मलाई असाध्यै मन पर्ने १० उपन्यास

उपन्यास पढ्नु खराब काम मानिन्थ्यो। लुकाएर पढ्नु पर्थ्यो । राति घरका सबै सुतिसकेपछि ओछ्यानको सिरानीमुनिबाट निकालेर वा गोठालो जाँदा लुकाएर उपन्यास पढ्नु पर्ने बाध्यता थियो । उपन्यास बिग्रेका केटाकेटीले पढ्छन्, उपन्यास पढ्नेहरु उमेर नपुगी अमिल्दो प्रेममा पर्छन्, पोइल जान्छन् भन्ने जस्ता मान्यता व्याप्त थियो ।

मलाई असाध्यै मन पर्ने १० उपन्यास
लेखक

उपन्यास आज साहित्यको सर्वाधिक लोकप्रिय विधा मानिन्छ । उपन्यास धेरै लेखिन्छन, बिक्छन, पढिन्छन । तर, हाम्रो गाउँघरतिर हाम्रो जुग भने ठीक उल्टो थियो । उपन्यास पढ्नु ‘थर्ड क्लास’ पठन मानिन्थ्यो।

पहिलो दर्जाको पठनमा काव्य पर्थ्यो । कविता, खण्डकाव्य र महाकाव्य पढ्नु प्रतिष्ठित मानिन्थ्यो । समाजका बुज्रुक, गन्यमान्य सबैले महाभारत, रामायण पढेका हुन्थे । देवकोटाको मुनामदन र माधव घिमिरेको गौरीको धेरै चर्चा हुन्थ्यो ।

दोस्रो दर्जाको पठनमा इतिहास, राजनीति र अखबरका लेख, समाचार हुन्थे । काव्य, महाकाव्य पढ्नेहरु ‘शास्त्रीय बौद्धिक’ मानिन्थे। इतिहास, समाज र समसामयिक राजनीतिमा रुची र ज्ञान राख्नेहरु ‘मध्यम बौद्धिक’ मानिन्थे ।

उपन्यास पढ्नु खराब काम मानिन्थ्यो। लुकाएर पढ्नु पर्थ्यो । राति घरका सबै सुतिसकेपछि ओछ्यानको सिरानीमुनिबाट निकालेर वा गोठालो जाँदा लुकाएर उपन्यास पढ्नु पर्ने बाध्यता थियो । उपन्यास बिग्रेका केटाकेटीले पढ्छन्, उपन्यास पढ्नेहरु उमेर नपुगी अमिल्दो प्रेममा पर्छन्, पोइल जान्छन् भन्ने जस्ता मान्यता व्याप्त थियो ।

हाम्रो सयममा खुबै पढिने युवाजनित उपन्यासकार युधिर, सुवास, कोविद र बसन्त नै थिए ।

मैले पनि उपन्यास लुकेर पढ्न सुरु गरेको हुँ । पहिलो पटक पढेको उपन्यासको नाम अद्यपि याद छ, दीर्घबाहूको ‘बाह्र बजेको घन्टी’। त्यसपछि युधिर थापा, सुवास घिसिङ, प्रकाश कोविद र बसन्तका उपन्यास पढ्ने भइयो । बसन्तका नाममा लघुुकाय र युवाजनित उपन्यास लेख्ने व्यक्ति प्रसिद्ध भाषाशास्त्री डा. बालकृष्ण पोख्रेल हुन भन्ने धेरैपछि मात्र थाहा पाएँ । आश्चर्य लाग्यो ।

हामी पढ्नेहरु मात्र हैन, उपन्यास लेख्नेलाई समेत समाजको डर रैछ । पोख्रेल छद्य्मनाममा उपन्यास लेख्नु हुँदो रैछ।
मैले नेपाली, हिन्दी र अंग्रेजी भाषामा उपन्यास पढेको छु । मैथिलीमा पनि पढेको छु, तर एकदमै थोरै । यी सबै भाषामा ‘सस्तो र युुवाजनित’ भनिने उपन्यासबाटै पढ्ने गरेको हुँ । हाम्रो सयममा खुबै पढिने युवाजनित उपन्यासकार युधिर, सुवास, कोविद र बसन्त नै थिए ।

हिन्दीमा भने रानु र गुलशन नन्दाबाट सुरुवात गरेको हो । विस्तारै त्यो फैलिएर कर्णेल रन्जित, डा. सुरेन्द्रमोहन पाठक र वेदप्रकाश शर्मासम्म पुग्यो । अंग्रेजीमा भने मैले पढेका युवाजनित उपन्यासका तीन जना नै महिला उपन्यासकार थिए । बार्बरा टैलोर, एरिका जोङ र जैकी कलिन्स ।

‘युवाजनित’ वा ‘बेष्टसेलर’ भनिने उपन्यास पढ्ने क्रमलाई एउटा निश्चित विन्दू वा चरणमा पुर्‍याएपछि मात्रै अलिक गम्भीर साहित्यिक उपन्यास पढ्ने भईयो । ती मध्ये मलाई असाध्यै मन परेका १० नेपाली उपन्यासको यहाँ क्रमबद्ध चर्चा गरेको छु ।

१.माधबीः

नेपाली भाषामा लेखिएको कुनै एक मात्र साहित्यिक कृतिको नाम भन भनेर कसैले सोध्यो भने मैले माधबी भन्ने छु । मदनमणी दीक्षितको यो उपन्यास पढिसक्दा मलाई दक्षिण एशियाको इतिहासको एक विशिष्ठ कालखण्डलाई आत्मसात गर्न पाएको अनुभूति भएको थियो । यसको कथा उत्तरवैदिककालिन पृष्ठभूमिमा छ ।

आज पनि नेपाली उपन्यासका पाठकलाई भन्न मन लाग्छ– माधबी पढ्नु भएको छैन भने केही पनि पढनु भएको छैन । माधबी नपढी नेपाली उपन्यासको पठन बिल्कुलै अधुरो, अपुरो रहन्छ ।

यसले श्याककर्ण घोडा र अश्वमेध यज्ञको बिम्ब पक्रेर ‘बेदान्त क्रान्ति’ कथा भन्छ । उपन्यास पढिसके पछिको केही दिन मैले आफूले आफैलाई बिर्सेको थिए । गालव र माधबीको व्यक्तित्वको समिश्रण भएर म ‘अर्धनारीश्वर’ जस्तो अनुभूति गर्ने भएको थिए । म गालव हुँ कि माधबी हुँ कि डम्बर खतिवडा हुँ भन्ने भ्रम महिनौंसम्म भएको थियो ।

आज पनि नेपाली उपन्यासका पाठकलाई भन्न मन लाग्छ– माधबी पढ्नु भएको छैन भने केही पनि पढनु भएको छैन । माधबी नपढी नेपाली उपन्यासको पठन बिल्कुलै अधुरो, अपुरो रहन्छ ।

२.शिरिषको फूलः

शिरिषको फूल मैले ५ पटक भन्दा बढी पढेको हुनु पर्दछ । संभवत् मैले सबैभन्दा धेरै पटक बढेको उपन्यास शिरिषको फूल नै हो । पहिलोपटक बढ्दा स्कुले विद्यार्थी थिए । ९ कक्षामा पढ्थे । के कति बुझे संझना छैन ।

कुनै वेला पारिजातले भनेकी थिइन रे– शिरिषको फूल जलाई दिए हुन्छ । यथार्थमा पारिजातका बाँकी सबै लेखन आधा हो, शिरिषको फूल एक्लै आधा हो । शिरिषको फूल जलाई दियो भने पारिजात आधा खत्तम हुन्छिन् ।

शिरिषको फूलबारे अनेक प्रकारका समिक्षा भए । भूमिका लेख्ने शंकर लामिछानेले बौद्ध दर्शन र शून्यवादसँग जोडिदिए । बरिष्ठ समालोचक डा. गोविन्द भट्टले ‘शिरिषको फूल कि कागजको फूल’ लेखेर खोक्रोपन र निस्सारतासँग जोडे । कसैले पारिजातको प्रेमवियोग र अस्तित्ववादसँग जोडे ।

पारिजातले सकम्बरी मार्फत अत्यन्त बौद्धिक र कलात्मक तरिकाले त्यही कथा उधिनेकी हुन् भन्ने मेरो बुझाई र विश्वास छ । यद्यपि शिरिषको फूललाई दर्जनौं तरिकाले ब्याख्या गर्न सकिन्छ ।

यो उपन्यासबारे मेरो बुझाई भने यी भन्दा बिल्कुलै फरक छ । मलाई लाग्छ शिरिषको फूल त्यो बेलाको काठमाण्डौंको अभिजात्य परिवारमा हुने हाडनाता करणीको कथा हो । करिब ५०–१०० बर्ष अघिको नेपाली समाजमा परिवारभित्रको अवैध यौन सम्बन्ध चर्को थियो । तिनका लागि ‘छितकीपातकी’ जस्ता शब्द प्रयोग हुन्थे । ती गाउँघर छोडेर हिड्थे । तराईमा त्यस्ताको लागि ‘छितकीपातकी झोडा’ खोल्ने चलन थियो ।

शिरिषको फूल पढ्नेहरुले अक्सर सुयोगबीर र सकम्बरीको कथामा ध्यान दिन्छन् । ध्यान दिनु पर्ने कुरा शिवराज र सकम्बरीको सम्बन्ध हो । हाडनाताकरणीमा फसेका काठमाण्डौंका सभ्रान्तहरु ‘छितकीपातकी’ बनेर तराई भाग्दैनथे तर, भित्रभित्र तिनको जीवन नर्क जस्तो हुन्थ्यो । पारिजातले सकम्बरी मार्फत अत्यन्त बौद्धिक र कलात्मक तरिकाले त्यही कथा उधिनेकी हुन् भन्ने मेरो बुझाई र विश्वास छ । यद्यपि शिरिषको फूललाई दर्जनौं तरिकाले ब्याख्या गर्न सकिन्छ ।

३.अनुराधा

विजय मल्लको अनुराधा उत्तिकै बेजोड लाग्दछ । अनुराधाका रुपमा एक अत्यन्त स्वतन्त्रताप्रेमी र उन्मुक्त युवतीको जुन बिम्ब बन्छ, त्यसले त्यो युवती ‘बहुलाई’ हो, पागलबाट टाढै रहुन पर्छ भन्ने भान मर्दै जान्छ, त्यस्तै एउटा पागल युवती सम्हालेर जीवन विताउन पाए हुन्थ्यो भन्ने भाव पैदा हुन्छ।

यस उपन्यासको सबैभन्दा सवल पक्ष भनेको मनोविज्ञान र भाषा हो । रत्नमान, समुन्द्रमान र कोमलमान नामका तीन पुरुष पात्र वरिपरि एक नारी अनुराधाको मनोविज्ञान जसरी घुम्छ, त्यसरी नै पाठकको मष्तिष्क चक्कराउन थाल्छ ।

४.नरेन्द्र दाईः

बीपी कोइरालाका आधा दर्जन उपन्यासमध्ये कुनलाई कसरी विश्लेषण गर्ने, त्यसको भिन्नै बहस हुन सक्दछ । मलाई चाहिँ सबैभन्दा मन पर्ने नरेन्द्र दाई हो । नरेन्द्र दाईप्रति मेरो मोह स्थानीयताबाट हुन्छ । नरेन्द्र दाई पढ्दै जाँदा मैले त्यसको सम्पूर्णं कथा कोशी किनारका गाउँबाट बुनिएको भान मनमनै बनाउँछु ।

पछि बीपीको आत्मकथा पढेपछि थाहा भयो, त्यसका चित्रित गाउँ नेपालतिरका हैनन, भारततिरका हुन् । मूलतः बिहारको टेडी गाउँको बयान हो, त्यो ।

ती कोशीको बेसारे र कुशाहाघाट बीचका टप्पुमा बसेका गाउँको चित्र त्यहाँ जस्ताको त्यस्तै आउँछ, जुन ठाउँहरु मेरो नवकिशोर वयमा घुमफिर गर्ने क्षेत्रहरु थिए ।

तर, पछि बीपीको आत्मकथा पढेपछि थाहा भयो, त्यसका चित्रित गाउँ नेपालतिरका हैनन, भारततिरका हुन् । मूलतः बिहारको टेडी गाउँको बयान हो, त्यो । तथापि खासै भिन्नता ल्याउँदैन ।

५.सुम्निमाः

बीपी कोइरालाकै सुम्निामा मलाई असाध्यै मन पर्ने अर्को उपन्यास हो । यो उपन्यास पढ्दा पनि स्थानीयताको मोह जाग्छ । नरेन्द्र दाईमा सप्तकोशीको बेसारेघाट मुनिको स्थिति चित्रण हुन्छ भने सुम्निमामा उत्तर तिरको ।

सुम्निामा बीपीले कहाँको पृष्ठभागमा लेखेका हुन् थाहा छैन । तर, मेरा लागि भने चतराधाम, बयरवन, बराहक्षेत्र, सूर्यकुन्ड र विष्णुपादुकासँग सादृष्य हुँदै जान्छ । यसमा बीपीले किरात र आर्य सभ्यता बीचको, भोग र बैराग्यबीचको संघर्ष र सामञ्जस्यता चित्रण गरेका छन् । सुम्निमा र सोमदत्तका सोच, चर्चा र नियतिबाट सत्यका कैयौं पाटा उजागर हुन पुग्दछन् ।

६.चपाइएका अनुहारहरुः

त्यो बेला दौलतविक्रम विष्टको ‘चपाइएका अनुहारहरु’ कलेजको आइएमा पढाई हुन्थ्यो । मैले कमर्स पढेँ, हामीले लीलबहादुर क्षेत्रीको ‘बसाँइ’ पढे पुग्थ्यो ।

मानवीकी पढ्ने साथीहरुबाट मागेर ‘चपाइएका अनुहारहरु’ पढेको थिएँ । अनन्त र बेरगीतको पीडा मनोदशा र व्यक्तित्व यसको सबैभन्दा शसक्त पक्ष हो । नेपाली बिरलै पुगेका अफ्रिकाका जंगलमा लाहुरे गएको गोर्खा सीपाही र दोस्रो विश्वयुद्धको बिभिषिकाबीच प्रेमको कथा यसको बिशिष्ट पक्ष हो ।

७. धर्ती अझै बोल्दैछ

यो भने एकदमै कम चर्चा भएको उपन्यास हो । डीपी अधिकारीको । सायद यो उपन्यास अहिले बजारमा पनि पाइँदैन होला । यो उपन्यास असाध्यै सानो छ– दुईतीन घण्टामै पढिसकिने । अधिकारीले यो उपन्यास लेख्दा सायद उनी कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य थिए । पछि पञ्चायत प्रवेश गरेर राजाको मन्त्री भए । यो दोषको कारणले पनि हुन सक्दछ– अधिकारीलाई जस्तै यो उपन्यासलाई पनि धेरैले बिर्सिदिए ।

तर, मलाई भने यो असाध्यै मन पर्ने मध्येको एक हो । यसमा मेरा लागि क्रान्ति र स्थानीयता दुवै छन् । मूलतः यो मुसहर वस्तीको कथा हो । ठाउँ नै तोकेर भन्ने हो भने सुनसरीको बक्लौरी गाउँको एक मुसहर वस्तीको कथा हो ।

ठीक यस्तै मुहसर गाउँ मेरो घर नजिक पनि छ । मेरो वाल्यकालको जीवनको एक हिस्सा तराईको मुहसर गाउँसँग जोडिन्छ। त्यसैले पनि मलाई यो उपन्यास असाध्यै मन परेको हुन सक्दछ ।

८.अलिखित

अलिखित भन्दा अगाडि नै मैले ध.च. गोतामेको ‘घामका पाइलाहरु’ पढिसकेको थिए । रक्सौल–अमलेखगञ्ज रेल चल्ने बेलाको बाहुन ठिटो पवन र बंगाली युवती अणु बीचको अव्यक्त प्रेम र रेलवे लाइनको जीवन बुनेको यो उपन्यास पढ्दा त्यो क्षेत्रको आञ्चलिकतामा यही नै उत्कृष्ट कृति हो कि जस्तो लागेको थियो ।

यसका महिला पात्रहरु खेतको आलीमा गंगटाले उगाएको पहेलो माटोको डल्लाले नुहाउँन पाउँदा गौरवान्वित हुन्छन्। साबुनको प्रचलन हुनु अघि वाल्यकालमा गाउँमा हामी यसरी नै गंगटाको माटो संकलन गरेर राख्थ्यौं ।

तर, जब उनकै भाई ध्रुबचन्द्र गौतमको ‘अलिखित’ आयो, मेरो दृष्टिकोण बद्लियो, मध्य नेपालको तराईको कथा भन्ने उपन्यासमा मैले मनमनै ‘अलिखित’ लाई माथि राखेँ । अलिखितको मलाई सम्झना आइरहने दृष्य भने बढो सरल छ ।

यसका महिला पात्रहरु खेतको आलीमा गंगटाले उगाएको पहेलो माटोको डल्लाले नुहाउँन पाउँदा गौरवान्वित हुन्छन्। साबुनको प्रचलन हुनु अघि वाल्यकालमा गाउँमा हामी यसरी नै गंगटाको माटो संकलन गरेर राख्थ्यौं ।

९.राधा

कृष्ण धराबासीको ‘राधा’ उपन्यासको कथा भने पूर्वी नेपालको झापाबाट सुरुवात हुन्छ । तर, राधा मन पर्नुको कारण भने त्यो हैन । हामीले महाभारतकालिन समाजलाई सधै कृष्णको आँखाबाट हेर्‍यौं । कृष्णलिला, कृष्णचरित्र धेरै लेखिए, पढिए । तर, राधाको आँखाबाट त्यो बेलाको संसार कस्तो थियो, त्यस अघि यस्तो किताब कुनै पढेकै थिइन ।

कृष्ण धरावासीले यो उपन्यास लेखेर कुनै चानचुने काम गरेका छैनन् । हिन्दु मिथोलजीमा टेकेर एक नयाँ दृष्टिकोणको बृहत आयाम अगाडि ल्याएका छन, जो विरलै हिन्दूहरुले सोचेका हुन्छन्।

यसलाई राधालिला, राधाचरित्र भन्न सकिएला । कृष्ण धरावासीले यो उपन्यास लेखेर कुनै चानचुने काम गरेका छैनन् । हिन्दु मिथोलजीमा टेकेर एक नयाँ दृष्टिकोणको बृहत आयाम अगाडि ल्याएका छन, जो विरलै हिन्दूहरुले सोचेका हुन्छन्।

१०.मन

लीलध्वज थापाको ‘मन’ अहिले भए त्यति मन पराउँथे वा थिइन थाहा छैन, तर, जुन समय र उमेरमा पढेँ, खुबै मन परेको थियो । यो उपन्यास पढ्नु अघि म काठमाण्डौं आएको थिइन । काठमाण्डौंबारे बाल्यकालदेखि नै अनेक कथा सुन्थ्यौं । कस्तो होला काठमाण्डौं भन्ने भावना मनमा आइरहन्थ्यो ।

‘मन’ सबैभन्दा धेरै रुन पाइने उपन्यास पनि हो, पछिल्लो पुस्ताको ‘सेतो धर्ती जस्तै । यसकी नायिका मनले भोगे जति दुख: र पीडा सायदै संसारमा कसैले भोग्न पर्ला ।

मनको कथा भने काठमाण्डौंको त्यो बेलाका प्रारम्भिक शहरीकरण र त्यसभित्रको महिलाको कथाबाट बुनिन्छ । उपन्यासकी नायिका ‘मन’ काठमाण्डौंको कमलपोखरी, ज्ञानेश्वर क्षेत्रमा घरको छानाछानाबाट भागेको दृष्य अनौठौ लाग्दथ्यो ।

त्यो बेलासम्म घर जोडिएको शहर मैले देखेकै थिइन । ‘मन’ सबैभन्दा धेरै रुन पाइने उपन्यास पनि हो, पछिल्लो पुस्ताको ‘सेतो धर्ती जस्तै । यसकी नायिका मनले भोगे जति दुख: र पीडा सायदै संसारमा कसैले भोग्न पर्ला ।

पछिल्लो पुस्तामा धेरै राम्रा उपन्यास र उपन्यासकार आएका छन्। तर, खै किन हो, आफ्नो समय, युग र उमेरका चुनिन्दा भएर हो वा साँच्चै उत्कृष्ट भएर हो, यी १० उपन्यास म कहिल्यै बिर्सन सक्दिन । यी पढ्दा जतिको मज्जा अरु पढ्दा पूरा नै हुँदैन ।


Comment

One thought on “मलाई असाध्यै मन पर्ने १० उपन्यास

  1. डम्मर खतिवडा जीले उपन्यासबारे गर्नु भएकाे ,उल्लेख र मतमा मेराे पनि मत बराेबर छ। याे बराेबर शब्द सायद बंगाली भाषाकाे हाे ,यस्ले समानता दर्ज गर्छ जस्ताे लाग्छ। उमेर अनुसारका उपन्यास र कथाले बिकृती हाेईन चेतना प्रवाहा गर्छ भन्ने बुझाईमा पढियाे। साँचै भन्दा फुर्सदमा यसरी पढिएका , खेतका अालीमा बसेर,बेलुका ढल्केर ल्याम्प वा लाल्टिन वा, दियाे वा कुप्पीमा बसेर पढ्दा धुवाँले अाखा रसाए भनिए पनि भावले रसाएकाे याद अझै ताजा छ। यस्तैबेला पढेका यी साहित्यले अाज ज्ञान अाेकल्न सहज भएकाे पनि छ। खतिवडाजीसित मेराे सहमति यति मिसाएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved