प्रिय पात्र

सुम्निमा- बिर्सन नसकिने पात्र

वास्तवमा सुम्निमा उपन्यास कुनै दुई पात्रको कथा मात्र नभएर दुई बेग्लाबेग्लै जाति, विचार र दर्शनको द्वन्द्वको कथा हो । यसमा सोमदत्त आर्यवंशी ब्राह्मणको पुत्र मात्र होइनन्, उनी ब्राह्मण जाति, विचार र दर्शनका प्रतिनिधि पात्र हुन् भने सुम्निमा पनि किरातकी सुपुत्री मात्र होइनन्, किरात जाति, विचार र दर्शनका प्रतिनिधि पात्र हुन् ।

सुम्निमा- बिर्सन नसकिने पात्र

नेपाली उपन्यास विधाका थुप्रै कृतिहरू पढ्ने सुअवसर प्राप्त गरेको छु र ती पात्रहरूले मलाई प्रभावित पनि पारेका छन् । वास्तवमा पात्र जब पात्रमा मात्र सीमित नभएर एउटा जिउँदो जाग्दो यथार्थ चरित्रमा रूपान्तरित हुन्छ, त्यसले पाठकको मन र मस्तिष्कलाई सधैँभरि झकझकाइरहन्छ ।

विजय मल्लको अनुराधा उपन्यासकी अनुराधा, गोविन्दबहादुर मल्ल ‘गोठाले’को पल्लो घरको झ्यालकी मिसरी, पारिजातको शिरीषको फूलकी सकमबरी, ध.च. गोतामेको घामका पाइलाहरूका अमलेन्दु भट्टाचार्य आदि केही यस्तै पात्र हुन् । तर यसको अर्थ सम्झनयोग्य पात्र यत्ति नै हुन् भन्नेचाहिँ होइन । अहिले सम्झनामा आएका केही प्रतिनिधि पात्र भने निश्चय नै हुन् । यिनै पात्रहरूसँगै मैले कहिल्यै नबिर्सने पात्र हो – ‘सुम्निमा’ । अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमाकी प्रमुख पात्र !

सुम्निमा उपन्यास वि.सं. २०२७ मा प्रकाशित भएको कृति हो । यस हिसाबले यो कृति प्रकाशित भएको पनि ५० वर्ष नाघिसकेको छ । मैले यो उपन्यास पहिलो पटक पढेको पनि ४० वर्ष नाघिसकेको छ । तर यति लामो समय बितिसक्दा पनि सुम्निमाको चरित्रलाई म सम्झिरहन्छु । कुनै पनि कृतिलाई अमर बनाउने पनि यही र यस्तै सम्झना त हुन् नि ! मलाई लाग्छ, यसको प्रभाव मृत्युपर्यन्त रहिरहन्छ ।

तर यति लामो समय बितिसक्दा पनि सुम्निमाको चरित्रलाई म सम्झिरहन्छु । कुनै पनि कृतिलाई अमर बनाउने पनि यही र यस्तै सम्झना त हुन् नि ! मलाई लाग्छ, यसको प्रभाव मृत्युपर्यन्त रहिरहन्छ ।

उपन्यासमा सुम्निमा एउटी सामान्य नारी पात्रको रूपमा मात्र प्रस्तुत भएको मलाई लाग्दैन । ब्राह्मणवादी सोचको वर्चस्व भएको समाजमा सुम्निमा एक बेग्लै चेतनाको प्रतिविम्बको रूपमा उपन्यासमा प्रस्तुत भएकी छन् । उनको रूप र बोलीवचनमात्र होइन, उनले प्रकट गरेका तार्किक विचार र धारणाहरूले उनलाई नेपाली साहित्यको कहिल्यै नबिर्सने पात्रको रूपमा प्रतिष्ठापित गरिदिएको छ ।

वास्तवमा सुम्निमा उपन्यास कुनै दुई पात्रको कथा मात्र नभएर दुई बेग्लाबेग्लै जाति, विचार र दर्शनको द्वन्द्वको कथा हो । यसमा सोमदत्त आर्यवंशी ब्राह्मणको पुत्र मात्र होइनन्, उनी ब्राह्मण जाति, विचार र दर्शनका प्रतिनिधि पात्र हुन् भने सुम्निमा पनि किरातकी सुपुत्री मात्र होइनन्, किरात जाति, विचार र दर्शनका प्रतिनिधि पात्र हुन् ।

उपन्यासमा जब पहिलो पटक सोमदत्त र सुम्निमाको भेट हुन्छ, त्यही समयदेखि नै सुन्नीमाको ‘बोल्ड’ चरित्रसँग पाठकको साक्षात्कार हुन थाल्छ । सुम्निमा र सोमदत्तबीचको पहिलो पटकको वार्तालाप यस्तो छ –

…सोमदत्तको निद्रा भङ्ग भयो । देख्छ त उसका सामु गुभाजस्तो पहेँलो शरीर भएको एउटी सर्वाङ्ग नग्न बालिका चकित भएर उभिएकी छ ।
एक छिन पछि सोमदत्तले प्रश्न गर्यो‍, “हे कनकवदनी बालिका ! तिमी को हौ ?”

बालिकाले निश्छल उत्तर दिई, “म किराती छोरी हूँ– सुम्निमा ! तिमी को हौ नि, ए दुब्ला केटा ?”

सोमदत्तले भन्यो, “म आर्यवंशी ब्राह्मण सूर्यदत्तको पुत्र सोमदत्त हूँ ।” (पृ. ८)

पहिलो उत्तरसँगै सुम्निमाले गरेको प्रश्नमा उल्लिखित ‘दुब्ला केटा’ शब्दले पनि उनमा रहेको ‘बोल्डनेस’को परिचय पाठकलाई हुन्छ र यो क्रम उपन्यासको कथावस्तु सँगसँगै उत्तिकै सशक्त ढङ्गमा क्रमिक रूपमा अघि बढ्छ । सुन्नीमाले सोमदत्तको मस्तिष्कमा ‘बाबु त आमाले देखाइदिएको लोग्ने मानिस पो हो त ।’ भन्ने विचार रोपिदिएको र सोमदत्तले यसको जवाफ पिताबाट खोजेको देखिन्छ ।

यस उपन्यासलाई अर्को दृष्टिकोणबाट हेर्दा, सोमदत्तलाई एक आदर्शवादी र सुन्नीमालाई एक व्यवहारवादी चरित्रको प्रतिनिधिका रूपमा पनि लिन सकिन्छ । सुम्निमा यतिसम्म व्यावहारिक छे कि सोमदत्त रिसाएकोमा ऊ क्षमासमेत माग्छे । उपन्यासभरि सुन्नीमाका माध्यमबाट व्यक्त विचार मानव जीवनका लागि एक प्रकारले मार्गदर्शकको रूपमा लिन सकिन्छ । सुन्नीमाका मुखबाट व्यक्त भएका केही विचारहरू यसका उदाहरण हुन् ः
मान्छे भएर द्यौता हुन खोज्नु असल हैन ।… द्यौता भएर बस्न खोज्दा मान्छे मान्छे नै हुँदैन । (पृ. १०)

तिम्रा धर्मका पोस्तक पुराणले ठिक ठहराएको महाभारतचाहिँ साँँच्चैको हिंसा हो । (पृ. २३)
दुई छुट्टाछुट्टै दर्शन, विचार र संस्कृति बोकेका जातिको प्रतिनिधित्व गर्दै सुम्निमा र सोमदत्तका माध्यमबाट एउटा विशिष्ट कथा यस उपन्यासमा प्रस्तुत भएको छ र यसका पात्रहरूमा विचार, तार्किकता, निश्छलता आदि सबै दृष्टिबाट सुम्निमा प्रभावशाली छिन् ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved