प्रिय कथा 

ऊहापोहबाट अलग एउटा मान्छे

सोही अनुसार आफूलाई लिन आएको प्रहरी भ्यानमा चढेर म ठानाका हाकिमको कोठाभित्र पसेको मात्र थिएँ, त्यहाँ त ठूलै गलफत्ती पो भइरहेको देखेँ। इन्स्पेक्टर छेउमै बसिरहेको एउटा बन्दीजस्तो लाग्ने नौजवान केटोसँग ठूलै आवाजमा रस्साकस्सी गर्दै थिए, ‘के हो भाइ ? पुलिस स्टेशनमा त्यही पनि गल्ती गरेर आएपछि यत्रो फूर्ति ?’

ऊहापोहबाट अलग एउटा मान्छे

(रचनागर्भ– प्रस्तुत कथा विदेसिएका एकजना इमानदार र कर्मठ नेपालीको व्यथाको कथा हो। विदेशमा बस्दा विभिन्न कारणवस देश छाड्नुपर्ने अवस्था भोगेका धेरै नेपालीहरूसँग भेटघाट हुने गर्छ। खासगरी राजदूतावासमा कार्यरत हुँदा त केही सक्कली र धेरै नक्कली जीवनकथा सुन्न पाइन्छ। प्रस्तुत कथा म आफू कार्यरत देशमै बस्दा सुनेको तर मैले कथामा छोटो समयका लागि अनुसन्धान कार्यमा गएका पात्रलाई ठड्याएको छु। उनले भेटेका हिक्मतबहादुर भने बेग्लै नामका कुनै परिचित व्यक्ति हुन्। देशमा भएको राजनीतिक परिवर्तनपछि कसरी हाम्रो समाज, खासगरी राजनीतिमा कस्ता कस्ता व्यक्ति पनि हाबी भएका छन् भन्ने सन्देश दिन र पीडित पात्र कसरी बाध्य भएर विदेसिएका छन् भन्न खोजिएको हो। यो स्थिति तपाईँ–हामीले भोगेको र देखेको हुनसक्छ। मेरा धेरै कथाहरू खासगरी विदेशी परिवेश र नेपाली (प्रवासी) हरूको जीवन र भोगाइमा आधारित छन्।)

मेरो नयाँ सरकारी जागिर थियो। आफ्नो कामको क्षेत्र र ‘नयाँ मुल्ला’ को स्थिति भएकाले छिमेकी मुलुक र देशको सीमानाको छेउछाउ नाघ्ने सौभाग्य हुन्नथ्यो मलाई। शुरुका दिनमा कहिले वरिष्ठ सहकर्मीले फकाउँदै त कहिले हाकिमले माया देखाउँदै भन्ने गर्थे, ‘काम सिक्ने बेला यही हो, दुई दिन सीमाको बैठकमा गएर आउनु धेरै कुरा थाहा हुन्छ ! बस्ने खाने ठाउँ सिडियोले मिलाइहाल्छन् !’ यस्तै कुनै काम लिएर म त्यतिबेला देशको पूर्वी सीमानाको एउटा जिल्ला पुगेको थिएँ।

बैठक कुनै कारणबश सरिसकेको रहेछ। तर अघिल्लो दिन विदा परेकोले बैठक सरेको खबर मसम्म पुगेको थिएन। यसरी अप्रत्याशित रूपमा पुग्दा म शायद त्यहाँ बिचल्लीमा पनि पर्न सक्थेँ होला, तर संयोगवश म जस्तै खबर नपाएका तर उतै जन्मघर भएका अर्का एक सहभागी पनि एउटै हवाईजहाजमा रहेछन्। एकछिनको भलाकुसारीपछि उनले बैठकको सबै संयोजन कार्यमा संलग्न स्थानीय एक प्रहरी इन्स्पेक्टरसँग मलाई मद्दत गर्न अनुरोध गरेर आफ्नो बाटो लागेका थिए।

सोही अनुसार आफूलाई लिन आएको प्रहरी भ्यानमा चढेर म ठानाका हाकिमको कोठाभित्र पसेको मात्र थिएँ, त्यहाँ त ठूलै गलफत्ती पो भइरहेको देखेँ। इन्स्पेक्टर छेउमै बसिरहेको एउटा बन्दीजस्तो लाग्ने नौजवान केटोसँग ठूलै आवाजमा रस्साकस्सी गर्दै थिए,
‘के हो भाइ ? पुलिस स्टेशनमा त्यही पनि गल्ती गरेर आएपछि यत्रो फूर्ति ?’

‘तँलाई सिद्ध्याइदिन्छु म, यहाँबाट त बाहिर निस्कूँ न !’ दुई जना हट्ठाकठ्ठा प्रहरी जवानले अँठ्याइरहेको भए पनि बल लगाएर फुत्कन खोजिरहेको नौजवान लगातार फिल्मी जस्तो लाग्ने मुद्रामा एउटै रट लगाइरहेको थियो। अर्कोतिर कुर्सीमा उपरखुट्टी लगाएर पुरै आत्मविश्वासका साथ ठानाका हाकिम कुर्लँदै थिए।

‘के नाप्छस् तैँले ? हिक्मतबहादुर सिंह हुँ म ! कस्ता कस्तालाई त तह लगाएँ, तँ नाथे टोले गुन्डा कुन ड्याङको मुला होस् र ! तेरो धम्कीले गल्ने पुलिस होइन म, बुझिस् ? तँ जस्तालाई तह लाउन मैले पनि धेरै तरकीब जान्या’छु। लैजाओ यसलाई, म अब यसका कुरा सुन्दिन !’ हातको डण्डा घुमाउँदै उनी भन्दै थिए।

सामान्य भलाकुसारीपछि हिक्मतबहादुरले बैठक सरेको खबर नपुग्नुमा आफ्नो दोष भएको भन्दै क्षमायाचना पनि गरे। पहिलोपल्ट भेटेको भए पनि हिक्मतबहादुरसँग म अत्यन्तै प्रभावित भएको थिएँ। दिउँसोको खाना पनि उनकै क्वार्टरमा खाएर उनको सौजन्यतामा मिलेको हवाईजहाजको सिटमा म साँझमा काठमाडौँ उडेँ। त्यो दिनपछि हाम्रो अलिअलि हिमचिम पनि बढ्यो। उनी काठमाडौँ आउँदा भेटघाट र गफगाफ हुन्थ्यो र यदाकदा जमघट पनि !

प्रहरी इन्स्पेक्टरको रूपमा हिक्मतबहादुर सिंह निडर, इमानदार र निष्कलङ्क थिए। फोर्समा पनि उनी निकै सख्त, आफ्नो मर्यादाको ख्याल राख्ने र सहयोगी अफिसरको रूपमा चिनिन्थे र उनको पोस्टिङ प्रायः चुनौतीपूर्ण स्टेशनतिर मात्र हुने गथ्र्याे। आफ्नै बलबुतामा उनले धेरै महत्त्वपूर्ण व्यावसायिक तालीम पनि लिइसकेका थिए। अर्कोतिर रोहित त्यो ठाउँको कहलिएको नामुद गुन्डा र सरकारी संरक्षण र राजनीतिक पहुँच भएको सानोतिनो चवन्नी नेता थियो। यस बाहेक आफ्नो कार्यक्षेत्र सीमानामा भएकोले सुरक्षा व्यवस्थापन गर्नु निकै कठिन काम थियो हिक्मतबहादुरका लागि। त्यसमा पनि रोहित जस्ता मान्छेलाई सुधार्नु भनेको अर्को फलामको च्युरा चपाउनु नै थियो। तैपनि उनले १२-१३ महिनादेखि साँझ–बिहान नभनी पुरै खटिएर आफ्नो जिम्मेवारी पूरा गरेका थिए र आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध थिए।

उनलाई त्यो दिनको राम्रै सम्झना थियो, जब रोहितले आफू रङ्गेहात पक्डिएपछि पहिले अप्रत्यक्ष अनि प्रत्यक्ष रूपमा उनको सरुवा अन्यत्र गराइदिने धम्की समेत दिएको थियो। जसरी भए पनि उनलाई लखेटेर त्यो जिल्लामा आफ्नो गुण्डागर्दी र मनोमानीलाई निरन्तरता दिने उसको उद्देश्य थियो।

यत्तिकैमा नहुनुपर्ने कुरा भयो, त्यो दिन र अरू दुई दिन पनि हिक्मतबहादुरले जसोतसो रोहितलाई खोरमा नै जिप्ट्याए, तर त्यसपछि परिस्थिति बदलिएर अर्कै रूप लियो। रोहित उनलाई  औँला ठड्याएर मात्र गएन, ऊ निस्केको पाँच–छ महिनामा नै उनको एउटा दुर्गम पहाडी जिल्लामा सरुवा पनि भयो, धन्न जागिर चाहिँ जोगियो।

त्यति मात्र होइन ‘चुनावका बेला राम्रो शान्ति सुरक्षाको व्यवस्था गर्नै नसकेको’, ‘सीमापारीबाट हुने अवैध धन्दा रोक्न नसकेको’ र ‘आफूलाई मन नपर्ने जोसुकैलाई पनि कानुन बाहिर गई यातना दिने गरेको’ जस्ता मिथ्या आरोप पनि लागे।

वर्ष बित्दै गए, समय समयमा सहकर्मी साथीहरूको बढुवा हुन्थ्यो, हिक्मतबहादुरको नाम पछाडि भने उही पुरानै झुटो आरोपको दाग छँदै थियो, उनी झन् पछाडि धकेलिइन्थे र अनि अरू नयाँ नयाँ सहकर्मी आउँथे। केही वर्षपछि उनको सङ्गठन नवागुन्तकले भरिएपछि त सबैले हिक्मतबहादुर भन्नासाथ उही पुरानो र क्यरिअरमा दाग लागेको हिक्मतबहादुर भनेर मात्र चिन्ने भए। यसै गरी २० वर्ष बिताएपछि पेन्सन लिएर हिक्मतबहादुरले जागिर छोडे। छोराछोरीले राम्रै पढेकाले कुँढिएको र आक्रोशित मन लिएर हिक्मतबहादुर उनीहरूकै पछि लागेर विदेसिए।
वास्तवमा हिक्मतबहादुरले विरक्तिएरै देश छाडेका थिए।

यस पटकको घुमाइमा मेरो गन्तव्य हिक्मतबहादुर बसेको देश र राज्य पनि परेकोले म उनको ठेगाना बटुलेर त्यहाँ पुगेको थिएँ। मैले उनमा खास केही फरक देखिनँ, पहिलेजस्तै कडक र हक्की ! जिन्दगीको ऊहापोहले पटक्कै असर नगरे जस्तो ! पहिले अपराधीहरूलाई हकारे झैँ अहिले परिवारका सदस्यको सातो खाँदा रहेछन्। दुई महिनाको बसाइँमा अनुकूल मिलाएर म उनीकहाँ पस्ने गर्थेँ।

उनी अर्थात् हिक्मतबहादुर अहिले आफ्नो जन्मथलोबाट टाढा छन्, आफ्ना बाल्यकाल र कार्यक्षेत्रका हितैषीबाट टाढा छन्, हिमाल र पाखा पखेराबाट टाढा तर जहाँ छन् त्यहाँ सुखी र खुसी नै छन्। त्यति भएर पनि उनले आफ्नो जन्मथलो बिर्सेका छैनन्, ती हिमाल, हरिया र नाङ्गा डाँडा काँडा, ती पहेँलै फुलेका फाँट, मठ मन्दिरका भिडभाड र जुनसुकै बेला चोला बदल्न सक्ने ती मान्छेहरूको झुण्ड पनि बिर्सन सकेका छैनन्।

तर केही दशक अगाडि एउटा स्थानीय देखिए पनि राष्ट्रिय स्तरको हाई प्रोफाइल गुण्डालाई कारबाही गर्ने क्रममा थानाको प्रहरी जवानले उसलाई घिचाउँदै लैजाँदा आफूले बोलेका शब्द हिक्मतबहादुरका कानमा अझै बज्रिरहने गर्छन्। उनको छोराले भने अनुसार, सेवानिवृत्त र वृद्धावस्थामा पुगिसकेका उनी पुराना कुरा सम्झेर एक्लै घोत्लिँदा प्रायः यस्तै घटनाको पूर्वस्मृतिमा हराइरहेका हुन्छन् ! उनी दिनको एकपल्ट भए पनि नातिनातिनालाई फकाएर नेपालको खबर सुन्ने गर्छन्, अनि आफैँ हाँस्छन्, रिसाउँछन्, मुख चेप्य्राउँछन्।

आज टेलिभिजनको पर्दामा कुर्लिरहेको उही रोहितकुमारको अनुहार हेर्दा हिक्मतबहादुर केही विचलित हुन्छन्। त्यो दिन त्यस्तै भएका थिए, उनलाई आफ्नो जन्मथलोको चिन्ताले सताएको थियो। त्यसैले उनले रोहितको आवाज सुन्नुपर्ला भनेर टेलिभिजन नै बन्द गरिदिए। उनी पुरानै आरोप सम्झेर आफ्नो भाग्यलाई कोसिरहेका थिए भने उनको अपराधी रोहितको सामाजिक चिनारी अर्कै भइसकेको थियो। उनको प्रतिक्रियामा  म पल्लो सोफामा बसेर हेरेको हेर्‍याै भएँ। एक छिन अघि मात्र कामबाट फर्केर हामीसँग बात मार्ने सुरमा त्यहाँ सोफामा टुसुक्क बस्न आएको उनको छोरालाई शायद चित्त बुझेन,

‘किन सधैँ ती पुराना दिन सम्झेर आफैँलाई मर्माहत र विचलित बनाउनुहुन्छ बुबा ? हामी यता आएकै बिस वर्ष हुन लागिसक्यो ! अब त बिर्सिदिनोस् !’ उनको छोरो पछाडिबाट भन्दै थियो।

हिक्मतबहादुरले पछाडि उभिएको छोरालाई पुलुक्क हेरेर मलाई ‘म एकै छिनमा आएँ है बाबु’ भन्दै उनी बिस्तारै आफ्नो कोठातिर लागे। जाने बेला उनी एक्लै बड्बडाउँदै थिए, ‘यिनीहरूलाई मेरो मनको वह थाहै छैन ! त्यसैले पनि मलाई फर्कन मनै लाग्दैन !’

म धेरै बेर हिक्मतबहादुरको छोरासँग यताउतिका कुरा गरेर बसेँ, तर उनी नआएपछि प्रिजेन्टेसन गर्नुपर्ने पेपरमा केही समय काम गर्नुपर्ने बहाना बनाउँदै म निक्लिएँ। उनको नियति सम्झँदा मलाई पनि दिक्क लाग्यो। तर के गर्नु आफ्नो देश यसैगरी चलिराखेको छ भन्ने सोच्दै रहँदा स्टेसन पो पुगिसकेको रहेछु !
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved