कांग्रेसका यी नेता जसले चर्चा पाए तर टिकट पाएनन्

विवादास्पद छवि भएका र शीर्ष नेताका नातागोताले सहजै टिकट पाए पनि चर्चामा रहेका र पार्टी संगठनमा खटिइरहेका कतिपयले नपाएपछि असन्तुष्टि देखिनु स्वभाविकै हो । निकै चर्चामा रहेका कतिपय नेताले पनि टिकट पाउन सकेनन् । 

नेपालभ्युज

कांग्रेसका यी नेता जसले चर्चा पाए तर टिकट पाएनन्

काठमाडौं। टिकट वितरणलाई लिएर नेपाली कांग्रेसमा असन्तृष्टि बढेको छ । विवादास्पद छवि भएका र शीर्ष नेताका नातागोताले सहजै टिकट पाए पनि चर्चामा रहेका र पार्टी संगठनमा खटिइरहेका कतिपयले नपाएपछि असन्तुष्टि देखिनु स्वभाविकै हो । निकै चर्चामा रहेका कतिपय नेताले पनि टिकट पाउन सकेनन् ।

स्वर्णिम वाग्ले

टिकट वितरणअघि कांग्रेसमा स्वर्णिम वाग्लेको नाम निकै चर्चामा थियो । अर्थशास्त्री वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस पनि भएको थियो ।

उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए । तर चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ भने काठमाडौं ५ मा प्रदीप पौडेलले पाएका छन् । गगन थापाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन जोडबल पनि गरेका थिए । त्यसका लागि आफू बरु बारा जान समेत तयार रहेको उनले बताए ।

तर, पार्टी सभापति शेरबहादुर देउवाले मानेनन् । उनले आफू निकटका पौडेललाई चितवनमा उम्मेदवार बनाए । वाग्ले कांग्रेस घोषणापत्र मस्यौदा उपसमितिका संयोजक हुन् । अब त्यही भूमिका गतिलोसँग निभाउने उनले बताएका छन् ।

मीनेन्द्र रिजाल

कांग्रेस नेता मीनेन्द्र रिजालले टिकट पाउँदैनन् भन्ने कसैलाई लागेको थिएन । बौद्धिक नेताको छवी बनाएका रिजाल मोरङ-२ बाट निर्वाचन लड्ने तयारीमा थिए । पार्टी महाधिवेशनमा महामन्त्रीमा पराजय भोगेपछि रिजालले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए । उनको राजीनामालाई यो निर्वाचनसँग पनि जोडेर हेरिएको थियो ।

उनले उच्च नौतिकता देखाएको कांग्रेस वृत्तमा चर्चा थियो । तर, योपटक रिजालको ठाउँमा कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको छ। मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको छ । त्यसमा रिजाल भने अटाएनन् ।

गोविन्द राज पोख्रेल

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनर्निर्माण प्रधिकरणका पूर्व सीईओ गोविन्द राज पोख्रेल पनि टिकट वितरणअघि निकै चर्चित थिए । उनी प्युठानबाट चुनाव लड्न चाहन्थे । जहाँ अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवारसँग हारेका थिए ।

तर, सत्ता गठबन्धनले प्युठान राष्ट्रिय जनमोर्चालाई दिने निर्णय गर्‍यो । त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बनेकी छन् । कांग्रेसले टिकट नदिएपछि पोखरेललाई एमालेले स्वतन्त्र उठे समर्थन गर्ने आश्वासन समेत दिएको थियो । तर उनी उम्मेदवार बनेनन् ।

विष्णुप्रसाद लामिछाने

संघमा मात्रै हैन प्रदेशमा पनि चर्चामा रहेका केहीले टिकट पाएनन् । गण्डकी प्रदेशका कांग्रेस महामन्त्री विष्णुप्रसाद लामिछानेले पनि टिकट पाउन सकेनन् । नवलपुर क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा उनको चर्चा थियो । पूर्वी नवलपरासीको पहाडी क्षेत्रबाट उदाएका नेता लामिछाने स्थानीयस्तरमा भिजेका नेता थिए ।

आफ्नै पार्टीमा मात्र होइन अन्य दलका नेता कार्यकर्ताका पनि उनी प्रिय थिए ।  तर गठबन्धनमा भएको भागबण्डाका कारण उनले टिकट पाएनन् । २०७४ को निर्वाचनमा उनी विजयी भएको क्षेत्र यसपटक माओवादीको भागमा पर्‍यो । लामिछाने बाहिर परे ।

अजयबाबु शिवाकोटी

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि टिकट पाउने चर्चामा थिए । प्रेस यूनियनका पूर्व महासचिव समेत रहेका सिवाकोटी तत्कालीन सभामुख कृष्णबहादुर महराको विषयमा समाचार लेखेर चर्चामा आएका थिए । दोलखा ‘ख’ बाट उम्मेदवार हुने भनी निश्चित गरिएका शिवाकोटीलाई टिकट नदिएर जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाइएको छ । दोलखामा प्रतिनिधि सभाको उम्मेदवार भने माओवादी केन्द्रले पाएको छ ।

टिकटको टुङ्गो नलाग्दै शिवाकोटीका समर्थकले चुनावी प्रचार समेत सुरु गरिसकेका थिए । तर नपाएपछि स्तब्ध भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved