धनुषा ४ मा त्रिपक्षीय प्रतिस्पर्धा- स्थानीय चुनावका आधारमा सत्ता गठबन्धन बलियो

एमाले र जसपा बीच गठबन्धन भए पनि दुवै दलको आ–आफ्नै उम्मेदवार छन्। यता सत्ता गठबन्धनको एकल उम्मेदवार भए पनि तीनै बलिया देखिन्छन्।

धनुषा ४ मा त्रिपक्षीय प्रतिस्पर्धा- स्थानीय चुनावका आधारमा सत्ता गठबन्धन बलियो

जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवारहरू पुन  चुनावी मैदानमा लडेका छन्।
धेरै उम्मेदवार भए पनि सत्ता गठबन्धन नेपाली कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादव बीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ।

हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा काँग्रेस, एमाले र जसपाका उम्मेदवार बीच नै हुने देखिएको छ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ मा २०७४ को निर्वाचनमा जित हाँसिल गरेका एमालेका सचिव रघुवीर महासेठलाई यस पटक जित्न सजिलो देखिँदैन।
एमाले र जसपा बीच गठबन्धन भए पनि दुवै दलको आ– आफ्नै उम्मेदवारहरू छन्। यता सत्ता गठबन्धनको एकल उम्मेदवार भएकोले बलियो देखिन्छ।

२०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो। तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेशी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत पाएका थिए।
महासेठ र महाजन दुवैले अघिल्लो चुनावका सहयात्री गुमाएका छन्। त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुवै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ।

त्यसैगरी एमाले र जसपा बीच चुनावी गठबन्धन भए पनि दुबैको आ–आफ्नै उम्मेदवार भएपछि सत्ता गठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ। जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ।

जबकि एमाले र जसपाका सहमति अनुसार धनुषा–४ को प्रतिनिधिसभासँगै प्रदेश सभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ। एमाले सचिव महासेठ भन्छन्, ‘‘पहिले सहमति भयो, तर जसपामा विद्रोहको कुरा उठ्यो। जसपाका साथीहरूले हाम्रो पार्टीमा विद्रोह हुने भयो भनेपछि हामीले ठीकै छ। दुईमा मित्रवत् प्रतिस्पर्धा हुँदैछ भने अर्कोमा पनि होस् भन्यौँ।’’

जसपा, धनुषाका अध्यक्ष पशुपति यादवले दुवैले छाड्न नसक्ने भएपछि तालमेल हुन नसकेको बताउँछन्। उनले भने, ‘‘एमालेले रघुवीरजीलाई छाड्न नसक्ने, हामीले महादेवजीलाई छाड्न नसक्ने भयो। त्यसैले मित्रवत् प्रतिस्पर्धा गर्ने भयौँ।’’ अर्कोतर्फ नेकपा एसका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा ‘ख’ बाट टिकेट दिने एमालेमा प्रवेश गराएका थिए। तर उनलाई टिकट नदिएपछि उनको समर्थकहरू बिच्किएका छन्।

तर सत्ता गठबन्धन प्यानल सहित एकातिर छ। सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुधन महतो उम्मेदवार छन्। वन उद्योग पर्यटन प्रदेशमन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुन्।

त्यसैगरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रवल छ। जसपाले टिकट नदिएपछि विद्रोह गरेर काँग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायाण यादवको कारण जसपालाई ठूलो क्षति हुने र काँग्रेसलाई फाइदा पुग्ने विश्लेषण भइरहेको छ भने काँग्रेसलाई पनि यो क्षेत्रमा सन्तोष यादव एमालेमा प्रवेश गर्दा क्षति पुगेको छ। तर उनी निस्किँदा शेषनारायणको प्रवेशले त्यसको क्षतिपूर्ति गरेको काँग्रेसको बुझाइ छ।
उता एकीकृत समाजवादीका सोमप्रसाद शर्माको प्रवेश र सन्तोष यादवको प्रवेशले एमाले फाइदा पुगेको भए पनि शर्मालाई अन्तिम समयमा टिकट नदिएर हरिनारायण महतोलाई टिकट दिँदा शर्माको समर्थकहरू रुष्ट भएका छन्।

तथापि चुनावमा विगत झैँ त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन भए पनि रघुवीर र महाजनका लागि भने महेन्द्र ठूलो चुनौती देखिन्छन्।
यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणामले हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ।
धनुषा क्षेत्र नं. ४ अन्तर्गत पर्ने पाँच वटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ। उसले क्षिरेश्वरनाथ नगरपालिकाको बहुसङ्ख्यक वडा पनि जितेको छ। एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ। यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन। जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९,१३,१४,१९, २१ र २२ गरी पाँच वटा भने यसै क्षेत्रमा पर्दछ।

यो क्षेत्रमा पर्ने ४२ वटामा पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा अलि कम बढी काँग्रेस र एमालेको शक्ति उस्ता उस्तै देखिन्छ। यद्यपि काँग्रेस पहिलो दलको रुपमा छ। थोरै मात्र मतले एमाले दोस्रोमा छ। काँग्रेसले २६ हजार १५९ र एमालेले २४ हजार ३९४ मत पाएको छ। तेस्रोमा जसपाले ८ हजार ३८८, चौथोमा एकीकृत समाजवादीले ८ हजार १६४ र क्रमशः माओवादी केन्द्रले ४ हजार ४८५, लोसपाले २ हजार २८४ र जनमत पार्टीले १९५० मत पाएको चुनावी तथ्याङ्क छ।

गत स्थानीय चुनावी मतको आधारमा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र अन्य भन्दा शक्तिशाली देखिन्छन्। काँग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार ९९२ मत सत्ता गठबन्धनसँग रहेको हिसाब छ। एमाले र जसपाको अलग अलग प्रतिस्पर्धाले चुनाव जित्न महेन्द्रलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ।
सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार महेन्द्र यादवले स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउँछन्। ‘काँग्रेसले पाँच पालिका मध्ये साढे ४ वटा जितेको छ। एकलै ४२ मध्ये २४ वडामा हाम्रो वडाध्यक्ष छ। गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ। यो नै मेरो जितको बलियो आधार हो’ उनले भने।

महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूति र विगतमा यस क्षेत्रबाट जितेका महासेठको व्यवहारले जनता असन्तुष्ट नभएको बताए। उनले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरू गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गरे। ‘‘जनता नजिकबाट मलाई चिन्छन् बुझ्छन्। म सानैदेखि दुख गरेर नेता भएको हुँ। जनसम्पर्क राम्रो छ। मेरो प्रतिस्पर्धी रघुवीर सामन्ती स्वभावका हुन्। राजनीतिलाई धन्धा बनाएका छन्। श्रीमान् श्रीमती दुवै मन्त्री हुँदा राम्रो काम गर्न सकेनन्। जनतामा राम्रो छाप छैन। पञ्चायतकलमा हेमबहादुर मल्ल र शारदा मल्ला जस्तै श्रीमान् श्रीमति नै पैसाको बलमा नेता बनेका छन्। नागरिकता मधेशको ठूलो समस्या छ। तर उनी विरुद्धमा छन्’’ पूर्व मन्त्री समेत रहेका उम्मेदवार महेन्द्रले भने ‘‘जनताले रघुवीरको विकल्प चाहन्छन्। यस कारण जनताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु।’’

कांग्रेस उम्मेदवार महेन्द्रले जसपाका उम्मेदवार महाजन यादवलाई उम्मेदवार समेत मान्न तयार छैनन्। यादव समुदायको भोट काट्नको लागि एमाले उम्मेदवार महासेठले महाजनलाई डमी उम्मेदवारका रुपमा खडा गरेको उनको दाबी छ। तर यस क्षेत्रमा बलियो प्रभाव भएका जसपाका नेता शेषनारायण यादवलाई कांग्रेस प्रवेश गराएर प्रदेश सभा (क) को उम्मेदवार बनाएका महेन्द्र भन्छन्, ‘‘महादेव डमी उम्मेदवार हो भनेर जनताले थाहा पाइसके, उनीहरूले मेरो भोट रोक्न सक्दैनन्।’’

तर रघुवीर महासेठले आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्रे, खोलाहरूमा पुल लगायतको विकास निर्माण गरेको हुँदा जनताले फेरी पनि आफूलाई जिताउने दाबी गर्छन्। ‘‘पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो। तर म निर्वाचित भएपछि छोटो समय मै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे। एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन। त्यसैले म प्रति जनताको ठूलो विश्वास छ। यो नै मेरो जित्ने बलियो आधार छ’’ उनले भने।

स्थानीय तहमा पनि काँग्रेस भन्दा थोरै मत मात्र एमालेको कम आएको र सत्ता गठबन्धनका काँग्रेस तथा एकीकृत समाजवादीबाट ठूलो सङ्ख्यामा प्रभावशाली नेताको विद्रोह भएकोले आफू जित्ने दोस्रो आधार रहेको रघुवीरको दाबी छ।

यता, जसपाका उम्मेदवार महाजन यादवले स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने को दाबी गर्छन्। उनले विगतमा रघुवीर र महेन्द्र सांसद मन्त्री हुँदा समेत जनभावना अनुसार काम र विकास गर्न नसकेकाले यसपटक आफूलाई जनताले रोज्ने बताए। ‘‘रघुवीर र महेन्द्रलाई जनताले नजिकबाट चिनिसकेका छन्। पटक पटक सांसद मन्त्री हुँदा समेत जनअपेक्षा अनुसार काम गर्न सकेनन्। उनीहरूप्रति जनतामा वितृष्णा छ’ ’ महाजनले भने ‘‘म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ। ममाथि जनताको ठूलो विश्वास र भरोसा छ। विगतमा झिनो मतले मात्र पराजित भए। यसपटक जनताले ठूलो मतान्तरले जिताउँछन। म आशावादी छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved