पाँच लघुकथा

मालिकका सन्तान शहरमा अध्ययन गर्छन्। तर गाउँमा पनि ठूलो विद्यालय छ– यी सब बुझ्दिन ऊ। आफूले पनि पढ्न पाएको भए हुन्थ्यो कि भन्ने सोच मनमा उम्रन्छ। कर्मलाई दोष दिन्छे। भाग्यलाई सराप्छे र पुर्पुरो अभागी भएकाले ती सब आफूदेखि टाढा रहन गएका हुन्, सोच्छे। अनि यसैमा चित्त बुझाउँछे।

पाँच लघुकथा

आशा

उसले केही वर्षदेखि आश्रयस्थलको रूपमा खुला सडक पेटीलाई उपयोग गर्दै आएको छ।

“हजुर दुईचार पैसा, दया गरौँ, पूर्वजुनीको फल भएरै होला– मागेर यस हालतमा बाँच्नु परिरहेको छ। प्रभु, स्वर्ग जाने मार्गमा अवरोध नपारौँ, दीन–दुःखी उपरको दयाले कल्याण हुन्छ” यस्तै आवाजमा आफ्ना वेदना पोख्थ्यो। तर अस्तिको जुलुसले उसको बसाइमा अवरोध ल्यायो।

सबैका हातहातमा प्लेकार्ड थिए। माग के हो जान्न अप्ठेरो भए पनि सरकार विरोधी नारा लागेकाले वर्तमान सरकार तिनीहरूको प्रहारको केन्द्रबिन्दु रहेको आशय प्रस्टै थियो।

विरोध कार्यक्रमले क्रमशः गति लिँदै गयो। राजनीतिक दलहरूको शहरमा विशाल जन–प्रदर्शन गर्ने नीति रहेकाले ती क्रमशः गाउँ पस्दै थिए। राजधानीको भ्रमण तथा आवागमन र भोजन सुविधाको उचित प्रबन्ध थियो।

चोक, गौँडा, गल्छेँडा, चौबाटो, चारैतर्फ प्रहरी तैनाथ गरिएकाले आगोमा घिउ थप्ने काम भएको थियो।

नारा, जुलुस र विरोध प्रदर्शन शहरभरि थियो। एक–दुई दिन उसलाई पनि साह्रै रमाइलो लाग्यो र तिनीहरूको पछि नलागी मनले पटक्कै मानेन।

नारा चित्ताकर्षक थिए, गरीब, भोका, असहाय, बेघरबार, पीडित, बेरोजगार सबैलाई ठ्याक्कै मिल्ने, सञ्जीवनी बुटीझैँ। ऊ पनि लोभियो। ….., यदि माग पूरा भइदियो भने… सपनाको माला उन्यो र रङ्गिन संसारको कल्पना गर्यो‍।
अर्को दिन शहरमा निषेधाज्ञा जारी भयो, आयातितहरू गाउँ पठाइए। सरकारले वार्ता गर्ने घोषणा गर्यो‍। निषेधाज्ञा हट्यो र जनजीवन पुनः शान्त भयो तर कुष्ठरोगद्वारा शरीरका अङ्गहरू गुमाएको ऊ कहिल्यै देखिएन।

 

एकादेशमा

रामकली यहाँ बसेको पाँच वर्ष भइसकेको छ। यो भन्दा अघि अन्यत्र बस्थी। बाबु फगुवाको दिन छोरीको एकवर्षको कमाइ अग्रिम भुक्तानी लिएर जान्छ। राखीको तीनदिने छुट्टीमा घर पुग्छे र भाइको दीर्घायुको कामना गर्दै नाडीमा राखी बाँधिदिन्छे।

घरका सदस्यहरू एकसाथ हुन्छन्। मालिकनीबाट प्राप्त भएका पुराना बक्सिस लुगाहरू भाइ–बहिनी र बाबुलाई दिन्छे। घर परिवारको खुसी सात समुद्र पारसम्म पुग्छ। आनन्दित बन्छे, रमाउँछे। वर्षभरि गरेका काम तथा पाएका दुःख, पीडा, अवहेलना, घृणा र तिरस्कार सब भुल्छे। मानौँ ऊ कसैको घरमा बसेकी छैन र बस्दा पनि बस्दिन।

मालिकका सन्तान शहरमा अध्ययन गर्छन्। तर गाउँमा पनि ठूलो विद्यालय छ– यी सब बुझ्दिन ऊ। आफूले पनि पढ्न पाएको भए हुन्थ्यो कि भन्ने सोच मनमा उम्रन्छ। कर्मलाई दोष दिन्छे। भाग्यलाई सराप्छे र पुर्पुरो अभागी भएकाले ती सब आफूदेखि टाढा रहन गएका हुन्, सोच्छे। अनि यसैमा चित्त बुझाउँछे।

मानिसहरूको भीडले फूलबारी भरिएको छ। अगाडि ओछ्याइएको खटियामा मालिकसँगै केही मानिसहरू पनि छन्। कतिपय मानिस भुईँमा पलेँटी कसेर पनि बसेका छन्। मालिक ग्रामप्रधान भएकाले उनी कहाँ प्रायः मानिसको भीड भइरहन्छ। तर यत्ति धेरै मानिस जम्मा भएको उसले पहिलोपटक देखेकी हो।

“आजका बालबालिका र तिनका शैक्षिक अधिकार” विषयक गोष्ठीका उपस्थित वक्ताहरू आ–आफ्ना राय व्यक्त गरिरहेछन्।

रामकली उनीहरू के के भनिरहेछन् त्यो त बुझ्दिन तैपनि मानिसको जमघट खुब मीठो लागेको छ। मालिकका छोराछोरी लगायत गाउँको विद्यालयका थुप्रै बालबालिकाको त्यहाँ उपस्थिति छ। तिनीहरू समय समयमा ताली बजाउँछन् र रामकली उनीहरूलाई पानी र खाजा बाँडिरहेकी छे।

 

खोजी

माग्ने बूढो आफ्नै ताल, पारा र सुरमा बोलिरहेको थियो। हामीले केहीक्षण उभिएर सुन्यौँ।

“हा ! हा !! हा !!! म जँड्याहा, सिल्ली, हावा खुस्केको र वाहियात अरू सबै राम्रा।”

विगत केही वर्षदेखि शहरको विभिन्न भागमा प्रायः देखिने गर्छ ऊ। वतन, नाम, थर र घरको बारेमा अनभिज्ञ छौँ। तर समय समयका उसका भावभङ्गिमाले लोभिन्छौँ, सुन्छौँ र मनभित्र जिज्ञासाका बिरुवा उमार्छौँ।

आज पनि उसले शिरदेखि पाउसम्म मानवनिष्ठा लेपन गरेको देखिन्छ। आश्चर्यचकित भावमा मानिसहरू उसलाई घेरेर उभिएका छन्। हामी अर्थात् म र सुनील पनि आडमा छौँ।
ऊ बोलिरहेछ “बाँच्न चाहन्छु तर किन ………………?”

“कोही पनि आफैँलाई विश्वास गर्न सकिरहेका छैनन्। मलाई माटो चाहिन्छ, अस्तित्व चाहिन्छ, स्वाभिमान चाहिन्छ। यतिले मात्र पुग्दैन, स्वतन्त्र परिवेश पनि चाहिन्छ। तर……खै कहाँ गए उनीहरू ?” एकसुरमा बोलिरहेछ ऊ।

“ए मान्छे हो, नछेक, किन छेक्छौ ? खै कहाँ गयो त्यो। पक्कै पनि हो उसलाई बलियाले खोसे होलान् ” उसले आक्रोशको भावमा भन्यो।

“तर कोही कोही निर्धाहरू पनि उनीहरूका पक्षमा पनि होलान् तर ती बोल्न सकिरहेका छैनन्। मौन समर्थन जनाइरहेका हुन सक्छन्। म पागल, बहुला, मगज सड्केको हा, हा, हा।” उसले आकाशतिर फर्किएर भन्यो।

ऊ यस्तै यस्तै भनिरहेछ। बाटामा जाने र आउनेहरूको भीड उस्तै छ। कोही सुन्छन् त कोही सुन्दैनन्, तर हामी भने……….

विगत केही वर्षदेखि शहरको विभिन्न भागमा प्रायः देखिने गर्छ ऊ। वतन, नाम, थर र घरको बारेमा अनभिज्ञ छौँ। तर समय समयका उसका भावभङ्गिमाले लोभिन्छौँ, सुन्छौँ र मनभित्र जिज्ञासाका बिरुवा उमार्छौँ।

तस्वीर

अमृताले झ्याल –ढोका थुनी र वस्त्रहरू फुकाएर किलामा झुन्ड्याई। प्रतिविम्ब ऐनामा देखियो। गाजल राम्रोसँग मिलाई र बढी भएको रुमालले बिस्तारै पुछी। निधारको टीको फाली। धत् ! आधुनिक पो बन्नुपर्छ, संसारका आइमाईहरूभन्दा आफू एक इन्च पनि तल नभएको महसुस गरी।
सिउँदोमा सिन्दूर हाल्न मन लाग्यो। हा ! कस्तो कल्पना, आफैँलाई सम्झाई। अनिष्टको सङ्केत त हैन ? मनमनै डराई। गालामा पाउडर दली अनि थोरै रङ्ग हालेर बेस्सरी मोली र रातो बनाई। आफ्नै यौवनदेखि लोभ लाग्यो। बैंस ढकमक्क फुलेको महसुस गरी। मनभित्रको सागरमा पोेखिएर बग्ने इच्छा लाग्यो। नजरमा हराएर बादल पारिको देशमा पुगेको कल्पना गरी।

यौवन जीवन हो, यथार्थ हो, अनुभूति हो, वर्तमान, विगत र भविष्य हो। आस्था, विश्वास, लक्ष्य, उद्देश्य र गन्तव्य सबै हो सोच्दै रही। जीवनका प्रत्येक पल भोग्नु, बाँच्नु र मर्नु सबै यौवन हुन्। बाँच्नुको नाम, भोग्नुको नाम, देख्नुको नाम सबै त्यही हुन्। कल्पना गरी।

स्वप्निल राजकुमारको काखमा लुटपुटिई। सुखसयल र मोज–मज्जा गरी अन्य राजकुमारहरू पनि देखिए। आनन्द सागरमा पौडी खेली, सार्थक र रोमाञ्चक लाग्यो। मित्रहरू बढाउन थाली। रस चुस्ने भ्रमरहरू आइरहे। सुन्दर युवक, प्रशस्त माया, ऐस आराम, सुखसयल र मोज–मज्जा गरी। अन्य राजकुमारहरू पनि देखिए। आनन्द सागरमा पौडी खेली, सार्थक र रोमाञ्चक लाग्यो। मित्रहरू बढाउन थाली। रस चुस्ने भ्रमरहरू आइरहे। सुन्दर युवक, प्रशस्त माया, ऐस आराम, सुखसयल र मोज–मज्जा। डुब्दै गई।

ढोका ढक्ढकिएपछि झल्याँस्स भई। आफ्ना निर्वस्त्र तथा छाडा अङ्गहरू लुकाई र ढोका खोली, आमा सामुन्ने उभिइरहेकी थिइन्। छोरीलाई एकटकले हेरिन् तर मुख खोल्न सकिनन्। उनको काखीमा जाँतोमा पिँध्न तयार एक डालो कोदो थियो।

भोक र संवेदना

“आमा सिस्नु मिसाएको खोलेभन्दा भात साह्रै मीठो हगी ?” कोपिलाले आँखा उचालेर प्रश्न राखी। तर कौशल्या बोल्न सकिनन्। एक मात्र छोरो गुमाउन पर्दाको पीडाले छाती दुखिरहेको थियो। मनभित्रका तरङ्गहरू हावामा उडिरहेका थिए। मुटुमा अनगिन्ती पीडाका घाउहरू उकुच पल्टिई चहर्‍याइरहेकाले मुखबाट आवाज आउन हिचकिचाइरहेको थियो।

“नाइँ भन्नुस् न, तपाईँ मसँग रिसाएको हो ?” छोरीले प्रश्न दोहोर्‍याई, उनको नजर भरिएर आयो। अवोध प्रश्नले छातीमा दरफर्‍यायो। तोते बोली जस्तै निर्बोध आँखाहरू उनैलाई हेरिरहेका थिए। थाल रित्तो भइसके पनि ऊ चाटिरहेकी थिई। आँखा घरी आमाको नजरमा र घरी ताप्केमा पर्थ्यो तर माग्न सकिरहेकी थिइन।

उत्तर नपाएपछि थाल छाडेर आमालाई अँगालो हाल्न पुगी। यतिखेरसम्म जमेको उनको आँसु भेलझैँ बग्न थाल्यो। छोरीलाई च्याप्प समातेर म्वाइँ खाइन् र निधार जुधाइन्। छोरी उही प्रश्नसूचक आँखाले हेरिरहेकी थिई।

“हो बाबा ! तिमीले हिजो अस्ति खाने गरेको खोलेभन्दा भात मीठो हुन्छ।” छोरीलाई चकटीमा बसाएर पुनः एक पन्यु थपिदिइन्।
तर यसपटक छोरीले खपाखप खाइन र प्रश्न राखी “आमा हाम्रो घरमा हिजो अस्ति धेरै मानिस आएकाले हाम्ले भात खान पाएको हो ?” उनी मौन थिइन। पुत्रशोकले मन विह्वल भइरहेको थियो।

छोरीले पुनः सोधी “आमा अस्ति नै हामीले घर भए पनि भात खान पाएको थिएनौँ तर अहिले घर नभए पनि खान पाएका छौँ हगि ? मलाई त दाइ र घर नभए पनि सधैँ भात खान पाए मज्जै हुन्छ। ” छोरी खपाखप खान थाली। उनी उसको अवोध बालपन र दुई हप्ता अगाडि भएको विशाल आगलागीमा परेर मरेको आफ्नो एक्लो दश वर्षे छोरो सम्झेर रुन थालिन्। सरकारले बाँडेको राहत स्वरूपको चामलबाट पाकेको भात कोपिला रमाइलो मानेर खाइरहेकी थिई।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved