कांग्रेसका महिला उम्मेदवार, जो पुरुषको हैकम तोड्न खोज्दैछन्

टिकट पाइहालेपनि जित्न नसक्ने ठाँउमा दिने गरेको महिलाहरूको गुनासो छ । मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले पाँच जना महिलालाई प्रत्यक्षतर्फको टिकट दिएको छ ।

नेपालभ्युज

कांग्रेसका महिला उम्मेदवार, जो पुरुषको हैकम तोड्न खोज्दैछन्

काठमाडौं । राजनीतिमा एउटा लिङ्ग मात्रै समाहित भएर राजनीतिक परिवर्तन सहज हुँदैन । संविधानले ३३ प्रतिशत भन्दा अझ अगाडि गएर समानुपातिक सहभागिताको कुरा गरेको छ ।

यद्यपि राजनीतिक तहमा कम्तीमा ३३ प्रतिशत पार्टी र राज्यको पनि राजनीतिक संरचनामा महिला सहभागिता सुरक्षित गर्ने कुरा संविधानको मौलिक हकमा छ र राजनीतिक पार्टी सम्बन्धी भागमा पनि उल्लेख गरिएको छ । तर राजनीतिक दलहरुले महिलाको प्रतिनिधित्व समानुपातिक प्राणलीबाट खोजिरहेका छन् । प्रत्यक्षमा टिकट लिन महिलालाई महाभारत नै छ ।

टिकट पाइहालेपनि जित्न नसक्ने ठाँउमा दिने गरेको महिलाहरूको गुनासो छ । मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसले पाँच जना महिलालाई प्रत्यक्षतर्फको टिकट दिएको छ । तर ती सबै ठाँउमा महिला महिलाबीच प्रतिस्पर्धा हुनेछैन । सबै महिला नेताका मुख्य प्रतिस्पर्धी पुरुष नै छन् ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले मकवानपुर–१ र केन्द्रीय सदस्य सीता गुरुङले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्  । दुवै नेता ०७४ को निर्वाचनमा तिनै क्षेत्रमा पराजित भएका थिए । डिना उपाध्यायले यो पटक राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाबाट दीपक सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

थापालाई नेकपा एमालेको साथ रहेको छ भने डिना सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन् भने सिंहलाई राप्रपाले उठाएको हो । कांग्रेसबाट प्रतयक्षमा टिकट पाउने भाग्यमानीमध्येकी उपाध्यायलाई यो निर्वाचनपनि त्यति सहज देखिएको छैन । यसअघिका निर्वाचनमा पराजयको इतिहास रचेकी डिना यसपटक पनि दबाबमा छन् ।

मकवानपुरमा डिनाले कम्युनिष्ट नेता विरोध खतिवडासँगै तीनपटक प्रत्यक्ष निर्वाचन हारेकी हुन् । २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट खतिवडासँग पराजित भएकी उपाध्याय २०५१ सालको मध्यावधि निर्वाचनमा पनि र खतिवडासँगै पराजित भएकी हुन् । यो क्रम २०७४ मा पनि रोकिएन र उनी खतिवडासँग नै पराजित बनिन् ।

अहिलेसम्म प्रत्यक्ष चुनाव नजितेकी उनी २०६४ को निर्वाचनमा समानुपातिक कोटाबाट संसद बनेकी थिइन् । तर यो पटक मकवानपुर एक छाडेर उनी क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी छन् ।

थापाको पनि विगत उपाध्यायको जस्तै छ । २०४८ देखि २०७० बाहेक सबै चुनाव लडेका उनले एक पटक मात्र जितेका छन् । २०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्य चुनाव लडेका उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए ।

यस्तै २०५२ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बने । १ मा जितेका उनी ३ मा पराजित भएका थिए । त्यसपछि २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भएका थिए भने २०६४ मा काठमाडौं–५ र मकवानपुर ३ मा चुनाव लडेपनि दुवै क्षेत्रमा हार बेहोर्नु पर्‍यो ।

२०७० मा समानुपातिक पद्धतिमा बसेर संविधानसभा सदस्य बनेका थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थिए, तर कांग्रेसको साथ पनि उनलाई फापेन । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए ।

यता सिंहको इतिहास पनि सुखद छैन । २०५४ सालमा पहिलोपटक मेयरमा चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १२०० मतान्तरमा पराजित भए । २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी विरोध खतिवडासँग पराजित भएका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका सिंह एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भएका थिए । उनी ३० वैशाख २०७९ को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि पराजित भएका थिए ।

सिताको मौका परीक्षा
कांग्रेसले केन्द्रीय सदस्य सीता गुरुङलाई फेरी मौका दिएको छ । २०७४को निर्वाचनमा तेह्रथुमबाट एमालेका उम्मेदवार भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले हारेकी थिइन् । खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गर्दा गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन् ।

खापुङ अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन् । सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले गुरुङलाई उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनको सहयोग रहेकाले यो पटक उनको संसद यात्राको सपना पुरा हुने देखिन्छ । यद्यपि उनले धेरै उम्मेदवारको सामना गर्नुपर्ने छ ।

प्रतिनिधिसभा सदस्य पदकालागि उनी सहित दश जनाको उम्मेदवारी परेको छ । जसमा महिला उम्मेदवार उनीमात्र हुन् । एमालेले विजय सुब्बालाइृ उठाएको छ भने । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा युवराम गौतमले मनोनयन दर्ता गरेका छन् ।

संघीय लोकतान्त्रिक मञ्चबाट प्रतिनिधिसभातर्फ विष्णुकुमार चोङबाङले मनोनयन दर्ता गरेका छन् । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभामा नारायणमान गुरुङ उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गौरीप्रसाद कन्दङवाले प्रतिनिधीसभामा मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभामा राजेन्द्रकुमार लिम्बूले मनोनयन दर्ता गरेका छन् । मंगोल नेसनल अर्गानाइजेसनबाट प्रतिनिधिसभामा गंगाबहादुर चोङबाङ उम्मेदवार बनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट प्रतिनिधिसभामा टंकप्रसाद भट्टराई मनोनयन दर्ता गरेका छन् । यस्तै प्रतिनिधि सभा सदस्यकालागि शुसन चोङबाङ लिम्बूले स्वतन्त्र मनोनयन दर्ता गरेका छन् ।

आठ जना पुरुषसँग भिड्दै एक्ली पुष्पा

पुराना काँग्रेस नेता काशीनाथ गौतम र आमा शारदा गौतमकी छोरी पुष्पा भुसाललाई पारिवारीक विराशत सँगै नेताको पहिचान स्थापित गर्नुपर्ने दबाब छ । महिलाहरुलाई अवसर दिनुपर्ने आवाज उठाउँदै आएकी भुसाललाई पार्टीले यो पटक टिकट दिएको छ ।

२०७४ को निर्वाचनबाट समानुपातिक सांसद बनेकी भुषालले कांग्रेसको सचेतक र उप सभामुखको भूमिका निर्वाह गरेकी छन् । महिला अधिकारको खरो आवाज उठाउने पुष्पाले यो पटक पनि पुरुष प्रतिस्पर्धी पाएकी छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा पुरुष उम्मेदवारलाई नै हराएकी थिइन् । नेपाली काँग्रेसका तर्फबाट अर्घाखाँची क्षेत्र नं. २ की उम्मेदवार भुसाल १६ हजार ९ सय ९२ मत पाएर निर्वाचित भएकी थिईन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार डिल्लीराज खनालले १४ हजार ८ सय ५ र तेस्रो स्थानमा रहेका एकीकृत नेकपा माओवादीका रामप्रसाद बञ्जाडेले ११ हजार ५ सय ८८ मत प्राप्त गरेका थिए ।

यो पटकको निर्वाचनमा पुष्पाले ८ जना पुरुषहरुसँग प्रतिस्पर्धा गर्दै छन् । एमालेले माओवादी छोडेर एमाले रोजेका टोपबहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त निर्वाचन क्षेत्रमा हरि प्रसाद भुसाल (राष्ट्रिय स्वतन्त्र पार्टी), सुरोज दुवाल (नेपाल मजदुर किसान पार्टी), खलिल मिया (राप्रपा नेपाल), मघु बहादुर सारु (राष्ट्रिय जनमुक्ति पार्टी), दुर्गा बन्जाडे (हाम्रो नेपाल पार्टी), नेत्र बहादुर थापा (जनता समाजवादी पार्टी, नेपाल) र पशुपतिनाथ ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पुष्पालाई गठबन्धनको साथ र पारिवारिक विरासतका कारण केही सजिलो हुने बताइन्छ ।

सुजातालाई पार्टीभित्र विवाद मिलाउने चुनौती
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले मोरङ–२ बाट उम्मेदवारी दर्ता गराएकी छन् । यसअघि कांग्रेसका मिनेन्द्र रिजालले जितेको क्षेत्रमा यसपटक सुजातालाई टिकट दिएको छ । सुजातालाई मोरङ–२ बाट उठाएपछि कांग्रेसको इतर समूह रुष्ट बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई रिजालको राजनीति समाप्त पार्न खोजेको आरोप लागेको छ । पार्टीभित्रको अन्तरविरोधलाई सहजिकरण गर्दै प्रतिस्पधीसँग लड्नुपर्ने कोइरालालाई चुनौती छ । २०७४ सालमा रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए। एमालेले त्यस क्षेत्रमा यसपटक पनि पोखरेललाईनै उम्मेदवार बनाएको छ ।

पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सिरहा–२ बाट उम्मेदवारी दिएकी छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved