दशैंमा पनि चितवनका अस्पतालमा सबै सेवा नियमित

नेपालभ्युज

दशैंमा पनि चितवनका अस्पतालमा सबै सेवा नियमित

चितवन।  दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन्। प्रायः अस्पतालले बहिरङ्गबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन्। केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन्।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने जानकारी दिए।

बहिरङ्गको अत्यावश्यक खोप, ड्रेसिङलगायतका सेवा भने टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने उनको भनाइ छ। सोका लागि हरेक दिन बिहान ९ देखि १० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसबाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन्।

पौडेलका अनुसार प्रसूतिलगायतका विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने छन्। चितवन मेडिकल कलेजले टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवासमेत दिने भएको छ।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरङ्ग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् ।

फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बिहान ८ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सबै विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने उनको भनाइ छ। दशैंको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ ।

कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का उपनिर्देशक डा राजेश यादवका अनुसार बहिरङग बाहेकका सबै सेवा दसैँ बिदाभर पनि सञ्चालन हुनेछन् । फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ । उनले भने, “बहिरङ्गबाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।”

यस्तै निजी केही अस्पतालले दसैँको बेलामा उपचारको विशेष व्यवस्था गरेका छन् । मौलाकालिका अस्पतालले टीकाको दिन टीका लगाउने समयबाहेक अन्य समयमा पूर्ववत् अवस्थामा सबै सेवा दिने जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक डा केशव भुर्तेलका अनुसार चिकित्सकले पालो मिलाएर उपचार सेवा दिने व्यवस्था मिलाइएको छ । उनका अनुसार अधिकांश विभागमा तीन जना विशेषज्ञ चिकित्सक र धेरै स्थानीय भएकाले सेवा रोक्न नपरेको हो ।

भरतपुर आँखा आकस्मिक सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार आँखामा चोटपटक, धुलोलगायतबाट हुने चोटको आकस्मिक उपचार गर्नु परेमा अस्पतालले सेवा दिनेछ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक र अन्तरङ्ग सेवा सञ्चालनमा रहने छन् । सूचना अधिकारी जिएन महतोका अनुसार अन्य विभागले दसैँ बिदाअघि र पछि सेवा दिने गरी तालिका बनाएर उपचार व्यवस्था गरेका छन् ।

जिल्लामा बिदाको समयमा समेत उपचार हुने भएपछि छिमेकी जिल्लाबाट समेत उपचारका लागि आउने गर्दछन् । राजधानी बाहिर सबै खालका उपचारका लागि देशैभरबाट चितवनमा बिरामी आउने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved