दुई लघुकथा

एक दिन मध्याह्नमा देखियो, पर्खालमुनि कुनै चराको प्वाँख छरिएको छ। यो बुझ्न समय लागेन, कुनै बिरालोले त्यसलाई आफ्नो शिकार बनाएछ। चरा पनि चिरबिराउन छोडेर चिच्याइरहेकी थिई। पछि केही दिन आइनन् पनि। तिनलाई लागेछ, हामीले नै यो धोका दिएका हौँ।

दुई लघुकथा

माफी

हामी दिनहुँ चराचुरुङ्गीका लागि घरको बाहिर पर्खालमा दाना राखिदिन्छौँ। चराहरू पनि सबेरै चिरबिराउन थाल्छन्। मानौँ, आफ्ना दाना मागिरहेछन्। हामी सबैभन्दा पहिला तिनीहरूलाई दाना छरिदिन्छौँ। अनि, दिनचर्या शुरु गर्छौँ।
००
एक दिन मध्याह्नमा देखियो, पर्खालमुनि कुनै चराको प्वाँख छरिएको छ। यो बुझ्न समय लागेन, कुनै बिरालोले त्यसलाई आफ्नो शिकार बनाएछ। चरा पनि चिरबिराउन छोडेर चिच्याइरहेकी थिई। पछि केही दिन आइनन् पनि। तिनलाई लागेछ, हामीले नै यो धोका दिएका हौँ।
००
तथापि हामीले दाना छरिरह्यौँ, एउटा आसमा।
आखिर एक बिहान चरा घरको पर्खालमा चिरबिराउन आइन्। हामीलाई लाग्यो, चराले हामीलाई माफी दिइछन्।

लेखक र पुरस्कार

पुरस्कारहरूको घोषणा भयो।
लेखकको नाम थिएन। ऊ निराश भएन। ढिपी छोडेन। पुरस्कार पाउन योग्य एउटा अर्को पुस्तकको रचना गर्‍यो, जसमा किसानका उमङ्गहरू, मजदुरको पसिनाको गन्ध, माटोको सुगन्ध र आम मान्छेको सङ्घर्ष सामेल थिए।

पुस्तक लिएर लेखक व्यवस्थाको ढोकामा उभियो। व्यवस्था बाहिर निस्क्यो, आफ्नो आँखा तिरमिराउने मायावी रुपमा। पुस्तकलाई एक क्षण हेर्‍यो, लेखकलाई घुर्‍यो, पछि आँखा तरेर भन्यो– पुरस्कार चाहन्छौ भने एउटै शर्त छ।
के ?

बस्, मेरो असली रूपलाई हेरेर एउटै शब्द पनि लेख्ने छैनौ, स्वीकार्य भए भित्र आऊ। तिम्रा थुप्रै साथी–भाइहरू भेट्नेछौ।
लेखकले आफ्नो कलमलाई चुम्यो र फर्कियो।
(हिन्दी भाषाबाट अनुवाद ; रासा )
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved