प्रिय कथा

हिमाल पारीका दाजु

आँसुको तातो थोपाले गाला छोएपछि म झसङ्ग भएँ र आँसु पुछ्दै वर्तमानमा ओर्लिएँ। भाइ कता गइसकेको थियो, अब्बु पसलमै टोलाएर बसिरहनुभएको थियो, सरिना घर सफा गर्दै थिइन्। ओहो ! कसरी पत्तै नपाई एक महिना बितेर गएछ, आज दाजुलाई बिदाइ गर्दा पो बल्ल थाहा भयो।

हिमाल पारीका दाजु

(रचनागर्भ– आफ्नो प्राविधिक कामको सिलसिलामा बि. सं. २०६३ को माघताका करिब चार महिना अफगानिस्तानको पश्चिमी क्षेत्रमा बिताउने मौका जुर्‍यो। सडक निर्माणको परामर्शदाताको रुपमा कार्यरत रहँदा अफगानिस्तानको सामाजिक, भौगोलिक लगायत विभिन्न पक्षका बारेमा केही जान्ने र बुझ्ने अवसर पाएँ। त्यहीँ कार्यरत रहँदा नै केही साहित्यिक रचना पनि गर्ने प्रेरणा मिल्यो।

नेपालमा भर्खरै राजनीतिक सहमतिपछि शान्ति कायम भएको र जनसाधारणले राहत महसुस गरेको परिप्रेक्ष्यमा अफगानिस्तानको परिस्थिति र त्यहाँका जनसाधारणले भोग्नु परेको कठोर परिवेशलाई नियाल्दा साह्रै नै मन कुँडियो। त्यति सुन्दर देश, मिहिनेती जनता हुँदा पनि दशकौँदेखि हतियारको त्रासमा जीवन गुजार्न बाध्य रहेछन् त्यहाँका जनता। जब हतियारको बलको भरमा शासन गर्न खोजिन्छ र बुद्धि–विवेकलाई हतियारले काबुमा ल्याउन खोज्छ, अनि देशको पतन सुरु हुन्छ भन्ने कुरा स्पष्ट पार्थ्यो त्यो समयको परिवेशले। विदेशी शक्तिको स्वार्थमा देश रिङ्न थालेपछिको हालत छर्लङ्ग देखिन्थ्यो।

यही पृष्ठभूमिमा त्यहाँको एउटा सुन्दर परिवारले भोग्नुपरेको पीडाको एउटा कथा जन्मियो। मैले कथाकी प्रमुख पात्र त्यही परिवारकै युवालाई बनाएँ, जसले यी सबै देखेकी र भोगेकी थिइन्।)
००

‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसँगै नाकको सामुन्ने जोडिएका मेरा दुवै हत्केला बिस्तारै छुट्टिएर अनायासै खस्न थालेका आँसुका थोपाहरू पुछ्न पुगे। दाजुुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखा परेका भावनाहरू मेरो बुर्खाले पनि छोप्न सकेनन्। दाजुको अनुहारमा पनि विभिन्न मिश्रित भावनाहरू झल्किएको मैले स्पष्ट देख्न सकेँ। एकातिर लामो समयपछि आफ्ना मुटुका टुक्राहरू र हृदयकी आफ्नी ’उनी’ लाई भेट्ने समय नजिकिएको ‘खुसी’ थियो भने अर्कातर्फ बिरानो देशको यो दुर्गम ठाउँमा छोटो समयमै अनायासै जोडिन पुगेको एउटा नयाँ साइनो सहितको आफ्नोपनको सम्पर्कसँग छुट्टिन परेको एउटा भिन्दै खालको ‘पीडा’ थियो।

तर सायद उहाँ हामीबाट जति टाढा पुग्नुहुन्छ, पहिलो भावना बढी गाडा हुँदै जान्छ र दोस्रो क्रमशः फिका हुँदै अन्तमा बिलाउन पनि सक्छ। म मेरो अल्लाहसँग प्रार्थना गर्छु कि भावना बिलाए पनि हाम्रो सम्झना दाजुसँग रहिरहोस्–अन्तसम्म, अनन्तसम्म– त्यो नै हाम्रो अहोभाग्य हुनेछ।

मेरा वृद्ध अब्बुले रसिलो आँखासहित दाजुलाई बिदाइको अँगालो मार्नुभयो, भाइले दाजुसँगै सिकेका शब्दहरू ‘बाई–बाई’ भन्दै हात हल्लायो। दाजुले अन्तिम पटक ‘नमस्ते’ गरेर हात हल्लाउँदै गाडीमा चढेर ढोका बन्द गर्नुभयो। गाडी हाम्रो बस्ती छेउको मोडमा पुगुन्जेल हामी सबै उभिएर हात हल्लाउँदै हेरिरह्यौँ। बिस्तारै गाडी ओझेल पर्यो, हामी नरमाइलो मान्दै घरको ढोकाबाट भित्र छिर्रयाै। अब्बु खुइय्य गर्दै पसलमा पस्नुभयो, भाइ आँसु पुछ्दै दाजुले दिनुभएको कापी–कलम थन्क्याउन थाल्यो, म कताकता आफ्नै तन्द्रामा हराएँ।

दुई–तीन महिनाअगाडिदेखि हाम्रो यो दुर्गम, सानो गाउँमा नयाँ गाडी र नौला अनुहारहरूको आवतजावत बढेको थियो। तिनीहरू प्रायःजसो यता आउने गोरा, हट्ठा—कट्ठा, छिर्केमिर्के लुगा लगाएका अनि बन्दुक भिरेका र अरू पनि के के हो बोकेका डरलाग्दा विदेशी जस्ता थिएनन्। उनीहरूभन्दा अल्लि फरक खालका र केही पनि हतियार नभिरेका थिए। तर उनीहरूको साथमा हतियार सहितका हाम्रा यतैका पुलिस भने सधैँ रहन्थे। ती डरलाग्दा हतियारधारीहरू आएको बेलामा भने म, सरीना र भाइ निकै डराउँथ्यौँ। तर अब्बुले ‘डराउनु पर्दैन, यिनीहरू हामीलाई केही गर्दैनन्’ भनेपछि ढुक्क हुथ्यौँ। तैपनि हतियार देख्नासाथ मलाई एकदमै डर लाग्छ, किनभने यस्तै हतियार बोकेका, छिर्केमिर्के रुमालले आँखाबाहेक अनुहार सबै छोपेका मान्छेहरूले हाम्रो दाजु फैसललाई घरबाट जबरजस्ती लगेका थिए।

उनीहरूसँग फैसलको भनाभन पनि भएको थियो। उनीहरू ‘अल्लाहको नाममा कुर्बानी’, ‘जेहाद’, त्यस्तै के के भन्दै थिए– मैले नबुझ्ने कुराहरू। फैसल भन्दै थियो, ‘तिमीहरू अमानवीय काम गर्दैछौ, मान्छे मारेर कसैको भलो हुँदैन। बरु आऊ, सँगै मिलेर शिक्षा र विकासको क्रान्ति गरौँ। तर उनीहरूले उसलाई जबरजस्ती लिएर गए, हामीलाई केही बोल्नै दिएनन्। फैसलले ‘म अवश्य फर्केर आउँछु, तिमीहरू राम्ररी बस्नू’ सम्म भन्न भ्यायो। त्यसपछि उनीहरूले उसको मुख थुनेर तान्दै–घिसार्दै लिएर गए। अब्बुले एकदम निराश भएर भाउजूलाई ‘सरीना, अब मेरो जेठो छोरा तँ नै भइस् !’ भन्नुभएको थियो।

बिचरी दोजिया सरीना मूर्छा परेर भूँइमा ढलेकी थिइन्। उनले ३–४ दिनसम्म त केही खाइनन् र कसैसँग बोलिनन् पनि। पछि अब्बु र मैले बलबल्ल उनलाई सम्हालेका थियौँ। ‘कम्तीमा फैसलको चिनो, तिम्रो भावी सन्तानको लागि त सोच’ भनी सम्झाएपछि त्यही सन्तानको निम्ति उनी जिएकी थिइन्। उनी मभन्दा २–४ वर्ष जेठी र नाताले भाउजू भए पनि घरमा अब्बुले आत्मीय वातावरण बनाइदिनु भएकोले हामी साथी जस्तै थियौँ र मनका धेरै कुरा साटासाट गर्थ्यौँ। फैसलले सरीनासँग ‘निकाह’ गरेको भर्खर डेढ बर्ष भएको थियो– चार महिनाअगाडि उसलाई ती हतियारधारीहरूले जबरजस्ती लग्दा। त्यसैले नयाँ–नौला मानिस र त्यसमा पनि हतियार बोकेकाहरू देख्नासाथ हामी डराउँथ्यौँ, त्यही कालरात्रि सम्झेर।

सायद हाम्रो आफ्नो देशमा यस्तो ठूलो बाटो बनाउने धेरै पढेका मान्छे नभएर होला– यिनीहरू आएका। हाम्रोमा हुन् पनि कसरी, मैले थाहा पाएका यी ४–५ वर्षमा हाम्रो गाउँको त्यो जीर्ण स्कुलको ढोका कहिल्यै खुलेको छैन। पढ्न मन हुनेले पनि पढ्न पाएका छैनन्।

दुई–तीन महिनाअघि देखिएका यी बिनाहतियारका विदेशीहरूको चहलपहलले हामीलाई शंका लाग्नु स्वाभाविकै थियो। सुरुमा यिनीहरू कहिलेकाहीँ देखा पर्थे, अनि २–४ दिन हराउँथे। तर करिब डेढ महिना अघिबाट भने कोही गाउँको छेउमा अस्थायी टहराहरू बनाएर बसे, कोही हाम्रै घर छेउको अर्को घरमा अफिस र डेरा पनि लिएर बस्न थाले। अनि ती टहरा सँगै पक्की घरहरू पनि बनाउन सुरु गरे। बुझ्दै जाँदा थाहा भयो– यहाँभन्दा उत्तरतिर पर्ने सहर ‘अन्धखोई’ र दक्षिणमा पर्ने ‘काईसार’ जोड्ने पुरानो कच्ची मोटर बाटो, जुन हाम्रो गाउँ भएर जान्थ्यो, त्यसलाई ठूलो र राम्रो बनाउन यी विदेशीहरू आएका हुन् अरे। सायद हाम्रो आफ्नो देशमा यस्तो ठूलो बाटो बनाउने धेरै पढेका मान्छे नभएर होला– यिनीहरू आएका। हाम्रोमा हुन् पनि कसरी, मैले थाहा पाएका यी ४–५ वर्षमा हाम्रो गाउँको त्यो जीर्ण स्कुलको ढोका कहिल्यै खुलेको छैन। पढ्न मन हुनेले पनि पढ्न पाएका छैनन्।

धनीहरूले त ठूलो शहर अथवा विदेशमा आफ्ना बच्चा पढाएका होलान्, तर गरिबहरू भने सधैँ पछाडि नै। फैसललाई पनि अब्बुले बढो दुःखका साथ ‘मैमना’ र ‘अन्धखोई’ सम्म पठाएर पढाउनु भएको थियो। सबैको चाहना भएर पनि धेरै पढाउन घरायसी स्थितिले साथ दिएन र ऊ गाउँ फर्किएर सरीनासँग ‘निकाह’ ग¥यो। गाउँकै उसका अलिअलि पढेका साथीहरू जम्मा गरेर सरकारी सहयोगमा उसले स्कुल चलाउन कोसिस गर्याे। तर सफल नभएपछि त्यत्तिकै गाउँका केही बच्चाहरू जम्मा गरेर घरकै आँगनमा दिनको २–३ घण्टाजति पढाउने गर्यो, साथीहरूले पनि साथ दिए।

आफ्नो गाउँको लागि केही गरौँ भनेर उनीहरूले घरघरमा गएर छोरीलाई पनि पढ्न–लेख्न सिकाउनु पर्छ भनेर सम्झाउँथे। साथै अरू थुप्रै सामाजिक कामहरू पनि गरेका थिए। गाउँलेहरू सबै उनीहरूसँग खुसी थिए, बिस्तारै गाउँ राम्रो बन्दै थियो। तर फैसललाई ती हतियारधारीहरूले लगेपछि उसका साथीहरू पनि डरले अन्तै भागे, गाउँको ‘ज्योति’ निभेर गयो, सबैतिर अन्धकार छायो।

बाटो बनाउन आएका ती विदेशीहरू हाम्रो घर छेउमै बस्न थालेपछि हामीलाई राम्रै भएको थियो। एकातिर भाइले उनीहरूकोमा खाना पकाइदिने र भाँडा माझ्ने काम पाएको थियो भने अर्कातिर हाम्रो सानो पसलबाट बढी सामानहरू बिक्री हुन थालेको थियो। फैसलले भाइलाई अलि अलि अङ्ग्रेजी पनि पढ्न, लेख्न र बोल्न सिकाएकोले भाइलाई त्यहाँ काम पाउन सजिलो भएको थियो। त्यसैले हाम्रो डर र शंका अब बिस्तारै खुसीमा परिणत भएको थियो।

हरेक बेलुका घर फर्केपछि भाइले हामीलाई त्यहाँका गोरा र अरू साहेबहरूको बारेमा कुरा सुनाउँथ्यो। उनीहरूको बोली—चाली, लवाइ–खवाई र अन्य कुराहरू सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो। अब्बु भन्नुहुन्थ्यो ‘यदि विगतका यी २०–२५ वर्ष लडाइँ–झगडामा मात्र नबिती, शिक्षा र विकासका काम हुन पाएको भए फैसल जस्तै हाम्रा धेरै युवाहरू तिनै ठूला साहेबहरूझैँ बनेर देशको लागि काम गर्ने थिए र हाम्रो समाज र देश धेरै अगाडि बढ्ने थियो। तर दुर्भाग्य ! हाम्रो जीवन नै लडाइँमा बित्यो, आफू आफूमा मारकाट चल्यो। मैले त आफ्नो जीवनको अमूल्य र उर्वर वर्षहरू शरणार्थी भएर पाकिस्तानमै बिताउनुपर्याे इच्छा, आँट र ताकत भएर पनि केही गर्न सकिएन। धन्य ! तिमीहरू त अहिले आप्mनै माटोमा छौ।’ आप्mनो घाउ कोट्याउँदै मलिन भएर उहाँ आँसु पुछ्नुहुन्थ्यो, हामी सबै भएर उहाँलाई सम्झाउँथ्यौँ।

एक दिन भाइ निकै उत्साहित हुँदै आएर अब्बुसँग उसले काम गर्ने ठाउँमा उर्दू बोल्न जान्ने एक जना साहेब आएको कुरा गर्याे। शरणार्थीको रुपमा पाकिस्तान बस्दा हामीले केही उर्दू सिकेका थियौँ र २–४ शब्दहरू मातृभाषामै भित्र्याएका थियौँ। काम गर्ने ठाउँमा विदेशी साहेबसँग उर्दूका २–४ शब्दहरू बोल्न पाउँदा भाइलाई रमाइलो लागेछ। २–४ दिनपछि भाइले फेरि ती साहेबबारे कुरा उठायो। उनी अरूभन्दा अलि भिन्दै, नरम स्वभावका, सबैसँग राम्रो व्यवहार गर्ने, हँसिलो मिजासका भनेर भाइले निकै गुणगान ग¥यो। अब्बुलाई पनि कुन ठाउँका होलान् भनेर चासो लागेछ र यदि उनी मान्छन् भने एक पटक आफूलाई भेट्न मन लागेकोले पसलमा लिएर आउन भन्नुभयो।

ती विदेशीहरू गाउँमा र पसलतिर डुल्न निस्केको मैले कहिल्यै देखेकी थिइनँ, खै किन हो। अब्बुसँग सोध्दा थाहा भयो कि उनीहरूलाई पनि त्यस्ता अनुहार छोपेका हतियारधारीहरूले भेट्टाए भने फैसललाई जस्तै जवर्जस्ती लग्ने र कुनै बेला त ज्यान नै पनि लिने गर्छन् रे। मार्न पनि सक्ने कुरा सुनेपछि म झसङ्ग भएँ र त्यो साहेबलाई नबोलाउनुस् भनेँ। हाम्रो कारणले कसैलाई केही भयो भने ? तर अब्बुले यहीँ वल्लोपल्लो घर हो, डराउनु पर्दैन, म आफू पनि सतर्क रहिहाल्छु भनी सम्झाउनुभयो।

भाइसँग अब्बुले कुरा राख्नु भएको २–३ दिनपछि उसले एकजना मझौला कदका, हेर्दा हाम्रै यतैका जस्ता लाग्ने, गोरा—गोरा, सफा–हँसिलो मुहार भएका, चिटिक्क परेको लुगा लगाएका साहेबलाई लिएर आयो। अनि आफ्नो टुटेफुटेको उर्दूमा पसलमा बसेका अब्बुसँग परिचय गरायो। म भित्री कोठाको झ्यालबाट हेर्दै थिएँ, किनकि कुनै नौलो मान्छेको अगाडि पर्नु हाम्रो संस्कार र समाजले दिँदैनथ्यो। हुन त अब्बु त्यति कट्टर हुनुहुन्थेन, तर पनि समाजको लाज–गालबाट हामी बँच्नुपथ्र्यो। सानो मात्रै तल–माथि भएमा ‘निकाह’ हुन गाह्रो पर्थ्यो। त्यसमा म पूरा सतर्क थिएँ।

ती साहेबसँग अब्बुले केही बेर कुरा गर्नुभयो र भाइसँग चिया लिएर आउन भन्नुभयो। मैले दुई कप मीठो चिया बनाएर पठाएँ। चिया पिउँदै अब्बुसँग केही बेर गफ गरेर उनी फर्किए। बेलुका अब्बुले उनको बारेमा हामीलाई बताउनुभयो। उनी यहाँ करिब एक महिनाको लागि आएका रे–बाटोको काम राम्ररी भए–नभएको जाँच गर्न। उनी पनि हाम्रो ठाउँ जस्तै पहाडहरू धेरै भएको देशबाट आएका रे। हामी काबुलबाट यहाँ आउँदा पार गरेका हिउँका अग्ला पहाडभन्दा पनि अझ धेरै अग्ला पहाडहरू भएको हिमालयको पारीपट्टी, हिन्दुस्तानको उत्तरतिर उनको सानो, राम्रो देश छ अरे।

शरणार्थीको रुपमा सानोमा पाकिस्तानमा बसेको बाहेक हामीले कहिल्यै कुनै अरू देश वा विदेशीको बारेमा केही थाहा पाएका थिएनौँ। अब्बुसँग यी कुराहरू सुन्दा मलाई यस्ता पहाड र हिउँ अन्त पनि हुने रहेछन् भनेर अचम्म लाग्यो। यहाँ जस्तै उनको देशमा पनि अग्ला पहाडतिर भेडा पाल्ने र चौरमा चराउन लैजाने चलन छ रे भन्ने सुन्दा त झनै आश्चर्य लाग्यो र उनी तथा उनको देशबारे अझ बढी जान्ने चासो बढ्यो। यो करिब एक महिना अगाडिको कुरा थियो।

आँसुको तातो थोपाले गाला छोएपछि म झसङ्ग भएँ र आँसु पुछ्दै वर्तमानमा ओर्लिएँ। भाइ कता गइसकेको थियो, अब्बु पसलमै टोलाएर बसिरहनुभएको थियो, सरिना घर सफा गर्दै थिइन्। ओहो ! कसरी पत्तै नपाई एक महिना बितेर गएछ, आज दाजुलाई बिदाइ गर्दा पो बल्ल थाहा भयो।

पहिलो पटक आएर गफ गरी फर्कने बेलामा अब्बुले उनलाई बेला–बेलामा आउनु है भन्नुभएको थियो। उनको बोलिचाली र व्यवहारले अब्बुलाई निकै प्रभाव पारेछ क्यारे, दुई दिनपछि भाइसँग खबर पठाउनुभयो। त्यसपछि प्रायः एक–दुई दिन बिराएर उनी पसलमा आउने र चिया पिउँदै अब्बुसँग धेरै कुराहरू गरेर बस्ने गर्न थाले। अब्बु भन्नुहुन्थ्यो ‘यी साहेबलाई देख्दा कताकता फैसलको झल्को आउँछ, त्यसैले यिनलाई बारम्बार भेट्न मन लाग्छ।’ म पनि अलिअलि उर्दू बोल्न सक्ने भएकीले चिया दिने निहुँमा पसलमा निस्कने र २–४ शब्द उनीसँग बोल्ने गर्न थालेँ। बिस्तारै यो क्रम बढ्दै गयो, किनकि उनीसँग बोल्दा मलाई पनि कताकता पैmसलको झल्को लाग्थ्यो। उनको आँखाको निष्कपटता, बोलीको मिठास, हाँसोको माधूर्यता, मनको आआफ्नोपन र हृदयको आत्मीयताले हामी सबैको मन जितेको थियो। हामी सबैलाई यिनी हाम्रै परिवारका सदस्य हुन् जस्तो भान परेको थियो। त्यसैले उनीसँग सोधेर उनको भाषाको पहिलो शब्द मैले सिकेकी थिएँ– ‘दाजु’। उनी हरेक पटक आउँदा म अगाडि बढेर हात जोड्दै अभिवादन गर्दथेँ, ‘नमस्ते ! दाजु।’ उनी पनि हामीलाई आत्मीयता दर्साउन सधैँ ‘सलाम वालेखुम्म’ भन्ने गर्थे।

मेरा वृद्ध अब्बु यी दाजुसँग खुलेर मनका कुरा गर्न पाउँदा निकै खुसी हुनुभएको थियो। हुन पनि उहाँले यसरी कोहीसँग खुलेर धेरै कुरा गरेको मैले आजसम्म थाहा पाएकी थिइनँ। हाम्रो आफ्नै अतीतबारे पनि अब्बुले हामीलाई त्यति धेरै कुरा भन्नुभएको थिएन, खाटो बसेको घाउ किन कोट्याउने भनेर टार्नुहुन्थ्यो। यी दाजुसँग अब्बुले कुरा गर्दा म चाख दिएर सुन्ने गर्थेँ। अब्बु भन्नुहुन्थ्यो, ‘हामीलाई जस्तो आपत् र दुःख त शत्रुलाई पनि नपरोस्। झन्डै दुई दशकभन्दा लामो लडाइँ–झगडाले हामीलाई जातीयता र क्षेत्रीय भौगोलिकताको रेखाले यति नराम्ररी विभाजित गराइदिएको छ कि हामी छिमेकी नै भए पनि एक अर्कालाई मार्नसम्म तम्सिन्छौँ।

मैले मेरै आँखा अगाडि नङ–मासु भएर बसेका छिमेकी बीचको काटमार देखेको छु। युवा केटाहरूले आफूलाई दूध चुसाएर हुर्काएकी धाई–आमाहरूलाई निशानी बनाएको देखेको छु। यो भन्दा बढी नीचता र पशुत्वको उदाहरण अन्त कहाँ फेला पर्ला र ? देश चलाउने नेताहरूको सानो गल्ती र स्वार्थीपनले देश र समाजलाई कहाँ धकेल्दो रहेछ। तैपनि तिनीहरूमा अझै पूर्ण चेत आएको छैन।’

अब्बुका यी कुराहरू हामी भावुक भएर सुन्थ्यौँ। त्यति नपढेका भए पनि व्यवहार र भोगाइले अब्बुलाई धेरै सिकाएको थियो। उहाँ धेरै कुरामा चासो दिनुहुन्थ्यो, अरू जान्ने–बुझ्नेसँग छलफल पनि गर्नुहुन्थ्यो। यदि समयमा पढ्न पाएको भए हाम्रो अब्बु ठूलो मान्छे बन्नुहुन्थ्यो होला।

अब्बुका कुराले दाजु पनि भावुक बन्नुहुन्थ्यो र आफ्नो देशको बारेमा पनि भन्नुहुन्थ्यो। उहाँको देशमा पनि हाम्रोमा जस्तो चर्को र लामो नभए पनि यस्तै नै आपसमा लड्ने र मार्ने समस्या थियो अरे। तर समयमै देशका नेताहरूले बुद्धि पुर्‍याएर आफूहरू नै मिलेर त्यो समाधान गरे अरे। तै पनि अझै पूरा ढुक्क हुने स्थिति छैन रे, नेताहरू चनाखो भएर देशको निम्ति सोचेर काम नगरेमा स्थिति बिग्रन सक्छ अरे। उहाँ भन्नुहुन्थ्यो, ‘जब मानिससँग हतियार हुन्छ र त्यस हतियारले उसको दिल र दिमागलाई जित्छ, अनि उसले हतियार हैन कि हतियारले उसलाई चलाउन थाल्छ, त्यसपछि त्यो समाज भाँडिन्छ र देश ओरालो लाग्छ।’

मान्छे मार्नु नै धर्म हो भन्ने सम्झनेहरूको दिमागमा अलिकति पनि सुबुद्धि पलाएमा देशले धेरै प्रगति गर्ने थियो। दाजुसँग यसरी मनका कुराहरू साट्न पाउँदा अब्बु हल्का महसुस गर्नुहुन्थ्यो र भारी बिसाए भएझैँ अनुभव गर्नुहुन्थ्यो। कुरै कुरामा समय बितेको पत्तै हुँदैनथ्यो र हामी फेरि भोलिपल्ट उहाँको बाटो हेरेर बस्थ्यौँ।

मलाई अचम्म लाग्थ्यो– यस्ता शिष्ट, भद्र र सहृदयी मान्छे बस्ने देशमा पनि कसरी लडाइँ झगडा भयो होला। किन त्यस्तो राम्रो ठाउँमा पनि समाज बिगार्न खोज्ने मान्छे जन्मिए होलान्। तर अब लडाई छैन रे भन्ने सुन्दा हाम्रोमा पनि त्यस्तै भएर पैmसल छिट्टै घरमा फर्किए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्थ्यो। अब्बु पनि भन्नुहुन्थ्यो कि हाम्रा नेताहरूले पनि समयमै विचार पुर्‍याएको भए, हतियारकै भरमा शासन गर्छु भन्ने कुविचार त्यागेको भए हामीले यति दुःख झेल्नु पर्ने थिएन र विदेशी सेनाले हाम्रो माटो कुल्चने थिएनन्।

जे भए पनि अब चाहिँ अलिअलि आशा पलाएको छ। मान्छे मार्नु नै धर्म हो भन्ने सम्झनेहरूको दिमागमा अलिकति पनि सुबुद्धि पलाएमा देशले धेरै प्रगति गर्ने थियो। दाजुसँग यसरी मनका कुराहरू साट्न पाउँदा अब्बु हल्का महसुस गर्नुहुन्थ्यो र भारी बिसाए भएझैँ अनुभव गर्नुहुन्थ्यो। कुरै कुरामा समय बितेको पत्तै हुँदैनथ्यो र हामी फेरि भोलिपल्ट उहाँको बाटो हेरेर बस्थ्यौँ।

दाजुसँगको सम्पर्क र कुराकानीले गर्दा मैले केही बढी उर्दू सिकेकी थिएँ, भाइले आप्mनो अङ्ग्रेजीको पनि प्रगति गरेको थियो भने अब्बु त एकदम स्वस्थ, फुर्तिलो र चङ्गा बन्नुभएको थियो–सायद मनको भारी बिसाउने चौतारी पाएर होला।

यिनै रमाइला क्षणले गर्दा दाजुको यहाँको बसाइँ एक महिनाको मात्रै हो भन्ने हामीले भुलिसकेका रहेछौँ। आज बिहान भाइले एक्कासि कुरा गर्दा पो हामी झसङ्ग भई निन्याउरो मुख लगाउन पुग्यौँ। झन् बिदा हुनको निम्ति दाजु नै हाम्रो पसलमा आउँदा त हामीले समयलाई धिक्कार्नु बाहेक अरू केही गर्न सकेनौँ, अमिलो मनले दाजुलाई बिदा गर्नु बाहेक अरू विकल्प नै थिएन।

उहाँलाई बिदाइ गर्न सबै जना पसल अगाडि आयौँ। दाजुले पनि अब्बुलाई ढाढस दिन अवरुद्ध कण्ठले ‘अब्बु, म फेरि यहाँ आउँला नआउँला, तर तपाईँहरूको माया र सम्झना सधैँ रहनेछ। म मेरो भगवानसँग प्रार्थना गर्छु कि फैसल छिट्टै सकुशल घर फर्केर आउन्, उनको सपना पूरा गर्न सकुन् र तपाईँहरूको परिवार सधैँ खुसी रहोस्’ भन्नुभयो। यसभन्दा बढी उहाँ बोल्न सक्नुभएन र अंकमाल गरेर अब्बुलाई ‘खुदा हाफिज’ भन्नुभयो, भाइ र मलाई ‘बाई, बाई’ भन्नुभयो र सरिनालाई नमस्ते गरेर गाडीमा चढेर ओझेल पर्नुभयो।

‘दाजु ! तपाईँले हामीलाई सम्झिराखे पनि वा बिर्सिए पनि हामीसँग भने तपाईँको सम्झना र माया सदा रहिरहनेछ। म मेरो अल्लाहसँग हरेक दिन प्रार्थना गर्नेछु कि हामीले जस्तो दुःख–कष्ट तपाईँका देशका मान्छेले कहिल्यै व्यहोर्न नपरोस्। तपाईँको परिवार सधैँ खुसी र प्रगतिमा रमाओस्, तपाईँको सधैँ उन्नति होस्। तपाईँ सधैँ यस्तै हँसिलो र सहृदयी भई अरू पनि धेरैलाई माया बाँड्दै हिँड्नुहोस्, सबैले तपाईँलाई आशिक दिउन्। मेरो अल्लाहसँग मैले मेरो खुसी माग्नुभन्दा पनि तपाईँको दुःख जति सबै मेरो पोल्टामा राखिदे भनेर माग्नेछु, मेरो यही कामना छ– मेरा प्यारा हिमालपारिका दाजु’।

००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved