‘योग्य ब्यक्ति सबैलाई टिकट दिन असम्भव, घात-प्रतिघात गर्ने छुट छैन’

नेपालभ्युज

‘योग्य ब्यक्ति सबैलाई टिकट दिन असम्भव, घात-प्रतिघात गर्ने छुट छैन’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गठबन्धनका कारण सबैलाई टिकट दिन नसकिने स्पस्ट पारेको छ।

सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको स्पस्ट पारेकी हुन्।

प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको दाहालले उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्,‘हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन।

पार्टीले यिनै तथ्यलाई मनन् गर्दै भए गरेका निर्णयहरूलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो।’समानुपातिक उम्मेदवारको बन्दसूचीको काम टुंगिएको र अब केही दिनमा सीट बाँडफाँटसँगै उम्मेदवारीको समेत टुंगो लाग्ने उनले जानकारी गराएकी छन्।

‘एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वभाविकै हो। तर, धेरै योग्य र सक्षमहरू भएको हाम्रो गौरवशाली पार्टीमा सबैले उम्मेद्वार बन्नु सम्भव थिएन र छैन पनि। त्यसैले यसपटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशनसमेत गरेको थियो’, दाहालले उल्लेख गरेकी छिन्।

शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको महाअभियानमा पार्टीको इतिहासलाई मनन गरेर सक्रियताका साथ माओवादीलाई पहिलो दल बनाउन उनले आग्रह पनि गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved