पुस्तक–विमर्श

मध्यपहाडलाई बुझ्ने आधार

मूलतः मध्यपहाडी भूभागमा हिउँ पर्ने बेला थालिएको यो यात्रा सहज भने थिएन। माघ १५ देखि फागुन १५ सम्म मध्यपहाडी भेगमा हिउँ बर्सिने समय हो। तर पूर्वको चिवाभञ्ज्याङदेखि बीचका केही भूभाग छाडेर सुदूर पश्चिमस्थित बैतडीको सतबाँझसम्मको यात्रा पूरै हिउँमय रहेको देखिन्छ।

नेपालभ्युज

मध्यपहाडलाई बुझ्ने आधार

राष्ट्रको सर्वोच्च पदमा पुगेपछि अधिकांश राजनीतिज्ञहरूले जनपंक्तिसँगको सम्पर्क र संवादलाई बेवास्ता गरेका कैयाैँ दृष्टान्त छन्। त्यस्ता राजनीतिज्ञहरू जनपंक्तिसँग जोडिनका लागि एउटाबाट अर्को निर्वाचनसम्मको साइत कुर्छन्। यस्ता सवालमा भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली राजनीतिक परिप्रेक्ष्यमा अपवाद देखिन्छन्।

२०७५ सालको हिउँदताका उनी संयोजक रहेको राजनीतिक दल नयाँ शक्तिले थालनी गरेको एक महिने ‘जनसंवाद यात्रा’ नेपाली राजनीतिमा नौलो कदम थियो। निर्माणाधीन चरणमा रहेको मध्यपहाडी लोकमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङदेखि सुदूर पश्चिमको झुलाघाटसम्मको एक महिने यात्रालाई डा. भट्टराईका सहकर्मी गंगा श्रेष्ठले ‘चिवाभञ्ज्याङ–झुलाघाटः मध्यपहाड यात्रा’ मा सविस्तार बयान गरेका छन्।

मध्यपहाडी भूभागका विकासका सम्भावनादेखि ती क्षेत्रमा व्याप्त अनेक समस्याहरू नियाल्ने यो एक अनुपम कृति हो। प्रचुर सम्भावनाले भरिभराउ क्षेत्र हो, मध्यपहाड। पशुपालन, कृषिदेखि पर्यटनको समेत अथाह सम्भावना रहेको मध्यपहाड जहिल्यै राज्यको नजरमा पछि पर्दै आयो। विगतमा सडक सञ्जालसँग टाढै रहेको कारण पनि मध्यपहाडले विकासको दिशामा यथोचित पाइला बढाउन सकेन। पछिल्लो समय भने मध्यपहाडी लोकमार्ग खुलेसँगै सम्भावनाका ढोका उघ्रिँदै गएको देखिन्छ।

मध्यपहाडी लोकमार्गले छोएका स्थलहरूका जनतामा भने द्विविधा देखिन्छ र चिन्ता पनि। खासगरी, घर छेउमै सडक आएकोमा जनतामा खुसी देखिन्छ। तर, सडक निर्माणको क्रममा युगौँदेखि बसोबास गर्दै आएको थातथलोबाट विस्थापित हुनुपर्ने पीडा पनि उत्तिकै छ। सडक निर्माणको क्रममा विस्थापित हुन बाध्य ठाउँ–ठाउँका जनताले डा. भट्टराईसँग आफ्नो पीडा बाँडचुँड गर्छन्। विकाससँगै विनासको तह पनि उकासिने हो कि भन्ने चिन्तामा जनता देखिन्छन्। विकास र विस्थापनको कहर–कथा पुस्तकमा ठाउँ ठाउँमा उल्लेख छन्।

मध्यपहाडी यात्राको मिति तय भएपछि लेखक आफ्ना सहकर्मीहरूसँगै रेकीका निम्ति काठमाडौँदेखि पूर्वतिर लाग्छन्। जनयुद्धकालमा संखुवासभा र तेह्रथुमको इन्चार्जको जिम्मेवारी सम्हालेका उनी पूर्वदिप्तीतिर फर्किन्छन्। लेखेका छन्, ‘साँच्चै एकदिन जनमुक्ति सेनाका साथीहरू मलाई खोज्दै म बसेको घरमा आइपुगेको थाहा पाएँ। उता रोल्पामा बाबुरामलाई बन्धक बनाइसकेका थिए। संकेत राम्रो थिएन। तत्कालै पहल नलिने हो भने मारिन पनि सक्छु जस्तो लाग्यो। दिल्लीमा रहेका प्रचण्ड–बाबुरामलाई संखुवासभाको ओखरबोटेमा रहेको एक मात्र लेनफोनबाट सबै घटना बताएँ। त्यसपछि भोलिपल्ट नै म पनि दिल्ली हिँडेँ।’

उनी जुन–जुन ठाउँमा पुग्छन्, युद्धकालीन समयका वीभत्स घटनालाई स्मरण गर्न छाड्दैनन्। तेह्रथुमको संक्रान्ती बजारमा पुग्दा उनी २०६० सालमा आफू बास बसेको घर नजिकै कुकर बम पड्केकाे र एउटी किशोरीको मृत्यु भएको प्रसङ्ग कोट्याउँदै लेख्छन्, ‘युद्ध कति निर्मम हुन्छ ? सानातिना असावधानीले कत्राकत्रा विपत्तिहरू लिएर आउँछ। भोगेकाहरूलाई मात्र थाहा हुन्छ यस्तो कुरा। आजकल कतिपय मान्छेहरू गणतन्त्र ख्याल ख्यालमा आएजस्तो सोच्छन्। ज्ञानेन्द्रले सत्ता खुरुक्क त्यत्तिकै छाडिदिएजस्तो सम्झन्छन्। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका लागि कति धेरै त्याग, तपस्या, बलिदान गर्नुपरेको थियो भन्ने कुरा बिर्सन्छन्।’

डा. भट्टराई नेतृत्वको टोलीसँगै उनी मध्यपहाडी क्षेत्रका जुन–जुन गाउँबस्तीमा पुग्छन्, त्यहाँका प्रबुद्ध व्यक्तिहरूलाई स्मरण गर्छन्। जस्तै: तेह्रथुमको साँव्लामा पुग्दा डा. अभि सुवेदी, भोजपुरको पौवादुङ्मा पुग्दा अन्तर्राष्ट्रिय धावक मीरा राई, आठराईमा पुग्दा कवयित्री बालिका थपलिया। त्यस्तै, उनी जुन ठाउँमा पुग्छन्, त्यो ठाउँको नाम के कसरी रहन पुग्यो भन्नेमा खुल्दुली लिन्छन् र स्थानीयहरूसँग सोधपुछ गर्छन्।
विगतमा संविधानसभाको सदस्य रहँदा श्रेष्ठले आफ्नो गृह जिल्ला सिन्धुलीको विकासका निम्ति गरेका पहलहरूबारे पनि उल्लेख गरेका छन्।

खासगरी, मध्यपहाडी लोकमार्ग सिन्धुली हुँदै लैजानमा आफ्नो भूमिका रहेकोप्रति यिनै शब्दसहित उनमा गर्वबोध झल्किन्छ, ‘बाबुराम भट्टराई अर्थमन्त्री छँदा २०६४–०६५ को बजेटमा यस मार्गको औपचारिक नामकरण भयो। यो बाटो नाम मध्यपहाडी लोकमार्ग नराख्दै बाटो सिन्धुलीबाट लाने कि रामेछापबाट भन्ने ठुलो बहस भयो। हामी सिन्धुलीका विधायकहरू सिन्धुलीबाट लैजानुपर्छ भनेर अड्डी कस्यौँ, रामेछापका विधायकहरू पनि आफ्नै जिल्लाबाट लानुपर्छ भनेर अड्डी कस्ने नै भए। केही समय खुब रस्साकस्सी चल्यो। पछि सिन्धुलीबाटै लैजाने निर्णय भयो।’

कतिपय ठाउँमा पुग्दा स्थानीय चलन र परम्पराले अप्ठेरो परेको प्रसङ्ग पनि छन्। त्यस्तै समस्या आइपर्छ, पूर्वी रुकुमको लुकुम गाउँमा पुग्दा। त्यो गाउँमा पाहुनाहरू पुग्दा मुख्य पाहुनालाई बोका मार हान्न लगाउने चलन रहेछ। जनसंवाद यात्राका संयोजक डा. भट्टराईसामु पनि त्यस्तै प्रस्ताव आइपुग्छ। श्रेष्ठ लेख्छन्, ‘तल आँगनमा मार हान्न ढिला भयो भनेर हल्लाखल्ला गर्दै थिए गाउँलेहरू। मार्शलजीलाई लिएर डा. भट्टराईकहाँ गएँ म। उहाँलाई अघि भनेकै कुरा दोहोर्‍याउनुभयो। डा. भट्टराईले आजसम्म आफूले मारकाट नगरेको कुरा गर्नुभयो। मतिर पुलुक्क हेर्नुभयो। मैले पनि नाइँ भनेँ। किनकि मैले पनि आजसम्म जीवनमा कुखुराको चल्लोसम्म पनि काटेको थिइनँ। नजिकै बसेको रमेशजीले म मार हान्छु भनेर तम्सनुभयो।’

मूलतः मध्यपहाडी भूभागमा हिउँ पर्ने बेला थालिएको यो यात्रा सहज भने थिएन। माघ १५ देखि फागुन १५ सम्म मध्यपहाडी भेगमा हिउँ बर्सिने समय हो। तर पूर्वको चिवाभञ्ज्याङदेखि बीचका केही भूभाग छाडेर सुदूर पश्चिमस्थित बैतडीको सतबाँझसम्मको यात्रा पूरै हिउँमय रहेको देखिन्छ।

यो पुस्तक सर्सर्ती हेर्दा यात्रा–वृत्तान्तजस्तो लागे पनि नेपालको एक महत्त्वपूर्ण भूभागको राजनीतिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थितिको गहन अवलोकन गर्ने माध्यम बन्न पुगेको छ। अर्को महत्त्वपूर्ण र उपलब्धिपूर्ण पक्ष त २०७५ सालमा एकाध वर्षअघि मात्रै जन्मिएको नयाँ शक्तिले आफ्नो राजनीतिक अभियानका क्रममा मध्यपहाडी भेगका ५० हजारसँग संवाद गर्न पायो। २८ जिल्लाका १ सय ४४ स्थानमा कार्यक्रम गर्न भ्यायो। राजनीतिक शक्तिहरू जनपंक्तिबाट आकाश बेलीझैँ विच्छेद छन् भन्ने पछिल्लो अवधि मौलाउँदै गएको भाष्यलाई मेट्न धेरै हदले सघाउ पुर्‍यायो। यो अरू बेला सत्ताको छिनाझप्टीमा डुबेर बस्ने र चुनावको बेलामा मात्र जागरूक बन्ने अरू राजनीतिक दलहरूले पनि सिक्नुपर्ने पाठ हो।

अर्को पक्ष, हामीकहाँ कुनै राजनीतिक, सामाजिक वा सांस्कृतिक अभियानलाई अभिलेखीकरण गर्ने परम्परा प्रायः शून्य नै छ। अभिलेखीकरण गरे पनि सामान्य रूपमा मात्रै गर्ने चलन छ। तर श्रेष्ठको यो कृतिबाट तत्कालीन समयको राजनीतिक दल नयाँ शक्तिको एउटा अभियानलाई अभिलेखीकरण गरेर सुरक्षित राख्ने प्रयत्न भएको छ। यो हिसाबले लेखकले स्तुत्य कार्य गरेको मान्नुपर्छ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved