कांग्रेसमा नैतिकताको लडाइँ, शेखर र गगनको परीक्षा

कांग्रेसमा नैतिकताको लडाइँ, शेखर र गगनको परीक्षा

काठमाडौं। नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहले पार्टीभित्रै ‘विद्रोह गर्ने’ परिस्थिति आएको अभिव्यक्ति दिन थालेका छन्।

संस्थापनइतर समूहले समानुपातिकमा ४० प्रतिशत दाबी गरेको छ तर संस्थापन पक्ष ४० प्रतिशत दिन तयार देखिएको छैन। आफ्नो माग सुनुवाइको माग गर्दै इतरसमूहले संघर्ष गरिरहेको छ।

पार्टी कार्यालयमा धर्नादेखि खबरदारी गरिरहेको छ। इतरसमूहको दबाबले अफ्ट्यारोमा परेका देउवाले आफू निकटका नेताहरूसँग छलफलपछि समानुपातिकको सूची संशोधन गरेको भनिए पनि इतर समूहका कति जना समेटियो भन्ने एकिन भएको छैन।

यता इतर समूहले भने विद्रोहको कार्यतालिकाबारे छलफल सुरु गरिसकेको छ। शनिबार साझ पाँच बजेसम्मको समय दिएको इतरसमूहले आयोगमा बुझाएको संसोधन हेरेर रणनीति बनाउने जनाएको छ।

इतर समूहका नेता गूरुराज घिमिरे भन्छन्, ‘हामीले दिएको समय शनिबार पाँच बजे थियो तर उक्त समयमा उनीहरूले आयोगमा सूची बुझाउन सकेनन्, छलफल भइरहेको छ।

जब सूची आयोगमा बुझाउछन् त्यसपछि हामीले के गर्ने भनेर निर्णय लिन्छौँ’, समानुपातिक बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले दिएको समय आईतबार (आज ) सकिँदैछ।

इतर समूहलाई पेलेर जाने रणनीतिअन्तर्गत समानुपातिकमा नयाँ मापदण्ड थपेपछि कांग्रेसभित्रको विवाद झन् चर्केको हो। केन्द्रीय संसदीय बोर्ड बैठकमार्फत तय गरेको नयाँ मापदण्ड संस्थापन पक्षअनुकूल रहेको र यसले आफूहरूले उठाएको माग सम्बोधन गर्न नसक्ने इतर समूहका नेताहरूको भनाइ छ।

कांग्रेस महामन्त्री समेत रहेका नेता गगन थापाले नेतृत्वले पेलेरै जाने रणनीति लिएकाले पार्टीभित्र नै न्यायको लडाइ लड्नुपर्ने अवस्था आएको बताएका छन्।

पार्टी सभापतिले आफ्नै पार्टीका नेताहरूलाई पाखा लगाएर गठबन्धनका दलहरुसँग मिल्नु नै कांग्रेसकालागि घातक भएको इतरसमूहका नेताहरू बताउछन्। आफ्नो भाग खोसेर अन्य दललाई दिएकोमा नेताहरूको असन्तृष्टि छ। पार्टीभित्रको असन्तुष्टि अहिले विस्फोट भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउछन्।

उनले भने,‘पाँच वर्षमा आउने निर्वाचन सदुपयोग गर्न सबैले चाहन्छन् तर यहाँ गठबन्धन भैदियो। जसका कारण कांग्रेस खुम्चिनुपर्‍यो तर त्यही खुम्चिएको स्थानमापनि देउवाले आफू पक्षकालाई मात्र अवसर दिएपछि विद्रोहको विस्फोट भएको हो’, अर्का विश्लेषक जैनेन्द्र जीवन पनि देउवाले एकलौटी गर्न थालेपछि इतर पक्षले अस्तित्वको लडाइ सुरु गरेको बताछन्।

कांग्रेसको विद्रोह अस्तित्वको लडाइँ

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले संस्थापन पक्षको हेपाहापनले गर्दा कांग्रेसमा विद्रोह सुरु भएको बताए। पार्टी सभापति देउवा सर्वपक्षीय बन्न नसकेको र गुटको मात्रै नेता बन्न खोज्नु नै विद्रोहको जड भएको उनले टिप्पणी गरे।

उनले भने,‘सभापति देउवाले गठबन्धनसँग सहकार्य गरेपछि पार्टीमापनि सबैलाई मिलाएर लानुपर्थ्यो तर उहाँले पार्टीभित्रको असन्तुष्टि सुन्नै चाहनुभएन। यिनिहरूले के गर्छन र भनेर पेलेरै अगाडि बढ्नुभयो।

अहिले उनीहरूले अस्तित्वको लडाई सुरु गरेका छन्। सभापतिले अर्को पक्षमाथि उठ्नै नसक्नेगरी पछाडि राख्ने। निषेधको राजनीति गर्न खोज्दा अहिलेको परिस्थिति बनेको हो’, उनले पार्टीभित्रको एकता कायक राख्नु सभापतिको प्रारम्भिक कर्तव्य भएको बताए।

नेतृत्व इमान्दार बन्नुपर्छ

कांग्रेस भित्रको विद्रोह नौलो नभएको उनको भनाइ छ। जैनेन्द्रले नेपाली कांग्रेसको विगत हेर्दा दुई गुटबीच मनमुटाव देखिए पनि अन्ततः मिलेर जाने गरेको बताए। तर नेतृत्व इमान्दार हुनुपर्ने उनको भनाइ छ।

उनले भने,‘विगतमापनि गुटगत मनमुटाव हुन्थ्यो तर पछि मिलेर जान्थे, कम्युनिष्टहरूजस्तो पार्टीलाई हानी गर्ने निर्णय लिन कांग्रेका नेताहरू सक्दैनन् तर सबैलाई मिलाउन नेतृत्व इमान्दार भने हुनुपर्छ।’

शेखर र गगनको परीक्षा

पार्टीको १४ औँ महाधिवेसनमा देउवासँग पराजित भएका नेता शेखर कोइराला र महामन्त्रीमा निर्वाचित गगन थापालाई आफ्नो छवी स्थापित गर्नुपर्ने दबाब छ। १४ औँ महाधिवेसनअघि केन्द्रीय सदस्य मात्रै रहेका शेखर कोइरालालाई अहिले नेता बन्ने चुनौती छ।

यस्तै यसअघि पार्टीभित्रको विद्रोह विष्फोट गर्ने परिचय बनाएका महामन्त्री गगन थापा अहिले आफै व्यवस्थापन गर्ने ठाउँमा छन्। रुपान्त्रण र हस्तान्त्रणको राजनीति गर्नुपर्ने आवाज उठाएका गगन आज आफै नेतृत्वमा पुगेकाले उनीसँग कार्यकर्ताको अपेक्षा पनि बढी नै छ। यी दुवै नेतालाई आफ्नो पकड बलियो बनाउन महाभारत छ।

एक त पदाधिकारीमा अल्पमत छ भने अर्कोतर्फ कार्यकर्ताको अपेक्षा यी दुवैलाई सन्तुलनमा राख्न निकै कठिन देखेपछि आफै विद्रोहमा उत्रिएका छन्। विश्लेषक आचार्य यो विद्रोहले गगन र शेखर विस्थापित या स्थापित के हुने भन्ने निर्क्यौल गर्ने बताउछन्।

उनले भने,‘यी दुवै नेतासँग कार्यकर्ताको धेरै अपेक्षा छ। यदी उहाँहरूले आफ्नो पछाडि रहेका कार्यकर्ताको व्यवस्थापन गर्न सक्नुभएन अथवा भनौ आफूले टिकट पाएपछि यी सबै विद्रोह छाड्नु भयो भने फेरी यो गुट पनि चिरापर्छ र अर्को जन्मन्छ। नेता भनेको सधैँ आफूले पाउनुपर्छ भन्ने मात्र होइन। कहि त्याग पनि गर्नुपर्छ। अब के गर्नुहुन्छ उहाँहरुको हातमा छ।’

गठबन्धनमा पनि किचलो

कांग्रेसभित्र विवाद चर्किएका बेला सत्ता गठबन्धनमा समेत किचलो देखिएको छ। सिटबाँडफाँटमा दलहरूको असन्तृष्टि बढेको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले कांग्रेसलाई मात्र फाइदा पुग्नेगरी प्रतिवेदन बनाएपछि अरु दल रुष्ट बनेका हुन्।

जनता समावादी पार्टीले त विज्ञप्ति नै निकालेर असन्तृष्टि जनाएको छ। कांग्रेसभित्र गठबन्धनविरोधि आवाज उठिरहेका बेला गठबन्धनका दलहरूबीचको असन्तृष्टि औपचारिक रुपमै बाहिर आएको छ। कांग्रेसभित्र गठबन्धन हुँदा कम स्थानमात्रै हात पर्ने भन्दै एक्लै चुनावमा जान देउवा इतर पक्षले दबाब दिँदै आएको छ।

कांग्रेसले गठबन्धनमा भागबन्डा हुँदा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १ सय ६५ सिटमध्ये ८० देखि ८५ सम्म सिट पाउने सम्भावना छ। गठबन्धनभित्र मधेसमा सिट बाँडफाँटको विषय गाँठो परेको छ। मधेसका कतिपय स्थानमा गठबन्धनका चार दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जपसाको दाबी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved