अबिच्युअरी

सत्यमोहन जोशीप्रति चिनियाँ विद्यार्थीको श्रद्धासुमन

म लगायत हामी पहिलो पुस्ताका चिनियाँलाई नेपाली भाषा सिकाउने आदरणीय गुरु हुनुहुन्छ सत्यमोहन

सत्यमोहन जोशीकै योगदानले मैले पाँच दशक नेपाली भाषामा काम गर्दै रमाउने मौका पाएकी हुँ। जोशीले मलाई नेपाली वर्णमाला सिकाउनुभयो। नेपाली व्याकरण सिकाउनुभयो। उहाँले क्रियापद र अनुकरणात्मक शब्द सिकाउनुभयो। त्यही सीप प्रयोग गरेर सन् १९७२ देखि म जागिर खान थालेँ। सन् १९९० देखि तत्कालीन रेडियो बेइजिङ र पछिको सीआरआई नेपाली सेवाको प्रमुख भएँ। नेपाली भाषामा खोज अनुसन्धान तथा अनुवाद गरेर म प्राध्यापक भएँ।

सत्यमोहन जोशीप्रति चिनियाँ विद्यार्थीको श्रद्धासुमन

बेइजिङ । अक्टोबर १६ तारिख। नेपाली मितिअनुसार असोज ३० गते आइतबार। बिहानको खाजा खाएर मोबाइल फोनमा समाचार हेर्दै थिएँ। चिनियाँ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशन सुरु भएकाले धेरैजसो समाचार त्यसकै विषयमा मेरो मोबाइलमा देखिँदै थिए। म नेपाली समाचार पनि नियमित हेर्ने गर्छु। चिनियाँ समाचार सार्दैजाँदा अकस्मात् मेरा आँखामा एउटा नराम्रो समाचारले झस्का दियो। समाचारको शीर्षक थियो ‘शताब्दी पुरुष सत्यमोहन रहनुभएन।’

समाचारको शीर्षकले नै मलाई खङ्ग्रङ्ग बनायो। एक दिन अगाडि मात्र इटहरीका पुराना साथी लोकेन्द्र काफ्लेले सत्यमोहन जोशीको उपचार हुँदै गरेको फोटो पठाउनुभएको थियो। फोटो हेर्दा मेरा आँखाबाट अनायस आँशु खसेको थियो। १०३ वर्षको उमेरमा पुग्नुभएका सत्यमोहन जोशीज्यू निकै जीर्ण र अत्यन्त कमजोर देखिनुभएको थियो।

सत्यमोहन जोशी मेरा आदर्श र समादरणीय गुरु हुनुहुन्छ। उहाँकै योगदानले मैले पाँच दशक नेपाली भाषामा काम गर्दै रमाउने मौका पाएकी हुँ। म लगायत हामी पहिलो पुस्ताका चिनियाँलाई नेपाली भाषा सिकाउने आदरणीय गुरु हुनुहुन्छ सत्यमोहन जोशी।

सन् १९८१ मा बेइजिङस्थित श्वेत चैत्यमा चिनियाँ सहकर्मीका साथमा सत्यमोहन जोशी (बायाँबाट दोस्रो कालो टोपीमा)

नेपाली भाषाका गुरु

सन् १९६३ को कुरा हो। हामी भरखर उच्च माध्यमिक तहको शिक्षा पूरा गरेर विश्वविद्यालय भर्ना हुने तयारीमा थियौँ। त्यतिन्जेलसम्म मलाई नेपाल भन्ने देश कहाँ पर्छ र त्यहाँ कस्तो भाषा बोलिन्छ भन्ने केही थाहा थिएन। त्यति बेला म १८ वर्षकी थिएँ र मेरै उमेरका हामी एक दर्जन साथीहरू नेपाली पढ्नमा ‘पैचिङ बोर्डकास्टिङ इन्स्टिच्युट’ (हालको चिनियाँ सञ्चार विश्वविद्यालय) मा भर्ना भयौँ।

हामीलाई नेपाली भाषा पढाउनका लागि नेपालबाट कृष्णबहादुर प्रधान आउनुभयो। उहाँलाई चिनियाँ भाषा नआउने अनि हामीलाई नेपाली भाषा नआउने। अझ हामीलाई अंग्रेजी भाषा पनि आउँदैन थियो। भारतको दार्जेलिङ छेउको सहर कालिङपोङमा बस्ने एक जना प्रवासी चिनियाँलाई दोभाषेका रूपमा बोलाइएको थियो। उहाँ नेपाली र चिनियाँ दुवै भाषा जान्नुहुन्थ्यो।

कृष्णबहादुर प्रधानले हामीलाई दुई वर्ष अध्यापन गराएपछि सन् १९६५ मा थप ४० जना विद्यार्थीहरू नयाँ कक्षामा भर्ना भए। विद्यार्थी धेरै भएकाले प्रधान गुरुले मात्र सबैलाई पढाउन भ्याउनुभएन। अनि हामीलाई नेपाली भाषा सिकाउनका लागि नयाँ गुरु थपिनुभयो। दुब्लो अनुहारको सधैँ टोपी लगाउने ती व्यक्तिको नाम थियो सत्यमोहन जोशी। अत्यन्त कम बोल्ने र एकदमै थोरै हाँस्ने सत्यमोहन जोशी कालान्तरमा हामी नेपाली भाषा सिक्ने चिनियाँको असाध्य प्रिय गुरु हुनुभयो।

सत्यमोहन जोशीले नयाँ समूहका ४० जना विद्यार्थीलाई २० जनाका दरले दुईवटा कक्षामा विभाजन गरेर पढाउनुहुन्थ्यो। अनि पुरानो समूहका हामी १२ जनालाई पनि नियमित पठाउनुभयो।

 

सन् २००३ मा सीआरआईको प्रतिनिधि मण्डल सत्यमोहन जोशीको घरमा।

 

सत्यमोहन जोशी आफ्नी श्रीमती राधा जोशी र आफ्ना बालबच्चासँगै आउनुभएको थियो। उहाँको पढाउने तरिका पनि अत्यन्त मिठो थियो। उदाहरण दिँदा जहिल्यै लोककथा उद्धृत गर्नुहुन्थ्यो। उहाँले थुप्रै चिनियाँ लोककथा पढ्नुभएको रहेछ। त्यही कथाका उदाहरण दिँदा हामीलाई भाषा बुझ्न पनि सहज भयो।

जोशीज्यू आउनुभएको एक वर्षपछि नै चीनमा सांस्कृतिक क्रान्ति सुरु भयो। सांस्कृतिक क्रान्तिले हाम्रो पढाइलाई पनि केही समय अवरोध गर्यो। तर, उहाँले हामीलाई आफू बसेको स्थान (रुसले चीन रुस मैत्री सम्झनामा बनाइ दिएको होटल) मा बोलाएर नेपाली भाषा सिकाउनुहुन्थ्यो।

नेपाली भाषा सिकाउँदा उहाँ यति धेरै मिहिनेत गर्नुहुन्थ्यो कि कुनै पनि शिक्षकले त्यस्तो मिहिनेत गर्छ जस्तो मलाई लाग्दैन। फलफूलका नाम सिकाउँदा उहाँ हामीलाई बजारमा लिएर जानुहुन्थ्यो। खानेकुराको बारेमा सिकाउँदा भान्सामा लानुहुन्थ्यो। रङको बारेमा बताउँदा कक्षाकोठामै रङ लिएर आउनुहुन्थ्यो।

 

जोशीज्यूले हामीलाई चार वर्ष पढाउनुभयो। हामी सन् १९६८ मा स्नातक भयौँ। सांस्कृतिक क्रान्तिले गर्दा एक वर्ष ढिला भएको थियो। नयाँ समूह पनि सन् १९६९ मा स्नातक भयो। हामीलाई पढाउने क्रममा उहाँले भन्नुभएअनुसार उहाँ सन् १९५९ मै पहिलोपटक बेइजिङ आउनुभएको रहेछ।

 

जोशीज्यूले हामीलाई चार वर्ष पढाउनुभयो। हामी सन् १९६८ मा स्नातक भयौँ। सांस्कृतिक क्रान्तिले गर्दा एक वर्ष ढिला भएको थियो। नयाँ समूह पनि सन् १९६९ मा स्नातक भयो। हामीलाई पढाउने क्रममा उहाँले भन्नुभएअनुसार उहाँ सन् १९५९ मै पहिलोपटक बेइजिङ आउनुभएको रहेछ।

त्यहीबेला अरनिकोले बनाएको श्वेतचैत्य घुम्नुभएको रहेछ। तर, हामीलाई पढाउन आउँदाचाहिँ उहाँ श्वेत चैत्य जान पाउनुभएन। किनभने सांस्कृतिक क्रान्तिले गर्दा चीनका सबै ऐतिहासिक सम्पदाहरू अनिश्चित कालका लागि बन्द गरिएका थिए।

सन् २००३ मा सत्यमोहन जोशीको घरमा सीआरआईका तत्कालीन प्रथम उपनिर्देशक छन् मिन यी र नेपाली सेवाकी तत्कालीन प्रमुख चौ

श्वेत चैत्य जान नपाए पनि उहाँले अरनिको र उनले बनाएको त्यो सांस्कृतिक सम्पदाका बारेमा हामीसँग नियमित कुरा गर्नुहुन्थ्यो। उहाँकै भनाइले हामीमा पनि त्यो श्वेत चैत्य हेर्ने इच्छा जागेको थियो। त्यतिन्जेल हामी विद्यार्थीहरू कोही पनि श्वेतचैत्य पुगेका थिएनौँ। हामीलाई अरनिकोका बारेमा पनि केही थाहा थिएन। हामी प्राय: बेइजिङ बाहिरका विद्यार्थी भएर पनि श्वेतचैत्यका बारेमा अञ्जान बनेका थियौँ।

चार वर्ष हामीलाई अध्यापन गराएर उहाँ सन् १९५९ मा नेपाल फर्कनुभयो। हामी नेपाली भाषा सिकेका १२ मध्ये १० जना विद्यार्थीलाई चाहिँ चीन सरकारले रेडियो पेकिङको नेपाली सेवा प्रसारणको तयारीमा लाग्न निर्देशन दिएको थियो। सन् १९७५ जुन २५ तारिख तत्कालीन रेडियो पेकिङको नेपाली भाषाको सेवा सुरु भयो।

नेपाली भाषा प्रसारणको तयारीका लागि हामी चिनियाँले मात्र सक्ने कुरा थिएन। किनभने हामी नेपाली विषय लिएर स्नातक गरेको भए पनि कतिपय अवस्थामा हामीलाई निर्देशन दिने र सिकाउने मान्छे चाहिएको थियो। त्यही भएर नेपाली सेवा सुरू हुनुभन्दा तीन वर्ष अगाडि नै सन् १९७२ मा गोविन्द भट्ट विदेशी विशेषज्ञका रूपमा आउनुभएको थियो। भट्टज्यू ८ वर्ष काम गरेर सन् १९८० मा नेपाल फर्कनुभयो।

अरनिकोका बारेमा खोज र अनुसन्धान

त्यसपछि, अर्को संयोग के जुर्‍यो भने सन् १९८० मा तत्कालीन रेडियो पेकिङको विदेशी विशेषज्ञका रूपमा काम गर्न सत्यमोहन जोशी आइपुग्नुभयो। ओहो हामीलाई नेपाली भाषा सिकाउने गुरु नै हाम्रो सहकर्मीका रूपमा पाउँदा हामी पनि दङ्ग पर्याैँ। पहिले त हामी गुरु मात्र भन्थ्यौँ। अब उहाँलाई हामी ‘चोशीज्यू’ भन्न थाल्यौँ। चिनियाँ उच्चारणमा जोशीलाई ‘चोशी’ हुने भएकाले हामी उहाँलाई चोशीज्यू भन्थ्यौँ।

उहाँ आएको केही महिनापछि नै अरनिकोले बनाएको श्वेत चैत्य सर्वसाधारणका लागि खुल्ला गरियो। अनि त फुर्सद भइसक्दा उहाँ श्वेत चैत्य पुगिहाल्नुहुन्थ्यो। अरूहरू यसो श्वेतचैत्य हेर्न, पूजा गर्न, धूप बाल्न, फोटो खिच्न र टहलिनका लागि जान्थे। जोशीज्यूचाहिँ त्यहाँका भित्तामा भएका कलालाई घण्टौँ नियाल्नुहुन्थ्यो।

आफ्नै घरको ढोका अगाडि सत्यमोहन जोशी।

श्वेत चैत्यका घेरा गन्नुहुन्थ्यो। थाम र भित्ताका चित्रलाई हाते लेन्सले केलाउनुहुन्थ्यो। काठमा कुँदिएका चित्र छाम्नुहुन्थ्यो। कुना कुना घुमेर पुराना अक्षर पढ्नुहुन्थ्यो। मूर्ति र थाङ्कामा घोत्लिरहनुहुन्थ्यो। हामी पनि थुप्रैपटक उहाँसँग श्वेत चैत्य जान्थ्यौँ। एकपटक मात्र होइन जतिपटक गए पनि उहाँको त्यो गम्भीर अध्ययन देखेर हामी छक्क पथ्यौँ। के गर्नु भएको होला, के खोज्नुभएको होला, कस्तो धैर्य होला भन्ने लाग्थ्यो हामीलाई।

 

ओहो हामीलाई नेपाली भाषा सिकाउने गुरु नै हाम्रो सहकर्मीका रूपमा पाउँदा हामी पनि दङ्ग पर्याैँ। पहिले त हामी गुरु मात्र भन्थ्यौँ। अब उहाँलाई हामी ‘चोशीज्यू’ भन्न थाल्यौँ। चिनियाँ उच्चारणमा जोशीलाई ‘चोशी’ हुने भएकाले हामी उहाँलाई चोशीज्यू भन्थ्यौँ।

 

उहाँले अरनिकोका बारेमा लेखिएका कुनै पनि लेखोट, किताब, पत्रपत्रिका, दस्ताबेज खोज्न लगाउनुहुन्थ्यो। हामी खोज्थ्यौँ र अनुवाद गरेर उहाँलाई दिन्थ्यौँ। कतिपय पुराना लेखहरू परम्परागत चिनियाँ लिपिमा लेखिएका हुन्थे। त्यस्ता लिपि हामीले पनि नबुझ्ने भएकाले विश्वविद्यालयका प्राध्यापक खोजेर निजी रूपमा शुल्क तिरेर अनुवाद गर्न लगाउनुहुन्थ्यो। अरनिकोका बारेमा त्यस्तो अध्ययन देखेर हामी आश्चर्य चकित हुन्थ्यौँ।

उहाँले नै बेइजिङ पश्चिमपट्टि पर्ने वल्लो शान्षी प्रान्तको ऊथाइशानमा पनि अरनिकोले श्वेत चैत्य बनाएको सुनाउनुभयो। उहाँलाई ऊथाइशान जाने इच्छा थियो। त्यति बेला म नेपाली सेवाको कर्मचारी मात्र थिएँ। उहाँ दुई वर्ष काम गरेर सन् १९८२ मा नेपाल फर्कनुभयो। उहाँले फर्कने बेलामा आफ्नो भिषा केही दिन थप गरेर उथाइशान जाने वातावरण मिलाइ दिन बारम्बार अनुरोध गर्नुभएको थियो।

आजभन्दा चालिस वर्ष अगाडिको चीन अहिले जस्तो थिएन। सरकारको निमन्त्रणामा आएको व्यक्ति निजी प्रयोजनका लागि कतै घुम्न पाउँदैनथ्यो। नेपाली सेवाले पहल गरेको भए हुने थियो। तर, खै किन हो उहाँले उथाइशान गएर अरनिकोले बनाएको अर्को श्वेत चैत्य हेर्ने मौका पाउनुभएन।

सीआरआई नेपाली सेवाकी पूर्वप्रमुख प्राध्यापक चौ (छाङहो दिदी)

सत्यमोहन जोशीको घरमा पुग्दा

सन् १९९० देखि म नेपाली सेवाको प्रमुख भएँ। प्रमुख भएपछि म विभिन्न कामका सिलसिलामा नेपाल जाँदा जोशीज्यूलाई सधैँ भेट्ने गर्थेँ। जोशीज्यूलाई भेट्ने अवसर चितवनका प्रकाशबाबु पौड्यालले मिलाई दिनुहुन्थ्यो। पौड्यालज्यू तत्कालीन रेडियो पेकिङका पुराना श्रोता हुनुहुन्थ्यो।

उहाँले सन् १९८५ मै रेडियो बेइजिङ (त्यस अगाडिको रेडियो पेकिङ) को नेपालमै पहिलो श्रोता क्लब खोल्नुभएको थियो। रेडियो बेइजिङ सन् १९९३ पछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) बन्यो। सन् १९९५ सम्ममा सीआरआईका नेपाली श्रोता क्लबहरूको सख्या ७ सयभन्दा बढी पुगेको थियो।

प्रकाशबाबु पौड्यालकै सक्रियता र संयोजनमा सन् १९९६ मा सीआरआई श्रोता क्लबहरूको राष्ट्रिय परिषद् नेपाल स्थापना भयो। यो परिषद् स्थापना भएपछि नेपालमा वर्षको थुप्रैपटक कार्यक्रम हुन थाले। हरेक कार्यक्रममा सत्यमोहन जोशी विशेष अतिथिका रूपमा आउनु हुन्थ्यो। उहाँसँग भेटेर कुरा गर्दा र पुराना घटनाको स्मृति गर्दा बडो मज्जा आउँथ्यो। बेइजिङबाट म नगएको बेला अरू चिनियाँ साथीहरू जान्थे। उनीहरूले जोशीजीलाई भेटेर आउँथे। म उनीहरूबाट उहाँका बारेमा जानकारी लिइरहन्थेँ।

सन् २००३ मा नेपाल भ्रमणमा गएको बेला जोशीज्यूको पाटनस्थित घरमा नै जाने मौका मिल्यो। उक्त समयमा सीआरआईको प्रतिनिधिमण्डलको नेतृत्व छन् मिन यीले गर्नु भएको थियो। उहाँ त्यो समयमा सीआरआईको प्रथम उपनिर्देशक हुनुहुन्थ्यो। छन् मिन यी पनि हाम्रै सहपाठी हुनुहुन्थ्यो र जोशीका विद्यार्थी पनि।

सन् २००३ को अप्रिल ११ तारिख दिउँसो हामी जोशीज्यूको घरमा पुगेका थियौँ। उहाँको घर पनि पुराना कलाकृतिले भरिभराउ रहेछ। उहाँले नेपाली चिया खुवाउँदै हामीलाई स्वागत गर्नुभयो। सीआरआईबाट हामी ६ जना गएका थियौँ। त्यसमध्ये छन् मिन यी र म मात्र उहाँका शिष्य थियौँ। बाँकी चारजना सीआरआईका विभिन्न विभागका अधिकारी थिए।

मलाई थाहा भएअनुसार उहाँको घरमा एउटा रुद्राक्षको रूख थियो। घरको आडैमा उहाँले आफ्ना बुबाआमाको शालिक बनाएर राख्नुभएको थियो। उहाँको घर प्रवेश गर्ने ढोकामा विभिन्न कलाकृतिहरू बनाइएको थियो। उहाँले उक्त ढोका सय वर्षभन्दा पुरानो भन्नुभएको थियो। पुरानो घर चिनियाँ कवि लु सुनको जस्तै लाग्थ्यो उहाँको घर।

श्रीमतीका साथमा सत्यमोहन जोशी।

सत्यमोहनका चिनियाँ विद्यार्थी : राजदूतदेखि उपमन्त्रीसम्म

जोशीज्यूले पढाउनुभएका विद्यार्थीमा एक जना नेपालका लागि राजदूत हुनुभयो। उहाँको नाम चङ सुयोङ हो। उहाँ पनि हाम्रै सहपाठी हुनुहुन्थ्यो र सन् १९९८ देखि २००१ सम्म नेपालका लागि राजदूत हुनुहुन्थ्यो। त्यसैगरी, छन् मिनयी सीआरआईको प्रथम उपनिर्देश र ली छिङ कर्मचारी प्रशासन विभागको प्रमुख हुनुभयो। यी दुवै पद चिनियाँ उपमन्त्री सो सरहका हुन्।

सत्यमोहन जोशीले मलाई नेपाली वर्णमाला सिकाउनुभयो। नेपाली व्याकरण सिकाउनुभयो। उहाँले क्रियापद र अनुकरणात्मक शब्द सिकाउनुभयो। त्यही सीप प्रयोग गरेर सन् १९७२ देखि म जागिर खान थालेँ। सन् १९९० देखि तत्कालीन रेडियो बेइजिङ र पछिको सीआरआई नेपाली सेवाको प्रमुख भएँ। नेपाली भाषामा खोज अनुसन्धान तथा अनुवाद गरेर म प्राध्यापक भएँ। सन् २००५ मा सेवा निर्वृत्त भएर पनि सन् २०१२ सम्म सीआरआई नेपाली सेवामा काम गरेँ। हिसाब गर्दा मैले नेपाली भाषा माध्यम बनाएर ४० वर्ष काम गरेँ। दर्जनौँपटक नेपालको भ्रमण गरेँ। नेपालमा रहेका केही चिनियाँ परियोजनामा दोभाषेको काम पनि गरेँ।

सन् २०१२ पछि पनि म नेपाली समाचारहरू हेर्ने र नियमित रूपमा नेपालीहरूसँग संवाद गर्ने गर्छु। चिनियाँ भाषाबाट नेपालीमा अनूदित केही कृतिको सम्पादन कार्य पनि गरेकी छु। नेपाली गीत संगीत मलाई असाध्य मन पर्छ। यस हिसाबले अहिलेसम्म म नेपाली भाषामै रमाइरहेको छु। सन् १९६३ देखि अहिलेसम्म मैले नेपाली भाषामा जीवन बिताएको ६० वर्ष भएछ। मेरो जीवनको यो ६० वर्षमा सत्यमोहन जोशीले सिकाएको नेपाली भाषाको योगदान छ।

नेपाल भ्युजका बेइजिङ ब्युरो प्रतिनिधि चेतनाथ आचार्यसँग कुरा गर्दै छाङहो अर्थात् कुसुम दिदी।

जोशीज्यूको स्वर्गारोहणले मलाई असाध्य पीडाबोध भएको छ। यस्तो वियोगको बेला आदरणीय गुरुआमा राधा जोशी र उहाँहरूको परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछु। मेरो दोस्रो भाषाका आदरणीय गुरु, मेरो जीवनका पथप्रदर्शक, अँध्यारोबाट उज्यालो देखाउने चम्किलो दीप, अरनिकोका सच्चा अध्येता, चीन नेपाल सांस्कृतिक सम्बन्धका अमर दूत सत्यमोहन जोशीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जलि।

(सीआरआई नेपाली विभागकी प्रमुखबाट निवृत्त हुनुभएकी छाङहो अर्थात् कुसुम दिदीसँग नेपाल भ्युजका बेइजिङ ब्युरो प्रतिनिधि चेतनाथ आचार्यले गर्नुभएको कुराकानीमा आधारित। उहाँको चिनियाँ नाम प्रोफेसर चौ चौच्युन हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved