कांग्रेसका पाहुना उम्मेदवार जसले आफैलाई भोट दिन पाउँदैनन्

नेपालभ्युज

कांग्रेसका पाहुना उम्मेदवार जसले आफैलाई भोट दिन पाउँदैनन्

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका केहीले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बन्दा उनीहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

उनीहरुले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन् । कांग्रेस संस्थापन इतरका नेता शेखर कोइरालाले पनि आफुलाई मत दिन नपाउने भएका छन् ।

उनी मोरङ ४ का मतदाता हुन् । तर उम्मेदवारी मोरङ ६ बाट दिएका छन् । यस्तै झापा ३ बाट उम्मेदवारी दिएका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला झापा १ का मतदाता हुन् ।

झापा ३ मा राष्ट्रिय राजनीतिका दुई ‘हेबिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । सिटौलासँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चुनावमा उठ्दै छन् । लिङ्देनलाई एमालेको समर्थन छ ।

अर्का नेता वीरबहादुर बलायरले पनि आफुलाई मत हाल्न पाउने छैनन् । डोटीमा मतदाता रहेका बलायर कैलाली ४ मा उठेका छन् ।

नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभापति समेत रहेका बलायरसँग नेकपा एमालेबाट लेखराज भट्ट लड्दैछन् ।

यता कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि आफुलाई मत हाल्न बञ्चित भएकी छन् । मकवानपुर २ की मतदाता रहेकी उनी प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर १ बाट लड्दैछिन् । सत्तागठबन्धनबाट उम्मेदवार बनेकी उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाको चुनौती छ । थापालाई नेकपा एमालेले समर्थन गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आफ्नो क्षेत्र छाडेर उम्मेदवारी दिएका छन् । तनहुँ-२ का मतदाता रहेका पौडेल काठमाडौं-५ बाट उम्मेदवार बनेका छन् । उनको ठाउँमा कांग्रेस नेता शंकर भण्डारीले टिकट पाएका छन् ।

तर, प्रदीपले आफूलाई भोट हाल्न भने पाउने छैनन् । मतदाता नामावली भएका क्षेत्रभन्दा फरक ठाउँमा मत दिन नपाउने व्यवस्थाअनुसार प्रदीपले आफैँलाई मत हाल्न नपाउने भएका हुन् । यस्तै, तनहुँ १ मा मतदाता नामावली रहेका नेता शंकर भण्डारीले तनहुँ-२ मा उम्मेदवारी दिएका छन् । उनले पनि आफूलाई मत दिन पाउने छैनन् ।

यता सिन्धुपाल्चोक २ मा उम्मेदवारी दिएका मोहन बस्नेतले पनि आफैँलाई मत दिन नपाउने भएका छन् । उनको मतदाता नामावली सिन्धुपाल्चोक-१ मा रहेको छ । क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले मोरङ २ मा उम्मेदवारी दिएकी छन् । उनको नाम मतदाता नामावलीमा मोरङ ६ मा छ । उनीसँग एमालेका ऋषिकेश पोखरेल भिड्दै छन् ।

यस्तै कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर गृह जिल्ला बर्दिया छोडेर बाँके ३ बाट चुनाव लड्दै छन्। गृहक्षेत्र बर्दिया २ गठबन्धनमा माओवादी केन्द्रको भाग परेपछि राठौरले बाँके ३ रोजेका हुन्।

उनले पनि बाँकेमा आफुलाई मत दिन पाउने छैनन् । बाँके ३ बाट २०७४ निर्वाचनमा एमालेका नन्दलाल रोकाया निर्वाचित भएका थिए। यसपटक राठौरसँग एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रतिस्पर्धा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved