरिएको, दीर्घकालदेखि रहेका विकास असन्तुलित र असंगत तथा परम्परागत विकास मोडलले चीनलाई अगाडि बढाउन नसकेको सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाहरूमा केही गहिरा समस्याहरू र निहित स्वार्थहरूले निर्माण गरेका अवरोधहरू झन्-झन् बढ्दै गएर काममा व्यवधान गरेको पनि भनिएको छ। सीपीसीका महाधिवेशनमा पेश गरिने प्रतिवेदनमा पूर्ववर्ती नेतृत्वको यति तिखो र यति कडा नकारात्मक टिप्पणी यस अगाडि कहिल्यै गरिएको थिएन।

कतिपय नेताहरूलाई सैद्धान्तिक रुपमै बिचलन आएको संकेत पनि गरिएको छ। प्रतिवेदनमा उल्लेख छ- केही मानिसहरूलाई चिनियाँ विशेषताहरू भएको समाजवादी राजनीतिक प्रणालीमा विश्वासको कमी थियो। प्रायः कानुनलाई बेवास्ता गरिएको वा कडाइका साथ लागू नगरिएको अवस्था देखियो। पैसाको उपासना, मोजमस्तीमा रमाउने प्रवृत्ति, अहंकेन्द्रित र ऐतिहासिक शून्यवाद जस्ता सोचका भ्रामक ढाँचाहरू सामान्य बन्दै थिए। यसले जनताको सोच र जनमतको वातावरणमा गहिरो प्रभाव परेको थियो।

सन् २००२ देखि २०१२ को दशक चिनियाँहरुले बर्बाद भएको समय बताउने गर्छन्। उक्त अवधिको पछिल्लो पाँच वर्ष सी चिनफिङ उपराष्ट्रपति थिए। सीले उपराष्ट्रपति हुँदा समस्याहरु राम्ररी पहिचान गरिसकेकाले आफू सत्तामा आउनासाथ ती समस्यामाथि केन्द्रित भएर ‘एक्सन’मा उत्रिका हुन्।

सन् २०१२ अगाडि सीपीसीका कुनै पनि प्रतिवेदनमा भ्रष्टाचारको कुरा उल्लेख हुँदैन थियो। सी सत्तामा आउनासाथ पहिलो निसाना उनले भ्रष्टाचारमा शून्य सहनशील नीति अवलम्बन गरे।

जनताका बीचमा सी चिनफिङ र उनकी श्रीमती

तीव्ररूपमा भ्रष्टाचार नियन्त्रण गर्दा सीपीसीकै माथिल्लो तहका नेताहरू कारबाहीमा परे। जनमुक्ति सेनाका जर्नेलहरू पनि फसे। एकातिर भ्रष्टाचार नियन्त्रण अर्कातिर गरिबी निवारण दुवै कामले सी चिनफिङलाई चीनमा सर्वाधिक लोकप्रिय बनायो।

सी सत्तामा आउनुभन्दा अगाडिको दशकमा विकास गर्दा वातावरण नराम्ररी प्रदूषित भएको हुनाले उक्त समयको नेतृत्व सदैव आलोचनामा रहिरहेको छ। सीले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त समयमा राष्ट्रिय सुरक्षा समेत धरापमा परेको औँल्याइएको छ।

प्रतिवेदनमा भनिएको छ: राष्ट्रिय सुरक्षाको रक्षा गर्ने प्रणालीहरू अपर्याप्त थिए र विभिन्न ठूला जोखिमहरूको सामना गर्ने हाम्रो क्षमता अपर्याप्त थियो। धेरै कमजोरीहरूले राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई असर गरिरहेको थियो। हङकङ र मकाउमा एक देश, दुई प्रणालीको नीति लागु गर्ने संस्था र संयन्त्रहरू राम्रोसँग विकसित हुन सकेनन् र चीनले आफ्नो राष्ट्रिय सुरक्षामा गम्भीर चुनौतीहरूको सामना गर्‍यो।

पार्टीको दीर्घकालीन शासन, देशको सुरक्षा र स्थायित्व तथा जनताको हितलाई कमजोर पार्ने उल्लिखित गम्भीर समस्या र चुनौतीहरूको सामना गर्दै सीले केही कदम अगाडि सारे।

सी विचारको उदय

औँल्याइएका समस्याको समाधान गर्नका लागि सीले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचार’ अगाडि सारे। चीनले अङ्गिकार गरेको यो विचारले चीनभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि तहल्का पिट्यो। चिनियाँ विशेषतासहितको समाजवादलाई कायम राख्ने र विकास गर्ने आधारभूत नीति तय गरेपछि राष्ट्रिय शासनमा नयाँ विचार, नयाँ सोच र नयाँ रणनीतिको शृङ्खला अघि बढ्न थाल्यो।

मार्क्सवादलाई चिनियाँ सन्दर्भमा छाँटकाँट गर्दै नयाँ सफलता हासिल गरेको भनेर अन्तर्राष्ट्रिय जगतबाट चीनले प्रशंसा पाउन थाल्यो।
सीले अगाडि सारेको विचारले सीपीसीको नेतृत्व वर्गमा व्यापक प्रभाव पार्न थाल्यो। उनको सैद्धान्तिक अडान र चिनियाँ चरित्रको समाजवादमा नयाँ प्रारुपले सीपीसीभित्र उनको शक्ति चुलिन थालेको हो।

सीपीसीले विगत पाँच वर्षमा पार्टीको समग्र नेतृत्व र केन्द्रीय समितिको केन्द्रीकृत, एकीकृत नेतृत्वलाई सुदृढ गर्ने काम गर्‍यो। मध्यमस्तरको समृद्ध समाज निर्माण गर्न ठूलो ऊर्जा खर्च गर्दै नयाँ विकास दर्शनलाई सबै मोर्चामा पूर्ण र इमान्दारीपूर्वक लागु गर्ने काम चीनले गर्‍यो। उच्च गुणस्तरीय विकास प्रवर्द्धनमा केन्द्रित भएर विकासको नयाँ ढाँचा सिर्जना गर्ने काम भयो।

सडकबाट झ्यालमा रहेका नागरिकसँग संवाद गर्दै सी चिनफिङ

चीनले राष्ट्रिय सुरक्षाको रक्षा गर्ने, ठूला जोखिमहरूलाई रोक्ने र निरुत्साहित गर्ने तथा सामाजिक स्थिरता सुनिश्चित गर्ने दृढ संकल्पका साथ काम गरेको भन्दै अन्तर्राष्ट्रिय समाजबाट प्रशंसा पायो। चीनले राष्ट्रिय रक्षा र सशस्त्र बललाई आधुनिकीकरण गर्नका लागि नयाँ ढाँचा अगाडि सार्‍यो।

सीपीसीको नेतृत्व नै चिनियाँ विशेषतासहितको समाजवादको परिभाषित विशेषता र चिनियाँ विशेषतासहितको समाजवादको प्रणालीको सबैभन्दा ठूलो शक्ति हो। पार्टी राजनीतिक नेतृत्वको सर्वोच्च शक्ति हो र त्यसलाई समर्थन गर्ने कुरा सीपीसीले स्पष्ट गरेको छ।

पार्टी केन्द्रीय समितिलाई केन्द्रीकृत गर्दै एकीकृत नेतृत्वलाई सर्वोच्च राजनीतिक सिद्धान्त मानिएको छ। पार्टीको नेतृत्व प्रणालीमा व्यवस्थित सुधार गर्दै राजनीतिक इमान्दारी कायम राख्ने, ठूलाठूला कुरामा सोच्ने, नेतृत्वको मूल कुरालाई पछ्याउने र केन्द्रीय पार्टी नेतृत्वसँग पङ्क्तिबद्ध रहनुपर्ने आवश्यकताप्रति पार्टीका सबै सदस्यहरू सचेत भएका छन्।

पार्टी केन्द्रीय समितिलाई चिन्तन, राजनीतिक अडान र कार्यमा नजिकबाट पछ्याउन उनीहरू थप उद्देश्यपूर्ण बनेका छन् र राजनीतिक निर्णय, सोच र कार्यान्वयनका लागि आफ्नो क्षमतामा सुधार गर्दै आएका छन्। यी सबैले पार्टी केन्द्रीय समितिको अख्तियार र यसको केन्द्रीकृत, एकीकृत नेतृत्वलाई सुनिश्चित गरेको छ। फलस्वरूप सीले सीपीसीभित्र समग्र नेतृत्व अभ्यास गर्ने र सबै पक्षको प्रयासलाई समन्वय गर्ने आफ्नो मुख्य भूमिका निर्वाह गर्ने सुनिश्चित गरेका छन्।

पार्टीभित्र पूर्ण र कठोर अनुशासनको अभ्यास लागू गरिएको छ। राम्रो स्टिल बनाउन राम्रो फलाम चाहिन्छ भनेझैँ पार्टीको केन्द्रीय नेतृत्वको आचरण सुधार गर्ने आठ बुँदे निर्णयलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ। पार्टीको आचरण सुधार गर्न र पार्टी अनुशासन लागु गर्न निरन्तर निगरानी प्रणाली बनाइएको छ।

निरर्थक औपचारिकता, नोकरशाही, उपभोगवादी र अतिवादलाई सच्याउने काम गर्दै विशेषाधिकार खोज्ने मानसिकता र अभ्यासहरूको विरोध र जनताको घरदैलोमा हुने दुर्व्यवहार र भ्रष्टाचारलाई सम्बोधन गर्न कडा कदम चालेको छ। लामो समयदेखि जाँच नगरिएका अस्वस्थ प्रवृत्तिहरूलाई उल्टाइएको छ।

भ्रष्टाचारलाई लिएर सी चिनफिङले २०औँ महाधिवेशनमा पेश गरेको प्रतिवेदनमा भनिएको छ ‘हामीले इतिहासमा अभूतपूर्व मात्रामा भ्रष्टाचारविरुद्धको लडाइँ लडेका छौँ। लक्ष्यको बलियो भावनाद्वारा सञ्चालित, हामीले “१ अर्ब ४० करोड असफल हुनुको सट्टा केही हजारलाई अपमान” गर्ने र हाम्रो पार्टीलाई यसका सबै खराबीहरू हटाउने संकल्प गरेका छौँ। अधिकारीहरूसँग भ्रष्ट हुने साहस, अवसर वा चाहना छैन।’

पार्टीभित्रको सुधार, सबल र सफल नेतृत्व, नयाँ सोच र विचार, उच्च तहमा भ्रष्टाचार नियन्त्रण, चुस्त सुरक्षा निकाय, अन्तर्राष्ट्रिय परिस्थितिसँग कडा मुकाबिला आदि कुरा सी चिनफिङलाई शक्तिशाली बनाउने सैद्धान्तिक आधार हुन्।

सी चिन फिङ

जनता केन्द्रित काम

अब विश्लेषण गरौँ सी चिनफिङलाई शक्तिशाली बनाउने केही व्यावहारिक तत्वको। सी चिनफिङले चीनलाई विकासको उच्च ऐतिहासिक सुरुवात बिन्दुमा पुर्‍याएका छन्। लक्षित गरिबी उन्मूलन गर्दै मानव इतिहासमा गरिबीविरुद्धको सबैभन्दा ठूलो लडाइँ चीनले जितेको छ।

कुल ८३२ गरिब काउन्टीहरू र १० करोड गरिब ग्रामीण बासिन्दाहरूलाई गरिबीबाट बाहिर निकालिएको छ। ती मध्ये ९६ लाखभन्दा बढी गरिबहरूलाई दुर्गम क्षेत्रहरूबाट स्थानान्तरण गरिएको छ। चीनमा निरपेक्ष गरिबीको समस्या समाधान भएको छ र विश्वव्यापी गरिबी न्युनीकरणमा चीनले मात्र ७० प्रतिशत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्दै विकासको नयाँ ढाँचालाई चीनले अगाडि बढाएको छ। चीनले आपूर्ति पक्ष संरचनात्मक सुधार गर्दै क्षेत्रीय रणनीतिहरूको शृङ्खला बनाएर चीनले आर्थिक शक्तिमा ऐतिहासिक वृद्धि प्राप्त गरेको छ। गत एक दशकमा चीनको जीडीपी ५४ ट्रिलियन युआनबाट बढेर ११४ ट्रिलियन युआन पुगेको छ र यसले विश्व अर्थतन्त्रको १८.५ प्रतिशत हिस्सा ओगटेको छ।

एक दशक अगाडिभन्दा ७.२ प्रतिशत अंकले यो बढेको छ। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ र यसको प्रतिव्यक्ति जीडीपी ३९ हजार ८०० युआनबाट बढेर ८१ हजार युआन पुगेको छ।

खाद्यान्न उत्पादनको सन्दर्भमा विश्वमा चीन पहिलो स्थानमा छ। एक अर्ब चार करोडभन्दा बढी मानिसहरूका लागि खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गरेको छ। स्थायी सहरी बासिन्दाको संख्या ११.६ प्रतिशत अंकले बढेर जनसंख्याको ६४.७ प्रतिशत पुगेको छ। चीनको उत्पादन क्षेत्र विश्वमा सबैभन्दा ठूलो छ। विदेशी मुद्रा भण्डार सबैभन्दा विशाल छ। चीनले उच्च गतिको रेलमार्ग र द्रुतमार्गको विश्वको सबैभन्दा ठूलो सञ्जाल निर्माण गरेको छ। विमानस्थल, बन्दरगाह, जल संरक्षण, ऊर्जा, सूचना र अन्य पूर्वाधार निर्माणमा चीन विश्वकै अग्रस्थानमा आउँछ।

चीनले जनता केन्द्रित विकासको सिद्धान्त लागु गरेको छ। बाल हेरचाह, शिक्षा, रोजगारी, चिकित्सा सेवा, वृद्ध हेरचाह, आवास र सामाजिक सहायतामा नागरिकको पहुँच सुनिश्चित गर्न निरन्तर काम गरेको छ। चिनियाँ नागरिकको जीवनमा चौतर्फी सुधार आएको देखिन्छ। चिनियाँको सरदर आयु ७८.२ वर्ष पुगेको छ। चिनियाँको प्रतिव्यक्ति डिस्पोजेबल वार्षिक आय १६ हजार ५ सय युआनबाट बढेर ३५ हजार १ सय युआन पुगेको छ।

जनताको अभिवादन स्वीकार गर्दै सी चिनफिङ

विगत १० वर्षमा प्रत्येक वर्ष औसतमा एक करोड ३० लाखभन्दा बढी सहरी रोजगारीहरू सिर्जना भएका छन्। चीनले संसारकै सबैभन्दा ठूलो शिक्षा, सामाजिक सुरक्षा र स्वास्थ्य सेवा प्रणाली निर्माण गरेको छ। १ अर्ब ४ करोड मानिसलाई आधारभूत जेष्ठ बीमामा समेटेको छ। ९५ प्रतिशत जनसंख्याको आधारभूत चिकित्सा बीमा सुनिश्चित गरेको छ।

सहरी क्षेत्रमा ४ करोड २० लाखभन्दा बढी आवास एकाइहरू र २ करोड ४० लाखभन्दा बढी जीर्ण ग्रामीण घरहरू गत एक दशकमा पुनर्निर्माण गरिएका छन्। चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ अर्ब ३ करोड पुगेको छ।

इन्टरनेटमार्फत ई-वाणिज्य हुने र प्रत्यक्षरूपमा किसानको आम्दानी वृद्धि हुने कुराले चीनमा गरिबी निवारणमा इन्टरनेटले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। विश्वलाई नै आश्चर्य बनाउने यस्ता तथ्यहरू विगतमा चीनले प्राप्त गरेको थिएन। एक दशक अगाडिको चीन र अहिलेको चीनमा आकाश जमिनको फरक छ।

सैद्धान्तिक पक्षले सीपीसी र चिनियाँ प्रणालीमा सी चिनफिङको पडकलाई दरिलो बनाएको छ। एकल नेतृत्व स्थापित गराएको छ र निर्विकल्प नेताका रूपमा उभ्याएको छ। व्यावहारिक पक्षले सी चिनफिङको नेतृत्वलाई जनताबाट अनुमोदन गराएको छ। तब सी चिनफिङ सर्वशक्तिशाली रूपमा स्थापित भएका छन्।


Comment

2 thoughts on “सी चिनफिङ चीनमा माओपछिकै शक्तिशाली नेता कसरी बने ?

  1. सी को पकड वारेको विवरण आंखो देखि हाल जस्तै प्रस्तुति भएको छ। वधाई !!

  2. सिको पार्टी र सत्ता राजनीतिमा स्थापित नेतृत्वबारे निकै राम्रो जानकारी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved