मल्लिकार्जुन खड्गे : गान्धी परिवारको कठपुतली कि कांग्रेसको साँचो अध्यक्ष ?

मल्लिकार्जुन खड्गे : गान्धी परिवारको कठपुतली कि कांग्रेसको साँचो अध्यक्ष ?

भारतीय राष्ट्रिय कांग्रेस जो देशको सबैभन्दा पुरानो राजनीति दल हो, यो दल यसबेला आफ्नो इतिहासकै जुन चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो, उसलाई जस्तो अध्यक्ष चाहिएको थियो, त्यस्तै पाएको छ।

कांग्रेसलाई न शशि थरुर जस्तो अंग्रेजीकृत अध्यक्षको आवश्यकता थियो न अशोक गहलोतजस्तो अटेरी वा दिग्बिजय सिंहजस्तो सस्तो बयानबाजी गर्दै हिँड्ने अध्यक्ष । कांग्रेसलाई मल्लिकार्जुन खड्गेजस्तै अध्यक्षको जरुरी थियो र पायो पनि त्यस्तै ।

कांग्रेसको आवश्यकता थियो एक बेदाग छवि भएको अध्यक्ष । कांग्रेसको आवश्यकता थियो पार्टीभित्रका अन्तर्विंन्दुहरू बुझ्ने अध्यक्ष । कांग्रेसको आवश्यकता थियो गान्धी परिवारले पूर्णतः भरोसा गर्न सक्ने अध्यक्ष । यी सबै मापदण्डमा खड्गे खरो उत्रिए।
कांग्रेसको १३७ वर्षको इतिहासमा खड्गे ६५औं र दोस्रो दलित समुदायबाट बनेका अध्यक्ष हुन् । यसअघि जगजीवन राम दलित समुदायबाट कांग्रेस अध्यक्ष हुने पहिलो नेता थिए ।

खड्गेले जब पार्टी अध्यक्ष पदका लागि नामांकन दाखिला गरेका थिए, पार्टी बाहिर मात्रै हैन, भित्र पनि उनलाई मजाकको विषय बनाइएको थियो । ७५ वर्षीया सोनिया गान्धीका उत्तराधिकार ८३ वर्षका खड्गे भनिएको थियो । उनको स्वास्थ्य स्थिति र हिन्दी बोल्ने क्षमताबारे प्रश्न उठेका थिए ।

कतिपयले उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्दै गतिशील छैनन्, पार्टीका लागि पर्याप्त मेहनत गर्न सक्दैनन्, गान्धी परिवारको रिमोटबाट सञ्चालित हुने बाहेक केही गर्न सक्दैनन् भनेका थिए । वास्तवमा खड्गेको क्षमतामा प्रश्न उठाउँनेहरु उनको समग्र राजनीतिक पृष्ठभूमिबारे अनविज्ञ हुन सक्दछन । अथवा उनको जातीय तथा क्षेत्रीय पृष्ठभूमि र उमेर सम्बन्धी पूर्वाग्रहबाट हेरिरहेका पनि हुन सक्दछन्।
तर, यी तथ्यहरूलाई संझिन जरुरी छ कि उनी त्यो बेला लोकसभा कांग्रेस संसदीय दलको नेता भएका थिए जब पार्टी नराम्रो पराजयपछि ४४ सीटमा सीमित थियो । यी ४४ मध्ये पनि अधिकांश सांसदलाई ससंदको कारबाहीमा रुचि थिएन । यस्तो बेला ३०० सांसद सहितको प्रचण्ड बहुमतवाला भाजपासँग उनी संसदमा जसरी भिडिरहेका हुन्थे, त्यो उनको क्षमताको परिचय थियो ।

लोकसभाका बहसमा विचारको जुन प्रष्टता खड्गेमा देखिन्थ्यो, त्यो अतुलनीय थियो । चाहे संसदीय कार्वाहीमा होस वा सार्वजनिक लेखा समितिको अध्यक्षको नाताले खड्गेले आफ्नो जबरजस्त छाप छोडेका थिए। जहाँनेर आवश्यक देखियो, त्यहाँनेर उनले सबै विपक्षी दलहरूसँग तालमेल बनाएका थिए । नीतिगत तथा वैचारिक स्तरमा उनले भाजपा र उनको सरकारलाई बारम्बार कठघरामा उभ्याइ दिएका थिए ।

सबैलाई थाहा छ कि यतिखेर कांग्रेसको वास्तविक नेता राहुल गान्धी हुन् । कांग्रेसका लागि यस्ता धेरै काम अहिले राहुलले गराउँनु छ, भबिष्यमा आफै गर्नु छ । कांग्रेसलाई अहिले एउटा यस्तो नेता आवश्यक थियो जसले पार्टीको शीर्ष नेतृत्वको आँखा र कानको काम गर्न सकोस । कांग्रेसलाई यतिखेर प्यारप्यार बोलिरहने मुख मात्र भएको अध्यक्ष चाहिएको थिएन ।

तसर्थ कांग्रेसको अध्यक्ष पदका लागि शशि थरुर वा दिग्बिजय सिंहभन्दा खड्गे नै उपयुक्त हुन । खड्गे कम्तीमा नियमित पार्टी कार्यालय जानेछन । पार्टी नेता, कार्यकर्ताका कुरा, सुझाब र गुनासा सुन्ने र त्यस उपर उचित कारबाहीको आश्वासन दिन सक्नेछन। पार्टी पंक्ति र कार्यकार्ताका कुरा गान्धी परिवारसम्म पुर्‍याउने ताकत राख्नेछन । सबै राज्यका नेता कार्यकर्ताका लागि सहज उपलब्ध हुनेछन्। कांग्रेसका लागि यति नै पनि अहिले धेरै ठूलो कुरा हो । खड्गेले यी काम राम्ररी गर्न सक्नेछन् ।

अहिले कांग्रेसको अवस्था कस्तो छ भने पार्टी अध्यक्षको त कुरै छोडौं, महासचिवहरू पनि कार्यकर्ताको नियमित सम्पर्कमा हुँदैनन्् । कांग्रेसको कार्यशैलीमा बद्लाब एक ठूलो आवश्यकता थियो ।

खड्गेको कारणले दक्षिण भारतमा, विशेषतः कर्नाटकको राजनीतिमा कांग्रेसलाई राजनीतिक लाभ हुनेछ । देशभरिको दलित समुदायमा एक सकारात्मक सन्देश जाने छ । यी फाइदा आफ्नो ठाउँमा महत्वपूर्ण छँदै छन् । यसमा कुनै दुई मत छैन कि खड्गे अध्यक्ष भए पनि कांग्रेसमा गान्धी परिवारकै दबदबा रहनेछ । तर, यसमा के आश्चर्य छ र ? सबैलाई यो राम्रो ज्ञान र अनुभूति भइसक्यो कि गान्धी परिवार कांग्रेसको बाध्यता पनि हो, आवश्यकता पनि हो ।

नेहरु–गान्धी परिवारमाथि कांग्रेसको निर्भरतालाई लिएर राजनीतिक वृत्त र सञ्चारमाध्यममा अनेक मजाक बन्ने गरेका छन । तर, वास्तविकता यो पनि हो कि नेहरु–गान्धी परिवार नै यो पार्टीको त्यस्तो ताकत वा तत्व हो, जसले पार्टीलाई समेटेर राख्न सक्दछ । राखिरहेको छ। यो ठीक भाजपा र आरएसएसको सम्बन्ध जस्तै हो । यदि भाजपा पार्टी राजनीतिमा संघ परिवारसँगको नाभीय सम्बन्ध तोडिदिने हो भने भाजपा अस्तित्वमा रहने कल्पना पनि गर्न सकिन्न । भाजपा कतिसम्म संघमा निर्भर छ, त्यसका कयौँ उदाहरण दिन सकिन्छ । त्यसै पनि भाजपालाई आरएसएसको राजनीतिक शाखा भनिन्छ ।

भाजपामा चाहिँ जेपी नड््डा कति नै शक्तिशाली अध्यक्ष हुन र ? अहिले पनि पार्टी संगठन, चुनाव र प्रचारको काम त्यही तरिकाले हुन्छ जसरी अमित शाह चलाउथे । फरक कति मात्र हो भने अध्यक्षको कुर्सीमा शाहको साटो नड्डा बसेका छन, जसले अध्यक्ष भएको डेड बर्षसम्म पार्टीभित्र आफूले चाहेको कुनै पनि नियुक्ति गर्न पाएका थिएनन् ।

भाजपा र कांग्रेसको स्थितिमा भएको भिन्नता के हो भने संघ परिवारसंगको भाजपाको निर्भरता जन्मजात हो । भारतीय जन संघको संस्करणदेखि नै यो कायम थियो । तर, कांग्रेसको नेहरु–गान्धी परिवारसंगको निर्भरता जन्मजात हैन । जवाहरलाल नेहरुको मृत्यु र इन्दिरा गान्धी प्रधानमन्त्री भएपछि मात्रै सुरुवात भएको हो ।

स्वतन्त्रतापछि अहिलेसम्म कांग्रेसका जम्मा १९ अध्यक्ष भए । ती मध्ये ५ मात्र नेहरु–गान्धी परिवारका हुन् । बाँकी १४ जना यस परिवारभन्दा बाहिरका थिए । इन्दिरा गान्धी प्रधानमन्त्री हुनु अघि कांग्रेस अध्यक्ष हुने सबैजसो नेहरुकालीन स्वतन्त्रता संग्रामका चम्किला तारा थिए। यी सबैले अध्यक्षका रुपमा स्वतन्त्रतापूर्वक काम गर्थे । नेहरुले पनि यिनीहरूको काममा कहिल्यै कुनै हस्तक्षेप गरेनन् ।

तर, इन्दिरा गान्धी प्रधानमन्त्री भएपछि स्थिति बद्लियो । जगजीवन राम, शंकरदयाल शर्मा, देवकान्त बरुवा पार्टी अध्यक्ष त भए, तर पार्टीमा त्यही हुन्थ्यो जो इन्दिरा चाहन्थिन् । सन् १९७८ मा कांग्रेसको विभाजनपछि स्वयं इन्दिराले पार्टीको अध्यक्ष पद सम्हालिन् । जीवनको अन्तिम समयसम्म उनी पार्टी अध्यक्ष रहिन। उनको हत्यापछि पार्टीको नेतृत्व राजिब गान्धीको हातमा आयो । उनी पनि सन् १९८५ देखि १९९१ सम्म मृत्युपर्यन्त पार्टी अध्यक्ष रहे ।

नरसिंह रावले प्रधानमन्त्री र पार्टी अध्यक्ष दु पद आफ्नै तरिकाले चलाए। उनी ५ वर्ष पार्टी अध्यक्ष रहे । रावपछि अध्यक्ष भएका सीताराम केसरी यद्यपि, २ वर्ष मात्र पदमा रहे तर उनले पनि आफ्नै मर्जीमा स्वतन्त्रतापूर्वक पार्टी अध्यक्ष चलाएका थिए । त्यसपछि सोनिया गान्धी आइन् । १९ बर्ष निरन्तर पार्टी अध्यक्षको रुपमा नेतृत्व गरिन । कांग्रेसको १३७ वर्षको इतिहासमा यो आफैँमा एक रेकर्ड हो ।

अहिलेको स्थिति त्यस्तो हैन । मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष हुने भए तर, परोक्ष रुपमा पार्टीमाथिको नियन्त्रण राहुल गान्धीसँग हुनेछ । राहुल गान्धी नै यतिखेर कांग्रेसका निर्विवाद अनुहार हुन् । उनको ‘भारत जोडो’ यात्रामा जुन प्रकारको जनसमर्थन प्राप्त भइरहेको छ, त्यसले उनको कद पार्टीभित्र र बाहिर दुवैतिर बढेको छ। उनको पुरानो छवि बद्लिएको छ, निरन्तर बद्लिँदै गइरहेको छ ।

त्यसैले भन्न सकिन्छ, भाजपाको अध्यक्ष जो सुकै होस, त्यसका नियन्ता मोदी–शाह जोडी हुन् । उनीहरूभन्दा अझै माथि संघ परिवार छ। ठीक त्यसैगरी, कांग्रेसको अध्यक्ष जो सुकै होस, त्यसको नियन्ता नेहरु–गान्धी परिवार हो । यो कुरामा कांग्रेसीहरुलाई न कुनै आपत्ति छ न भविष्यमा होला।

सत्य हिन्दीबाट अनुदित।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved