योगेशलाई त हराएर पठाइदिएँ, सर्वेन्द्र त राजनीतिक मान्छे नै होइनन् : भीमसेनदास प्रधान

नेकपा एमालेको केन्द्रीय नेता आईदिएको भए सायदै चुनौती हुन्थ्यो होला, तर उहाँ मेरो प्रतिस्पर्धी हो, चुनौती होइन । बरु योगेश भट्टराई मेरा लागि भारी लाग्नुहुन्थ्यो, तर पनि उहाँलाई मैले पराजित गरेर पठाइदिए । 

योगेशलाई त हराएर पठाइदिएँ, सर्वेन्द्र त राजनीतिक मान्छे नै होइनन् : भीमसेनदास प्रधान

काठमाडौं। नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान संसद्मा हयाट्रिक गर्ने योजनामा छन् । नेपाली कांग्रेसले उनलाई काठमाडौं ६ मा टिकट दिएको छ ।

यो क्षेत्रमा काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकाका ८ वटा वडा, टोखा नगरपालिकाको ५ वटा वडा, काठमाडौं महानगरपालिकाको २६ वडाअन्तर्गत ठमेल सामाखुसी क्षेत्र, २७ वडाअन्तर्गत असन क्षेत्र र २८ वडाको बागबजार पुतलीसडक क्षेत्र पर्छ ।

यो पटक प्रधानको प्रतिस्पर्धा नेकपा एमालेबाट राजनीतिमा डेब्यु गरेका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग हुने देखिएको छ । नेता प्रधान अघिल्ला दुई कार्यकालमा गरेको कामको मूल्यांकन गर्दै जनताले यसपटक आफूलाई नै निर्वाचित गराउने दाबी गरिरहेका छन् । ‘जुनसुकै पार्टीको भए पनि राजनीतिमै लागेको व्यक्तिले लामो त्याग र तपस्या गरेको हुन्छ । पूर्वकर्मचारीलाई राजनीतिमा ल्याएर अगाडि बढाउने काम अराजनीतिक हो ।’ उनी भन्छन् ।

रक्षामन्त्री समेत भइसकेका प्रधान यतिबेला चुनावी भेटघाटमा व्यस्त छन् । प्रधानसँग नेपालभ्युजकर्मी प्रकाश बस्यालले गरेको कुराकानी ।

तपाईं यसअघि पनि यही क्षेत्रबाट सांसद बन्नुभयो, फेरि तपाइलाई नै मत किन दिने ?

मलाई लाग्छ, सबै जना नेताहरू जनताबाट अनुमोदित हुन चाहन्छन् । मेरो विषयमा पनि त्यही नै हो । अर्को कुरा कस-कसलाई टिकट दिने कसलाई नदिने भन्ने कुरा पार्टीको संसदीय बोर्डले निर्णय गर्ने कुरा हो ।

तल्लो तहबाट आएका सिफारिस छानबिन गरेर कसलाई उम्मेदवार बनाउँदा जित्न सकिन्छ कुन व्यक्तिको आचरण सहि छ ? जनता कसको पक्षमा छन्, यी सबै कुरा हेरेर टिकट दिने हो । मैले इच्छा देखाएको हो, पार्टीले मलाई विश्वास गरेको छ ।

यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि म नै विजयी भएको थिए । सायद त्यसैको मूल्यांकन भएको होला । अर्को कुरा लोकतन्त्रमा जनताले विश्वास गर्दासम्म चुनाव नलड्ने भन्ने कुरा हुँदैन । यसमा भीमसेनदास प्रधान मात्र अपवाद होइन नि । हामै पार्टी सभापति हेर्नुहोस् अरू पार्टीका नेताहरू पनि हेर्नुहोस् ।

दुई-दुई पटक निर्वाचित हुनुभयो अव के चाँही गर्न बाँकी छ ?

मेरो कार्यकालमा धेरै नै काम भएको छ । तपाई मेरो निर्वाचन क्षेत्र घुम्नुहोस् यहाँको विकास देखेर छक्क पर्नुहुन्छ । खानेपानी , सामुदायिक भवन, सम्पदा संरक्षणका काम भएका छन् ।

विकास भनेको निरन्तर चलिरहेको कुरा हो । अर्कोतर्फ यो संविधानका कतिपय प्रावधानहरू परिमार्जन गर्न बाँकी छ । हामी सरकारमा बसेर धेरै समय काम गर्न पाएनौं त्यसैले हामी फेरि पनि सरकारको नेतृत्व गरेर नयाँ योजनाहरूको सुरुवात र अधुरा योजनालाई पूर्णता दिनेछौँ ।

त्यसो भए तपाईंका अबका एजेण्डा के छन् त ?

पार्टीले अहिले घोषणपत्र बनाइरहेको छ । हामी दलीय उम्मेदवार भएकाले पार्टीको घोषणापत्रलाई शिरमा राखेर हिड्ने हो । तर पनि मेरा आफ्ना केही चाहनाहरू छन्, जस्तै, शिक्षा/स्वास्थ्यलाई सर्वसुलभ बनाउने, काठमाडौका सरकारी विद्यालयको गुणस्तर बढाउने, स्वाथ्यलाई सबैको पहुँचमा ल्याउने, युवाहरूलाई कसरी यही रोजगारी दिन सकिन्छ, यो विषयमा पनि हामीले छलफल गरिरहेका छौँ ।

त्यस्तै, खानेपानीको समस्या भएका ठाउँमा वैकल्पिक श्रोत व्यवस्थापन गर्ने लगायतका छन् । यि विषयमा हामीले पहिल्यैदेखि काम पनि गरिरहेका छौँ । तर, काम गर्दागर्दै पनि कतिपय क्षेत्रमा समस्या छन् । ती समस्यालाई समाधान गरेर यहाँका बासिन्दालाई सहजता दिने नै मेरो एजेण्डा हो ।

तपाईंलाई यहाँका मतदाताले विश्वास गर्नुपर्ने आधार के छन् ? 

मैले अहिलेसम्म गरेका काम नै मलाई विश्वास गर्ने आधार हो । मैले योपटक काठमाडौंलाई बस्न योग्य सहर बनाउने अठोट लिएको छु । त्यसमा पहिल्यैदेखि छलफल पनि भइरहेको छ ।

पुराना बस्तीलाई व्यवस्थापन गर्ने र वातावरणमैत्री सहर बनाउने योजना छ । घरैघर मात्र भएर सहर हुँदैन त्यहाँ पार्क हुनुपर्‍यो, खेलकुद मैदान, सामुदायिक भवन, पोखरी हरियाली सबै हुनुपर्‍यो ।

काठमाडौं महानगरका मेयर पनि त्यसमा सकारात्मक हुनुहुन्छ । त्यस्तै, काठमाडौंको ट्राफिक समस्या समाधानमा पनि हामीले योजना बनाइरहेका छौं । सहरका नाममा घरैघर बनाउने चलन छ अब त्यो परिवर्तन गरेर मानवमैत्री र वातावरणमैत्री बनाउनुपर्छ ।

तर तपाईंको पार्टीभित्रै ठूलो असन्तुष्टि देखिन्छ ?

लोकतान्त्रिक पार्टीमा सानातिना विरोध आउनु स्वाभाविक हो । हाम्रो पार्टीमा सामान्य कार्यकर्ताले पनि चित्त नबुझेको कुरा निर्धक्क भएर राख्न सक्छन् ।

असन्तृष्टि सबै पार्टीभित्र हुन्छन्, तर सबै पार्टीमा असन्तृष्टि राख्ने सुविधा नहुन सक्छ । लोकतान्त्रिक पार्टी भएकाले गुनासा आउन सक्छन् । सबैलाई सबै निर्णय चित्त नबुझ्न पनि सक्छ, त्यसमा विरोध पनि हुन्छ, तर अब हामी निर्वाचनमा होमिइसकेका छौँ ।

यहाँ कुनै गुट उपगुट छैन, सिङ्गो कांग्रेस छ । चित्त नबुझेका विषय हामीले निर्वाचनपछि फेरी छलफल गर्छौं, तर अहिलेको अवस्थामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन ।

तपाईंको प्रतिस्पर्धीका रूपमा चर्चित उम्मेदवार सर्वेन्द्र खनाल हुनुहुन्छ, कत्तिको चुनौती देख्नुभएको छ ?

नेकपा एमालेको केन्द्रीय नेता आईदिएको भए सायदै चुनौती हुन्थ्यो होला, तर उहाँ मेरो प्रतिस्पर्धी हो, चुनौती होइन । बरु योगेश भट्टराई मेरा लागि भारी लाग्नुहुन्थ्यो, तर पनि उहाँलाई मैले पराजित गरेर पठाइदिए । 

उहाँ त एक पूर्वकर्मचारी हुनुहुन्छ । कसले कति काम गरेको छ भनेर मतदाताले पक्कै मूल्यांकन गर्नुहुन्छ । जुनसुकै पार्टीको भए पनि राजनीतिमै लागेको व्यक्तिले लामो त्याग र तपस्या गरेको हुन्छ । पूर्वकर्मचारीलाई राजनीतिमा ल्याएर अगाडि बढाउने काम अराजनीतिक हो ।

राजनीतिमा पूर्वकर्मचारी आउनु ठीक छ कि छैन त्यो स्वयं पार्टी र कार्यकर्ताले मूल्याङकन गर्लान्, यो राजनीतिक निर्णय हो कि गैर राजनीतिक भन्ने पनि भोलि थाहा हुनेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved