कविता

रमेश श्रेष्ठका दुई कविता

मैले आज पनि सपनामा आमालाई देखेँ
बिहान उठ्दा
म आफैँलाई थाहा हुने गरी
नसा–नसामा बगिरहने रगतको
बासना आइरहेको थियो
आमा जस्तै माटोको,
फेरि एक पटक
माटोको बासनाको हाँगा टेकेर उठेँ

रमेश श्रेष्ठका दुई कविता

माटोको रङ

अन्धकारलाई
जङ्गलको कपाल सम्झेर
कैँचीले काट्दै
जीवनको आशलाग्दो उज्यालो पर्खिरहेकी
आमा जस्तै छ, मेरी आमा जस्तै
माटोको रङ ।

पसिनाले पखालिएको राजमार्ग जस्तो निधार
पदचापले बनाएको जीवन जस्तै बाटो
चट्टानहरूमा चिप्लँदै
मुटुको ढुकढुकी छाम्दै बगिरहेको झरना,
आकार खोज्दै
आँखाको धारै धार दौडिरहेको सपना
सपनाभरि धेरै चोटी भत्किएको तस्वीर
यी सबै मेरा जीवनका गीतहरू हुन् ।

औँलाहरूका प्रेमिल ऐठनले
बाँसुरीबाट चुँडिएर जान लागेको धुन
रङहरूको आहाल बसिरहेको चित्रकारको
साँझ खसे जस्तै आँखाको चमक,
कवितामा च्यातिँदै सिउँदै गरेको
कविको मन,
झम्के साँझमा
चन्द्रमाको बैंशले च्यातिन लागेको आकाश
हेरिरहेको बालकको हृदय,
धेरै चोटि घाउ लागेर दुखेको हृदयको तस्वीर
यी सबै मेरा जीवनका गीतहरू हुन् ।

आज पनि
कथामा वर्णित
शासकको अहंकार जस्तो कालो जुँगाले
हाम्रो शिरको घाम छेक्यो
बस्तीमा लुगा नभएका बालकहरू
जाडोले कठ्याङ्ग्रिएर
भन्दै थिए
कैंची उध्याउनु छ जुँगा काट्न
त्यो नमिलेको पहाड जस्तो ।

मैले आज पनि सपनामा आमालाई देखेँ
बिहान उठ्दा
म आफैँलाई थाहा हुने गरी
नसा–नसामा बगिरहने रगतको
बासना आइरहेको थियो
आमा जस्तै माटोको,
फेरि एक पटक
माटोको बासनाको हाँगा टेकेर उठेँ

हेरेँ ऐनामा
हेर्दा हेर्दै अनुहारभरि
कति चाँडै सरिसकेको रहेछ
माटोको रङ ।

कविताका अक्षरहरू

क–अक्षर
वि–पनि अक्षर
ता–भनेको पनि अक्षर
म अक्षरै अक्षरको अमलेख गीत गाउन
अजम्मरी कविता लेख्न बसेको छु,

सपनाका जङ्घारहरू तरेर
मेरा योद्घा अक्षरहरू
तैनाथ छन् कविताको कुरूक्षेत्रमा,
मैले एक एक गरी
पड्कन तयार रहेको देखेको छु
अक्षरहरूको आन्दोलित अस्तित्व,
उच्छृङ्खल भई चम्केको पनि देखेको छु
अक्षरहरूको बैंशालु प्रवाह,
एकै छिन पछि
अथवा भरखरै
मन–पृथ्वी नुहाउने तलाउमा डुब्यो भने
मभित्रको अक्षरका नदीहरू
आफू हुनुको अस्तित्व पाउन
सबै बन्धनहरू तोडेर बग्नेछन्,
त्यो सुनेर
विश्वासको बाटै–बाटो हिँडेर
समयको रातो झन्डा र
नीलो गीत गाउँदै
देशप्रेमी अक्षरहरू
आइपुग्नेछन् कविताको गाउँबाट,
मनको आँगनमा
उडानको सुकुल बिच्छाएर
मैले थुन्नु छ एकै छिन
मेरा प्रिय अक्षरहरूलाई,
मैले पढ्नु छ अनुहारभरि
मेरा प्रिय अक्षरहरूलाई,

क–अक्षर
वि–पनि अक्षर
ता–भनेको पनि अक्षर
म अक्षरै अक्षरको नयाँ जन्मको आविष्कार र
नयाँ हुन सक्ने मृत्युको अनुष्ठानमा
अजम्मरी कविता लेख्न बसेको छु,
कवि ! ए कवि !!
अक्षरहरूको देशमा
कवि अक्षरहरूले
मानिसका कविता लेख्छन् कि लेख्दैनन् ?

मलाई थाहा छ–
मर्दैन ! अब कविता मर्दैन !
जब सम्म धरतीमा
म जस्ता दुःखी कविहरू जन्मिरहेछन्
प्रेमले, पीडाले, पेसा र प्रसङ्गहरूले–
मनले, मायाले, महानता र माटोहरूले
लेखिरहने छन् धरतीका कविताहरू ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved