अनिल श्रेष्ठका दुई कविता

‘तिम्रो निधारमा
सधैँ यो सानो कालो टीका
किन कान्छु ?
रातो टीका लगाऊ न
तिम्रो निधारलाई कस्तरी सुहाउँछ ।’

अनिल श्रेष्ठका दुई कविता

फूलमायासँग

आऊ, फूलमाया !

तिमी
र, म
अब सँगै मिलेर
एउटा आँधी जन्माऊँ

सधैँ तुवाँलो लागिरहेको
यो आकाश
र, तुवाँलोलाई हटाउन
नसकिरहेको यो बतास
सधैँ कफ्र्युजस्तो यो घाम
र, खडेरीको यो लगाम
कहिलेसम्म छातीमा
यो उकुच बोकेर
सास फेरिरहनुपर्ने हो ?
कहिलेसम्म ओठहरूले
यो कचपल्टिएको हाँसो
हाँसिरहनुपर्ने हो ?

आऊ, फूलमाया !

तिमी
र, म
अब सँगै मिलेर
एउटा वर्षात ल्याऊँ

हाँस्नु पनि मस्तसँग नपाइने
यो कसको आदेश हो ?
र, रूनु पनि निस्फिक्रीसँग नसकिने
यो कसको निर्देश ?
गँवाराले झैँ किन सुक्दै छन् ?
हाम्रा आँखाका नानीभित्र पसाइरहेका
कलिला सपनाहरू
र, किन हाम्रा खुसीहरूमा
लाग्दै छ खग्रास ?

आऊ, फूलमाया !

तिमी
र, म
अब सँगै मिलेर
एउटा कुलो लगाऊँ

जताततै मालिकहरू आसीन छन्
ज्यामी हैन, ठेकेदारहरू
सत्तासीन छन्
यो सुक्खा याम
कसले हाम्रो खरबारीमा
लगाउँदै छ डढेलो ?
र, कसको चरन बन्दै छ
यो हाम्रो करेसो ?

आऊ, फूलमाया !

तिमी
र, म
सँगै मिलेर
बादलहरूको
एउटा विस्फोट गराऊँ ।

बाली काटेर यी डाम्नाहरूलाई
हामीले कतिन्जेल पोस्नुपर्ने हो ?
कि राँको बालेर
अब यसका थुतुनाहरूलाई
झोस्नु पर्ने हो ?

आऊ फूलमाया !

तिमी
र, म
अब सँगै मिलेर
एउटा मशाल बनाऊँ
र, शहर जाऊँ ।

 

निधारको टीका

‘तिम्रो निधारमा
सधैँ यो सानो कालो टीका
किन कान्छु ?

रातो टीका लगाऊ न
तिम्रो निधारलाई कस्तरी सुहाउँछ ।’

‘अंकल
रातो टीका बिहे भएकी
आइमाईले मात्र लगाउँछे ।’
कान्छुले भनी

कालो टीका अविवाहित
र रातो टीका विवाहितले मात्र लगाउँछन्
अहँ, मलाई यो कहिल्यै
थाहा थिएन

‘कान्छु, कसले सिकायो
तिमीलाई यो ?’

‘सिकाउनु पर्छ र ?
जानिहालिन्छ नि अंकल
छोरी मान्छे पो त’

कान्छुले निकै प्रौढ जवाफ दिई

ओहो !
छोरी मान्छेहरूले
निधारमा लाउने टीकाको रङमा पनि
कसले ल्याइदियो यो विभेद ?

र, कसरी उनीहरूको मनमा
अप्रकट रुपमा लुकेर बस्छन् यस्ता
विश्वासहरू ?

कान्छुको जवाफले
मलाई निकैबेर सोचमग्न बनाइरह्यो ।

००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved