साम्ब ढकालका दुई कविता

ओडारमा नफर्कन ओडारबाट निस्केका हैनन् जयपति
ओडारको विकल्पमा ओडारमात्र जयपतिको भागमा परेको छ
सरकारी ओडारको भर नहुँदा आफ्नै ओडारमा फर्केका जयपति
जयपतिका लागि अब कुनै ओडारको आवश्यकता छैन
जयपतिलाई अब कुनै ओडार चाहिएको छैन ।

नेपालभ्युज

साम्ब ढकालका दुई कविता

ओडार

 

जयपति ओडारमा जन्मे
ओडारमै मरे ।

जयपतिको पुस्ता दरपुस्ताको बास किन ओडारमा कसैले सोधेन
खाइस् कि खाइनस् त्यो पनि कसैले सोधेन
जयपतिको सरकारभन्दा ओडारप्रति निक्कै विश्वास थियो
जयपतिको ओडार धर्ती र आकाश थियो ।

सरकारले बाँडेको कुनै सहयोग जयपतिले लिन मानेनन्
खोस्री रहे पाखा पखेरो / ढुड्यान / गेग्र्यान
खोजी रहे गिठा भ्याकुरका गाँठाहरू
ओडारभन्दा निकम्मा लाग्यो जयपतिलाई सरकारका सुख सुविधा
सरकारलाई जयपतिले गरिब छ भनिरहे
ओडारबाट सरकारको नाडी छामी रहे ।

ओडारभन्दा नजिक जयपतिको केही भएन
ओडारभन्दा टाढा सरकारलाई केही लागेन
जयपतिको आँखाबाट आँसु झरिरहँदा
देशले थापिरह्यो योजना आयोगको फाइलको कचौरामा
मात लाग्ने गरी पियो तनतनी ।

जयपतिको आँसुको मात लागेर सरकार लड्खडाएको छ
कतै केही देख्दैन न ओडारै देख्छ
न देख्छ जयपतिलाई ।

जयपतिको अनुहारको मुजा बेच्न देश देशावर डुल्छ सरकार
फर्केर आउँदा जयपतिलाई बिर्सिसक्छ ।

जयपतिका नाममा सत्ताको भर्‍याङ चढ्नेहरूले खुब बेचे सपनाहरू
जयपतिको ओडार हरेक चुनावमा फेरिने कसम बन्छ
चुनावपछि ओडारको सिरिखुरी जयपतिको भागमा पर्छ
ओडारभन्दा पर अर्को देश छैन
धर्तीभन्दा अर्को माटो छैन ।

ओडारमा नफर्कन ओडारबाट निस्केका हैनन् जयपति
ओडारको विकल्पमा ओडारमात्र जयपतिको भागमा परेको छ
सरकारी ओडारको भर नहुँदा आफ्नै ओडारमा फर्केका जयपति
जयपतिका लागि अब कुनै ओडारको आवश्यकता छैन
जयपतिलाई अब कुनै ओडार चाहिएको छैन ।

(मकवानपुरको भार्ता गाविसका १०५ वर्षे जयपति प्रजा ज्येष्ठ चेपाङ् हुन् । उनको ओडारमै मृत्यु भयो । सरकारी भत्ता नलिने अडान राखेर चर्चामा आएका उनले पारिवारिक दबाबमा पछि लिए रे ! )

 

जेब्राक्रसमा ज्यामी

बुद्धचोकको पश्चिम पट्टि
ट्राफिकको रङ उड्न लागेको जेब्राक्रस छ ।

जीवनका धेरैभन्दा धेरै जेब्राक्रसमा
अल्झिँदै अल्झिँदै देहातबाट आएको एउटा ज्यामी
जेब्राक्रसमा उभिएर यताउता हेरिरहेछ ।

हात र काँधभरि ज्यावलले लदावदी छ
पाइतालाले बेटुङ्गे यात्रामा निस्केको फेहरिस्त बोकेको छ
स्वास्नी र छोरीहरूको आँसुले नरोकेका
उसका पाइला यहीँ आएर टक्क अडेको छ ।

ऊ घरबाट हिँड्दा भविष्यलाई भवितव्यमा पारेर निस्केको हो
कुनै साइतहरूले घाँटीमा उसलाई फूलमाला हाल्न भ्याएको थिएन
झिसमिसे उसको साइत र स्वास्नीको स्मीत मुस्कानको सगुन निलेर फुत्त निस्केको ऊ
कहाँको यहाँ आएर जेब्राक्रसमा पो अल्झेको छ ।

खुट्टाहरूमा हठात् यात्रा रोकिएको छ
चौराह आफैँ चारैतिर हतारमा दौडेको दौड्यै छ
ज्यामी निधारबाट बगेको पसिनालाई गम्छामा पोको पार्छ
मोटरहरूका हर्नले झसङ्ग ज्यामी जेब्राक्रसको उसपार पुग्छ एकैपटक ।

हतारमा दौडँदा चप्पलको फित्ता पनि चुँडिएछ
जेब्राक्रसमा रोकिएको जिन्दगीको एउटा रेस
चप्पलको फित्तामा एक छिन रङ्मगिएपछि खुइ्य……लामो श्वास तान्दै
सडकपेटीमा सुस्ताउन थाल्छ……।

जेब्राक्रसबाट उम्किएको ज्यामी
ज्याबलहरू सम्हाल्दै कामको खोजीमा
आटव्य सहरभित्र छिरेको छ ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved