सम्झनामा शताब्दीपुरुष

नाइल, अमेजन र सत्यमोहन

२०१७ सालमा जागिर खोसिएका उनी कसरी राजाका प्रियपात्र केदारमान व्यथितसँग निकटस्थ भई रोयल एकेडेमीको सदस्य सचिव भए ? जागिरेको नाताले गर्ने कार्यहरू बाहेक उनले राजाका गीत कत्तिको गाए ? ०३६ सालमा दलहरूले विद्रोही गतिविधि सञ्चालन गर्न थालेपछि उनी राजाको भजन मण्डलीमा सामेल भए ? २०६२/०६३ को जनआन्दोलनमा उनी गणतन्त्रको पक्षमा कसरी लाग्न सके ?

नाइल, अमेजन र सत्यमोहन

गतिसँग देखिने नदी र नदेखिने समय सधैँ सँगसँगै हुन्छन्। यी दुईका बारे म पटक-पटक चर्चा गरी रहन्छु। यी दुई विषय सधैँ नयाँ लाग्छन्, सधैँ ताजा लाग्छन्। यसमा अरू पनि चिज थप्न सकिन्छ- हावा, घाम, त्यस्तै अरू अरू पनि। भौतिक / रसायन विज्ञानमा हिग्स बोसोन पार्टिकल पत्ता लागेपछि धेरै लेख्नु छ। पदार्थ, परमाणु र उज्यालोमा परिणत हुने उपपरमाणुका बारेमा पनि धेरै लेखन आवश्यक छ। प्रकाशको जगका बारेमा धेरै बुझ्न आवश्यक छ हामीले।

सन्दर्भ बस लामा नदीहरू बारे चर्चा गरौँ। संसारको सबैभन्दा लामो नदी हो नाइल। उत्तर तथा दक्षिण सुडान, रुवान्डा, कङ्गो, तान्जानिया, केन्या, इथियोपिया, बुरुन्डी, युगान्डा र इजिप्ट हुँदै बग्ने यो नदी करिब ६७०० कि.मि. लामो छ। यसका किनारमा इजिप्सियन सभ्यता अवस्थित छ। यसको जल प्रवाहमा प्रतिदिन तीन अर्ब घन मिटर पानी बग्छ।

यस नदी प्रणालीमा प्रतिदिन धेरै लाखौँ लाख टन हिउँ पानी हुन्छ, करोडौँ करोड टन पानी बाफमा परिणत हुन्छ। यही प्रणालीमा सिँचाइ, विद्युत्, माछा, गोही, जलयात्रा, बाढी, पहिरो, ताल, सभ्यता, विनास…धेरै चिज देख्न सकिन्छ। लामो आकार हुनुकै कारण भिक्टोरिया तालदेखि सुरु हुने यसको सागर यात्रा, मेडिटरियन सागर निकटस्थ डेल्टामा पुगेर सकिन्छ।

यदाकदा बाढीको धमिलोले अमिलिए पनि नाइल निलो बग्छ। भिन्न भिन्न बस्तीमा भिन्न भिन्न स्वरूपमा देखिए पनि नित्य प्रवाहशील हुनु, बस्ती बस्तीमा सृष्टि गीत गाउनु, नथाक्नु, नहार्नु र सबैलाई अपनत्व प्रदान गर्नु अरूझैँ नाइल नदीको पनि जीवित यथार्थ हो। खहरेको जति शक्ति भए पनि नाइलसित त्यसलाई दाँज्नै सकिँदैन।

बिचरा नाइल, सागर पुग्नु पूर्व मरुभूमियुक्त डेल्टामा घामको प्रचण्ड तातो खप्न नसकी सम्पूर्णतः बाफमा परिणत हुन्छ। घरी साँघुरिँदै तर अक्सर फैलिँदै फुक्दै आएको नाइल आफू बालुवामुनि लुकी वा बाफमा घुली अन्तर्ध्यान हुन्छ। सेतो तथा निलो नाइल इजिप्सियन सभ्यताको मात्र होइन मानव सभ्यताकै केन्द्र हो।

अमेजनको कुरा पनि त्यही हो। अमेजन दोस्रो लामो नदी हो। लम्बाइमा केही किमी मात्र छोटो छ नाइलभन्दा। कोलम्बिया, इक्बेडर तथा पेरु हुँदै कुद्छ, दगुर्छ र प्रतिदिन २६ अर्ब घन मिटर पानी डिस्चार्ज गर्छ यसले।

संसारका सबै नदी प्रणालीको एक पञ्चमांश आयतन ओगट्ने यसले आफ्नो अँगालोमा दक्षिण अमेरिकी सभ्यतालाई हुर्काएको छ। पेरुको एण्डिज पर्वत, खास गरी नाभादो मिस्मी हिमतालबाट सुरु हुने यसको प्रवाह यात्रा एटलान्टिक महासागरमा पुगी विश्रान्त हुन्छ। अमेजनमा एघार सयभन्दा बढी खोलाहरू एक आपसमा मिसिन्छन्। तिनमा १७ ओटाको लम्बाइ १५०० कि. मि.भन्दा बढी छ।

यसरी खोलाहरू नदी हुन्छन्। त्यसपछि यो नदी मात्र हैन पानी हुन्छ, छाल हुन्छ, बाफ हुन्छ। माछासित होइन व्हेलसित बात मार्छ यसले, सिपी र अन्य जलचरसँग नाता गाँसिन्छ। अजस्र पानीको स्रोत, लामो अथकित यात्राको पर्याय अमेजन नदीले गाएको जीवन गीत यदाकदा गाउने मृत्युगीत भन्दा सयौँ गुना मनकारी, प्रखर र स्वादिलो छ।

नाइलभन्दा केही छोटो तर पानी नै पानी, गीतै गीत, सिर्जनै सिर्जनाको पोको अमेजनलाई जति बिर्सिन खोजेर पनि सकिँदैन। अमेजन नहुँदो हो त दक्षिण अमेरिकी सभ्यता तथा माटो अतिशय शुष्क र मरुभूमिमा परिणत हुन्थे। ५ डिग्री उत्तरदेखि २० डिग्री दक्षिण विस्तारित अमेजन नदी भएर पनि सानो समुद्र नै हो। नदी र समुद्रमा फरक यत्ति छ, समुद्र जम्छ, अमेजन रुपी सानो समुद्र बग्छ।

प्रत्येक देशका आ-आफ्ना नाइल र अमेजन नदी प्रणाली छन्, सभ्यता फुलाउने बान्कीहरू छन्। चारैतिर समुद्रले घेरिएका श्रीलङ्काका ससाना पहाडबाट झरेका नदीहरूको प्रवाह कम्ती राम्रो र मनकारी छैन। तथापि तिनले भन्दा नाइल र अमेजन नदीले गाउने गीतको थेगो लामो छ, सम्बद्र्धन गरेको सभ्यता व्यापक आयामको छ। अमेजनको अँगालोमा नबाँधिएको भए दक्षिण अमेरिकी सभ्यता अहिलेको स्तरमा विकसित हुन हम्मे पर्दथ्यो।

लामो फन्को र प्रवाहशील गति भएकै कारण हामी तिनको महत्ताको गीत गाइरहेका छौँ। आआफ्नो नदी आवेष्टित सभ्यताको गीत जोसुकैले पनि गाउँछ। कम्ती राम्रो लयमा गाएका छैनन् सालोखोभले भोल्गाको गीत। विकल रमेका थिए इन्द्रावतीको गीतमा। गाउँघरमा हामीले पनि आआफ्नै खोला खोल्साको गीत घन्काउँदै आएका छौँ।

आयु, सक्रियता र सामाजिक योगदानका हिसाबले व्यक्तिहरू पनि नाइल, अमेजन वा श्रीलङ्काको छोटो लमाइका नदीजस्तो अस्तित्वमा रहन्छन्। नाइल अमेजन विश्वमा पनि हुन्छन् र देशमा पनि। छोटो आयुमा उत्पात उज्यालो छर्नेहरू नभएका होइनन् तर तिनको तुलनामा लामो आयु तर निरन्तर क्रियाशीलता र सिर्जनात्मकतामा रमाउने व्यक्तिहरूले समाजलाई दिगो योगदान प्रदान गर्न सक्तछन्।

म पटक-पटक असिनाको कुरा गर्छु, असिना र अस्तित्वको कुरा गर्छु। अस्तित्व छोटो भए पनि मानस प्रभाव दिगो हुन्छ असिनाको। नदीको अस्तित्व अलि फरक छ असिनाको भन्दा। त्यसमाथि पनि लामो नदीको उपयोग र महत्त्व वर्णन गरिसाध्य छैन। असिना बेग्लै अस्तित्व हो पानी चक्रको, नदी प्रणाली बेग्लै। हामीलाई असिनाले हिर्काउँछ पानीले भिजाउँछ। असिना अलि छिटो भाग्छ, पानीलाई केही वा लामो समय राख्न र उपयोग गर्न सकिन्छ। भूगोल र बस्तीहरूलाई अङ्कमाल गर्दै सर्प गतिमा बग्ने नदी, तिनको गीत र निरवता जस्तै महत्त्वको जीवन जिउने महिषीहरू विश्वमा छन्।

सत्यमोहन जोशी नाइल जस्ता छन् कि अमेजन जस्ता ? उनी लामा हुन् कि गहिराइयुक्त ? उनको सिर्जनात्मक प्रवेग मन्द छ कि अत्यन्त तीव्र ? एक शताब्दी पुग्न करिब सात वर्ष मात्र बाँकी भएका सत्यमोहन जोशीको हृदय गनगनले भरिएको छ कि राष्ट्र तथा जन सेवाको भावले भरिएको छ ?

नदीको पानी, तिनको बेग र सागर पुग्ने दुरी वा समयबिचको अन्तरसम्बन्धको विषयमा अनुसन्धान भएको मलाई थाहा छैन तथापि सानो वा मझौला आकारको काय सहित प्रवाहमान हुने नदी ढिला सागर पुगे पनि थाक्दैन। नाइल यसको साक्ष्य हो तथापि अस्मेल जल प्रवाह सहित लामो यात्रा गर्ने अमेजन विश्वनदी प्रणालीको अर्को विशिष्ट नमुना हो जसका बारेमा हजारौँ, लाखौँ कृति, करोडौँ भावना जनमनले प्रदान गरेका छन्। सामाजिक जीवनमा हिमाल झैँ उभिने वा नदी प्रणाली झैँ फन्को लगाउने कर्म सहितको व्यक्ति नाइल तथा अमेजन तुल्य डिस्टिङक्ट छन्। सत्यमोहन जोशी त्यही शृङ्खलाका एउटा नमुना व्यक्तित्व हुन्।

सत्यमोहन जोशी नाइल जस्ता छन् कि अमेजन जस्ता ? उनी लामा हुन्कि गहिराइ युक्त ? उनको सिर्जनात्मक प्रवेग मन्द छ कि अत्यन्त तीव्र ? एक शताब्दी पुग्न करिब सात वर्ष मात्र बाँकी भएका सत्यमोहन जोशीको हृदय गनगनले भरिएको छ कि राष्ट्र तथा जन सेवाको भावले भरिएको छ ? उमेर पाकेकै कारण उनी यति धेरै श्रद्धाका पात्र भएका हुन् कि अविच्छिन्न सेवा, साधना तथा ज्ञान प्रसारणको कारण स्वतः पुजिएका हुन् ?

उनी अर्ध ज्ञान भएका असजिला र आत्मश्लाघी विद्वान् हुन् कि गहिरा ज्ञान भएका सरल प्राज्ञ हुन् ? सत्यमोहन जोशीलाई बचाउने र चिनाउने कडी उनको सक्रियता हो ? उनको व्यक्तित्वमा जादुमयताको अंश अत्यधिक छ कि स्वाभाविक सक्रियता र सिर्जनाको अंश अत्यधिक छ ? काठमाडौँ नगरको नेवार जातिको लेखक भएर पनि पाखा पखेरामा, मेला तथा पँधेरामा गाइने नेपाली तथा अन्य भाषाको लोकगीतको शोध खोज र अनुसन्धान गर्ने काममा के कसरी लिप्त हुन पुगेका छन् उनी ? मुलुकको सबैभन्दा बृद्ध र सम्मानित व्यक्तित्व सत्यमोहन जोशीका बारेमा छलफल गर्न आवश्यक धेरै विषयहरू छन्।

हिन्दू कुलका सत्यमोहनमा बौद्ध विषय प्रचारको किन यति ब्यामोह र तन्मयता ? २०१७ सालमा जागिर खोसिएका उनी कसरी राजाका प्रिय पात्र केदारमान व्यथितसँग निकटस्थ भई रोयल एकेडेमीको सदस्य सचिव भए ? जागिरेको नाताले गर्ने कार्यहरू बाहेक उनले राजाका गीत कत्तिको गाए ? ०३६ सालमा दलहरूले विद्रोही गतिविधि सञ्चालन गर्न थालेपछि उनी राजाको भजन मण्डलीमा सामेल भए ? २०६२/०६३ को जनआन्दोलनमा उनी गणतन्त्रको पक्षमा कसरी लाग्न सके ? त्यसको विचार बिउ २००७ सालताका उनले खुकुरी दलको प्रतिरोधमा डटेर लागेको सामाजिक अडान हो कि पीपलपाते स्वभाव ? उनी खासमा प्राज्ञिक गहिराइका व्यक्ति हुन् कि लेखन, सङ्गठन, सांस्कृतिक प्रचार तथा वाङ्मय सेवाको एक्टिभिस्ट ? उनको सामाजिक भूमिकाको बारेमा धेरै कुरा लेख्न, छलफल गर्न आवश्यक छ। यो छलफलले वाङ्मयिक विकासका लागि कम्पोस्ट मलको काम गर्न सक्छ।

 

उनी आफ्ना सिर्जनाका हिसाबले मात्र होइन अरूलाई लेखपढ, भाषा तथा समाज सेवा आदि काममा लाग्न प्रेरित गर्ने असंख्य जोडी कर्म पन्छी हुर्काउने वटवृक्ष पनि हुन्।

 

सत्यमोहनलाई नचिनी र नबुझी प्रशंसा गर्नुभन्दा चिन्नु बुझ्नु र कुरा बुझेरै आत्मसात् गर्न आवश्यक छ। सत्यमोहन दीर्घ साधना र अथकित क्रियाशीलताको विशिष्ट नाम हो। उनी आफ्ना सिर्जनाका हिसाबले मात्र होइन अरूलाई लेखपढ, भाषा तथा समाज सेवा आदि काममा लाग्न प्रेरित गर्ने असंख्य जोडी कर्म पन्छी हुर्काउने वटवृक्ष पनि हुन्। नाइल जस्तो उनको दीर्घ जीवन अरूको नकारात्मक कुरा गरी त्यसमा तुष्टि लिनेभन्दा पनि सकेको सिर्जना, काम तथा सहयोग गरी र सामान्यभन्दा सामान्य जीवन व्यतीत गरेर बितेको छ।

कामको सिलसिलामा उनी लोक वाङ्मय तथा संस्कृतिका क्षेत्रमा लागि परेको देखिए पनि अनुसन्धान, मातृ तथा राष्ट्रभाषाको सेवा, व्यक्तित्व उत्खनन, इतिहासको खोजी र व्याख्या, सिर्जनात्मकता र मानव धर्म प्रसारमा नित्य लागि रहेका देखिन्छन्। सत्यमोहनको विराट स्तरको कार्यले सुखले बुढ्यौली सन्तुलित सोच र निष्ठा सहितको कामले उच्च आत्मबल प्रदान गर्दो रहेछ भन्ने प्रमाणित गरेको छ।

तीन-तीन पटक मदन पुरस्कार पाएर, समयमै पुरातत्त्वको डाइरेक्टर भएर, प्रज्ञा प्रतिष्ठान तथा चीन समेतमा भाषा अध्यापन गर्ने तथा बेलायत तथा क्यानडामा रोजगाररत सन्तानका बाबु भएर पनि ९३ वर्षको उमेरमा घरि कीर्तिपुरको नेपाल भाषा एकेडेमी, घरि काठमाडौं तथा पाटनको सडकमा लुखुरलुखुर हिँड्न र जनमनको सागरमा माछा भएर पौडी रहने जोशी दुर्लभ व्यक्तित्व नै हुन्।

स्पृश्य तथा अस्पृश्य संस्कृतिका ज्ञाता उनी नेपालका लिभिङ लिजेन्ड नै हुन्। दम्भको सिँडी होइन सद्भावनाको लामो यात्रामा रमाउने सत्यमोहन सरलता र सत्कार्यबाट पैदा भएका महान् व्यक्तित्व नै हुन्। आफूलाई भन्दा अरूलाई, परिवारलाई भन्दा राष्ट्रलाई माया गर्ने विरल स्वभावले नै उनलाई अहिलेको उचाइमा पुच्याएको हो।

योजनाबद्ध कामको प्रहारले बुढ्यौलीलाई जित्ने अनौठो विधिलाई उनले आत्मसात गरेका छन्। यो विधि कर्मशील धेरै जनाका लागि उदाहरणीय बन्न सक्छ। साठीको उमेर भएपछि बुढ्यौलीको गनगनमा मुछिनेहरूका लागि सत्यमोहन जोशी साँच्चै फलामे आत्मबल भएका व्यक्ति लाग्छन्। अलजजेरिया टेलिभिजन लगायतका च्यानलले खोजी खोजी उनलाई एसियाको सबभन्दा बलिया-सुदृढ व्यक्तिको संज्ञा त्यसै दिँदैनन्।

कैयौँ साहित्यिक सांस्कृतिक व्यक्तिहरू अरूलाई खसालेर आफू अग्लिन चाहन्छन् तर सत्यमोहन यसको ठीक उल्टा छन्। उनी अरूलाई उचालेर आफ्नो काँध लच्काउँछन्। युग गायकलाई काँधमा बोक्ने व्यक्ति प्रारम्भमा भरिया जस्ता लागे पनि उनीहरू अरू सुकुलगुन्डाभन्दा निकै उपयोगी र महत्त्वका हुन्छन् भन्ने कुरा जगजाहेर छ। त्यस हिसाबले पनि सत्यमोहन महान् र पठनीय छन्।

साहित्यिक सांस्कृतिक क्षेत्रको सामान्य सहभागिताबाट हेलिँदै हेलिँदै उनले निकै लामो र कठिन यात्रा पार गरेका छन्। त्यही क्रममा उनबाट नेपाली समाजले दीर्घ तपस्या प्राप्त गरेको छ। पद र कृतिले मात्र मानिस जनताको हृदयमा बास बस्न सक्तैन। उनी कृति, क्रियाशीलता र अनुकरणीय जीवन तिनै हिसाबले मुलुकको डिस्टिङक्ट व्यक्तित्व हुन पुगेका छन्।

 

यो कुरा सबैले प्राप्त गर्न सक्तैनन्। अवसर पाएर पनि चोखो हुने व्यक्ति, पद धारण गरेर पनि साधनारत हुने व्यक्ति हत्पति भेटिँदैन। उनी फेला परेका छन्, हाम्रो समयमा, हाम्रो पाटनमा।

 

यो कुरा सबैले प्राप्त गर्न सक्तैनन्। अवसर पाएर पनि चोखो हुने व्यक्ति, पद धारण गरेर पनि साधनारत हुने व्यक्ति हत्पति भेटिँदैन। उनी फेला परेका छन्, हाम्रो समयमा, हाम्रो पाटनमा। वाङ्मय सेवीले मात्र होइन उनलाई आमजनताले निर्घात पढ्न आवश्यक छ। धुलो मैलोमा फालिएको पुरातत्त्वमा पुर्खाको गौरव र इतिहास देख्ने र सोहीलाई आफ्नो लेखनको विषय बनाउने साहित्यकार अरूभन्दा भिन्न दृष्टि भएको साहित्यकार हो।

लामो जीवन धेरैले बाँच्छन् तर सबैले सुन्दर जीवन गीत गाउन सक्तैनन्। सफा जीवन बाँचेर जीवन गीत गाउनु र मैलो तथा फोहोरी जीवन बाँचेर सुकिलो गीत गाउनु आफैँमा ठूलो विडम्बना हो। अहङ्कारले चुलिनु वा गनगनले भरिनु महान् व्यक्तित्वको चरित्र हुँदै होइन।

सत्यमोहनको मूल्य त्यहीँनेर कायम छ। सामान्य जस्तो देखिने व्यक्तिले सम्पादन गरेको काम र मुलुकको सांस्कृतिक समृद्धताका लागि सुझबुझपूर्ण दृष्टि, स्पष्ट दार्शनिक सोच र अरूसँग मिलेर काम गर्न सक्ने रसायन साँच्चै विरल संयोग हो। झ्याउलाग्दो विगतबाट बुद्ध र याज्ञवल्क्यको दार्शनिकताको मर्म टिपी तिनलाई आफ्नो जीवन तथा लेखनको केन्द्रमा आमन्त्रण गर्ने सत्यमोहनको लगनबाट सिकेर कोही पनि थाक्दैन।

सत्यमोहन जीवन भोगाइ तथा यत्न प्रवाहका नाइल नदी हुन्। अमेजन जस्तो अस्मेल होइन सजिलै बोक्न सकिने पानीको अँगालो छ उनमा। कहिलेकाहीँ ठूला भारी बोक्नेहरू छिटै थाक्छन्। उनको विचरण भूगोल व्यापक छ। आयु, स्वास्थ्य र मनोबलले साथ दिएको छ उनलाई। गति छ, छाल छ, गीत छ र निरवता छ उनमा।

 

संयोगको कुरा, सागर छुनुपूर्व उनी नाइलझैँ अन्तर्ध्यान हुँदैनन्, अमेजनको एक भुल्का प्रवाह प्राप्त गरी वाङ्मय सागरमा आफ्ना सिर्जनालाई हेलेरै, मिसाएरै छाडछन्। अमेजनको ताजा पानीले सागरको नुनिलोलाई अलि कम गरे जस्तै सत्यमोहनको रचना, कर्म तथा चिन्तनले अनेक थरी मूलको पानी मिसिएको नेपाली साहित्यिक सांस्कृतिक सागरमा राष्ट्रिय चिन्तनयुक्त ताजा जलद मिसिएको कुरामा द्विविधा छैन।

प्राज्ञ तथा एक्टिभिस्ट सत्यमोहनको गुनिलो पक्ष सयमा नब्बे माथि छ। मञ्जुश्री र बोधिसत्त्व देख्न भोग्न नपाउने तर कथा मात्र सुन्ने मित्रजनले तिनको बिम्ब सत्यमोहनहरूकै चिन्तन, कार्य र अथकानमा देख्ने हो।

हामी सयौँ वर्षको क्रियाशील जीवन सत्यमोहनसँग नै अपेक्षा गर्न सक्छौँ।

(‘शब्द–संयोजन’ मासिकको सत्यमोहन जोशी विशेषांक (२०६९) बाट साभार)

००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved